मुलुक नियन्त्रित अस्थिरतामा छ कि भन्ने शङ्का सधैं रहिआएको छ । विदेशीले खेल्दैछन् कि भन्ने कुरा छ, तर त्यो सधैं थियो । जेनजी आन्दोलन अघि पनि ‘त्यो’ थियो । यसैले आन्दोलनले यस कुरामा पनि स्थिरता खोजेको हो । ठ्याक्कैसँग कुरा के हो भने, नेपालले परिवर्तनलाई संस्थागत गर्न सकेको छैन, यसको मूल कारण ‘चरित्रको रूपान्तरण’ भएको छैन । यसर्थ चरित्रको पुस्तान्तरणको सवालमा नेपाली पछाडि छौं ।  सामाजिक परिवर्तन केवल राजनीतिक संरचना वा कानूनले मात्र सम्भव छैन; व्यक्तिको मानसिकता, मूल्य र चरित्र परिवर्तन अनिवार्य छ भन्ने कुरा यस आन्दोलनपछि हप्ता-दश दिनमा व्यापक रूपमा देखिएको छ।

र, यसैबेला यस आन्दोलनको ‘चरित्र चित्रण’मा नेपाली साहित्यले बडो हतारिएको महसूस हुँदैछ । यो आन्दोलन ‘नयाँ नेपालभन्दा पनि नयाँ नेपाली’ तर्फको यात्रामा नै अग्रसर छ । यसैले तत्काल धैर्य, प्रतिबद्धता र निष्पक्षता आवश्यक छ । र, सो धैर्य, प्रतिबद्धता र निष्पक्षताप्रति प्रतिबद्ध हुने सवालमा नेपाली साहित्यले निष्ठावान र मनोवैज्ञानिक समझदारी देखाउनुपर्ने बेला आएको छ । तर, कताकति नेपाली साहित्य ‘हस्याङफस्याङ’ गर्दै ‘तातै खाऊ, जल्दै मरुँ’को अवस्थामा ‘चरित्रवान’ देखिन खोजिरहेको हो कि भन्ने प्रतित हुँदैछ । तत्काल परिणामको लागि हतार गर्नु वा हर्ष-उत्सव मनाउन माइतीघरमा पुगेर कविता भनिहाल्नु मलाई ठीक लागिरहेको छैन । यस्तो ‘हर्क साम्पाङ वा रवि दाइ स्टाइलमा’ ‘धरान- काठमाडौं’ र ‘नख्खु-फेसबुक लाइभ’ नगरोस्, त्यस्तो ठिस पारा नेपाली साहित्यले नदेखाओस् भन्ने प्रस्तावसहित यो लेख डिजिटल्ल्ली उपस्थित छ ।

सूचना महामारी र सामाजिक मनमुटाव

करीब दश दिन यता, निरन्तर मोबाइलमा टाँसिएर बस्दा दाहिने कुम झर्ला जस्तो गरी दुखिरहेको अवस्था छ । म आफैं सूचना दिने मानिस (पत्रकार) हुँ, तर पनि समाचार, गसिप र अफवाह (news, gossip, rumor) को भूमरीमा पटक–पटक फस्न पुगेँ । सामाजिक सङ्क्रमणका कारण दिमागमा सूचनाको यति ठूलो बोझ (सूचना महामारी) सन्चित भयो कि म आफैं ‘अफवाह मनोविज्ञान’ को शिकार बनेँ । भदौ २३ देखि ३१ गतेसम्म त मैले करीब १८–२० घण्टा मोबाइल मात्रै समतिबसे हूँला । र, यतिखेर पनि सूचना प्रवाहको तरंग (wave) ले मलाई हिर्काइरहेको छ । र, भ्रामक सूचनाले ‘सामाजिक मनमुटाव’ बढाइरहेको पनि छ ।

