बुकहिल प्रकाशनले २०७७ मङ्सिर २७ गतेदेखि ‘कल्पग्रन्थ’को ‘प्रिमियम संस्करण’ प्रि-बुकिङ गर्नुपर्ने समयसीमा निर्धारण गरेको छ फागुन १ गतेसम्म । सन् २०२१ मा ‘कल्पग्रन्थ’ कल्पिनेले २०२१ नेपाली रूपैयाँ नेपाल इन्भेष्टमेन्ट बैंकमा पुगेर खाता नम्बर ००४०१०१०२५६७३६४ मा जम्मा गरेको हुनुपर्नेछ ।
‘Erections, Ejaculations and General Tales of Ordinary Madness’ (सन् १९७२) हात पार्नुभो भने, ‘The Most Beautiful Woman in Town and Other Stories’ (सन् १९८३) को दैलो उघार्नुभो भने, सन् १९६९ को ‘Notes of a Dirty Old Man’ को दाँत झार्नुभो भने हजुरलाई चार्ल्स ब्युकोस्कीले सन् १९६८ मा रचेको कथा ‘Politics is Like Trying To Screw A Cat In The Ass’ याद हुनुपर्छ ।
उल्लेखित कथामा ब्युकोस्कीको मत छ:
The difference between a democracy and a dictatorship is that in a democracy you vote first and take orders later; in a dictatorship, you don’t have to waste your time voting.
(लोकतन्त्र र अधिनायकवादबीचको भेद के हो भने, लोकतन्त्रमा सर्वप्रथम मतदान गर्नुहुन्छ र आदेश पछि ग्रहण गर्नुहुन्छ; तानाशाहीमा हजुरले आफ्नो समय मतदानमा खेर फाल्नु पर्दैन ।)
हजुरको मत मरु तर ‘कल्पग्रन्थ’को प्रकाशकीय ‘प्रि-अर्डर’ आदेश हजुरले पालन गर्नुपर्नेछ, नत्र ‘बिग ब्रदर’को ‘बुकमार्क, पोस्टकार्ड, चट्टानी गाता’को ‘कल्पग्रन्थ’ हजुरको घर भित्रिनेछैन अर्थात हजुरलाई ‘होम डेलिभरी’ हुनेछैन । अर्को शब्दमा, ‘ढाई किलो का हाथ मोदी जी के साथ’ देखापर्नेछ । राजकुमारी सन्तोषी निर्देशित चलचित्र ‘दामिनी’ (सन् १९९३) मा सनी देओलको डायलग छ, ‘जब ये ढाई किलो का हाथ किसी पर पड़ता है तो आदमी उठता नहीं उठ जाता है ।’ एक दशमलव पाँच किलोग्राम अर्थात ‘डेढ किलो’को ‘कल्पग्रन्थ’ हजुर ‘प्रि-अर्डर’ गर्नुस् डेलिभरी हुनेछ हजुरको घरसम्म ।
निल्स बोहरको कथन अब भो धेरै जतन नगरौं:
The best weapon of a dictatorship is secrecy, but the best weapon of a democracy should be the weapon of openness.
(तानाशाहीको सबैभन्दा गतिलो हतियार गोपनियता हो, तर लोकतन्त्रको सबैभन्दा गहकिलो हतियार उदार मनको, खुलापनको हतियार हुनुपर्छ ।)
दुनियाँको ठूलो तानाशाह आफू सबैभन्दा महान लोकतान्त्रिक भएको र्याल काढ्छ । ‘कल्पग्रन्थ’ आफ्नो तौल बताउँछ, मोल बताउँछ अर्थात ‘झोला’ वा बोक्रा देखाउँछ, आफू खाँदिएको ‘कोक्रा’ पनि देखाउँछ, ‘पोस्टकार्ड’ वा ‘छोक्रा’ पनि देखाउँछ । ‘कल्पग्रन्थ’को उदार मन भनेको पुङमाङ न हो, स्वाङ न हो, अधिनायकवादी खुलापन भनेको लोकतान्त्रिक भ्वाङ न हो ।
उनीहरूले भने, “लोग्नेले छाडिदिएकी आइमाई हो । ऊ अब कसैकी निजी सम्पत्ति रहिन । हामी सबैकी साझा सम्पत्ति भई । ऊ पब्लिक प्रोपर्टी भई ।” … एकार्कालाई भोगेर हामीले यो नर्कलाई स्वर्गतुल्य बनाउनु छ ।
