राजु झल्लु प्रसाद, प्रेम बास्तोला
अघिल्लो दिन राती अबेरसम्म मानुङकोटको रमणीय वातावरणमा बिताएको थकानका कारण बिहान ढिला उठियो । हामी जिल्ला सदरमुकाम दमौली बजारदेखि १२ किलोमिटर उत्तरपश्चिममा रहेको मानुङकोटको मनोरम दृश्यमा अबेर रातिसम्म हराएका थियौं । तर, समय सीमित र यात्रा अझै बाँकी भएकाले बिहान उठ्नासाथ नयाँ गन्तव्यतर्फको तयारीमा जुट्नै पर्ने भयो ।
मूलतः महाभारत शृङ्खला र मध्य पहाडी भू-भागमा पर्ने यस विकासोन्मुख जिल्लाको प्रसिद्ध ऐतिहासिक, धार्मिक स्थल छाब्दी वाराही मन्दिर पुग्न तीव्र इच्छुक थियौं । व्यास नगरपालिका–१४, मा अवस्थित यस मन्दिर पुग्ने योजना बनाएर वन डिभिजन कार्यालयबाट हामी तीन जनाको टोली निस्कियो ।
डिभिजन वनका प्रोग्राम अफिसर नवीन विश्वकर्मा सरले मन्दिर जाने मोटरसाइकलको प्रबन्ध गरिसक्नुभएको रहेछ । उहाँ आफैंका लागि आफ्नै मोटरसाइकल र हामी दुईका लागि कार्यालयका अर्का अधिकृत प्रेम श्रेष्ठको निलो पल्सर मोटरसाइकल तयारी अवस्थामा राख्नुभएको थियो । भदौमासको बिहानीपख धुम्म धुम्मिएको थियो, यसकारण पानी पर्न सक्ने अड्कलबाजी हामीले गरेका थियौं । र, निस्कँदा-वर्दा आकाशमा कालो बादलले जमिन छोइसकेको थियो र सिमसिमे पानी छिट्काउन शुरु भइसकेको थियो ।
१. राष्ट्रपति रामचन्द्र पौडेलको घर र दमौली बजार:
सिमसिम पानी खेप्दै, नवीन सरको मोटरसाइकलको गति सम्हाल्दै, हामी दमौली बजारको गणेशमान चोक पार गर्दै दमौली–छाब्दी वाराही ७.१ किलोमिटर पक्की सडकतर्फ अगाडि बढ्यौँ । झ्याप्प नवीन सरले ब्रेक मार्नुभयो र भन्नुभयो, “ऊ..त्यो चाहिँ राष्ट्रपति रामचन्द्र पौडेलको पुर्ख्यौली घर ।” हामीले गोप्रोबाट घरको फोटो खिच्न खोज्यौँ तर ट्राफिकका कारण फोटो खिच्ने माहौल मिलेन । नेपालको तेस्रो निर्वाचित राष्ट्रपति र नेपाल सरकारको विभिन्न मन्त्रालयको मन्त्री समेत रहिसकेका पौडेल तनहुँ २ बाट आम निर्वाचन २०५१ तथा २०५६ मा विजयी हुनुका साथै पहिलो र दोस्रो संविधान सभामा विजयी भएका थिए भने तनहुँ १ बाट उनले आम निर्वाचन २०४८ र प्रतिनिधि सभा निर्वाचन २०७९ मा विजय प्राप्त गरेका थिए। तनहुँले राष्ट्रपतिको गृहजिल्ला भन्ने परिचय त पाएको छ, तर सोअनुरूपको भौतिक एवं मानवीय संसाधनको विकास भने हामीले देख्न पाएनौँ । आँखामा सिमसिम पानीले हिर्काइरहेको हुँदा पनि हाम्रा आँखाले हामीले खोजेका तनहुँको सम्पन्नता र भव्यता देख्न पाएनौँ ।
पौडेल आवासबाट अगाडी बढेसँगै छाब्दी वाराहीतर्फको बाटो हाम्रो अघिअघि लाग्यो । नवीन सरका लागि यो बाटो परिचित थियो, यसैले उहाँलाई हामीले पथप्रदर्शक बनायौं ।
मन्दिर पुग्दासम्म, बाटोभर तल्लोपट्टि धेर फाँटहरू आए, जहाँ हरिया धानका गाँजहरू लहलह थिए । सिचाइको अभाव रहेनछ कि भन्ने पनि लाग्यो । फेरी, दमौलीको पुरानो नाम ‘डिमूली (मगर भाषामा) रहेको र यस क्षेत्रमा मगरहरूको बहुलता रहेका कारण पनि यो क्षेत्र धान खेतीका लागि उपयुक्त रहेको प्रत्यक्ष अनुभूत भइरहेको थियो । बिहान ९ बजे तिरको यात्रा भएकाले बाटोभरका घर-टहराहरूले खाना बनाइरहेका थिए, स्कुले बच्चाबच्चीहरू गह्रौँ झोला बोकेर मूल सडकतर्फ फुत्त-फुत्त निस्किरहेका थिए । सामुदायिक वनका चराहरू सिमसिम झरीलाई सराप्दै थिए कि कुन्नि, बाटोभर चिरबिर व्याप्त थियो । स-साना मन्दिर (जसमा आस्थाको लेपन भएतापनि भद्दा कङ्क्रिट पोतेर फलामको डन्डीले छेकबार गएकाले सुन्दर प्रतीत हुँदैनथ्यो) आइरहने गर्दथे । एकप्रकारले भन्दा नेपालका कुनै पनि मध्यपहाडी गाउँ जस्तो पनि होइन र तराइको कुनै गाउँ जस्तो पनि होइन । यस बाटोसँग एक बेग्लै सांस्कृतिक सुवास थियो, जसको महकमा झुम्मिँदै हामी गोप्रोबाट फोटो, भिडियो खिच्न र आइपरेका हरेक दृश्यलाई अँगाल्न पाउँदा नै मोहित हुँदै थियौं ।
