साहित्यपोस्टको संयोजन तथा लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीको सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार– २०७८”का लागि ९ काव्यकृतिको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा सर्वोत्कृष्ट एक काव्यकृतिको घोषणा गर्नुअघि उत्कृष्ट ९ कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।

यहाँ उत्कृष्ट नाैमा छनोट भएको कवितासङ्ग्रह ‘मरूभूमिमा डुङ्गा‘का स्रष्टा शरद पोख्रेलसँगको संवाद प्रस्तुत गरिएको छ ।

तपाईँको पहिलो काव्यकृति “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि छनोट भयो । कस्तो अनुभूति गरिरहनुभएको छ ?

मेरो लागि यो निकै उत्प्रेरक खबर थियो । खुसी लाग्यो ।

“साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”का लागि नौ कृति छनोट भएका छन् । अर्थात् तपाईँका प्रतिस्पर्धीका रुपमा बलिया कृतिहरु छन् । तपाईँले पुरस्कार जित्नु वा नजित्नुले तपाईँको साहित्यिक यात्रामा के अर्थ राख्छ ?

पक्कै पनि छनोटमा परेका अन्य ९ कृतिहरू निकै सुन्दर र बलिया छन्।मैले यो पुरस्कार नजित्नुले कुनै अर्थ राख्दैन। तर जितियो भने लेखनमा ऊर्जा भने पक्कै पनि थपिनेछ।कुनै सम्मान र पुरस्कारका लागि लेखिएको होइन तर कामको मूल्याङ्कन गरेर कसैले प्रोत्साहित गर्छ भने त्यो त निकै राम्रो कुरा भयो।

जापान बस्नु हुन्छ नेपाली साहित्य क्षेत्रमा सक्रिय हुनुहुन्छ, परदेशमा देश दुख्दा साहित्य बन्दो रहेछ हो ?

हजुर हो। परदेशमा देश अलि बढी नै महशुस हुँदो रहेछ। देशमा रहँदा सामान्य लाग्ने कुरा परदेशमा अलि बढी समवेदनशील हुँदारहेछन्। एकपटक घर नछोड्दासम्म घरको, परिवारको महत्व त्यति थाहा हुँदैन। ममा भएका समवेदनालाई घर छोडाइले थप अङ्कुरित गराइदिएको पक्कै हो।

“मरुभूमिमा डुङ्गा” लेख्नुको तपाईँको मुख्य उदेश्य के हो ?

मरुभूमिमा डुङ्गा लेख्नुको त्यस्तो कुनै ठुलो र महत्वाकांक्षी उदेश्य केही छैन। परदेश छिरेर व्यतित गरेको करिब ७ वर्षसम्मको एक्लो अनुभव, देश र आफ्नाहरू सँग छुटेको समय र मेरो चेतनाले भ्याएसम्म समाज र राज्यव्यवस्थाको अव्यवस्थाप्रतिको खबरदारीहरूलाई एउटा सामान्य खाका मात्र दिन खोजेको हुँ। मलाई नितान्त एक्लोपनमा साथ दिएका यी अक्षरहरूको मायाले पनि मैले यी अक्षरहरूलाई एकैठाउँ राख्ने प्रयास गरेको हुँ।

आख्यानको बजार आकर्षक रहेको अवस्थामा कविता विधामा किन ?

लेखकले बजार हेरेर लेख्नेभन्दा पनि आफूभित्र जे छ त्यही लेख्ने हो। मभित्र रहेको समवेदना कविताको माध्यमबाट प्रस्फुटित भयो। शायद मेरो लागि यही नै उत्तम र स्वाभाविक थियो।

“मरुभूमिमा डुङ्गाले”ले यो पुरस्कार पाएको खण्डमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ होला ?

इमान्दारीपूर्वक भन्दा यसको कुनै योजना नै बनेको छैन।

अन्त्यमा, भविष्यको साहित्यिक यात्राका योजनाहरु के के छन् ?

ठ्याक्कै यही गर्दैछु भनेर त कुनै काम सुरुवात गरेको छैन। भर्खरै किताब बाहिर आएको छ। यसका प्रतिक्रियाहरू पनि पाइरहेको छु। यसबाट पाठ सिकेर अगाडि बढ्नेछु। यत्ति भने हो कि, यो मेरो पहिलो कृति हो तर अन्तिम भने होइन।