‘भएको के हो ?’ सबै आफैंले प्रत्यक्ष देखे/भोगेको हो यद्यपि ‘किन भयो ?’ भन्ने प्रश्न अझै हावी छ र निरन्तर छ । घटनाको ‘कारण’ मात्रै जान्न मन लागिरहेको अवस्था छ (परिणामको सन्दर्भमा प्रष्ट छु, हामी जेनजी पुस्ताले प्राप्त उपलब्धिलाई संस्थागत गर्नेछौं) । यतिखेर यस आन्दोलन लक्षित गहिरा व्याख्या, राजनीतिक आरोप–प्रत्यारोप झनै बढ्दै छ, यसले पनि एक प्रकारको सूचना थकान (Information fatigue) को अवस्था सिर्जना भएको छ तर, आफ्नो स्मृति प्रभाव (Memory effect) का कारण पहिलोपटक सुनेको ‘गलत सूचना’ फ्याक्ट चेक भएर आइसक्दा पनि ‘डाइजेस्ट’ गर्न गाह्रै परिरहेको बडो टिठलाग्दो र ठिसलाग्दो अवस्था छ । यसलाई मनोविज्ञानले सूचनाको पहिलो छाप (first impression bias) भन्दछ तर, आफूलाई मनपर्ने वा आफ्ना विचारसँग मेल खाने कुरा मात्र मान्न वा विश्वास गर्ने खालको एक प्रकारको ‘Confirmation bias’ को अवस्था अहिले पनि छु । खैर, सूचना महामारीको व्यवस्थापन (Infodemic management) गर्नुपर्छ र त्यसका लागि फ्याक्ट–चेक पोर्टलहरू, आधिकारिक सूचना बुलेटिनहरू र प्रेस ब्रिफिङ (fact-check portals, official bulletins, press briefings) मा नै ध्यान केन्द्रित गर् है केटा भनेर आफूलाई सम्झाईवरी म यो लेख्न आइपुगेको छु ।

मोही पनि फुकेर खाइरहेका छौं कि ?

यतिबेला धेरै कुरा बोल्नुपर्नेछ र बोल्न अप्ठ्यारो पनि छ । बोलेको कुरा आधिकारिक बनिदिन सक्ने र नबोलेको कुरा पनि आधिकारिक बनिदिन सक्ने खतरा छ । अर्को भनेको, मलाई तपाईंको प्रश्नको उत्तर दिन आउँछ र तपाईंलाई मेरो प्रश्नको उत्तर दिन आउँछ । तर, हामीहरूलाई आ-आफ्नो प्रश्नको उत्तर दिन आइरहेको छैन । यतिबेला जसले जे बोले पनि ‘होला कि’ जस्तो लाग्ने अवस्था निर्माण भएको छ । सत्य स्पष्ट नभएको यस अवस्थामा दिमागले अनुमानमा अडेस लगाएको छ र “हुनसक्छ” नामको अर्धसत्य पनि सम्भावित सत्य ठानिने जोखिम बढ्दो छ । सत्य थाहा नपाउँदा मन यति अशान्त हुन्छ, हुँदो रहेछ भन्ने कुरा यसपटक खुलस्त रूपमा बुझिरहेको छु । लामो समयसम्म अनिश्चिततामा परेपछि अरूले भनेको प्रत्येक कुरा शंकास्पद लाग्छ र यसलाई नै थोरै शब्दमा ‘शंका–पूर्वाग्रह वा संशयग्रस्त अवस्था’ भन्ने गरिन्छ । र, यतिखेर कसैप्रति पनि कसैद्वारा शंका–पूर्वाग्रह वा संशय साँधिएको अवस्था छ ।

राज्य, सत्ता र संस्थाको वैधता कमजोर हुँदा (राज्यविहीन अवस्था मैले मानेको छैन किनकि राष्ट्रपति थिए) समाजमा साझा सत्य हराउँछ भन्ने कुरा भदौ २४ गतेको दिउँसो ११ बजे देखिन पुग्यो । वैधताको संकटको कारण नियम, मूल्य र मार्गदर्शन अस्पष्ट भएको बडो भद्रगोले अवस्था थियो यो । एकप्रकारले त्यसलाई ‘सामाजिक दिशाहीनता’ भन्न सकिएला । भदौ २३ को भन्दा बढी भदौ २४ गते ‘मेरो अभिभावक छैन कि’ भन्ने अवस्थामा पुग्दा ‘संशय–संस्कृति (Suspicion Culture) अझ बढ्न पुगेको हो कि भन्ने लाग्दछ, र त्यो त्यसपछि दिनहरूमा (सेना आइसकेपछि) पनि झनै बढ्दै गयो । त्यसपछि झन् ‘सामूहिक अनिश्चितताको मनोविज्ञान (Collective Uncertainty Psychology)’ हावी भयो कि झैँ ठान्दछु ।