करिब १८ मिनेटको मोटरसाइकल यात्रापछि हामी छाब्दी वाराही मन्दिर नजिक पुगेछौँ, यसको महसुस फूलप्रसादीका दोकान र यस क्षेत्रमा मगमगाइरहेको धूपदीपले दियो ।
२. छाब्दी वाराहीतर्फको पैदल यात्रा
मन्दिर नजिकैको पार्किङ क्षेत्रमा मोटरसाइकल राखेपछि पैदल यात्रा शुरु गर्यौँ । हामीलाई यो ठिक लाग्यो किनभने मन्दिरसम्म नै गाडीमा पुग्ने या जुत्ता-चप्पल खोल्न नपरे हुन्थ्यो भन्ने सोच भएका धेरैलाई हामी ‘निको’ मान्दैनौँ । आस्था-अनास्थाको सवालमा आ-आफ्ना चिन्तन-चौतारी होलान् तर, जान्नेसुन्ने भन्नेहरूबाटै एकप्रकार बौद्धिक दमन निको लाग्दैन । ‘जुनसुकै आश्रममा रहँदा मानिसले आफ्नो आश्रम सुहाउँदो धर्मलाई पालन गर्नुपर्छ’ भन्ने वैदिक मतको पछिल्लो रूपान्तरण ‘देशअनुसार भेष’ गरिदिउन् भन्ने अपेक्षा चाहिँ हामीलाई हुने गर्दछ ।
पैदल बाटो क्रमशः उकालो लाग्यो र बाटोभर अझ बहुलताका साथ फूलप्रसादी एवं पूजा सामाग्रीका दोकानहरू तथा फरक-फरक नामका गेस्टहाउस दृष्टिगोचर भए । केहीका नाममा जर्बजस्त रूपमा छाब्दी वा वाराहीको सम्मिश्रण गरिएको थियो, भक्तजनलाई आकर्षित गर्नका लागि व्यापारीहरूले नामकरणमै यस्ता जालसाजी गरेका हुँदा हुन् । सिमसिम पानीले ढाडका कोतर्ने र टाउको भुत्लाउने गरिरहेको थियो, यसैले चिप्लो बाटोमा बडो सावधानीपूर्वक सुस्त चालमा अगाडी बढ्यौँ । कुनै पनि मन्दिरसँग एकप्रकारको खिचाव हुन्छ, त्यो महसुस व्यापक रूपमा हामीलाई भइरहेको थियो ।
मन्दिर परिसर नजिक पुग्दै गर्दा स्वच्छ पानीको स्रोतहरू यत्रतत्र देखिन थाले । कतै कुण्ड बनेर रहेका, कतै यसै आफ्नो बाटो बनाएर बगिरहेका । कुण्डमा हकमा विभिन्न आकारका चिल्ला, कैला एवं कत्ला भएका माछाहरूको सम्पूर्ण क्रियाकलाप पानीको वातावरण प्रभावित एवं तरङ्गित भइरहेको थियो, जसले हामीमा पनि चञ्चलताका चिसा छिटाहरू उत्पन्न गर्यो । अझ, कसैले ‘यहाँ सुनको टिका लगाएका लामो खाले माछा पाइन्छ, जो भाग्यमानीले मात्र देख्न सक्छ रे ।’ भन्ने कुरा सुनाइदियो । यसले हामीलाई अझ उत्साहित बनायो । तर, एउटा कुराले भने मनमा बास गरिरह्यो, ‘मन्दिर परिसर वरपर रहेका पानीको स्रोत र माछाहरू । यिनको छाब्दी वाराहीसँग केकस्तो प्रत्यक्ष साइनो-सम्बन्ध होला ?, यस खुल्दुली रहिरह्यो ।
यसैकारण, खुरुखुरु मन्दिरको मूल प्रवेशद्वार पुग्यौँ, जुत्ता खोलेर नजिकको धारामा हातखुट्टा धोयौं । पानीमा एक मन्द मात थियो । स्थलीय प्राणी भएर भूल गरिएछ क्यारे, यी माछाझैँ जलीय प्राणी हुन् पाए हुने भन्ने आभास भयो । मन्दिर जानुपूर्व यसप्रकारको शुद्धाशुद्धि गर्न पाउनु साह्रै ‘सफा’ कुरा हो तर, नेपालका धेरै डाँडापाँखामा अवस्थित मन्दिर, थान एवं कोटहरू पानीको हाहाकारसँग आज पनि जुधिरहेका छन् । निकै पर-परबाट पुजारीले तामाको गाग्रोमा पानी ल्याएर पूजा चलाएका धेरै दृश्यहरूका हामी साक्षी छौँ । तर, यस मन्दिर पानीकै सतहमा थियो र पानीसँग नै देवीको प्रत्यक्ष सम्बन्ध रहेको देखिन्थ्यो (जसको चर्चा तल गरिनेछ) ।
