पृष्ठभूमि

व्यवस्था होइन, अवस्था परिवर्तनको चाहनामा मुलुकले परिवर्तनको अलाप गरिरहेको हो । यसको अर्थ बाबु बिर्सेर उसको सिर्जनामा हालीमुहाली गर्दै कल्पित अतिरञ्जित व्याख्या अर्थात् देवत्वकरण गर्ने दुवै तरिका गलत देखिन्छ ।

जनताले स्वाभिमानी समृद्ध देशमा स्वतन्त्र भई काम र कामअनुसारको दामको चाहना राखेका हुन् । कर्मै नगरी पैसा देऊ भन्ने कुबुद्धिले युवा मन बाउँटिएकै छैन । एकाध राजनीतिमा आसेपासे बन्नेको स्वभाव होला तर कर्मठहरू परिश्रमको फलमा रम्न चाहन्छन् ।

पृथ्वीनारायणलाई गाली गर्नुको तुकै के छ र !?

पृथ्वीनारायणको त्यागसँग हिजो जे थियो त्यो इतिहास नेपाली मनबाट मेटिँदैन । जुन इतिहासलाई याद नगरी आत्मगौरव नै अपुरो हुन्छ त्यो नामसँग, त्यो इतिहाससँग विवादको रोइलो खन्नुको तुकै के रहन्छ । इतिहासका पानामा आजका लागि पनि उत्तिकै कालजयी गुणको शूरताले एकतासँग अङ्कित त्यो नाम हो– पृथ्वीनारायण शाह । यसर्थ यो कुनै जाति, धर्म वा पार्टीको नारा बनाउनुपर्ने विषय नै होइन । राष्ट्रिय एकताको शङ्खघोष त्यतिखेरै भयो जतिखेर पृथ्वीनारायणको पराक्रमी वीरताले विजयोत्सव मनाएको थियो । बढाइचढाइको व्याख्याभन्दा पनि राष्ट्रिय विभूति शाहद्वारा प्राप्त भएको सिङ्गो राष्ट्रिय स्वाधीनताको मूल्यलाई एक सच्चा राष्ट्रभक्तले बिर्सने कुरै रहँदैन । इतिहाससँग रमाउन न त व्यक्तिगत स्वार्थको पुन्तुर बाँधिनु उचित हुन्छ न त अपव्याख्याका कनिकुथी भाव नै बलवान् बन्छन् । बाइसे–चौबिसे राज्यमा विखण्डित देशलाई एकीकरणको मालामा उनेको महान् इतिहासलाई छायामा पारेर आक्रमणकारी युद्ध पिपासुको लाञ्छनामा अड्काइनु त पुर्खाको पसिना, गौरव अनि धरोहरलाई गिज्याउनु मात्रै हो । हिजोको इतिहासलाई गाली गरेर आज फुइँ लाउँदैमा महान् ठान्ने मूर्खताबाट माथि नउठ्नु हामी नेपालीको विडम्बना पनि हो ।

रमेश भट्टराई ‘सहृदयी’

समयसापेक्ष दूरदर्शिताकै उपज नेपाल हो भन्ने कुरालाई कमसेकम भुल्न सकिन्न । अखण्ड सार्वभौम राज्यनिर्माण गर्नु कुनै केटाकेटीको खेल अवश्य होइन थियो । आज हामी एकतालाई स्वार्थसँग गाँसेर तोल्न र बुझ्न थालिरहेका छौँ । सुदृढ नेपाल राज्यको परिकल्पनाभित्र कति योद्धाले रगत बगाए होलान्, कति आमाका काख रित्तिए हुनन् । हो, हामी युद्ध विरोधी र शान्तिप्रेमी हौँ यद्यपि पृथ्वीनारायणको समय नै त्यस्तै रहेछ जसमा युद्ध कौशलता आवश्यक थियो । परिस्थिति नै त्यस्तो बनेको हुँदो हो । यत्रो विशाल कार्यमा भलै कमजोरी त होलान् नै तथापि हामीले स्वतन्त्र राज्यका स्वाधीन नागरिकको पहिचान पाउनुसँग गर्व गर्नु पर्दैन र ! जतिखेर भ्रष्ट्राचारीका खुट्टा काँप्थे । समयानुकूल विकासको दैलो खोल्न कुनै कञ्जुस्याँईँ भएको थिएन । तिनै पुस्ता र पुर्खाको देनसँग आज लोकतन्त्र पाइयो, गणतन्त्र ल्याइयो, स्वतन्त्रताको जग बस्यो । त्यसो हो भने इतिहासलाई बङ्ग्याएर हामीले ठालुपन देखाउनुको तुकै के छ र !

