
(१) परिचय
वि.स. २०८१ मा प्रकाशित भएको ‘हुरीको इन्द्रेणी उक्लेर’ कवि श्री विष्णुविभु घिमिरेको तेस्रो कवितासङ्ग्रह हो । यसअघि उनका दुईवटा एकल कविता सङ्ग्रहहरू (कठघरामा उभिएर, काँडाकाँडामा टेकेर) र एक संयुक्त लेखनको कवितासङ्ग्रह प्रकाशित भइसकेका छन् । उनी नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति हुन् भने साझा प्रकाशनका अध्यक्ष समेत रहिसकेका छन् । लून गङ्गा साहित्य कला मन्दिरको पूर्व महासचीव रहेका उनी साहित्यिक पत्रिका ‘गरिमा’ को पनि पूर्वसम्पादक थिए । यो आलेखमा कविको ‘हुरीको इन्द्रेणी उक्लेर’ कवितासङ्ग्रहको पाठक-प्रतिक्रियात्मक पठन गरिएको छ।
(२) के हो पाठक-प्रतिक्रिया सिद्धान्त (Readers Response Theory) ?
आइ. ए. रिचार्डले (I. A. Richard) सन् १९२० को दशकमा क्याम्ब्रिज विश्वविद्यालयमा आफ्ना विद्यार्थीहरूलाई केही पुराना, प्रख्यात र नयाँ कविहरूका कविताहरू तिनका कविहरूका नाम उल्लेख नगरिकन दिए र तिनलाई पढेर तिनीहरूको व्याख्या र मूल्याङ्कन गर्न भने । यसो गर्दा पाठकहरू कविहरूका नामदेखि प्रभावित नभएर आफ्नै तरिकाले स्वतन्त्र व्याख्या गर्छन् भन्ने विश्वास थियो । भयो पनि त्यस्तै । विद्यार्थीहरूले गरेको मूल्याङ्कनमा नयाँ कविका कविताहरू बढी मन पराइए र पुराना, स्थापित, लोकप्रिय कविका कविताहरूलाई मन पराइएन । आजभन्दा करीब एक सय वर्षअघि गरिएको यो प्रयोग पाठकप्रतिक्रिया सिद्धान्तको उदभवका लागि सहायक भयो ।
पाठक-प्रतिक्रिया सिद्धान्तले पाठको व्याख्याका लागि लेखकलाई महत्त्व दिँदैन कि पाठकलाई महत्त्व दिन्छ । यो सिद्धान्त अनुसार पाठकले गर्दा पाठको सृष्टि हुन्छ। कुनै भयप्रद (Horror) सिनेमाको भूतले जबसम्म हेर्ने दर्शक पाउँदैन त्यो भूत संसारमा अस्तित्वमान् हुँदैन । दर्शकले हेरेपछि बल्ल त्यो भूत जन्मन्छ । सी.एस. लेविस (C.S. Lewis) ले सन् १९२६ तिरै भनेका थिए कि नपढिएको कविता त कविता नै होइन ।
यो सिद्धान्तले उत्तरसंरचनावाद, विनिर्माणवाद , उत्तरआधुनिकतावादले झैँ पाठकले नै पाठको व्याख्या गर्ने र अर्थको निष्पत्ति हुने भने पनि केही तात्विक अन्तर भने छ । बाँकी साहित्यिक सिद्धान्तहरूले पाठकको मानसिक र शारीरिक स्वास्थ्य ,लिङ्ग, उमेर, व्यक्तिगत इतिहास, व्यक्तिगत दर्शन, रुचि, वर्गीय स्थितिलाई उपेक्षा गर्थे भने पाठकप्रतिक्रिया सिद्धान्तले यी सबैलाई महत्त्व दिन्छ । यसले पाठक आफ्नो तन र मनसहित पठन प्रक्रियामा सहभागी हुन्छ भन्ने मान्यता ल्यायो जब कि बाँकी सिद्धान्तहरूले पाठकको तन र मनलाई बेवास्ता गरेर त्यसलाई आदर्श पाठक बनाए । पाठकप्रतिक्रिया सिद्धान्तका अनुसार कुनै ६५ वर्षीय पाठकले यदि आफ्नो जीवनमा धेरै दुःख पाएको रहेछ भने उसले पाठको व्याख्या गर्दा ती दुःखहरू निरूपण गर्ने उपायहरूतिर धेरै ध्यान दिन सक्छ भने १८ वर्षीय पाठक त्यही पाठको व्याख्यामा आफूले सोचेको भविष्य ध्यानमा राखेर व्याख्या गर्न सक्छ । फलतः पाठका उही चरित्रहरू र घटनाहरू ती दुईका मनहरूमा फरक तरिकाले घट्न थाल्छन् । यसरी पाठक आफैँ एउटा नयाँ चरित्र भएर पाठमा देखिन्छ र यसरी पठन-कार्य सिनेमाको अभिनय झैँ वा नृत्य/संगीत झैँ प्रस्तुति कला (Performing Arts) हुन पुग्छ जसमा पाठ, पाठका चरित्रहरू घटनाहरू र पाठकहरू सबै सहभागी हुन्छन् । प्रतीकवादी कविताको व्याख्या पाठकपिच्छे फरक हुन सक्छ किनकि एउटै वस्तुले विभिन्न व्यक्तिहरूका लागि फरक अर्थहरू धारण गरेको हुनसक्छ ।
तात्कालीन समयमा पाठको व्याख्या गरेर मात्र अर्थ निष्पत्ति हुन्छ र यसका लागि नव-आलोचनात्मक पठन (New Criticism) निर्विकल्प विधि हो भन्ने मान्यता थियो । न लेखकलाई महत्त्व दिइन्थ्यो, न पाठकलाई । अमेरिकामा र जर्मनीमा यसै प्रचलनप्रति विद्रोह गरेर पाठक-प्रतिक्रिया सिद्धान्तले पाठकले पाठको अर्थ निकाल्छ (दर्शकले सिनेमाको भनेझैँ) भन्ने मान्यता अघि सारेको हो । एउटै कविता पढेर दुई पाठकहरूका दुईथरीको प्रतिक्रिया किन हुन्छ भन्ने सत्यलाई सबैभन्दा वैज्ञानिक तरिकाले व्याख्या समालोचनाको यही सिद्धान्तले नै गर्न सक्छ ।