यसपछि, नवीन सरलाई अघि लगाएर हामी मूल मन्दिर क्षेत्रमा प्रवेश गर्यौँ । भक्तजनहरू, पर्यटकहरू र मन्दिर सरसफाईमा जुटेका कर्मचारीहरूको एकप्रकार सहमिलाप र छाब्दी वाराहीप्रतिको आस्था तिनका आँखामा देख्न सकिन्थ्यो । भाकल अनुसार कतिपय भक्तजनहरू बोका लिएर मन्दिरको बली दिने स्थानतर्फ अघि बढिरहेका पनि देखिन्थे । तीर्थारुले मन्दिर क्षेत्रमा कुखुरा, बोका र परेवा बलि चढाउने गर्दछन् भन्ने कुरा सामुन्ने निहारिरहँदा प्रष्ट हुन्थ्यो।
३. मन्दिर परिसर:
मन्दिर परिसर शान्त र पवित्र थियो। कङ्क्रिटले बेह्रिएका मन्दिर र मन्दिरका अन्य सहयोगी संरचनाहरू (धूपदीप स्थल, बलि दिइएका कुखुरा तथा बोका सरसफाइ गर्ने स्थल , सिमेन्ट पोतेर चिल्लो बनाइएका भूसतह, सिँढी, कुण्ड वारपार गर्नका लागि बनाइएको कङ्क्रिट पुल तथा पहराकै ठ्याक्कै मुनि रहेको मूल मन्दिरको सानो प्राङ्गण आदि)को विरूपतालाई ठ्याक्कै माझमा रहेको छाब्दी कुण्डले ओझेलमा पारिरहेको थियो । जो प्राकृतिक स्वरूपमा छ, सबैको आकर्षण त्यसैतर्फ हुन्छ (यस कुरा चाल नेपालले पाउन नसकेर हाम्रो पर्यटन ध्वस्त छ) । र, सोही छाब्दी कुण्डमा उभिएको छाब्दी वाराही (मत्स्यदेवीको मूर्ति) को एक विशाल मूर्तिले उसैगरी ध्यान खिच्यो ।
छाब्दी वाराही विकास कोषको लगानीमा मूर्तिकार पृथ्वीकुमार श्रेष्ठले बनाएको कलात्मक शैलीको मूर्ति १० फिट उचाइको रहेको छ (स्रोत: मुख्य पुजारी प्रेम आले) । मूल मन्दिरभित्रको कुण्डमा रहेको मत्स्यदेवीको मूर्तिको स्वरूपमै निर्मित यस मूर्तिले बाह्य रूपमा भक्तजनलाई सहज रूपमा दर्शन दिन्छ । मूर्तिको पाउमा माछा, कछुवा र भ्यागुतालगायत प्राणी बनाई मुखबाट पानीको फोहोरा निकालिएको रहेछ । मूर्तिसम्बन्धी जानकारहरूका लागि यस मूर्ति आकर्षक र थप खोजको विषय हुन् सक्दछ ।
मूर्तिको फोटो लिगीसकेपछि हामी सरासर मूल मन्दिरतर्फ प्रवेश गर्यौँ । हामीले निरन्तर भिडियो निर्माण गरिरहेका थियौं तर मूल मन्दिरमा पुगेपछि हामीले त्यो रोक्यौँ र हामी पनि अन्य भक्तजनसरह लामबद्ध भयौं । मनकामना मन्दिरमा सरह नै मगर पुजारीले फुलप्रसादी लिने र बाहिरबाट नै देवीको दर्शन गर्ने तथा पुजारी मन्दिर भित्र बसेर र भक्तजन मन्दिर बाहिर निहुरिएर टिका ग्रहण गर्ने परम्परा देख्यौँ । अझ रोचक कुरा के भने, मन्दिर क्षेत्रभित्र पानीको कुण्ड थियो र जहाँ ठुलठुला रजबाम , कत्ले माछाहरू जलविहार गरिरहेका देखिन्थे ।
पूजा तथा टिका ग्रहण गरेर फुलप्रसादी लिइसकेपछि मन्दिरका मूल पुजारी प्रेम आले मगरसँग मन्दिरको उत्पत्ति, विकासक्रम, जनविश्वास, र त्यसको सांस्कृतिक महत्त्वबारे जानकारी लियौं ।
४. छाब्दी वाराहीको उत्पत्तिको कथा
नेपालका हामी १०० भन्दा बढी साना-ठुला मन्दिर प्रवेश गरिसकेका छौँ र उत्पत्तिको कथाको सवालमा ‘सपनामा देवीदेवताको दर्शन हुने र उनीहरूले आफ्नो पूजाविधि सुनाउने प्रचलन’को प्रधानता छ । यहाँनेर पुराना फोटो सङ्कलक र इतिहास तथा संस्कृति चिन्तक सुनिल उलकको भनाई बेसी प्रासङ्गिक छ, उनी भन्छन्, “हाम्रोमा सपनाका कथाले भगवान् जन्मन्छन् । ‘रे’ का किंवदन्तीहरूले ती भगवान्का शक्ति अझ बढ्दै जान्छन् । मनोकामना पूरा गरिदिने र भाकल पूरा गरिदिने विश्वासले ती मन्दिरमा बिस्तारै भीड बढ्दै जान्छ, जसले गर्दा जनचासो पनि बढ्दै जान्छ (स्रोत: ‘कथा छाब्दी वाराहीको’, सुनिल उलक, शिलापत्र)।”
त, छाब्दी वाराहीको उत्पत्ति कथामा सपना र पौराणिक तथ्यको मिश्रण दुवै छ ।
क). मत्स्यकन्या नै छाब्दी वाराही
