हेटौँडा / भ्रष्टाचारविरूद्ध रचनावाचनको छैटौँ दिन हेटौँडामा रचना वाचन कार्यक्रम गरिएको छ ।
हेटौँडा ८ कमानेमा अयोजित कार्यक्रममा १४ सर्जकहरूको रचना वाचन भयो । मिथिला अधिकारी, अनिल अधिकारी, सुदीपराज गिरी, शम्भुप्रसाद बाँसकोटा, शान्ति प्रियवन्दना, संप्रस पौडेल, सानु खनाल, हरि पौड्याल, मीनप्रसाद लामिछानेका साथै स्थानीय सर्जकहरूले रचना वाचन गर्नुभयो ।
कार्यक्रममा वडा नं. ८ का वडाअध्यक्ष राम थापाले आफू भ्रष्टाचार नगर्ने हुँदा यत्तिका चोटिला कविताले पनि आफूलाई कतै नघोचेको बताउनु भयो । साथै सर्जकहरूको साथमा आफू पनि रहेको बताउँदै आफ्नो क्षेत्रमा कार्यक्रम भएकोमा धन्यवाद दिनुभयो ।
सर्जक सञ्जाल मकवानपुरद्वारा आयोजित सप्ताहव्यापि कार्यक्रम मकवानपुरका सबै साहित्यिक संस्थाका सहभागितामा हेटौंडा उपमहानगरपालिकाका विभिन्न स्थानमा रचना वाचन भैरहेका छन् ।
कार्यक्रममा स्थानीय, यात्रुहरू, शिक्षक, विद्यार्थी तथा मिडियाकर्मीहरूको उल्लेख्य सहभागिता रहँदै आएको छ ।
भ्रष्टाचारका विभिन्न घटनाहरू सार्वजनिक भैरहेका बेला कारबाहीका लागि सर्जकहरूले देशव्यापी रूपमा खबरदारी गर्ने क्रम बढ्दै जाँदा ७ दिने अभियानका रूपमा छैटौँ दिन यस कार्यक्रम भएको हो ।
यस अभियानको अन्तिम कार्यक्रम बुद्ध चोक हेटौँडामा शनिबार बेलुका ४:०० बजे हुने सर्जक सञ्जाल मकवानपुर संयोजक निमेष निखिलले बताउनुभयो ।
कार्यक्रमलाई रेडियो निकासले प्रत्यक्ष प्रशारण गरिरहेको छ ।
आजको कार्यक्रम सर्जक विश्वनाथ सञ्जेलले सहजीकरण गर्नुभएको हो ।
हेटौँडाबाट संप्रस पौडेलको रिपोर्ट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।