(पृ. ३८९, भल्चरावलोकन : एक म्याट्रिमोनियल अब्सर्डिटी)
कुमार नगरकोटी कस्तो धारका हुन् ? खगेन्द्र सङ्ग्रौलालाई पनि मन परेको छ, रवीन्द्र मिश्रको पनि चित्त हरेको छ । उल्लेखित फलानोको कुनै धार छैन भने उनले स्वयंलाई दुईधारे तरबार होइन, भुत्ते करार गरे हुन्छ । धार नभएपछि हुने भनेको भुत्ते नै हो ।
सल्यानका लेखक वीरेन्द्र शाहीले टिप्पणीकारलाई सुनाउँछन्, ‘बहुदलपछि ‘मुसा मार्ने औषधी’ पाइने गर्थ्यो, प्लास्टिकले बेरेको, मजबुत, हेर्दै ‘अहो’ । रंगीचंगी कागजले छोपेको । बाहिर एकदम शृङ्गारपटार गरेको र ‘नाराबाजी लै लै’ । उदाङ्गो पार्दै, पत्रपत्र खोल्दै गएपछि भित्र लेखेको हुन्थ्यो, मुसाको औषधी भनेको बिरालो पाल्ने हो ।’
‘कल्पग्रन्थ’ शाहीले बताएजस्तो ‘मुसा मार्ने औषधी’ हो । उनीहरू खोक्रो थिए र ‘मजबुत’ बोक्रो -पुस्तकको गाता- देखाए र पाठकको ‘पाता’ फर्काए । उनीहरूमा कति साह्रो खुलापन रहेछ, केपी ओलीको महाधिवेशन जस्तो । बाहिर विज्ञापन, मुसा खुत्रुक्कै ढाल्ने । भित्र सल्लाह, मुसाको अचुक अस्त्र बिरालो पाल्ने । सभापतिमा चयन, मनोनयन हुने खड्गप्रसाद ओली नै हो, भोट किन हाल्ने, मत किन खेर फाल्ने ? जबसम्म सत्तामा केपी ओलीहरू रहन्छन्, साहित्यमा कुमार नगरकोटी जस्ता ‘फिक्सन डिजाइनर’ रहिरहन्छन् । कमरेड के बोल्छन्, ‘गैंडाज आर नट राइनोज । गैंडाज आर गैंडाज ।’ नगरकोटीको साहित्यिक बोली ओलीकै हो, ‘स्त्रीज एण्ड युवतीज ।’
चितवनको ठोरीमा ‘रामराज्य’को कुतर्क गरिरहेका ओली र आफ्नो उपन्यासिका ‘ज्ञ’ (प्रथम, जेठ, २०७५) मा ‘सम्भोग’ तथा ‘तथागत’को मुखबाट क्रमशः ‘मृतक त मरिसकेको छ (पृ. २०)’ र ‘मृतकको डेडबडी काँ छ भनेको हुँ (पृ. उही)’ उच्चारण गर्न लगाउने नगरकोटीमा के अन्तर छ ?
अथवा:
अलि क्यालकुलेटिभ तवरले दिन नै तोकेर भन्ने हो भने कुप्रे मानव DECEMBER TWENTY ONE जस्तो छोटो देखिन्थ्यो र तथागत स्वप्नदर्शीचाहिँ JUNE TWENTY TWO जस्तो लामो ।
(ज्ञ, पृ. १०)
अवैज्ञानिक, किनभने डिसेम्बर २२ को दिन सबैभन्दा छोटोे हुन्छ, जुन २१ को सबैभन्दा लामो । ‘कुप्रे मानव’ फलाक्छ, ‘मानिसको चरित्र उसले पढ्ने किताबहरूबाट निर्धारण हुन्छ, किताब नपढ्ने मानिसको कुनै चरित्र नै हुँदैन (पृ. १२-३) ।’
‘मोहन कोइरालाका कविता’ (प्रथम, २०३०, दोस्रो, २०४८, साझा प्रकाशन) मा सं. ईश्वर बराल ‘मोहन कोइरालाको कविताको अभिवीक्षा’ अभिव्यक्त गर्छन् :
केही (आधुनिक) लेखकले आफूलाई सामाजिक संरचना, वर्तमान मूल्य, जीवनप्रणाली आदिलाई फेर्न नसक्ने ठानी पानीमारा, गफास्टक, सिल्लाईँ औ फट्याइँलाई नै महाशय औ सदाशय ठाने । यस्ता हुतीहारा लेखकले एकातिर आफूलाई अप्रतिबद्धता, अकर्मण्यता तथा अघोरीका पथमा धकेले भने अर्कातिर निर्विवेक, आत्मजुगुप्सा, आत्मविद्वेषण, आत्मनिर्वासन, आत्मप्रत्याख्यान, विबाधा, अनास्था, दुश्चिन्ता तथा विसङ्गतिसमेतको वरण गर्न लाए ।