इतिहासमा घटना र रचनाकार हुन्छन् !

गोर्खाका राजा नरभूपाल शाहकी माहिली रानी कौशल्यावतीपट्टिका पाँच सन्तानमध्येका जेठा छोरा पृथ्वीनारायण शाहले वि.सं. १७७९ पौष २७ गते (इ.सं. ७ जनवरी १७२३) यो धर्तीको उज्यालोलाई देखे । सातौँ महिनामै जन्मनुसँग निकै किंवदन्तीहरूलाई यदाकदा पढ्न पाइन्छ । बूढापाकाले बताउँछन् । दरबारी वातावरणले बालापनलाई मलजल गर्दै लाँदा उनलाई दश वर्षभित्रै आवश्यक विद्या हासिल गर्ने अवसर मिल्यो । हुने बिरुवाको चिल्लो पात भएका ओजश्वी पृथ्वीनारायणमा बगुन्द्रो रानीलाई बहुविवाह गर्ने विलासी स्वभावको इतिहास पनि छैन । दौँतरीसँग बहादुरी र वीरतालाई प्रदर्शन गर्ने शाहले २० वर्षकै उमेरमा पिताको देहावसान पश्चात् राजदण्ड सम्हाले ।

आधुनिक नेपालको मानचित्र बदल्ने ऐतिहासिक अभियानको प्रारम्भिक इतिहासलाई वि.सं. १८०१ मा प्राप्त नुवाकोटको विजयले आरम्भ ग¥यो । तत्कालीन छिमेकी देश लमजुङ र कास्कीसँग मित्रताको हात पैmलाउँदै हातहतियार तथा सैनिक सुधार गर्ने रणनीतिको सबल प्रयास थियो– नुवाकोटमाथिको विजय । मकवानपुर विजय, कीर्तिपुरसँग तेस्रो पटकको प्रयासबाट मात्रै जालझेबाट प्राप्त विजय होस् या मिरसिक्का अभियानमा देखाइएको वीरता आखिर त्यहाँ गोर्खाली सान र स्वाभिमानको इतिहास छ । कीर्तिपुरको युद्धमा काजी कालु पाण्डे जस्ता शूरवीर व्यक्ति मारिए । जयन्त रानाले निर्मम रूपमा छाला काढिएर मर्नुप¥यो । शूरप्रतापले कानो हुनुप¥यो । इतिहासले यही क्रोधाग्निको प्रतिकारमा पृथ्वीनारायणद्वारा धेरैको नाककान काटेर बदला लिएको घटनालाई बोले पनि इतिहासकारहरूको मतमा यी नेपालबाट निस्कासित क्रिस्चियन पादरीहरूद्वारा गरिएको अपव्याख्या थियो ।

उपत्यकाबाट अङ्ग्रेजको राजनैतिक कुचाला लघारियो । उपत्यकासँगै पूर्वका सेन राज्य चौदण्डी र विजयपुर क्षेत्र नेपालमा गाभियो । फलतः किरात र लिम्बूवान प्रदेशका राजाले गोर्खाली झण्डामुनि एकै साथ बस्ने अपेक्षा बोकेर आत्मसमर्पण गरे । तबदेखि ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन । सबै जातको पूmलबारी हो’ भन्ने उनको अभिव्यक्तिसँग हामीले स्वाभिमानको उच्चताको जग पाएका हौँ । यसमा फेरि अतिव्याख्या र अपव्याख्याचाहिँ अहिलेका बौद्धिकविलासी भनिने केही सोचको प्रभाव मात्रै हो ।