पाठकमाथि बढी निर्भर भएकाले पाठकप्रतिक्रिया सिद्धान्तका पनि आआफ्नै उपसमूहहरू हुन पुगेका छन् । कोही व्यक्तिगत पठनमा जोड दिन्छन्, कोही सामुदायिक पठनमा जोड दिन्छन्, कोही प्रयोगमा बढी आश्रित छन् भने कोही पठनको मनोवैज्ञानिक विश्लेषणमा रुचि राख्छन्। जुन सुकै उपसमूहका भए पनि यसले केही महत्त्वपूर्ण अवधारणाहरू भने स्थापित गरेको छ । ती अवधारणाहरू हुन् : वास्तविक पाठक (Real Reader), अन्तर्निहित पाठक (Intended Reader), महापाठक (Super Reader), प्रयोग ( Experiment ), इत्यादि । अन्तर्निहित पाठक त्यो पाठक हो जसका लागि लेखकले कथा, कविता लेखेको हो र लेखक चाहन्छ कि अन्तर्निहित पाठकले आफ्ना कथा, कविता पढून् । वास्तविक पाठक त्यो पाठक हो जसले वास्तवमा लेखकको कथा, कविता पढ्छ । अन्तर्निहित पाठक र वास्तविक पाठकको बीचमा धेरै भिन्नताहरू हुन्छन्, उदाहरणका लागि अन्तर्निहित पाठक कुनै विशेष उमेर समूहको हुन सक्छ, लिङ्गको हुनसक्छ, उ सले केही दार्शनिक सिद्धान्तहरू बुझेको हुनुपर्छ , साहित्यमा रुचि भएको हुनु पर्छ इत्यादि। वास्तविक पाठकमा यी सबै गुणहरूको अभाव हुन सक्छ। महापाठक पाठकप्रतिक्रिया सिद्धान्तको एक महत्त्वपूर्ण देन हो । महापाठक वास्तविक र अन्तर्निहित पाठकहरूभन्दा उच्च स्तरको पाठक हो जसले साहित्य बुझ्दछ , जसलाई साहित्यको इतिहासको ज्ञान छ, जसले दार्शनिक सिद्धान्तहरू र समालोचनाका सिद्धान्तहरू बुझ्दछ र जो नियमित रूपमा साहित्य पढ्दछ। महापाठकले अन्य पाठकहरूभन्दा गहराइमा गएर पाठलाई पढ्छ तसर्थ उसको व्याख्या महत्त्वपूर्ण हुन्छ।
महापाठकहरू (Super Readers) समालोचक नहुन पनि सक्छन् । कविता विधामा अल्पशब्दहरूमा धेरै विचार र भावना व्यक्त गर्नु पर्ने हुँदा साहित्यिक परम्परा र इतिहास, वैश्विक साहित्य, दर्शन , प्रतीकहरूको प्रयोग आदिले गर्दा पाठकले एउटा कविता नबुझ्न पनि सक्छ। कुनै कविता कसरी बुझ्ने भनेर कुनै जानकार व्यक्तिले बाटो देखाई दिएमा अन्तर्निहित र वास्तविक पाठकलाई सहज हुन जान्छ भने कविताले पनि धेरै पाठकहरू पाउँछ । कविता सङ्ग्रहको भूमिका र मन्तव्यमा लेखिएका आलेखहरूमा यी अपेक्षित हुन्छन् । अझ जटिल र परम्पराभन्दा बाहिर गएर लेखिएका कविताहरूमा त यो अनिवार्य हुन जान्छ। ‘बैरागी काइँलाको सङ्कलित कविता’ नामक कृतिको आरम्भमा साहित्यकार इन्द्र बहादुर राईले लामो आलेख मार्फत आफ्नो विचार व्यक्त गरेका छन्। राईको यो आलेख आयामेली कविता र काइँलाको कविता बुझ्न निकै उपयोगी हुन पुगेको छ।
यो सिद्धान्तका केही प्रवर्तकहरूले प्रासंङ्गिक पठन र प्रतिक्रिया तथा अप्रासंङ्गिक पठन र प्रतिक्रियाहरू बीचको विभेद छुट्याउन सक्नु पर्छ भनेका छन् जुन विशेषगरी कविताहरूको पठनमा लागु हुन्छ । कविताको पठन त्यसको सौन्दर्यबोध हुनेगरी पढे पछि मात्र हुने भएकाले अन्य तरिकाले कविता पढेर व्याख्या गर्नु कविताप्रति अन्याय हुने धारणा राख्छन् यी विद्वानहरू। प्रत्येक कवितालाई संरचनावादी, उत्तरसंरचनावादी, विनिर्माणवादी , मार्क्सवादी सिद्धान्त अनुसार पठन गर्न थालियो भने कविताको सौन्दर्य बोध हुन सक्दैन र कविताको अपपठन मात्र हुन्छ। तसर्थ पाठकप्रतिक्रिया सिद्धान्त अनुसार समालोचना गर्ने हो भने प्रासंङ्गिक प्रतिक्रिया र अप्रासंङ्गिक प्रतिक्रियाहरू बीचको विभेद छुट्याउन सक्नु पर्छ ।
यो सिद्धान्त अनुसार कुनै पाठ पढेर पाठकले लेखेको आधा पृष्ठको विचार पनि प्रतिक्रिया हो भने त्यहि पाठ पढेर कुनै समालोचकले लेखेको १० पृष्ठको लेख पनि प्रतिक्रिया हो। त्यस्तै दश जना पाठकहरूको प्रतिक्रियाहरूलाई आधार बनाएर कसैले लेखेको कुनै लेख पनि पाठक प्रतिक्रियाकै अर्को रूप हो। सामाजिक संजालमा प्राप्त प्रतिक्रियाहरू, पत्र-पत्रिकामा प्रकाशित लेखहरू र पाठक प्रतिक्रियाहरू, पियर रिभ्यु (Peer Review), पुस्तकमा लेखिएका भूमिकाहरू, गोष्ठीमा प्रस्तुत कार्यपत्रहरू र तिनमाथि व्यक्त गरिएका प्रतिक्रियाहरू, रेडियो वा टेलिभिजनका अन्तरवार्ताहरू पाठक-प्रतिक्रियाहरूकै बिभिन्न रूपहरू हुन्। पाठक-प्रतिक्रिया सिद्धान्तले पाठकलाई पनि जिम्मेवार बनाउन खोज्दछ । पाठकले प्रतिक्रिया दिने पर्यो भने मन पर्नु र नपर्नुको वस्तुगत कारणहरू पनि खुलाउनै पर्ने हुन्छ।
(३) पाठक-प्रतिक्रियात्मक पठन नै किन ?