मादी नदीमा एउटा माछाले शिवजीको स्खलित वीर्य खाएपछि गर्भवती भई । माछालाई मादी तीरको स्थानीय मछुवावरले जालमा पारेर छिर्दा एक कन्या भेट्यो । मत्स्यको पेटबाट निकालिएको मत्स्य कन्यालाई माझीले आफ्नै छोरीझैँ हुर्कायो । आफ्नो अशक्ततापछि आफ्नी छोरी (धर्मपुत्री) लाई डुङ्गा सुम्पिदिए र सो मत्स्य कन्या मादी तिरमा डुङ्गा खियाउन थालिन् । एक प्रातः काल, शास्त्रवेत्ता, ब्रह्मज्ञानी एवं स्मृतिकार मन्त्रद्रष्टा ऋषि पराशर मत्स्य कन्याको डुङ्गामा चढे । माझी कन्याको शरीरबाट आएको मत्स्य गन्धका कारणलाई उनलाई ‘मत्स्यगन्धा’को नाम मात्रै दिएनन्, उनीसँग कामपूर्ति पनि गरे, जसबाट फलस्वरूप पराशर-पुत्र व्यास जन्मिए । उनै ‘मत्स्यगन्धा’ सत्यवती (योजनगन्धा) भएको र उनी सत्यवतीबाट कालान्तरमा शन्तनु पत्नी हुन् पुगेकी र उनको गर्भबाट ‘चित्राङ्गद (विवाहअगाडि नै युद्धमा मारिएका)’ र ‘ विचित्रवीर्य’को जन्म भएको, विचित्रवीर्यको ‘अम्बिका’ र ‘अम्बालिका’सँग विवाह भएको तर निसन्तान रहेको र सत्यवतीको आग्रहमा अम्बिका र अम्बालिकासँग ‘व्यास नियोग’ भएर ‘पाण्डु’ र ‘धृतराष्ट्र’को जन्म भएको कथा प्रचलित छँदै छ ।
र, छाब्दी वाराहीको उत्पत्तिको कथाले यस ‘पौराणिक कथा’लाई कहँदै एउटा नौलो कथ्य अगाडी सार्दछ जसानुसार, ‘उनैले आफ्ना अविवाहित आमाका लागि छाब्दीमा देवीका रूपमा रहने व्यवस्था मिलाए । ती मत्स्य कन्या भेटिएको कुण्डको नाम ‘मत्स्य कुण्ड’ भयो । र ती मत्स्य कन्या छाब्दी वाराहीका रूपमा पूज्य भइन् ।’
ख) जहरसिंह आलेमगरको सपनामा आएकी छाब्दी वाराही:
यस पौराणिक कथ्यसँग लपक्कै टाँसिएर अर्को किंवदन्ती उत्पत्ति भएको पाइन्छ, जसले छाब्दी वाराहीको उत्पत्ति कथालाई अझै रोचक बनाउँछ । पछिल्लो कथनले, हजारौँ वर्ष अगाडिदेखिको छाब्दी देवी रहेको तर सबैबाट बेवास्ता भइरहेकी हुनाले देवी स्वयं एक स्थानीय मगरको सपनामा आएर आफूलाई पूज्न अनुरोध गरेको कथानक अघि सार्दछ । जसबारे उलक अगाडि लेख्छन्, “वि.सं. १८०० जेठ ८ गते राति अन्दाजी ८-९ बजे कर्लुङ गाउँका जहरसिंह आले मगर छाब्दी खोलामा माछा मारेर गाई चराउँदै जीवन गुजार्दै थिए । एक दिन छाब्दी खोलामा माछा मारेर सुस्ताउँदै थिए, उनको गोठमा एक बालिका बास माग्न आइपुगिन् । रातविरात एक सानी बालिका बास माग्न आएपछि आफूसँग खाने कुरा केही नभएको, ओढ्ने/ओछ्याउनेसमेत नभएको हुँदा आफूले व्यवस्था गर्न नसक्ने विवशता सुनाएपछि आफू देवी भएको तथा कुण्डमा शिलाका रूपमा रहेको हुँदा दैनिक पूजा चलाइ दिन अनुरोध गरेर बालिका अलप भइछिन् । यसरी बास माग्न आएकी बालिका हराएपछि यी पक्कै कुनै देवी हुन् भन्दै जहरसिंहले कुण्डमा हेर्न जाँदा शिला भेटेपछि सोही शिलालाई देवीका रूपमा स्थापना गराइ कुण्डछेउ सानो खरको छाप्रो बनाइ देवीका रूपमा पूजा गर्न थाले ।
जहरसिंह आले मगरले खरका छाप्रोले मन्दिर बनाई पहराको ढुङ्गालाई नै छाब्दी वाराहीका रूपमा स्थापना गराएका थिए । उनले मन्दिर स्थापना गराएपछि पूजारीका रूपमा आफैंले देवीको सेवा गरे । २९ वर्षसम्म निरन्तर देवीको सेवा गरेपछि उनको निधनपछि मनध्वज आले मगरले पूजारीका रूपमा २४ वर्ष सेवा गरे । रजध्वजले ३४ वर्ष सेवा गरे । यसपछि कहरसिंहले ६४ वर्ष सेवा गरेको देखिन्छ । कहरसिंहकै समयमा वि.सं. १९३१ मा राजा सुरेन्द्रले लालमोहर बक्सेर मन्दिरका लागि गुठीका रूपमा ६१ रोपनी १० आना १२ पैसा ३ दाम जग्गा उपलब्ध गराएका थिए । यसपछि भने गुठीका आयस्ताले मन्दिर सञ्चालनमा सहजता भयो । कहरसिंहले वि.सं. १९५१ सम्म पूजारीका रूपमा सेवा गरे । यसपछि लीलाध्वज, भुढे, रामु, मनबहादुर तथा कुलबहादुर आले मगरले पुजारीका रूपमा सेवा गरेका थिए । (स्रोत: ‘कथा छाब्दी वाराहीको’, सुनिल उलक, शिलापत्र)। ”