सत्य खोज्दा झन् अर्थहीनता भेटिने खतरा बढिरहेको यो अवस्थालाई अल्बर्ट कामसको अर्ब्सडिजम (Absurdism)’ भनेर व्याख्या गर्न खोज्दा हतारो नहोला कि भन्ने लागेर म अझ अगाडि मेरा केही व्यक्तिगत मूल्यांकन अगाडि सार्दैछु । हामी यतिबेला उही असंसोधित संविधान, परिचयउन्मुख नियम, असमान कानून वितरण वा गैरजिम्मेवार राजनीतिक संस्थासँग उत्तर खोजिरहेका छौं, तर प्रणाली पनि जटिल र अर्थहीन प्रतित भइररहेको छ । यस आन्दोलन सोही अर्थहीन र जटिल प्रणालीलाई ‘पुनर्निमाण’ गर्नको खातिर गरिएको हो । आन्दोलनको नियत सही छ, बलिदानीको सर्वोच्च मूल्य पनि छ तर, ‘तातो दूधले मुख पोलेको मान्छेले मोही पनि फुकेर खान्छ’ भनेजस्तो अवस्था छ । सुधार्न खोजिएको प्रणालीले ‘आरोपित’लाई दण्डित गर्छ भन्ने विश्वास छ, तर ‘प्रणाली’ स्वयं पनि आरोपित छ । यसर्थ आरोपित प्रणालीले ‘निरङ्कुश र भ्रष्ट नियत’लाई दण्ड गर्न सक्ने हो कि होइन भन्ने संशय स्वाभाविक पनि छ । फेरि गरिछाड्छ भन्ने विश्वास एकछेउमा छ ।

ठ्याक्क भन्दाखेर, आफू पनि सुध्रिएर अर्कोलाई पनि सुधार्नुपर्ने बडो द्वैत अवस्था छ । बिग्रिएकाहरूलाई अनिवार्य रूपमा ‘जवाफदेही वा कानूनसम्मत’ ल्याउनुपर्नेछ । भत्किएका भौतिक सम्पदा पुनर्निमाण गर्नका खातिर ‘कायममुकायम निर्माण दर्शन पनि भत्काउनु पर्ने’ अवस्था छ । त्यो भनेको चाहिँ ‘विघटन र पुनर्संयोजन’ को पारस्परिक यात्रा हो । यो व्यक्तिगत र सामूहिक दुवै हुन्छ भन्ने लाग्दछ । त्यो भनेको ‘पहराक साँघुरोको बाटो’मा यात्रारत हामीले ‘अलिकता बाटो छोडिदिने पनि हो, अलि धेरै चाहिँ अगाडि बढिरहने पनि हो । त्यो भनेको व्यक्तिगत विश्वासभन्दा माथि उठेर ‘आवश्यक सामाजिक सम्झौता’ गर्न सकिने अवस्था पुग्नुपर्छ भन्ने कुरा हो । पुरानो सामाजिक सम्झौता (अपारदर्शी र अर्थहीन प्रतित हुने संविधान, सामाजिक चेतना, राजनीतिक आस्था) भत्किएको यस अवस्था नयाँ सम्झौता गर्नुको हामीसँग विकल्प छैन, यो गर्नको खातिर हामीले व्यक्तिगत विश्वासलाई एकलट पट्याङ चाकमा दनक दिनुपर्छ भने पनि दिइहाल्नुपर्छ भन्ने कुरा हो । यसैले यतिबेला मलाई राजनीतिक बयानबाजी भन्दा  मनोवैज्ञानिक–दार्शनिक मात्र नभई समाजशास्त्रीय र व्यावहारिक विश्लेषण चाहिएको छ । र, साहित्यले यी सबै विषय-प्रसंग समेट्न सक्ने हुँदा ‘राजनीति करीब गयल’ भएको अवस्थामा ‘साहित्य उपस्थित’ हुनुपर्छ भन्ने लागिरहेको हो ।