समालोचनाका अन्य सिद्धान्त बिपरित यसमा पाठकले आफूलाई लागेको कुरा प्रतिक्रियाको रूपमा व्यक्त गर्न पाउँछ जुन समालोचनाको अन्य सिद्धान्तमा सर्वथा अभाव छ। बजार अर्थतन्त्र अनुरूप चल्नु पर्ने बाध्यता भएको आजको साहित्यको बजारमा लेखकले कतिपय सूचनाहरू प्रतिक्रियाको रूपमा प्राप्त गर्दछ। विषय दोहोरिनु, प्रतीक, बिम्ब, उपमाहरूमा पुनरावृति हुनु , एउटै शैली अपनाइनु (आख्यानात्मक, प्रगीतात्मक, नाट्यात्मक , निबन्धात्मक ) , दुःख निराशा धेरै हुनु, धेरै रोमाण्टिक हुनु, विचार र कला मध्ये विचार धेरै हुनु इत्यादि जस्ता प्रतिक्रियाहरू पाठकबाट प्राप्त हुन सक्छन् । यो पठनविधि लोकतान्त्रिक भएकाले पाठकले यसमा लेखक कविबाट जे पनि माग गर्न पाउँछ । यसमा पाठकले यो भन्न पाउँछ र यो भन्न पाउँदैन कुनै रोकटोक हुँदैन जसले गर्दा पाठकहरू निर्वन्ध आफ्ना मनका कुरा राख्न पाउँछन्। लेखक, कविले दिन सक्ने नसक्ने भिन्न कुरा हो।
यो सङ्ग्रहको सात जना महापाठकहरू छन् भनेर यसको पाठक-प्रतिक्रिया सिद्धान्तानुसार पठन गर्ने निर्णय गरिएको हो। त्यस्तै कवि पुराना र सर्वपरिचित व्यक्तित्व भएकाले निजको सङ्ग्रहमाथि प्रतिक्रिया यथेष्ट प्राप्त हुने आशामा यो बिधी अपनाइएको हो। यो कवितासङ्ग्रहको आरम्भमै नेपाली कला-साहित्यका छ जना साहित्यिक व्यक्तित्वहरूले मन्तव्य दिएका छन् र यो लेखकको बुझाइ हो कि ती छ जना जुनसुकै नेपाली कवितासङ्ग्रहहरूका लागि पनि महापाठकहरू हुन्। ती महापाठकहरू हुन् : सर्वश्री बैरागी काइँला, दिनेश अधिकारी, अविनाश श्रेष्ठ, अशेष मल्ल , तीर्थ श्रेष्ठ र अमर न्यौपाने । त्यसैगरि आफ्नो फेसबुक पेज मार्फत आफ्नो धारणा राखेकी कवयित्री श्री गीता कार्कीलाई पनि महापाठककै श्रेणीमा राखिएको छ।
को हो यो सङ्ग्रहको अन्तर्निहित पाठक ?
यो सङ्ग्रहमा दुई कविताहरू छन् – ‘विश्वेश्वर’ र ‘ महानिर्वाचनमा !!’। ‘विश्वेश्वर’ मा कविलाई मनपर्ने एकजना राजनीतिज्ञको गुणगान गाइएको छ भने ‘महानिर्वाचनमा!!’ वि. सं. २०५१ को आमनिर्वाचनमा मतदाताहरूलाई निर्वाचन शिक्षा प्रदान गर्न खोजिएको छ । गुणवत्ताको आधारमा हेर्ने हो भने यी दुवै कविताहरू यो सङ्ग्रहमा नपरेको भए पनि केही फरक पर्दैनथ्यो। यी दुवै कविताहरूका विषय, लेखन शैली इत्यादिलाई नियाल्दा यो कवितासङ्ग्रहको अन्तर्निहित पाठक कुनै निश्चित राजनैतिक दलका कार्यकर्ता वा त्यो दलप्रति आस्थावान व्यक्तिहरू वा कुनै विशेष राजनीतिक विचारधाराका पाठकहरू हो जस्तो छ किनकी ती कविताहरू पढेपछि पाठकहरूले अन्य कविताहरू नपढ्ने सम्भावना पनि छ । तर यसो भन्दै गर्दा यो लेखक पक्षपाती पनि हुन सक्ने भएकाले कविले त्यस राजनीतिक विचारधाराप्रति समर्पित नरहेको जुन सुकै नेपाली पाठक पनि यो कविता सङ्ग्रहको पाठक होस् भन्ने चाहेको पनि हुन सक्छ। तसर्थ यस्तो व्यक्ति पनि यो सङ्ग्रहको अन्तर्निहित पाठक हो भन्ने पनि लेखकको मत हो । कविले आफ्नो सङ्ग्रह बिदेशीले पनि पढून र रुचाउन भन्ने चाहेको हुनुपर्छ। त्यसो हो भने यो कविताको अन्तर्निहित पाठक विदेशी पाठक वा विदेशी (अंग्रेजी ) साहित्यलाई प्राथमिकतामा राख्ने नेपाली भाषी पाठक पनि हो भनेर बुझ्नु पर्ने हुन्छ। तसर्थ यो सङ्ग्रहका लागि तीन थरीका अन्तर्निहित पाठकहरू हुन सक्ने भए: अंग्रेजी साहित्यको पठनलाई प्राथमिकतामा राख्ने नेपाली भाषी पाठक, नेपाली साहित्यको पठनलाई प्राथमिकतामा राख्ने नेपाली भाषी पाठक र एक विशेष राजनीतिक विचारधाराप्रति समर्पित नेपाली भाषी पाठक । यस बारेमा तलका परिच्छेदहरूमा विस्तारमा चर्चा गरिएको छ।
(४) कसरी पढ्ने नेपाली कविता ?
नेपाली कविताको सौन्दर्य बोध गर्न कुन विधिअनुरूप पठन गर्ने भन्ने बारेमा नेपाली साहित्यमा स्पष्ट उत्तर छैन। समकालीन समयमा नेपाली कविताका अन्तर्वस्तुको बारेमा उल्लेख्य अध्ययन भएका छन्। तर यस्ता अध्ययनमा नेपाली कविताहरूको कलापक्षलाई वस्तुगत रूपमा बुझ्न कुन पठन विधि अपनाउने बारेमा स्पष्ट दृष्टिकोण छैन । फलतः जसले जसरी पठन गरे पनि हुने स्थिति छ।
वि. सं. २०४६ पछिका कवितालाई समकालीन भनिएका नेपाली कविताहरूको अन्तर्वस्तुहरूको बारेमा केही अध्ययनहरू भएका छन् । विशेषगरी नेपाल प्रज्ञा-प्रतिष्ठानको नेतृत्वमा यसतर्फ भएका कार्यहरू प्रशंसनीय छन्। तर यी अध्ययनहरू कविताका वैचारिक अन्तर्वस्तुमा केन्द्रित भएकाले यिनीहरूले समकालीन नेपाली कविताहरूका कलापक्ष बारे स्वतन्त्र र वस्तुगत चर्चा गरेका छैनन्। समकालीन नेपाली कविताको बारेमा चर्चा गर्दै विद्वान समालोचक द्वय डा. हेमनाथ पौडेल र डा. अमर गिरी भन्छन् – ‘ कवितामा अन्तर्बस्तुको प्रकटीकरण कति कलात्मक ढङ्गले गर्न सकिन्छ , कविताको सौन्दर्य त्यसमै भर पर्छ। अन्तर्बस्तु सुन्दर हुँदैमा कविता सुन्दर नहुन सक्छ। सुन्दर हुनका निम्ति अन्तर्वस्तु र रूप दुवै सुन्दर हुनुपर्छ। ……… कविताले मनुष्यको हृदयलाई सुन्दर अन्तर्वस्तुको उच्च कलात्मक मूर्तनबाट मात्र प्रभावित गर्न सक्छ ‘।
