काठमाडौँ / गोकर्णेश्वर नगरपालिकाले २०८० वैशाख २३ गते शनिबारका दिन वृहद् गजल वाचन तथा गायन प्रतियोगिता आयोजन गर्ने भएको छ ।

सोका लागि गजलकारहरूबाट मौलिक तथा कतै रेकर्ड तथा प्रकाशन नभएको गजल आह्वान गरेको छ । गजल बढीमा सात सेरको हुनुपर्ने बताइएको छ ।

gokarneshwor.shikshya2019@gmail.com मा एक प्रति फोटो, फोन नं. र ठेगाना प्रस्ट खुलाई पठाउन नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाले अनुरोध गरेको छ ।

गजल वैशाख १५ भित्र कार्यालय समयभित्र दर्ता गराउन पनि अनुरोध गरिएको छ ।

शाखाका अनुसार, प्राप्त रचनाहरूलाई विज्ञ समूहद्वारा मूल्याङ्कन गराई बढीमा ४० रचना छनोट गरिनेछ ।

छनोटमा पर्ने गजलकारहरूले २३ गते आरूबारी ब्याङ्केट, गोकर्णेश्वर नगरपालिका ९, आरूबारी, काठमाडौँमा साढे १० बजे उपस्थित भइसक्नुपर्ने बताइएको छ ।

प्रथम पुरस्कार ६० हजार, द्वितीय पुरस्कार ४० हजार, तृतीय पुरस्कार ३० हजार तथा पाँच जनालाई सान्त्वना प्रतिव्यक्ति २० हजार प्रदान गरिने बताइएको छ ।

छनोटमा पर्नेहरूलाई यातायात खर्च बढीमा तीन हजार रूपैयाँ समेत दिइने बताइएको छ ।