यति भनिसकेपछि,
यसबारे एक दुई थप कुरा छन्: यस मन्दिर मगर समुदायको सांस्कृतिक र धार्मिक परम्परासँग गहिरो रूपमा जोडिएको छ । मगर समुदायका पुराना पुस्ताले यो क्षेत्रलाई आफ्नो देवीस्थानका रूपमा मान्यता दिँदै आएका र मगर समुदायमा देवी वाराहीलाई कुलदेवीको रूपमा पूजा गरिन्छ। स्थानीयहरू देवी वाराहीले अदृश्य रूपमा आफ्नो उपस्थितिको सङ्केत दिएकी हुनाले यस स्थानलाई मगरहरूका लागि निकै पवित्र छ ।
छाब्दी वाराही र तनहुँकै ढोर वाराही दिदी बहिनी रहेछन्, र यी दुवै देवीका मन्दिरमा महिनावारी भएका महिलाहरू र तिनीहरूका श्रीमानले समेत दर्शन गर्नुहुँदैन भन्ने लोकमान्यता रहेछ । भारतको केरलास्थित सबरीमाला मन्दिरमा प्रजनन उमेरका किशोरी र महिलालाई मन्दिरभित्र प्रवेशमा रोक र अदालतले चाहिँ ‘प्रवेश गर्न पाउने’ भनेर दिएको आदेश र त्यसले भारतमा ल्याएको राजनीतिक तरङ्गलाई सिलसिलेवार तवरले अध्ययन गर्ने हो भने ‘महिनावारी मनोविज्ञान’का बारेमै धेर प्रश्न र प्रतिप्रश्नहरू उत्पन्न हुन्छन् । नेपालमा अझै पनि ‘हनुमान ब्रह्मचारी भएकाले उनलाई महिलाले पूजा गर्न तथा छुनु हुँदैन’ भन्ने विश्वास रहिरहेकाले, यसप्रकारका ‘हजारौँ वर्षदेखि चलिआएको धार्मिक चलनको आदर’का सवालमा नेपालले पनि विषय उठान गर्दा बेस हुने थियो कि भन्ने लाग्दछ । किनभने, ‘हजारौँ वर्षअघिकै कुरा’ भविष्यका हजारौँ वर्षसम्म पनि सर्वमान्य भइरहनुपर्दछ भन्ने छैन । हिजोको ज्ञान आज ‘अज्ञान’ भएका धेरै कडीहरू छन् । युगसापेक्ष संशोधन नै मानव सभ्यताको चारित्रिक विशेषता हो । अर्कोतर्फ, धेरै ‘हजारौँ वर्षअघिकै कुरा’हरू छन्, जसलाई हामीले ‘हजारौँ वर्ष पछिसम्म लैजानु पर्नेछ तर हामी ‘महिनावारी र महिलाको मर्यादा’का हकमा मात्रै बेसी कट्टर देखिरहेका छौँ । छाउपडी हटाउने र छाउगोठ भत्काउने पछिल्लो राजनीतिक मुद्दाले ‘महिनावारी भएका महिलाहरूको मन्दिर प्रवेश’लाई अझै पकड्न सकेको छैन । नेपालको नियम (कानून) ले महिनावारीलाई कुनै ‘पाप’ नभनेको हुनाले कानूनसम्मत हुनु हामी सबैको परम कर्तव्य हो ।
५. सांस्कृतिक पक्ष:
यहाँ विशेषगरी दशैं, तिहार, चैते दशैं र बडादशैंमा ठूलो मेला लाग्छ । मगर समुदायका साथै अन्य समुदायका मानिसहरू पनि यस मन्दिरमा आफ्नो आस्थाका साथ पूजा गर्न आउँछन्। यसबाहेक, मन्दिर मगर जातिको धार्मिक र सांस्कृतिक परम्पराको प्रतीक हो भन्ने कुरा माथि परेकै छ, उनीहरू देवी वाराहीले आफ्नो भक्तहरूको रक्षा गर्छिन् भन्ने कुरामा विश्वस्त छन् । यसैकारण पनि, मगर समुदायले आफ्नो सांस्कृतिक पर्व र परम्परागत नाचगान यस मन्दिरको परिसरमा मनाउँदै आएको छ ।
६. माछा र माछापोखरीसँग जोडिएका विश्वासहरू:
मन्दिर परिसरमा रहेको पोखरीमा विभिन्न रङका माछाहरू देख्न सकिन्छ। जनविश्वासअनुसार, यी माछाहरू देवी वाराहीका प्रतीक हुन्, र तिनलाई हानि पुर्याउनाले अपशकुन हुन्छ । र, सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेकी जनविश्वास गरिन्छ । यसैगरि, यस कुण्डका कुनै पनि माछा मरेमा मन्दिरका पुजारीले हिन्दु धर्मअनुसार कोरामा बसेर (झोपो हालेर) विधिपूर्वक किरिया बस्नुपर्ने नियम छ ।