परिवर्तित सत्य र पर्खाइ मनोविज्ञान:

विविध कारण यही बेला यो ‘परिवर्तित सत्य (जेनजी)’ सँग अपेक्षा अत्यधिक छ । तर, पर्खाइ लम्बियो भने त्यो अवस्था Samuel Beckett को “Waiting for Godot” बनिदिन्छ, त्यो नबनोस् भन्ने चेतना आवश्यक छ । किनकि हाम्रो सामूहिक चेतनामा सधैं “विस्तारै उपलब्धि संस्थागत हुन्छ नि त” भन्ने अन्धविश्वासपूर्ण ‘पर्खाइ मनोविज्ञान’ हाबी छ । वा भनौँ  ‘हर्क साम्पाङ र रवि दाइ’ स्टाइलको ‘हतारो मनोविज्ञान’ धरान र नख्खु फर्काउन आवश्यक छ । अन्यथा, हामी निरन्तर दोहोरिने Camus को “The Myth of Sisyphus” को पात्रजस्तै हुन सक्ने खतरा उत्तिकै छ । ढुङ्गा उचाल्दै, फेरि खसाउँदै, निरन्तर निरर्थक श्रममा बाँधिन सक्ने खतरा… । यसर्थ, हामीसँग अब एक मात्र बाटो बाँकी छ- सामूहिक प्रयास र सामूहिक सकारात्मकता। र, यस यात्राको मूल मन्त्र- ‘थाक्न निषेध छ ।’ अर्को भनेको धैर्यशक्ति हो । धैर्यशक्ति ‘पर्खाइ मनोविज्ञान’ भन्दा उन्नत छ । पर्खाइभन्दा उन्नत छ । र, यो आन्दोलन ‘उन्नत’तर्फको यात्रा हो । यसर्थ ‘होला त नि भन्ने अल्छे पर्खाइ’ भन्दा ‘हुँदैछ’ भन्ने धैर्यशक्ति यतिखेर महत्त्वपूर्ण छ कि जस्तो मान्दछु ।

अब अर्को कुरा गरौं (कुरो हो त उही, अर्को टोनमा भन्न खोजिएको) ।

हामीले खुबै सुनेको ‘आधुनिकतावाद/उत्तरआधुनिकतावाद’ भन्ने शब्दहरू छन्, यिनको मोटामोटी अर्थ ‘सत्यलाई एक मात्र वस्तु नभई अनेक सम्भावना र कोणमा बुझ्न खोज्नु’ हो भनेर मैले हालसम्म बुझेको अवस्था हो । जेनजी आन्दोलनको क्रममा र त्यसपछि विस्तारित अवस्थामा- ‘आधुनिकतावाद/उत्तरआधुनिकतावाद’का केही अंश देखिन आइपुगेका हुन् कि भन्ने लाग्दछ ।

रुढिवाद, पराम्परागत मान्यता र ‘मै राम्रो भन्ने विश्वास’ले ग्रसित नेपाली सामाजिक मनोविज्ञानमा अपरझट ‘जेनजी आन्दोलन’ घटित भइदिँदा एउटै घटना/अनुभवका धेरै संस्करणहरू उपलब्ध हुन् पुगिदिए । ‘बहुवचन सत्य’को अवस्था सिर्जना भयो कि भन्ने लाग्दछ । बीपी कोइरालाका कथा ‘दोषी चस्मा’मा “भित्रि द्वन्द्व (Inner Conflict)’ अवस्था पढेकै हो, त्यस प्रकारकै आफैँप्रति (राज्यप्रति त छँदै छ) ‘अविश्वास र अनिश्चितता’ क्रियट हुन् पुग्यो कि जस्तो मानिरहेको छु । परिणामतः राज्य, संविधान, कानूनी दफा–उपदफा, राजनीतिक दलहरूको बयानबाजी, समाजशास्त्री, मानवशास्त्री, अपराध अनुसन्धानकर्ता र नागरिक संगठन सबैप्रति एकैसाथ ‘साझा अविश्वास र साझा अनिश्चितता’ बढेको छ । यसर्थ यतिबेला ‘म त के राम्रो छु र होइ, मायाकै हेराइ हो राम्रो’ भन्ने पारामा फुत्तै पुगेर, आफ्नाहरूलाई मात्रै विश्वास गर्दिहाल्ने बेला छैन । बरु, ‘यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छेउ’ भन्दै ‘साच्चै नबुझ्ने हौ कि नबुझने जस्तै बन्छौं ?’ भन्ने भावमा सबै पुग्न जरुरी छ ।