(पृ. ड)
मातेइ कालिनेस्कुको ग्रन्थ ‘फाइभ फेसेज अफ मोडरनीति : मोडर्निज्म, आवाँ गार्द, डेकाडेन्स, किस, पोस्टमोडर्निज्म’ (सन् १९८७) ले आधुनिकताका विविध प्रकारको चर्चा अघि बढाउँछ । ‘युद्धमोर्चाको सबैभन्दा अग्रिम सेनाको टुकडी’ अर्थ लगाउने बीसौं शताब्दीमा मुखदर्शन गराएको आवाँ गार्द कलासाहित्य समाज रूपान्तरणको माध्यम हुनसक्ने कुरामा ढुक्क छ । कथित उच्च संस्कृतिका हनुमान, पालेदाइहरूले म्युजियममा बुझाएपछि, पाठ्यक्रमको सर्वोच्च सिंहासनमास्तिर, सिरानमन्तिर घुसाएपछि भने आधुनिकवादको राजनीतिक सचेतता सोलमारी गएको छ र ‘अग्रिम सैनिक’ उच्च आधुनितावादी भएको छ । उच्च आधुनिकतावाद ‘पहिरो जाने पहाडमुन्तिर’ सर्छ अर्थात ‘डेकाडेन्स’मा घाँस चर्छ, मास छर्छ र अन्ततोगत्वा ‘किस’ गर्छ । आधुनिकतावादी शैली केवल प्रयोगका ‘देउसिरे, भैली’ हुनपुग्छन् । अग्रिम सैनिकको राजनीतिक मस्तिष्क कालापानी निर्वासित हुन्छ र कलासाहित्य ‘माल’मा रूपान्तरित हुन्छ । बजारको चरणलाई ‘किस’ गरेको सबैभन्दा ‘अग्रिम’ सैनिकको उदाहरण ‘डर्टी पिक्चर’ गर्ल विद्या बालनको ‘एन्टरटेनमेन्ट’को स्वरमा ‘प्रयोग, प्रयोग र केवल प्रयोग’को आलाप गरिरहेको ‘अघोरी’ नगरकोटीबाहेक अर्को को हुनसक्छ ?
बराल अगाडि थप्छन्:
वस्तुतः आधुनिकता प्रदर्शन तथा प्रचारको विरोधी हो । केही आधुनिक लेखक अतियथार्थवादी, कुटार्थक तथा चटके भए तापनि प्रायश: सबैले मिथ्याभाषी तथा छद्मवेशी नेता, स्थितावस्थाका समर्थक मठाधीश, सम्मोहनजड जनतालाई समानरूपले छामे, जनताका अधिकार औ स्वतन्त्रताका अपहरणको घनघोर विरोध गरे ।
(पृ. ढ)
‘कल्पग्रन्थ’ र ‘कल्पग्रन्थ’कारको प्रदर्शन गर्नु बाँकी अब के छ ? त्यसैले बरालको शब्द पैंचो लिने हो भने, नगरकोटी ‘केही’ भित्र पर्दछन्, ओली जस्तै अतियथार्थवादी, कुटार्थक तथा चटके । जिब्रो चपाउनुपर्दैन, उनीहरू स्थितावस्थाका समर्थक हुन् र जनताको सम्मोहनजडताको मुक्तिमोर्चामा सिन्को भाँच्दैनन् ।
‘घाटमान्डु’ (२०७३, भदौ) मा सङ्ग्रहित एउटा कथा छ, ‘आयुचोर’ । ओलीवेशनका जनता जस्तै पाठक ‘कल्पग्रन्थ’को सम्मोहनमा के साह्रो रत्तिएका होलान् भने, ‘घाटमान्डु’को ‘आचोमा’ (आयु चोर्ने मानिस) ले नै ‘कल्पग्रन्थ’को भविष्यवाणी गरेको उनीहरूलाई पत्तो छैन । सन् २०११ को अमेरिकन साइन्स फिक्सन ‘In Time’ हेर्नुभएको छ भने, हजुरलाई ‘आयुचोर’को स्रोत थाहा हुनगएको छ ।
‘ईन टाइम’को ५० वर्षीय आमा राचेलसँग बस्ने डेटन कारखानामा कार्यरत २८ वर्षीय चरित्र Will Salas का अनुसार:
– We’re genetically engineered to stop aging at 25.
– Time is now the currency.
– We earn it and spend it.
– The rich can live forever.
– And the rest of us ?