नेपाली कविताका अन्तर्वस्तुको सम्बन्धमा बृहत चर्चा भएको नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित ‘प्रज्ञा समकालीन नेपाली कविताविमर्श’ को आफ्नो लेख ‘समकालीन नेपाली कवितामा जनजातीय चेतना ‘ मा विद्वान समालोचक अभि सुवेदी लेख्छन् -‘ कविताको स्तरको कुरा आफ्नो ठाउँमा छ । कतिपय कविताहरूका स्तरहरू एकदमै कमजोर पनि छन् । त्यो साहित्य समीक्षाको विषय हो। राम्रो रचना राम्रै हुन्छ, नराम्रो नराम्रै हुन्छ …………… ‘। नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘कवितामा आधुनिकता : एक प्रश्न र एक सन्दर्भ’ भन्ने आफ्नो एक कार्यपत्रमा सुवेदीले वि.सं. २०४९ मा भनेका रहेछन् – ‘…..यसो गर्दा कति कविताहरू सोझो पाश्चात्य अनुकृति भए। तिनमा अनुभूतिको बनावटीपन देखियो। नभएको जीवनको चित्र आरेखित भयो। ……. तर त्यसो गर्दा कतिपय नाम चलिसकेकै कविहरूका कविता पढ्दा कविताको कुनै पनि शक्ति अनुभूत हुँदैन। साधारण छात्र-छात्राहरूले वादविवादमा भन्न सक्ने तर्कसङ्गतिको मात्र त्यहाँ प्रयोग छ । कविता-साधनाको जटिल रूप भेटिंदैन’ । नेपाली कविहरू कसरी एउटै ढाँचामा कविता लेख्न थालेका छन् भन्नेतर्फ संकेत गर्दै उनी थप्छन् – ‘नेपाली कविताको एउटा संरचनात्मक संस्कृति बनेको छ । तर यसलाई ज्यादै सजिलो र सस्तो साधनको रूपमा प्रयोग गर्दा कविता टाक्सिने धेरै सम्भावना हुन सक्छ ।‘
विश्वसाहित्यमा कविताको अन्तर्वस्तु र रूप पक्षको अध्ययनका लागि नव-आलोचनात्मक सिद्धान्त (New Criticism ) र रूपवादी सिद्धान्त (Formalism) एक किसिमले सर्वस्वीकृत भएकाले यहाँ त्यही अनुरूप पठन गरिएको छ । दुवैले कृतिलाई कृतिकारदेखि स्वतन्त्र वस्तु मानेका छन्, र कृतिको स्वतन्त्र र वस्तुगत पठनलाई वैज्ञानिक पठन मानेका छन् । दुवैले कविताको पठनमा काव्यिक उपकरणहरूको अध्ययनमा जोड दिएका छन् । कतिपय विद्वानहरू यी दुई सिद्धान्तलाई एउटै सिद्धान्त पनि मान्दछन् । यो पठनका लागि नव-आलोचनात्मक सिद्धान्त र रूपवादी सिद्धान्तलाई समानार्थी ठानिएको छ । मार्क्सवादी, संरचनावादी, उत्तरसंरचनावादी, विनिर्माणवादी वा स्त्रीवादी पद्धति अनुसारको पठनले कविताको सम्पूर्ण पक्षहरूको स्वतन्त्र अध्ययन हुन नसक्ने हुँदा यस लेखमा तिनीहरूको उपयोग गरिएको छैन । समालोचक अभि सुवेदी नेपाली साहित्यको अध्ययनमा नव-आलोचनात्मक सिद्धान्त (New Criticism) आवश्यक रहेको मान्छन् र भन्छन् – ‘हाम्रो समालोचनामा पनि न्युक्रिटिसिज्मको अध्ययन र प्रभाव हुनुपर्छ“ [नेपाल प्रज्ञा प्रतिष्ठान (वि.सं. २०४९) : काव्य-विचारगोष्ठी] । नव-आलोचनात्मक सिद्धान्तले पूर्वीय काव्य सिद्धान्तका रस, ध्वनि, अलंकार, व्रक्तोक्ति, गुण जस्ता पूर्वीय काव्यिक अवधारणाहरूलाई पनि मान्यता दिने भएकाले पनि यो चुनिएको हो । रूपवादको शक्ति केमा छ भने यसले साधारण बोलीचालीको भाषालाई आक्रमण गरेर कविताले अपरिचित, अविदित, विचित्रको भाषिक वस्तु निर्माण गर्छ भन्ने हो । अपरिचितिकरण (Unfamiliarization), अविदितिकरण वा विचित्रकरणका उपकरणहरूको प्रयोगको कारणले साहित्य र कविताको भाषा निर्माण हुन्छ भन्ने यसको विश्वास छ । सामान्य रूपमा सधैं भनिने, बोलिने भाषा काव्यिक भाषा होइन भन्ने मान्यताको रूपवादी सिद्धान्तका व्याख्याकार रोमन याकोबसन ( Roman Jakobason) को यो भनाइ निकै महत्त्वपूर्ण छ – ‘कविता भनेको सामान्य उक्तिमा प्रहार गरिने व्यवस्थित हिँसा हो ।’
(५) उद्घोषण
यो आलेख समालोचनाको पाठक-प्रतिक्रिया सिद्धान्त अनुसार कविको ‘हुरीको इन्द्रेणी उक्लेर’ कवितासङ्ग्रहको कविताहरूको पठन हो । तसर्थ यो आलेख (क) ‘हुरीको इन्द्रेणी उक्लेर’ कवितासङ्ग्रहको समालोचना होइन ; (ख) यो आलेख यो कवितासङ्ग्रहको मूल्याङ्कन होइन । ; (ग) यो आलेख एउटा पठन-विधिअनुसार गरिएको पठन हो, व्याख्या हो । अन्य पठन-विधिअनुसार पठन गर्ने हो भने यो कवितासङ्ग्रहको कविताहरूको व्याख्या यस लेखभन्दा नितान्त भिन्न हुन सक्छ । तसर्थ यी कविताहरूका यो लेखमा गरिएको व्याख्या पनि अन्तिम व्याख्या होइन ।
(६) कवितासङ्ग्रहको पाठक-प्रतिक्रियात्मक पठन
यो कवितासङ्ग्रहको पाठक-प्रतिक्रिया सिद्धान्त अनुसार पठन गर्दा महापाठकहरू र अन्तर्निहित पाठकहरूको प्रतिक्रियाहरूलाई विश्लेषण गर्दै लेखकको आफ्नै धारणाहरू राख्दै पठन गरिएको छ । यो कवितासङ्ग्रह पढ्नलाई लेखक आफैँले सृष्टि गरेका तीन अन्तर्निहित पाठकहरू र तिनका प्रतिक्रियाहरूलाई लिइएको छ । सङ्ग्रहका कविताहरू माथि स्वतन्त्र र सार्वजनिक रूपमा पाठकहरूबाट प्रतिक्रियाहरू व्यक्त नगरिएकाले त्यस्ता प्रतिक्रियाहरूलाई आधार बनाउन सकिएन ।
महापाठकहरू र तिनका प्रतिक्रियाहरूः