उतिबेला सैनिकले कदर पाए । कालु पाण्डे, कीर्ति शाह, तुलाराम पाण्डे, रामकृष्ण कुँवर, केहरसिंहजस्ता योद्धाले यो सङ्ग्रामको महायज्ञमा दिलो ज्यान दिए, एकीकरणको सपना साकार पार्नका निम्ति कसुर छाडेनन् । स–साना राज्यलाई एक्लैले डोल्याएपछि अङ्ग्रेजको सपनामा भेलबाढी आयो त्यसैले त आज हामी छौँ । त्यसैले त एकीकरणका भावसँग कवि सुवानन्द दासको कवित्व पोतियो –

नेपालको सिनकि लुटि मंरातको घिउले भुटि
पालपाको ल्याउ हिंग जिरो, रिसिंगको ल्याउ पिरो
तनहुँको भातसित भीर्कोटको दालसित
कन्चन कचौराभरि स्वर्णका थलियाभरि
अष्टदल चौकी बसि गंगाजल झारिभरि
पुरव मुहडा गरि
महाराजको जिउनार बनाउ है ।

विश्वको नक्सामा सानो नेपाललाई खोज्न लाग्दा सगरमाथाको चुम्बकीय शक्तिले ध्यान खिच्छ । एसियाको मुटु हो नेपाल, चाहे उत्तरमा हिमालको अजेय खम्बाबाटै शितलता प्रवाह होस् या पहाडका हरियालीसँग तराईका फाँटले लुकामारी खेलून्– यहाँ अटुट प्राकृतिक चाञ्चल्य स्वभाव छ । मनसुनी हावामा रम्छ, भूपरिवेष्ठित देशले चिनिन्छ, जलाशयको खानी, सौन्दर्यकी रानी, अन्नको भण्डार सबै नेपाली स्वाभिमानका स्वर्णाक्षरित नाम हुन् । हरेक विदेशी फिरन्ताले यहाँको प्राकृतिक चाञ्चल्यसँग थुक निल्दै अटुट प्रेमको गाँठो कस्छन् । बहुजातिका परम्परा, भेष र पर्वका एकताको शृङ्गारमा स्वर्गले आफ्नो स्वरूपलाई बिर्सन्छ । यहाँ कृत्रिमता विरोधी भाव छ त्यसैले संसारको दौलत नेपालका लागि नगन्य बन्छ । त्यसैले त ‘फुर्सदमा भगवान्ले सोचेर बनाएको संसारमा कुनै ठाउँ छ भने त्यो हो– नेपाल’ भन्न पाएका हौँ । आखिर कसैले त जोड्यो यो अमर हृदयस्पर्शी इतिहासलाई ! आज विश्व समुदायले इतिहासका यस्ता अमर नामलाई सलोट गर्दै छ भने यो गौरवसँग हामीले रमाउन पाउनु अवसर होइन र ! यसर्थ समयसँग तीता–मीठा अनुभवले भरिएको थैली छँदै छ । राज्यले परिवर्तनका नवीन आलोकमा रम्न पनि पाउला तर इतिहासबाट सिकेर सम्मान गर्दै भविष्यको स्वप्ना तुन्न जान्नुपर्छ ।