‘आयुचोर’ (पृ. ३३-५) बाट केही उद्धृत गरौं:
र अन्तमा एउटा किताब तयार भयो- सिटी अफ स्यान्ड । एउटा त्यस्तो काव्य सङ्ग्रह, जसलाई उसले मसीले नभई श्वास र प्राणद्वारा लेखेको थियो ।
उसले सोच्यो ऊ -सिटी अफ स्यान्ड- एक सय प्रति मात्र छाप्नेछ । किताबलाई एउटा भव्य समारोहमा विमोचन गर्नेछ । सय जनाले किताब लैजानेछन् ।
(पृ. ३३)
धेरै सोचविचार तथा क्याल्कुलेसनपश्चात आचोमा यो निचोडमा पुग्यो, उसले -सिटी अफ स्यान्ड- सय होइन, बरू एक सय असी थान छाप्नेछ ।
आचोमाले -सिटी अफ स्यान्ड- को मूल्य एक महिना राख्यो । मात्र एक महिना । न घटी, न बढी । न कुनै छुट ।
(पृ. ३४)
एक महिना आयु तिर्नुस् र किताब पढ्नुस् ।
आचोमासित अब जगेडा आयु जम्मा एक हप्ताको मात्र थियो ।
सिटी हलमा निमन्त्रित स्ट्रिक्टली वान हन्ड्रेन्ड एन्ड असी काव्यप्रेमीहरूमाझ -सिटी अफ स्यान्ड- को विमोचन भयो ।
– कस्तो विचित्र प्राइस ! – एउटी युवतीले भनी ।
– बडो अनौठो ! – अर्की युवतीले भनी ।
तेस्री युवतीले भनी :
– समय मूल्य हो । मूल्य समय हो । आफ्नो किताब मूल्यवान देखाउन कविले रचेको यो एक साहित्यिक स्टन्ट मात्र हो ।
चौथी युवतीले भनी :
– हरेक किताबको एक निश्चित आयु हुन्छ । केही किताब चिरायु हुन्छन्, केही किताब अल्पायु । यो किताबको आयु एक महिनाको हुनुपर्छ । कविलाई आफ्नो रचनामाथि विश्वास नभएको उदाहरण हो यो ।
(पृ. ३५)
के परिकल्पना गर्न सकिन्छ भने, ‘कल्पग्रन्थ’को निम्ति सुरुमा सङ्ख्या निर्धारण गरिएको छ । -सिटी अफ स्यान्ड- मा एक सय, होइन एक सय असी थान जस्तो । -सिटी अफ स्यान्ड- को मूल्य एक महिना छ, -कल्पग्रन्थ- को दुई महिना अधिक । एक महिना आयु तिरे -सिटी अफ स्यान्ड- पढ्नु पाइन्छ । दुई महिनाभित्रमा प्रि-अर्डर गरे -कल्पग्रन्थ- हात लाग्छ । ‘आयुचोर’को एउटी युवतीलाई आश्चर्य लागेको छ, ताज्जुब लागेको छ, ‘कस्तो विचित्र प्राइस !’ -कल्पग्रन्थ-को मूल्य पनि विचित्रको भन्नु सकिएला, सन् २०२१, त्यसैले मोल नेपाली रूपैयाँ २०२१ । तेस्री युवतीले बोलेको ‘समय मूल्य हो’ Will Salas को ‘टाइम ईज नाउ द करेन्सी’ को निकट आइपुगेको छ ।
एक रात Will Salas ले ‘टाइम’ ठगी गर्ने पचहत्तर वर्षीय Fortis र उसका Minutemen हरूबाट १०५ वर्षीय हेनरी ह्यामिल्टनलाई जोगाउँछ, जसको नाडीघडीमा ११६ वर्ष जगेडा छ । ह्यामिल्टन Will लाई बताउँछ, ‘… for a few to be immortal, many must die.’ (जाबो केही मानिस अमर हुन सहस्रले बली चढ्नुपर्छ ।) बिहान, जीवनबाट वाक्क भइसकेको ह्यामिल्टन आफूलाई जम्मा पाँच मिनेट बचाएर छेउमा निदाइरहेको Will को नाडीघडीमा सर्वस्व वर्ष हस्तान्तरण गरिदिन्छ । ‘आचोमा’सँग जगेडा आयु एक हप्ताको मात्र छ र अब उसको लागि कति मर्नुपर्छ ? ‘… न्यायाधीशबाट त्यो साँझ आचोमाले पाँच वर्षको आयु चोरेको थियो (पृ. ३३) ।’
आफ्नै ‘आयुचोर’को भाकामा नगरकोटीले ‘कल्पग्रन्थ’मार्फत पाठकहरूको आयु सिद्धाएर ‘आफ्नो लामो आयुको घोषणा (पृ. ५६)’ गरेका छन् । केपी ओली जस्ता आचोमाहरूले देश भरपुर छ तर उनीहरू भट्याइरहन्छन्, ‘देश बनाउने मै हुँ ।’ नगरकोटीले लेखेका हरफबाटै टिप्पणीको प्रथम अध्याय समाप्त गरौं: ‘तपाईंले वन्दना गर्ने साहित्यिक संसार … नगरकोटीजस्ता डाँकुहरूले भरिएको छ, साहित्यिक लुटपाट मच्चाउँछन् र निर्लज्जताका साथ भन्छन् – यो किताब मैले मेरा गुणी पाठकहरूका लागि लेखेको हुँ (पृ. ५७)’ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।