सात महापाठकहरूमध्ये बैरागी काइँला, अशेष मल्ल र गीता कार्कीका प्रतिक्रियाहरू पाठक प्रतिक्रिया सिद्धान्त अनुरूप यो सङ्ग्रहको पठनका लागि सहयोगी हुने देखिन्छ । अन्य चार जनाका प्रतिक्रियाहरू अस्पष्ट छन् । यी चार महापाठकहरूबाट सङ्ग्रहका कविताहरूमा निम्न विशेषताहरू रहेका छन् भन्ने जानकारी प्राप्त हुन्छन् : कवि मानवतावादी हुन्, उनका कविताहरू सरल-सरस, सुबोध्य र विविध विषयका छन् । गीता कार्कीले सङ्ग्रहका तीन कविताहरू ‘कहाँ होला’, ‘ युद्ध र प्रेम’, ‘खै के लेखूँ – के नलेखूँ’का केही अंशहरू आफ्नो फेसबुक पेजमा पोस्ट्याएकी छिन् । कविका पूर्व सङ्ग्रहहरू उल्लेख गर्दै उनले आफ्नो प्रतिक्रिया यसरी दिएकी छिन् -“…’कठघरामा उभिएर ‘, ‘काँडाकाँडामा टेकेर’ छियाछिया भएका पाइतालाले हुरीको इन्द्रेणी नै उक्लिसकेपछि यो दिव्ययात्रासँगै कवि विभुले कविताको परमपद प्राप्त गरेजस्तो लाग्यो“। तर उनले कविताहरूमा के के पाइन् र उनलाई कविले परमपद प्राप्त गरेको लाग्यो सो भने उल्लेख गरेकी छैनन् । बैरागी काइँलाका विचारहरू अन्यका भन्दा स्पष्ट छन् । यो सङ्ग्रहका कविताहरूका बारेमा महापाठकहरूका सम्पूर्ण विचारहरू एकमुष्ट रूपमा यस्ता छन् : कविताहरू सरल, सुबोध्य र मानवतावादी छन्; कविताहरूमा वर्तमानप्रति विद्रोह र असन्तोष व्यक्त छन् र कविताहरू आशावादी छन्; कविताका विषयमा विविधता छ; कविताको संरचनाहरूमा आख्यान तत्त्वको बहुलता छ। तर महापाठकहरूका प्रतिक्रियाहरूबाट सङ्ग्रहका कविताहरूको कला पक्षको बारेमा भने जान्न सकिएन। ।
सङ्ग्रहका कविताहरूमा प्रतिक्रियाहरू आउन भनेर लेखकले यो सङ्ग्रहका पाँच कविताहरू (निकुञ्ज, विश्वेश्वर, स्वतन्त्रता, यस्तो कोरोना आइदिए हुन्थ्यो, महानिर्वाचनमा !) आफ्नै फेसबुक पेजमा पोस्ट गरेको थियो । तर पाठकहरूका प्रतिक्रियाहरू प्राप्त भएनन् । कविको आफ्नै फेसबुक पेजमा यस सङ्ग्रहका बारेमा केही उपयोगी प्रतिक्रियाहरू छन् कि भनेर पनि हेरियो । तर केही फेला परेन ।
अन्तर्निहित पाठकहरू र तिनका प्रतिक्रियाहरू
पाठक प्रतिक्रिया सिद्धान्त अनुसार पठन गर्दा धेरैभन्दा धेरै पाठक-प्रतिक्रियाहरू प्राप्त भएमा विविधता हुने, कविताको कुनै पक्षहरू पनि ओझेलमा नपर्ने, आग्रह-पूर्वाग्रहपूर्ण प्रतिक्रियाहरू बारेमा जानकारी प्राप्त हुने र सान्दर्भिक तथा असान्दर्भिक प्रतिक्रियाहरू केलाउन सहयोगी हुने हुँदा यसका लागि लेखकले माथि भनिए अनुसार तीन अन्तर्निहित (Intended Readers) पाठकहरू रचेर उनीहरूलाई यो सङ्ग्रहका सबै कविताहरू पठन गर्न र प्रतिक्रियाहरू व्यक्त गर्न जिम्मा लगाएको छ। उनीहरू प्रत्येकलाई कविमाथि होइन कि कवितामाथि कारणसहित प्रतिक्रिया व्यक्त गर्न भनिएको छ । ती तीन पाठकहरूका संक्षिप्त चिनारी तल दिइएको छ :
पाठक ‘क’ : ३९ वर्षीय गम्भीर पुरुष पाठक; कवितामा विशेष रुचि भएको पाठक; नेपालीभन्दा पनि हिन्दी र अंग्रेजीमा लेखिएका कविताहरू धेरै पढेको पाठक; पूर्वीय दर्शनभन्दा पश्चिमी दर्शन र साहित्य धेरै बुझेको पाठक; राजनैतिक सचेतना रहेको; कविताको पारखी र आलोचनात्मक चेतना रहेको; नेपाली साहित्यकारहरूले पनि विश्वस्तरीय साहित्य लेख्नुपर्छ भन्ने मान्यता राख्ने; आत्मा र मनलाई शुद्ध, सुन्दर र परिष्कृत राखिराख्न नेपाली भाषाको कविता पढ्नै पर्छ भन्ने मान्यता नराख्ने;
पाठक ‘ट’ : एक विशेष राजनीतिक विचारधाराप्रति समर्पित ४७ वर्षीय पुरुष; पाएमा साहित्यिक कृतिहरू पढिदिने तर पढ्नलाई नै खोज्दै नहिँड्ने ; आफ्नो राजनीतिक विचारधारासित सहमत डाक्टर, इन्जिनियर, पत्रकार, वकिल, लेखक, कवि, कलाकारहरू फेला परेमा उनीहरूलाई, आफूलाई र आफ्नो विचारधारा मिल्ने राजनीतिक दललाई लाभ होस् भनेर विभिन्न उपक्रमहरू गर्ने;
पाठक ‘प ‘ : ३४ वर्षीय नेपाली साहित्यको गम्भीर पुरुष पाठक; कवितामा विशेष रुचि भएको; अंग्रेजी भाषामा पहुँच नभएको र अंग्रेजी साहित्यमा धेरै रुचि नभएको; पाश्चात्य दर्शन र साहित्यिक सिद्धान्तहरूको सामान्य जानकारी रहेको; नेपाली साहित्यकारहरूले विश्वस्तरीय साहित्य लेखे राम्रै हो तर नलेख्दैमा बिग्री नहाल्ने धारणा रहेको;
यी अन्तर्निहित पाठकहरूले दिएका प्रतिक्रियाहरू बुँदागत रूपमा अनुसूचि – १ को तालिकामा देखाइएको छ ।
कवितामा सरलता, लालित्य र नवीनता
इतिहासशिरोमणि बाबुराम आचार्यले भानुभक्त आचार्यलाई ‘कवि’ भन्न मिल्छ कि मिल्दैन भनेर मिहीन विश्लेषण गरेका थिए । उनले भानुभक्तलाई नेपाली भाषामा रामायण लेखेको आधारमै कवि भन्न नमिल्ने भन्दै कवि हुनलाई लेखनमा ‘सरलता, लालित्य र नवीनता’ हुने पर्ने अडान लिएका थिए । उनी भन्छन् : “काव्यमा हुनुपर्ने मुख्य गुण तीन छन् (१) लालित्य, (२) सरलता (३) विचारको मौलिकता । यी तीनै गुण भानुभक्त आचार्यका प्रसिद्ध काव्य रामायणमा र अरु फुटकर कवितामा समेत पाइन्छन्”। यो पठनमा यस सङ्ग्रहको कविताहरूमा के कति सरलता, लालित्य र नवीनता (मौलिकता) छन् भनेर जान्न खोजिएको छ र यो खोजी प्रक्रियामा रूपवादी सिद्धान्तलाई (Formalism ) अवलम्बन गरिएको छ । रूपवादी सिद्धान्त अनुसार नवीनता र लालित्य कविताको भाषामा अपरिचितिकरण र अविदितिकरण भए पछि प्राप्त हुने गुण हुन् ।