(अहिलेको यो संशयपूर्ण अवस्था Collective Trauma वा Societal Anxiety को अवस्था पनि त हो । म आफैं आफ्नो मानसिकता ‘ठीक’ छैन कि भनेर ‘संशय’ गरिरहेको छु । यसकारण यो लेख लेख्न बसिरहेको यस अवस्थालाई ‘गयल सचेत वा अतिरिक्त उपस्थित’ भनेर मानिओस् भन्ने विनम्रता पनि हो ।)

 विश्वास र चेतना पुनर्निमाणको समय:

आजलाई “सामाजिक चेतना पुनर्निमाणको” को समय पनि भन्न सकिन्छ । र, यो चेतना निर्माणको यात्रामा साहित्य अलग र निष्क्रिय रहन सक्दैन । र, बस्नुहुँदैन लागेर म न्यूनतम दायित्व निर्वाह गर्न खोज्दैछु किनभने साहित्यले घटनामा हस्तक्षेप गर्दैन, साक्षी भएर पनि हेर्न सक्दछ भन्ने मेरो व्यक्तिगत विश्वास हो ।

डिजिटल युगको साहित्य (जो फेसबुके साहित्य भनेर बदनाम पनि छ) ले तत्काल सामाजिक चेतना निर्माणमा सहयोग गर्न सक्दछ, भौतिक साहित्य वा परिपक्क साहित्य दशैं-तिहार मानिसकेर (सामाजिक अन्तर्घुलन बढेपछि) लेखिएला तर, यतिखेरको ‘विश्वसनीयताको संकट (Crisis of Credibility)’ का सम्बन्धमा बेसी नै व्यक्तिगत (मनोभावना) वा सडकको भाषा नै भए पनि लेखिन थाल्नुपर्छ कि भन्ने मेरो प्रस्ताव हो, जसलाई आग्रह हो भनेर बुझ्दा कदाचित फरक पर्दैन ।

यतिखेर वास्तविकता र कल्पना, विश्वास र अविश्वास, आशा र निराशाबीचको रेखा धमिलो भएको छ, यसर्थ साहित्य मौन बस्न मिल्दैन । यो समय भनेको आत्ममुग्ध भएर व्यक्तिगत भावनामा डुब्ने समय मात्रै पनि होइन; यो त सामूहिक चेतना जगाउने, समाजलाई सोच्न बाध्य पार्ने, प्रश्नहरूलाई अझै पैना लगाउने समय पनि हो । हरेक व्यक्ति भविष्यतर्फ दृष्टि ओछ्याइरहेका छन्, यसबेला समाजको सत्य ढाकछोप गरिन सक्दछ, यसैले समाजको आवाज ‘साहित्य’ले बोल्नैपर्छ । जब राजनीति अलि पर धकेलिदिन्छ र समाज द्विविधामय स्थितिमा पुग्दछ, त्यतिबेला  साहित्य नै त्यहाँ अग्रपंक्तिमा उभिनुपर्ने हुन्छ । उभिएको इतिहास पनि छ । र, भविष्यउन्मुख नेपाली समाजप्रति र ‘आफ्नो इतिहास’प्रति बाफादर रहँदै साहित्य पनि भविष्यउन्मुख हुनैपर्दछ । सत्य र असत्यको सिमाना धमिलो भएको र,  ‘हुनसक्छ’ भन्ने सम्भावनाले ‘सत्य’ लाई ओझेलमा पारिरहको यतिबेला साहित्य सबैभन्दा निस्पक्ष दृष्टि (Impartial Observation)’ वा ‘साक्षी भाव  (Witnessing)’ सहित उपस्थित हुनैपर्छ । समाज, प्रकृति र नियमको प्राकृतिक सामन्जस्यमा आधारित नैतिक र सत्यको समर्थनमा साहित्य उभिनैपर्छ ।