सुन्दर राजनीति

आज संसारको एउटा बिन्दुमा नेपाल नामक देश पनि छ किनकि यहाँ पृथ्वीनारायणको एकीकरण र दूरदर्शी पौरखको गर्विलो विगत छ । २६ वर्षसम्म अनवरत युद्धभूमिमा होमिएका एक पुर्खाको जीवनीसँग नेपाली माटोको अटुट नाता छ । यो अतिरञ्जित व्याख्या होइन तथापि उसबेलाको केही सोच र स्वभावबाट उनी अछुतो भने नहोलान् नै । यद्यपि उनका “प्रजा योग्य भए दरबार बलियो हुन्छ । जनताले मन पराएको व्यक्तिलाई काजी दिनुपर्छ” भन्ने भावसँग राष्ट्रिय एकता मुखर हुन्छ । उनका सामाजिक, न्यायिक नीतिसँग विज्ञानको जादु छ । घुस लिने र दिने दुवैलाई कठघारामा उभ्याइनु, जात विशेषले कर्म गर्न पाउने स्वतन्त्रता पाउनु, अदालतको पैसालाई दरबारमा हुल्न नचाहनु अनि जोगी, साधु, गरिबप्रतिको आदरभावले आसन पाउनुमा मानवता, स्वतन्त्रता, समानता र एकताको मधुर आवाज स्वतः गुञ्जिन्छ ।

इतिहासकारले अर्थशास्त्रीको संज्ञा दिन कञ्जुस्याईँ नगरिएका व्यक्तित्व पृथ्वीनारायणमा कृषि विकासको सपनासँग गाँसिएको ‘राम्रो जमिनको घर सारेर खेती गर्नुपर्ने’ नीति थियो । स्वदेशी कपडा लगाउने सद्प्रेरणा थियो । अङ्ग्रेजको कालो नीतिको चर्को विरोधी भावसँग राष्ट्रिय स्वाधिनता अब्बल लाग्थ्यो । जडिबुटि बेचेर पैसा साट्ने अनि खानीको सदुपयोग गर्ने आत्मनिर्भरताका भाव थिए । त्यसो त परराष्ट्रनीतिको “नेपाल दुई ढुङ्गाबिचको तरुल हो” भन्ने उद्गार कुटनैतिक सचेतताको दृष्टान्त हो, यसर्थ उनका गर्विला विचारहरूले आजका लागि अनुकरणीय, मननीय र व्यवहारमा प्रायोगिक बनाउन उत्तिकै सामथ्र्य राख्छन् । चतुरपनको प्रखर भाव आज पनि सान्दर्भिक छ– किल्लालाई दह्रो बनाउने भावसँग, ‘जाइकटक नगर्नु झिकीकटक गर्नु’ भन्ने महावाणीसँग, ‘चीनको वादशाहसँग छाहा राख्नु दक्षिणको वादशाहसँग घाहा (घाउ) त राख्नु तर त्यो महाचतुर छ’ भन्ने उक्तिसँग । राज्य र सीमारक्षाका खातिर सैनिक सक्षमताका क्षेत्रमा उनको विचार आजका लागि कम प्रेरणाप्रद लाग्दैनन् । ‘सैनिकलाई नुनको पछि नलगाउनु किनकि राजाको सार भनेको सिपाही र रैती हुन्’ भन्ने विचारमा राज्यसेवाको भावना गाँसिएको देखिन्छ ।

उपसंहार

इतिहासबाट पाठ सिक्नु आवश्यक छ । त्यो प्राचीन समयमा बनेका दरबार, मन्दिरले कैयाैं ठूला–साना भूकम्पसँग झुक्न चाहेनन् । सायदै ५०० –७०० वर्ष पुराना भौतिक संरचनाले हामीले नसोचेका विनासकारी सङ्कटमा डगमाएनन् । त्यो ज्ञान, त्यो भौतिक संरचना निर्माण गर्ने कला, शिल्प र ढाँचासँग आजको अत्याधुनिक पद्धति कमजोरै लाग्छ । आजका पुस्ताले अनुसरण गर्नुपर्ने ठम्याइ हो । हाम्रो पुख्र्यौली विज्ञान र वैज्ञानिक सोचमा हाम्रो देश कति सक्षम रहेछ जतिखेर शक्तिशाली शत्रुका रूपमा अङ्ग्रेज थियो । स्वाभिमान रक्षाको सङ्कट थियो तर नेतृत्व र जनतामा राष्ट्रिय स्वार्थ बलियो रहेको बोध हुन्छ । यसर्थ ‘पृथ्वीनारायण’ कुनै व्यक्तिगत निधि नभएर हाम्रा पुख्र्यौली धरोहर, अजेय इतिहास र प्रेरणाप्रद नेपाली एकताको गौरवमय नाम हो । अतः उनको योजनामा जोडिएर तमाम त्यो इतिहास निर्माणमा सहादत प्राप्त गर्नुहुनेप्रति हृदयतः श्रद्धाञ्जली अर्पण गर्न नजान्नु हाम्रो मूर्खता हुँदैन र !