७. मन्दिरमा हुने विभिन्न पूजाआजाहरू:
साउन महिनाभर, औँशी र एकादशीमा छाब्दी वाराहीमा पूजा चल्दैन। त्यतिबेला मन्दिर बन्द हुन्छ। मस्त्यकन्या वाराही देवी साउन महिनामा गुफा बस्ने विश्वास गरिन्छ । यसबाहेक मन्दिरमा विभिन्न पूजाआजाहरू हुँदै आइरहेका छन्।
क). नित्य पूजा (दैनिक पूजा) :
दैनिक रूपमा गरिने पूजामा मन्दिरका पुजारीहरू बिहान र साँझ देवी वाराहीको आरति, पुष्पार्पण, र दीप प्रज्वलन गर्छन् ।
पूजा विधिः
- मन्दिर सफा गर्ने र देवीको मूर्ति अभिषेक (गंगाजलले स्नान गराउने) ।
- देवीलाई फूलमाला, धूप, र दीप अर्पण गर्ने ।
- मन्दिरका झण्डा र चिन्हहरूको पूजाआजा ।
- भजन र मन्त्र पाठ गर्ने ।
ख). विशेष पर्वमा हुने पूजा (दशैं, चैते दशैं, र तिहार)
छाब्दी वाराही मन्दिरमा दशैं र चैतेदशैंका अवसरमा विशेष पूजाको आयोजना गरिन्छ । यी पर्वहरूमा देवीको शक्ति स्वरूपको आराधना गरिन्छ ।
घटस्थापनाः दशैंको पहिलो दिन घटस्थापनाको विधिबाट देवीलाई आमन्त्रित गरिन्छ । नवरात्रभरि पूजारीहरूले विशेष मन्त्र पाठ र आराधना गर्छन् ।
पशु बलि (चैते दशैं र बडादशैंमा): परम्परागत रूपमा यहाँ खसी, बोका, वा राँगोको बलि दिइन्छ । यसलाई देवीको शक्ति जागृत गर्ने विधिका रूपमा लिइन्छ ।
महाआरतीः मुख्य दिनहरूमा (अष्टमी, नवमी) मन्दिरमा महाआरती आयोजना गरिन्छ । यसमा भक्तजनहरूको ठूलो भीड हुन्छ ।
प्रसाद वितरणः पूजा सकिएपछि प्रसाद वितरण गरिन्छ । प्रसादमा देवीलाई चढाइएको फलफूल, प्रसाद सामग्री र अक्षता समावेश हुन्छ ।
ग). मनोकामना पूजा
छाब्दी वाराही मन्दिर क्षेत्रलाई लाई मनोकामना पूरा हुने स्थलका रूपमा लिइन्छ। विशेषगरी, खेतीपाती, व्यवसाय, सन्तान प्राप्ति, र रोगमुक्तिको कामना लिएर भक्तजनहरू यहाँ आउँछन् । अझ, तीर्थालुहरूमध्ये कोही सुस्वास्थ्यको कामना गदर्छन् । कोही सन्तान माग गर्दछन् । कोही लाहुरे बन्ने कामना गर्दछन् । भाकल पुरा भएपछि कुखुरा र बोका ल्याउँछन् र देवीलाई चढाउँछन्।
- व्यक्तिगत रूपमा भक्तजनहरूले आफ्नो मनोकामना पूरा गर्न विशेष पूजा गर्न सक्छन् ।
- भक्तजनले पुजारीसँग आफ्नो मनोकामनाबारे जानकारी गराउँछन् ।
- देवीलाई धूप, दीप, र फलफूल चढाएर पूजा गरिन्छ ।
- केहीले सिन्दूर, रातो कपडा, वा विशेष भेटी देवीलाई अर्पण गर्छन् ।
- मनोकामना पूरा भएपछि पुनः धन्यवादस्वरूप पूजा गरिन्छ ।
घ). माछापोखरी पूजा
- मन्दिर परिसरमा रहेको पोखरीलाई पनि देवीको प्रतीक मानिन्छ ।
- माछापोखरीमा धूप र दीप प्रज्वलन गरेर पूजाआजा गरिन्छ ।
- भक्तजनहरूले माछालाई दाना खुवाउँछन् ।
- पोखरीको पानीलाई पवित्र मान्दै पूजा पछि अभिषेकको रूपमा प्रयोग गरिन्छ ।
ङ). तिहारमाः
- गाई पूजा र लक्ष्मी पूजा विशेष रूपमा मनाइन्छ ।
- भक्तजनहरूले दीप जलाएर मन्दिरलाई उज्यालो पार्छन् ।
च). माघे सङ्क्रान्तिमाः
- देवीलाई विशेष खिचडी र तिलको परिकार चढाइन्छ ।
छ). धार्मिक सभा र हवन (यज्ञ):
विशेष अवसरहरूमा देवी वाराहीको कृपा प्राप्त गर्न धार्मिक सभा र हवनको आयोजना गरिन्छ ।
- स्थापना गरी हवन शुरु गरिन्छ ।
- देवीको नाममा मन्त्र उच्चारण गर्दै आहुति दिन्छन् ।
- भक्तजनहरूले सामूहिक रूपमा पूजा आराधना गर्छन् ।
ज). विशेष पूजा सामग्री
छाब्दी वाराही मन्दिरमा पूजा गर्दा प्रायः यी सामग्री प्रयोग गरिन्छः
- धूप, दीप, सिन्दूर, अक्षता ।
- फूलमाला, फलफूल, र तोरण ।