साहित्य भनेको विचार र धारणाको सुसंगत अवस्था पनि हो । यसर्थ व्यवहारिक नतिजा हासिल गर्न सत्यको पक्षधर हुन् साहित्यलाई करै लाग्छ । सत्य स्थिर वा सार्वभौम छैन भन्ने साहित्यको मत हो भने पनि अनुशासन र न्यायको पक्षधरता साहित्यले लिनै पर्छ । म के बुझ्दछु भने, ‘सत्य प्रत्यक्ष घटनाप्रति साक्षी भाव मात्रै नभई त्यसप्रति मानवीय अनुभव, अविश्वास र आशा पनि हो । साहित्यले भविष्यको सामाजिक चेतनालाई पनि आकार दिने हुँदा त्यसको अभिलेखीकरणकै लागि भए साहित्य यतिबेला भद्रतासहित ‘हाजिर’ हुनैपर्छ । सामाजिक विश्वास पुनर्निर्माण आलोचनात्मक चेतना विकास र भविष्यउन्मुख समाजको आधार तयार गर्ने साहित्यको नैसर्गिक स्वभाव यतिबेला ‘फिल्ड’मा देखिनै पर्छ ।

अब अलिकता सडक भाषमा बोलौं ।

जेनजी अनादोलन अवैध र भ्रष्ट स्वभावप्रति स्वतन्त्र र निष्ठावान जेनजी पुस्ताको आम तिरस्कार हो । अनि, दोस्रो दिनको लुटपाट र हानिनोक्सानी- ‘मै टाठो, मै बाठो’ सोचको पगरी गुथेका पुरानो तर गन्यमान्य राजनीतिक नेतृत्वप्रति दास मनोविज्ञान बोकेका कार्यकर्ताको गैरआलोचनात्मक स्वीकृतिको परिणाम पनि हो । कताकति त्यसपछि, रैथाने गरीबीको कठिनाइ नभोगी आँशुको व्यापार र त्यसको रुमानीकरण गर्दै आइरहेका तेस्रो/चौथो (रास्वपा, राप्रपा) लगायातका राजनीतिक दलको नालायाकीपन पनि हो । वा भनौँ, आधुनिक, सुधारिएको र विकसित दाबी गर्ने तर ‘परम्पारगत र रुढीग्रस्त प्रजाति’का दलप्रतिको आक्रोश पनि थियो । सफा नागरिकप्रति फोहोरको औद्योगिकीकरण गरी व्यवसाय गरिरहेका राजनीतिलाई दह्रो झापड पनि थियो ।

तिनीहरूबारे केही कुरा गरौं । अनि बाँकी कुरा गरौंला ।

अवैध प्रमाणित भइसकेका तिनीहरू परिवर्तन चाहेको युवा मनोविज्ञानको वैज्ञानिक र साझा असन्तोषीय पर्यावरणीय यथार्थको विपरित वकालत् गरिरहेका थिए । तिनीहरू हामीहरूलाई घोर बेवास्ता, उपेक्षा र खिसिट्युरी गरिरहेका थिए । तिनीहरूको जनता र युवाप्रति लक्षित हेपाइ बढेको थियो र तिनीहरूमा लक्षित मोह र स्वार्थ अत्याधिक चुलिएको थियो । तिनीहरू सांस्कृतिक मूल्यमान्यताको हत्या, सामाजिक विस्थापन, रैथाने स्वयतत्ताकको हरण र आर्थिक रूपमा परनिर्भर थिए, तिनीहरूको ‘गोदाई’ यसर्थ सही थियो । धरातलीय यथार्थभन्दा तथ्याङ्कद्वारा मुलुकलाई ‘सुखी र समृद्ध’ तुल्याउन लालयित थिए तिनीहरू ।  देश र जनताप्रति न्यूनतम सामाजिक कर्तव्यको निकृष्ट परित्यागको परिणाम यो आन्दोलन भएको हो भन्ने लाग्दछ ।