इतिहासका कतिपय विषय समयान्तरसँगै झुटा र अपाच्य बन्छन् र बन्दै जानेछन् पनि । आज हामीले सत्य मानेर कोरिएका नियम भोलिका लागि अपाच्य, झुटा र असत्य नै पनि हुन सक्लान् । कुनै व्याख्याताले केही कसुर खोजेर अपव्याख्या गरिदेलान् पनि । यसर्थ हिजो पृथ्वीनारायण शाहले नेपाली जनतालाई ‘चार जात छत्तीस वर्णको फूलबारी’ भनेर दिएको अभिव्यक्तिमा जति प्रेम र एकता थियो त्यति आजका मागमा छ झैं पनि लाग्दैन ! हामीले भोगेको द्वन्द्वबाट, आन्तरिक किचलोबाट अर्थात् कुर्सीमोहको घनचक्करबाट हामीले के पाइरहेका छौँ ? जनतालाई सैद्धान्तिक रूपमा कागजमै अड्काएर दिएका उपलब्धिसँग तोलेर, मानवअधिकार उल्लङ्घनसँग जोडिएका तीता विषय बिर्सँदै सिङ्गो राष्ट्रको अखण्डताका ऐतिहासिक व्यक्तित्व पृथ्वीनारायणलाई मूल्याङ्कन गर्न पूर्वाग्रह राखेमा त्यहाँ घमण्ड मिसिएको जस्तो लाग्छ । अर्थात्, भावी पिँढीहरूले हामीलाई औँल्याएर यसो पनि भन्लान्– ‘हाम्रा पुर्खाले सिङ्गो देशभन्दा साँघुरो सोचभित्रै लडाईँ गरे, हाम्रा लागि उज्ज्वल बाटो खन्नै सकेनन् । गफ छाँटे, काम गर्न सकेनन् । भ्रष्ट्राचारी बने तर मुलुकको गरिबी समाधानको निष्पक्ष र न्यायपूर्ण समाधान खोज्नै सकेनन् । समय बदलेको भनिदिए तर सोच बदलेनन् ….!’ तब हामी सबैका आजका विचार थोत्रा, असक्षम र स्वार्थी साबित हुनेछन् । यसर्थ एकताको गीत गुञ्जाइनु व्यक्तिस्वार्थमा सीमित सोच हुँदै होइन ।

वि.सं. १८३१ को माघे सङ्क्रान्तिका दिन ५२ वर्षको अल्पायुमै उनको निधन भयो । भलै उनको छोटो आयुमा थियो तर नेपाल निर्माणका लागि एउटा पृथक् अमिट इतिहास रचियो । अमूल्य दिव्यापदेश तथा उपदेशले भरिएको पृथ्वीनारायणको वाणी शक्तिले राष्ट्रिय एकताको खम्बा गाड्दैमा समयले बिदा माग्यो । हिजो जानी–नजानी मानिएका जे–जस्ता व्यवहार गरिए पनि आज त छातीमा हात राखेर इतिहासलाई बोध गर्ने जमर्को गरिनुपर्छ । अपव्याख्याको हुइममा भन्दा सत्यताको वस्तुतामा रम्न सिक्नु हाम्रो कर्तव्य हुन जान्छ ।