अन्तर्निहित पाठकहरूले भने झैँ यस सङ्ग्रहका अधिकांश कविताहरूमा अनुप्राश र समानान्तरता रहनगई गेयात्मकता कायम भएको छ । सम्भवतः सङ्ग्रहको यो सबैभन्दा सह्राहनीय पक्ष हो । तर कथाको अन्तर्वस्तुमा नवीनताको अभाव र रूपमा व्याख्या गर्दा, उपदेश दिँदा, शिक्षा दिँदा गेयात्मकताले प्रभावोत्पादन गर्न सकेका छैनन् । उपदेश दिनु, शिक्षा दिनु, नीतिशास्त्रको कुरा गर्नु सामान्य बोलीचालीको भाषा हो । रूपवादीहरूले भने झैं कविले यहाँ सामान्य बोलीचालीको भाषामाथि हिँसा मच्चाउन सकेनन् । फलतः साहित्यको भाषा सिर्जना हुन सकेन ।
मतदाता शिक्षा दिने कविता ‘महानिर्वाचनमा !!’ अरु समेत निम्नानुसारको एउटा समानान्तारता छ :
हाँसी-हाँसी फाँसी माग्नेहरूले
हाँसी-हाँसी गोली खानेहरूले
(समानान्तरता ; हाँसी-हाँसी ………… नेहरूले)
यही कविताको प्रथम गद्यांशमा ‘थियो, रह्यो, थियो, थियो , थियो, थियो ‘जस्ता शब्दहरू, दोस्रो गद्यांशमा ‘पाएनौँ, थिएनौं, पाएनौँ’ जस्ता शब्दहरू, चौथो गद्यांशमा ‘पाएका छौँ, पाएका छौँ, पाएको छ, पलाएको छ, रमाएको छ’ र सातौँ गद्यांशमा ‘उस्तैउस्तै’ शब्दहरू पदावलीहरूको अन्त्यमा पर्न गइ ध्वनि-आवृति भएको छ । तर कविताको अन्तर्वस्तु मतदाता शिक्षा भएकाले यी गेयात्मकताले कुनै प्रभाव पार्दैनन । मतदाता शिक्षा जस्तो सामान्य चलन-चल्तीको विषय भएकाले गरिएको हिँसा पनि पर्याप्त हुन सकेन।
कविता हुनलाई ‘लालित्य र नवीनता’ हुनुपर्ने सत्यलाई सङ्ग्रहका राजनीतिक कविताहरूले ग्रहण गरेको देखिन्न । यी कविताहरूमा व्यक्त गरिएका सबै विचारहरू प्रशंसनीय छन् । तर यी कविताहरूमा सामान्य, प्रचलित र परिचित भाषा छ । त्यहाँ प्रयोग गरिएका काव्यिक उपकरणहरूले पर्याप्त हिँसा मच्चाएका छैनन् जसले गर्दा अविदित र अपरिचित काव्यिक वस्तुको सृष्टि हुन सकेको छैन । प्रयोग भएका प्रतीक र बिम्बहरूमा नवीनता छैनन् । हिटलर, मुसोलिनी, रावण, दूर्योधन, आगो , डढेलो, आँधी, भूकम्प, सुनामी, प्रलय, कृष्ण, कंशहरू जस्ता बिम्ब, उपमाहरू उत्तरगणतान्त्रिक नेपालमा प्रभावहीन भइसके किनकि आज गान्धी र राम क्रमशः मुसोलिनी र रावण बनेर वैधानिक तरिकाले सत्तामा छन् । आजको समयमा प्रतिरोधी कविताहरू लेख्ने हो भने प्रतीक, बिम्ब र उपमाहरू नवीन हुनु पर्ने हुन्छ, भाषा नयाँ हुनुपर्छ। काव्यिक हिँसा मच्चाएको नयाँ भाषा हुनुपर्यो । यो नयाँ भाषा के हो भन्ने कुराको आविष्कार त सङ्ग्रहमा देखिनु पर्ने हो तर यो सङ्ग्रहमा त्यो आविष्क्रित भाषा पाइन्न । उचित त के हुन्थ्यो भने यी राजनीतिक कविताहरू यो सङ्ग्रहमै नराखेको भए हुन्थ्यो । केही बिम्बहरू, उपमाहरू हेरौं । ‘हुङ्कार र विद्रोहको गीत’, ‘कुरूप दासता’, ‘परेवा र बाज छुट्याउ भनिरहेछ’, ‘प्रत्येक राष्ट्रघातीको मुखुण्डो उतारेर’, ‘तीव्र विद्रोहको ज्वालामुखी फुटाउन सक्नु’, ‘कहिले आँधी भएर गर्जन, कहिले डढेलो भएर सल्कन’, ‘शान्त साधारण हावामा पनि आँधी लुकेको हुन्छ’, ‘कंशको अन्तिम उत्पातमा कृष्णले जन्म लिनुहुन्छ’ प्रभृति बिम्बहरू र उपमाहरू सुन्दा सुन्दा प्रत्येक नेपालीहरू जवान भए, जवानहरू बूढा भए, बूढाहरू मरिसके । उत्तरगणतान्त्रिक नेपालमा परम्परागत प्रतिरोधको भाषा र व्याकरणहरू प्रभावहीन बन्न पुगेका छन् । कविताले गर्न सक्नुपर्ने अपरिचितिकरण, अविदितिकरण यहाँ हुन सकेको छैन ।
नेपालमा राष्ट्र, राष्ट्रियता, देश, जनताको कुरा धेरै गर्ने राजनीतिज्ञहरू, पत्रकारहरू र कविहरू हुन् । नेपाली कविहरू पनि यिनका कुरा गरेर थाक्दैनन् । राजनीतिज्ञहरूले यी शब्दहरूका चरम दुरूपयोग गरेका छन् । फलतः नेपाली कविले राष्ट्र, राष्ट्रियता, देश, जनताहरूको कुरा गर्दा झुटो बोल्दैछ जस्तो लाग्छ । यी शब्दहरूको अर्थान्तरण र अर्थ-क्षयिकरण भइरहेको छ भन्ने गूढ तथ्यप्रति नेपाली कवि अनभिज्ञ छ । यी सामान्य बोलीचालीको भाषा पत्रकारहरूले , राजनीतिक टिप्पणीकारहरूले, राजनीतिज्ञहरूले, सर्वसाधारणहरूले बोल्ने भाषा हो । यी शब्दहरू सामान्य नेपालीहरूले अब यान्त्रिक रूपमा प्रयोग गर्छन् । त्यही भाषा कविले प्रयोग गर्दा साहित्य सिर्जना हुँदैन । जुनसुकै कविले पनि भाषालाई सामान्य बोलीचालीको यान्त्रिकताबाट मुक्त नगर्दासम्म त्यसमा काव्यिक शक्तिको उदभव हुँदैन । अर्को कुरा हो उत्तरआधुनिक पाठक हुनु । नेपाली कविहरू उत्तरआधुनिक भइसकेका छैनन् तर पाठकहरू उत्तरआधुनिक भइसकेका छन् । उत्तरआधुनिक पाठकलाई ‘लेखन’मा राष्ट्रियताको अधिक मात्रा भएको चित्त बुझ्दैन । यो सङ्ग्रहमा पनि राष्ट्रवादी शब्दावलीहरू रहेका कविताहरू छन् जसले हृदयलाई झंकृत पार्दैन।
साहित्यकार स्वर्गीय इन्द्रबहादुर राईप्रति आदर दर्शाउनु पर्यो भने उनको गुनगान गाउने वा तेस्रो आयामेली ढाँचामा एउटा कविता लेख्ने ? सङ्ग्रहको ‘इन्द्रलीला’ कवितामा उनको गुनगान गाउने चयन गरिएको छ र गुनगान यसरी गरिएको छ;
तिमीले जेजे लेख्यौ
कतै सूक्ति लेख्यौ
कतै मन्त्र लेख्यौ
जति गहिरो
उति उचाइमा छोएर लेख्यौ।
लेख्दालेख्दै
एकदिन तिमी सिद्ध भयौ
……….