यो आन्दोलन, ज्ञात शासकीय प्रणालीप्रति अकस्मात तर, आन्दोलनको मागप्रति ज्ञात नयाँ पुस्ताको झापड पनि हो । आन्दोलनको खाका डिजिटल्ल्ली भए पनि कृतिम थिएन । प्राकृतिक थियो । स्वाभाविक थियो । रैथाने ज्ञान, संस्कृति र जीवनपद्धतिप्रति सचेत युवापुस्ता सडकमा उत्रिएका थिए ।  वा, यसलाई यसरी भनौँ, पुरानो राजनितिक विश्वास रैथाने नेपाली युवाको लागि होर रासायिनिकीकरण र आयातित भएको परिणाम पनि थियो । यसर्थ यो आन्दोलन गम्भीर, मिहिनेती र बिक्री नभएका युवाहरूद्वारा असंगठित रूपमा गरिएको परिवर्तनको जायज माग थियो । अंश अंश गरेर देशलाई जोगाइराखेका युवाहरूलाई भ्वाङ परेका राजनीतिको नाममा निरन्तर हेपाइ गर्दा ‘किन हेप्दैछस् ए ?’ भनेर सोधिएको प्रश्न थियो- जेनजी आन्दोलन ।

बहुमत पाएर आएको गठबन्धन सरकारद्वारा युवाहरूले पटकपटक निरन्तर आफू अल्पमतमा परेको महसूस गरेपछि उठेको आक्रोश थियो जेनजी आन्दोलन । यसकारण निकट भविष्यमा ‘भइहाल्छ, बनिहाल्छ, गरिराछौं नि’ भनिएका तिनका तथ्याङ्कीय समृद्धिको महलमा झोसिएको आगो पनि हो, जेनजी आन्दोलन । यसकारण, भ्रष्ट्राचारविरुद्ध भन्दा पनि त्यसबाट तकाल मुक्त हुन गरिएको सामूहिक प्रयास पनि थियो यो आन्दोलन । बौद्धिक इमान कायम राखी सामाजी, आर्थिक र राजनीतिक संघर्षहरूको बचाऊमा  जेनवाई र जेनएक्स पनि हाम्रो साथमा छ भन्ने विश्वाससहित लडिएको लडाइँ हो । यसलाई तानाशाहीपनको सुदृढीकरणमा लागेका खड्गप्रसादको ‘बेउरा’विरुद्ध मात्रै नभई इतिहासप्रति आलोचनात्मक चेत राखेका र वर्तमानको एतिहासिक अनुसन्धान गरेका नयाँ पुस्ताले ‘सेतोलाई सेतो’ र ‘कालोलाई कालो’ भनिनुपर्छ भनेर लडेको पारदर्शिताको लडाइँ पनि हो ।  अनि अत्याधिक भत्सर्ना र स्तुतिगान गाउने मीडिया वा साहित्य चेतना विरुद्धको लडाइँ पनि हो । यसर्थ, आफ्नो अनिवार्य कार्यभार र नैतिक जिम्मेवारीबाट च्यूत भएकाहरूविरुद्ध दक्षतापूर्वक, इमानदारी साथ् लडिएको लडाइँ हो । यो लडाइँ ‘सुशासनको संवाद’ पनि हो । यसैले नेपाली राजनीतिक इतिहासको दुर्लभ लडाइँ हो । दुर्लभ क्रान्ति हो । यसर्थ हामीलाई प्राप्त दुर्लभ अवसर पनि हो । यसको संस्थागत गर्नका खातिर साहित्यमा ‘जेनजी क्रान्ति’ आवश्यक छ ।