- बोकाको बलिका लागि आवश्यक सामग्री ।
- भजन र आरतीका लागि संगीतिक सामग्री ।
८. हालको अवस्था
मन्दिरलाई धार्मिक पर्यटनको नमुना गन्तव्य बनाउने काममा ‘छाब्दी वाराही विकास कोष’ क्रियाशील छ ।स्थानीय सरकार र समुदायको सहयोगमा मन्दिरको संरचना सुधार गरिएको छ । मन्दिरको संरचना र व्यवस्थापनतर्फ कुरा गर्दा, मन्दिर व्यवस्थित देखिन्छ। यहाँ पक्की बाटो, पार्किङ क्षेत्र, र आरामदायक सिँढी निर्माण गरिएको छ । पूजाका लागि छुट्टै स्थान, माछा पोखरीको सरसफाइ, र सरोवर क्षेत्रको विकास गरिएको छ । पूजा आराधनाका लागि आवश्यक सामग्री सजिलै उपलब्ध छन् । तर, कङ्क्रिटका संरचनाको चेपले ऋषि पराशर एवं सत्यवतीको समय कालको प्रक्षेपण गर्न सकिँदैन । प्राकृतिक अवस्थामै नै वा भनौँ, पानीमा कुल्चँदै देवीको दर्शन गर्न पाउँदा बेसी श्रेयस्कर हुने थियो ।
९. वर्षाले झण्डै एक घण्टा बजारमै रोक्किंदा:
मन्दिरको दर्शन गरी मूल प्रवेशद्वारबाट ३ मिनेट जति अघि बढेपछि मुसलधारे वर्षा शुरु भयो । हामी हतारिँदै मोटरसाइकल पार्किङ गरेको क्षेत्र तर्फ अगाडि बढ्दै थियौं, निथ्रुक्क भिजाउने गरि झरी बर्सियो । ओत लाग्नुको विकल्प भएन । हामी हतारिई स्थानीय अप्सरा होटेल एण्ड लजमा प्रवेश गर्यौँ । वर्षा भएसँगै चिसो ह्वात्तै बढेकाले हामीले तातो चिया, सेलरोटी आलुचप, प्याजी जस्ता परिकार खाएर केही छिन भए पनि शरीर तताउने उद्यम गर्यौँ । होटेल सञ्चालिकाले पनि छाब्दी महिना सुनाइरहिन् र हामी उनलाई सुन्दै वर्षा रोकिने दाउ पर्खिरह्यौँ । ‘मगरहरूको कुलदेवी मानिएकी यी देवी हिन्दु वा अन्य धर्मको देवीहरू भन्दा पृथक् रहेको र यिनमा दैवी शक्ति प्रचुर मात्रामा रहेको’ उनले बताइन्, जसको सङ्केत हामीले पनि पाएका थियौं ।
होटेलमा बसिरहँदा माछा रुपी धारा पनि यस पूण्यभूमिमा बसिरह्यौँ भन्ने चाहिँ भइरहेको थियो तर, बिहानको ११ बजिसकेको थियो । नवीन सरलाई कार्यालयबाट २/३ पटक फोन आइसकेको थियो । हामीले बर्सादी नबोकेकाले होटेलमा पर्खनुको विकल्प पनि थिएन । तर, वर्षा कम भएकै थिएन । चार वेद अठार पुराणका रचयिता वेदव्यासको माताको रूपमा परिचित तर यसप्रकार प्रचारप्रसार हुन् नसकेकी यस देवीका उत्पत्ति कथा र यहाँ आइसकेपछि भएको एक बेग्लै महसुसमा लट्ठिएर हामी तीन जना निकै बेर चुपचाप पनि रह्यौँ ।
केहीबेरमा वर्षा कम हुँदै गयो र हामी हामी होटेल सञ्चालिकालाई ‘फेरी आउँदा तपाईँको मा नै चिया र सेलरोटी खानेछौँ’ भन्ने वाचा गर्दै हतारिँदै मोटरसाइकल पार्किङ स्थल पुग्यौँ । नवीन सर कार्यालय लागि हतारिनु भएको थियो भने, हामी पनि बन्दिपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आर्चायको निम्तामा ‘पहाडी रानी बन्दिपुर’तर्फ लाग्नु थियो । यसकारण हामी आ-आफ्ना झोला टिप्न र बिहानको खाना खानका लागि पुनः डिभिजन वन कार्यालयतर्फ नै हुइँकियौं ।
१०. यसरी पुगिन्छ छाब्दी वाराही मन्दिर:
तनहुँको छाब्दी वाराही मन्दिर तनहुँ जिल्लाको दमौली बजारबाट करिब ३ किलोमिटर उत्तरपश्चिममा अवस्थित छ । यो मन्दिरमा विभिन्न मार्गबाट पुग्न सकिन्छ, जुन निम्नानुसार छन्ः
क). दमौली बजारबाट
दूरीः ३ किमी
यात्रा समयः मोटरसाइकल वा सवारी साधनमा करिब १५–२० मिनेट
मार्गः दमौली बजारबाट छाब्दीखोलातर्फ जाने मुख्य बाटो समातेर उत्तरपश्चिमतर्फ लाग्नु पर्छ ।
मोटरसाइकल वा गाडीलाई मन्दिर नजिकको पार्किङ क्षेत्रमा राखेर करिब ७ सय मिटर पैदल यात्रा गर्नु पर्छ ।