कति विनयशील तिमी
बुद्धजस्तै, गान्धीजस्तै
……….
……….
साँच्ची हो, तिमीले अरुले नलेखेको लेख्यौ
लेख्दालेख्दै तिमी
सबैको श्रद्धेय इन्द्रबहादुर राई भयौ
सोच्दासोच्दै तिमी
सबैको प्रिय आइबी राई भयौ ।
……………..
……………..
तिमी न उताको मात्र भयौ
न यताको
…………
………..
साँच्ची हो इन्द्र दाइ !
तिमीलाई भावाञ्जली दिने शब्दहरू पनि
अहिले किन मसँग अपर्याप्त अनुभूति भइरहेछ ।
………….
यो त इन्द्रबहादुर राईको स्तुतिगान भयो । कुनै सार्वजनिक कार्यक्रममा प्रवचन दिनु पर्यो भने भने राईको प्रशंसा गर्न सकियो । त्यसो गर्नु भाषाको दैनिकी उपयोग भयो, कार्यालयमा कर्मचारीहरू बीचको कुराकानी जस्तो भयो । नेपाली भाषा प्रयोग गरेर कार्यालयमा कर्मचारीहरू बीच हुने संवाद कविता होइन । तर यहाँ त्यसैलाई कविताको भाषा बनाउने चेष्टा गरिएको छ। यसैगरी, विश्वेश्वरप्रसाद कोइरालाको प्रशस्ति गाइएको छ ‘विश्श्वेश्वर’ कवितामा । कोइरालाले नेपाली लोकतान्त्रिक राजनीति र साहित्यमा गरेका योगदान चिरविस्मरणीय छ । कोइरालालाई सम्मान गर्नुभनेको उनको स्तुतिगान गाउनु होइन । कोइराला वर्तमान समयमा काव्यिक वस्तु हैनन्। बुद्ध र गान्धी जस्ता तपस्वीहरू त अब काव्यिक वस्तु रहेनन् भने कोइरालाको त के कुरा । वि. सं. २०४१ मा लेखिएको यो कविता प्रस्तुत सङ्ग्रहमा नराखेको भए बरु कोइरालाप्रति भावाञ्जली हुन्थ्यो ।
‘यस्तो कोरोना आइदिए हुन्थ्यो’ शीर्षकीय कवितामा आरम्भमा कोरोनालाई अमानवीय मूल्यमान्यताको प्रतीकको रूपमा लिइएको छ भने अन्त्यतिर तिनै अमानवीय मूल्य मान्यताहरूको उपचारको प्रतीकको रूपमा लिइएको छ । यो विरोधाभासपूर्ण भयो । एउटै वस्तु रोग र उपचार दुवैको प्रतीक हुनु मिल्दैन । परम्परागत प्रतीकहरू सयौँ वर्षमा निर्माण भएका हुन्छन् र त्यसैले तिनीहरू सर्वस्वीकार्य भएका हुन्छन् । व्यक्तिले सिर्जना गरेका व्यक्तिगत प्रतीकहरू कथा, उपन्यासमा प्रभावशाली रहे पनि कवितामा तिनीहरू दुर्बोध्य हुन पुग्छन् र कतिबेलामा त आम जनसमुदायको अपेक्षा विपरित पनि हुन पुग्छन् । यस्तो स्थितिमा तिनको कलात्मक भाव सञ्चार गराउन सक्ने क्षमता ह्रास भइसकेको हुन्छ । प्रस्तुत कवितामा कोरोनालाई मानवीय रोगको उपचारको प्रतीकको रूपमा प्रयोग गर्दा पाठकले स्वीकार गर्न कठिनाइ पर्छ किनकि संसारभरि नै कोरोना आतंकको प्रतीक बनेको थियो ।
‘निकुञ्ज’ नामक कवितामा वन्यजन्तु सम्रक्षण गर्नुपर्ने कारण बारे व्याख्या गर्दै यसरी शिक्षा दिइएको छ ।
उन्मुक्त खुशी बाँड्न
मयुरहरूको नाचबाट सिक्नुपर्छ
आफ्नो लक्ष्यलाई निरन्तर गाँस्न
हात्ती जस्तै निरन्तर लम्किरहन सक्नुपर्छ
यसरी एउटा सफल मान्छे हुन
यसरी एउटा सफल मान्छे बाँच्न
निकुञ्जसँग सधैँ सधैँ सिक्नुपर्छ ।
‘अहिले जहाँ म पुगेको छु !’ कवितामा कवि आफू पुगेको ठाउँमा अरुहरू नपुग्दा अरुलाई यसरी हाँक र शिक्षा सँगसँगै दिन्छन् किनकि उनलाई लाग्छ कि उनी अरूभन्दा उच्च स्थानमा छन् ।
किनभने, अहिले म जहाँ पुगेग्को छु
त्यहाँसम्म पुग्न त
तिम्रो आफ्नै आकाश खुल्नु पर्छ
तिम्रो आफ्नै मन खुल्नु पर्छ
उपर्युक्त केही दृष्टान्तहरू मात्र हुन् । सङ्ग्रहका धेरै जसो कविताहरूमा शिक्षा र उपदेश दिइएको छ । यसबारेमा विस्तारमा अनुसूची-१ मा पाठकहरूले भनेका छन् । नेपाली भाषा प्रयोग गरेर घरमा छोराछोरीलाई, विद्यालयमा विद्यार्थीहरूलाई, कार्यालयमा कर्मचारीहरूलाई र कुनै कार्यक्रममा आफ्ना दलका कार्यकर्ताहरूलाई शिक्षा र अर्ती दिन पाइयो । ती कार्यहरू भनेको नेपाली भाषाको एउटा उपयोग भयो । कवितामा नेपाली भाषा त्यसरी उपयोग गरेमा अपरिचितता (Unfamiliarization) र अविदितता कसरी आविष्कार हुन्छ र ? पाठकलाई यही लाग्छ कि यो त उसले घरमा, कार्यालयमा र राजनीतिक भाषणमा सुनिसकेकै हो । उपदेश सुन्दा चामत्करिकताको अभाव हुन्छ। कविको काम केवल चित्रण मात्र गर्ने हो वा शिक्षा पनि दिने हो ? यस प्रश्नको जवाफमा विद्वान् समालोचक सूर्यविक्रम ज्ञवाली लेख्दछन् – ‘कविले शिक्षा दिन खोज्यो भने त्यो केको कवि ? त्यो त शिक्षक भैगयो, तर वास्तवमा कविको चित्रणमा नै शिक्षा रहन्छ ।‘