थरिथरिका भ्रष्टाचार र स्वेच्छाचारिता विरुद्ध एकैप्रकारको एकसामान युवा आक्रोश हो ।  कुशासनले छिन्नभिन्न भएका वा संक्रमित भएका बौद्धिक ध्रुवीकरणविरुद्ध नेतृत्वविहीन नयाँ प्सुताको संघठित हस्तक्षेप हो । यसैले यो समयसान्दर्भिक छ । यो आन्दोलन आदर्शवादी आशाको विरुद्ध गरिएको गम्भीर आवश्यकताको आदर हो ।

सचेत साहित्यको आवश्यकता

कलासाहित्य राजनीति भन्दा फरक स्वभावको छ । कला साहित्य सुरक्षा चाहँदैन, सदैव स्वतन्त्रता चाहन्छ । यसलाई आफू हिडेको बाटोमा समेत फेरि हिँड्न मन लाग्दैन । र त, राजनीति ? यो केहीबेर हिंडेर चुपचाप ‘धेरैबेर’ बसिदिन सकछ वा सम्भावित विद्रोह वा संघर्ष भए पनि पुरानै बाटो फर्किदिन सक्दछ । जेनजीले ‘गजधुम्म परेर बसेको मुलुकको राजनीतिक यात्रा’लाई बाटो देखाइदिएको छ । ‘अब त अगाडि बढ सोल्टी’ भनिदिएको छ । यसर्थ जेनजी पुस्तालाई साहित्यले साथ दिनुपर्छ । ‘जायज माग र असल नियतका साथ’ गरिएका हरेक आन्दोलन सदैव लोकपयोगी ठहर्छ । तर, त्यसबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न र सचेत भएर हामीले उपयोग गर्न सक्नुपर्छ । यद्यपि, एउटा च्वास्स मुटुमा लाग्ने कुरा के छ भने नेपालका प्राय: आन्दोलनहरू कहिल्यै नसिद्धिने कौतुहलताको विषय छ । यस आन्दोलनप्रति तमाम कौतुहलताहरू छन् । ती कौतुहलता अबको साहित्यको भाष्य र बिम्ब बन्नुपर्छ । अहिलेसम्म नेपाली साहित्यले ‘नेतालाई’ तथानाम गाली गरेको छ । अबको नेपाली साहित्य ‘नेतालाई गाली गर्ने मानसिक रोग’बाट मुक्त होस् । र, अबको राजनीतिमा ‘अतिरिक्त विनोद, खेलाची र लहड पदासिन नहोस्’ भनेर खबरदारी गर्नतर्फ पनि केन्द्रित होस् । यसैले अबको साहित्यले यो आन्दोलनलाई पनि पुराना आन्दोलन सरह ‘गौरवको वस्तु वा खोपीको देउता’  ठान्ने मनोवैज्ञानिक ‘अल्लारेपन’ नदेखाओस् ।

यस आन्दोलनको एउटा रस, रूप, स्वाद र गन्ध पनि छ । र, यसको एउटा आचरण पनि छ । त्यसतर्फ क्रमश.. बौद्धिक छलफल हो । र, त्यो बौद्धिक छलफलको नेतृत्व गर्न हरहमेशा हतासिने हर्क साम्पाङ वा रवि दाइ पाराको नेपाली साहित्यले केवल ‘बौद्धिक बान्ता’ मात्रै नगरिरहोस् । यस कारण नेपाली साहित्यमा पनि यस आन्दोलनको अनुभूति, अनुभव र भोगाइको विनियम अब शुरु होस् । तर, ख्याल गरिओस्- साहित्य अतिरिक्त ‘देशभक्त’ नबनोस् । देशव्यापीरूपमा विश्वास, सद्भाव, सदाचार, सहयोग स्थापनार्थ साहित्य अग्रसर होओस् । फ्याट्टैसँग, ‘टोले गुण्डा’ पारामा साहित्य सडकमा नउत्रिओस् । यतिबेला नेपाली साहित्यले सहयोगी मनोविज्ञान (Solidarity, Collective Efficacy) र असफलतापछि हताशा र पुनरुत्थानको मनोविज्ञानलाई आत्मसाथ गर्नु नै श्रेस्यस्कर होला।

अस्तु !