विशेषताः यो सबैभन्दा सजिलो र छोटो मार्ग हो ।
ख). पोखराबाट
दूरीः करिब ७५ किमी
यात्रा समयः सवारी साधनमा करिब २ घण्टा
मार्गः पोखराबाट पृथ्वी राजमार्ग हुँदै दमौली बजारसम्म पुग्ने र दमौलीबाट माथि उल्लिखित मार्ग प्रयोग गरी छाब्दी वाराही मन्दिर जान सकिन्छ ।
ग). काठमाडौंबाट
दूरीः करिब १५० किमी
यात्रा समयः सवारी साधनमा करिब ४–५ घण्टा
मार्गः काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै दमौली बजारसम्म यात्रा गर्नुहोस् । दमौलीबाट मन्दिर पुग्न माथि बताइएको मार्ग प्रयोग गर्न सकिन्छ ।
घ). चितवन (भरतपुर) बाट
दूरीः करिब ९० किमी
यात्रा समयः सवारी साधनमा करिब २–२.५ घण्टा
मार्गः चितवनबाट नारायणगढ हुँदै पृथ्वी राजमार्ग समातेर दमौली बजार पुग्नुहोस् । दमौलीबाट छाब्दी वाराही मन्दिर पुग्न छोटो यात्रा गर्नु पर्छ ।
ङ). गोरखाबाट
दूरीः करिब ५० किमी
यात्रा समयः सवारी साधनमा करिब १.५–२ घण्टा
मार्गः गोरखाबाट पृथ्वी राजमार्ग हुँदै दमौली बजार आउन सकिन्छ । त्यसपछि मन्दिरसम्म पुग्न उपयुक्त सवारी साधनको प्रयोग गरिन्छ ।
च). स्थानीय गाउँहरूबाट (छाब्दी क्षेत्र)
छाब्दीखोलाका आसपासका गाउँहरूबाट पैदल वा मोटरसाइकल प्रयोग गरी सिधै मन्दिर पुग्न सकिन्छ ।
सार्वजनिक यातायातको प्रयोग
बस/मिनीबसः
- पोखरा, काठमाडौं, वा चितवनबाट दमौलीसम्म सार्वजनिक बस वा मिनीबस पाउन सकिन्छ ।
- दमौली बजारबाट स्थानीय ट्याक्सी वा मोटरसाइकल भाडामा लिएर मन्दिर पुग्न सकिन्छ ।
ट्याक्सी/सफा टेम्पोः
- दमौली बजारमा सजिलै उपलब्ध । अन्तिम ७ सय मिटर पैदल यात्रा
- छाब्दी वाराही मन्दिर नजिकैको पार्किङ स्थलमा सवारी साधन छोडेर करिब १०–१५ मिनेटको उकालो पैदल यात्रा गर्नुपर्छ ।
- पैदल यात्राको क्रममा हरियाली वनजङ्गल र छाब्दीखोलाको प्राकृतिक सौन्दर्यको अनुभव गर्न सकिन्छ ।
दमौली बजारमा उपलब्ध सुविधा
दमौली बजार मन्दिरबाट करिब ३ किलोमिटर टाढा छ, र यो क्षेत्र पर्यटकहरूको लागि मुख्य सेवा केन्द्र हो ।
होटलहरूः
- यहाँ साना लज, बजेट होटलदेखि सामान्य स्तरीय होटलहरू भेटिन्छन् । होटलहरूले राम्रो खालको खाना, नास्ता, र कोठा सेवा उपलब्ध गराउँछन् ।
गेष्ट हाउसहरूः
- दमौली बजारमा डिभिजन वन कार्यालय र अन्य स्थानीय कार्यालयहरूले पर्यटकहरूलाई गेष्ट हाउस सेवा प्रदान गर्न सक्छन् ।
खानपान सुविधाः
- बजार क्षेत्रमा स्थानीय परिकार, नेपाली खाना, र सामान्य फास्ट फुड उपलब्ध छ । मगर समुदायको स्थानीय परिकार पनि खान पाइन्छ ।
- छाब्दी वाराही मन्दिरको नजिकै भने होटलहरू कमै छन्, तर केही स्थानीय घरधनीहरूले पर्यटकहरूको लागि होमस्टे सेवा उपलब्ध गराएका छन् । बजारबाट कोसेलीस्वरूप गेडागुडी, केरा, सुन्तलालगायत फलफूल र ताजा तरकारी ल्याउन सकिन्छ।
सिफारिस:
- दमौली बजारः यहाँ धेरै होटल र लज उपलब्ध भएकाले बस्न उपयुक्त छ ।
- बन्दीपुरः यदि पर्यटक बन्दीपुरबाट भ्रमणमा आएका छन् भने यहाँको पर्यटकीय होटल र रिसोर्टहरू पनि राम्रो विकल्प हुन् ।
- पोखरा वा मुग्लिनः लामो दूरीका पर्यटकहरूका लागि पोखरा वा मुग्लिनमा स्तरीय होटल सुविधा पाइन्छ ।
लागत(खर्च):
- सामान्य लज/होटलः प्रतिरात करिब ५००–१५०० नेपाली रुपैयाँ ।
- होमस्टेः प्रतिरात ५००–१००० नेपाली रुपैयाँ (खाना समावेश)।
- स्तरीय होटलः प्रतिरात १५००–३००० रुपैयाँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।