कवि मोहन कोइराला भन्छन् – ‘साहित्यकारले खासगरी नीतिकार बन्नु पनि छैन ।’ नेपाली साहित्यका ज्ञवाली र कोइराला जस्ता व्यक्तित्वलाई त कविताले ठाडो शिक्षा, अर्ती, उपदेश दिएको मन पर्दैन भने आजको अनुशासनमा बाँधिन नरुचाउने पाठकले त झन् त्यो स्वीकार्दैन ।
जुनसुकै कविले कविता लेख्न छोडेर ज्ञान बाँड्न थाल्यो, उपदेश दिन थाल्यो र आदर्शको कुरा गर्न थाल्यो भने उत्तरआधुनिक पाठकले ग्रहण गर्दैन । कविता असम्प्रेष्य हुन पुग्छ । यो सङ्ग्रहका धेरै कविताहरू यो दृष्टिले असम्प्रेष्य छन् । कविले पाठक आफू जतिकै समान ज्ञान स्तरको व्यक्ति हो भन्ने भुलेका छन् । सबै किसिमको निरङ्कुशता अस्वीकार गर्ने पाठकले कविको निरङ्कुशता पनि स्वीकार गर्दैन । तर कवि मौका पाउनेबित्तिकै पाठकलाई ज्ञानगुनको कुरा सुनाउँदै, उपदेश दिँदै, नीतिशास्त्रको कुरा झिक्दै निरङ्कुश बन्छन् । पाठक भएकै नातामा कुनै कविले बलात् उपदेश दिन थाल्यो भने कविता र पाठकको सम्बन्धविच्छेद हुन्छ । यो सङ्ग्रहका धेरै जसो कवितामा यसरी सम्बन्धविच्छेद गर्नु पर्ने स्थिति आइपर्छ ।
यो सङ्ग्रहको एउटा प्रमुख विशेषता कविताहरूका सरलता हो । कविता सरल लेख्दा व्याख्या गर्नु पर्ने स्थिति आउन सक्छ जुन कविताका लागि अति नै खतरनाक हुन्छ। यो सङ्ग्रहमा सरल लेख्न खोज्दा धेरै ठाउँहरूमा व्याख्या, वर्णन गरिएको छ। सरल सुन्दर कविता लेख्नु बिम्बप्रधान कविता लेख्नुभन्दा दुरुह कार्य हो । सबैथोक व्याख्या गर्न थालियो भने त्यो कविता हुँदैन । सङ्ग्रहका धेरै कविताहरू यहाँ चुकेका छन् । कविता अप्रस्तुति – कला हो । कविले आफ्नो कुरा अप्रस्तुत तरिकाले भन्नु पर्ने हुन्छ । यसको बारेमा समालोचक रत्नध्वज जोशी यसरी भन्छन्: “एक कविले आफ्नो कविता स्तरीय होस् भन्नाका लागि ‘सिद्धान्तपक्ष वाच्य रूपमा’ प्रकट नहोस् भन्ने कुरामा सबैभन्दा बढी होसियार हुनुपर्दछ । कारण, ‘वाच्यरूपमा कुनै कुरालाई भन्नुभन्दा लाक्षणिक रूपमा अथवा व्यंग्यको रूपमा प्रकट गर्दा त्यसको प्रेरणाशक्ति अझै बढ्ने हुन्छ ।“ सरल सामान्य भाषामा लेख्दा दैनिक जीवनमा गरेको कुराकानी जस्तो हुने जोखिम बढ्छ जुन कविताको भाषा होइन । दैनिक जीवनमा हामी सुन्छौं, सुनाउँछौं, व्याख्या गर्छौं, बहस गर्छौं, तर्कवितर्क गर्छौं । दैनिक जीवनमा हुने कुराकानीको भाषामा आक्रमण गरेर नयाँ भाषा बनाउनु पर्ने हुन्छ, जसको यो सङ्ग्रहका कवितामा अभाव छ ।
कविताले अविदित, अपरिचित र विचित्रको काव्यिक वस्तु रच्न नसकेका केही उदाहरणहरू तलका पदावलीहरू मार्फत दिइएका छन् । तल सामान्य बोलीचालीको भाषामा वर्णन गरेर व्यक्त विचारहरूसित कसैको पनि विमति नहोला । तर तिनमा अपरिचित, अविदित, विचित्र हुनुको अभाव छ । तिनले केही नवीन सिर्जेका छैनन्।
बेकार छ
सलक्क मिलेको नाक भएर मात्र के गर्नु ? जब त्यो नाकले आत्मीयताको बास्ना थाहा पाउन सक्दैन भने । |
सोचेजस्तो
किनभने मान्छे सोच्न मात्र सक्छ किनभने मान्छे कल्पना मात्र गर्न सक्छ किनभने मान्छे भावनामा उड्न मात्र सक्छ
|
स्वतन्त्रता
हात बाँधेर मलाई कसैले भरपेट खुवाउँछु भन्छौ भने खुट्टा छाँदेर मलाई कसैले आङ्गभरि खातका खात पहिरन पहिराइदिन्छौ भन्छौ भने मुख बन्द गरेर मलाई कसैले राम्रो घरमा बस्न दिन्छौं भन्यो भने ?
म तिमीहरूसँग सहमत छैन महोदय |
उही छन् -उस्तै छन्
प्रत्येक तानाशाहको विरोध गर्दै आएका उनीहरू सत्तामा आएपछि कसरी छेपारो भए ? एकतन्त्री, पारिवारिक निरङ्कुश शासनको विरोधमा जेलनेल भोग्दै आएका उनीहरू सत्तामा आएपछि कसरी जङ्गबहादुर भए । |
मलाई मनपर्छ
असल मानिसहरू जब चुपचाप झोक्राउँछन् प्रतिकार गर्नुपर्ने ठाउँमा जब चुपचाप टोलाउँछन् हो यस्तै अवसरमा खराब मानिसहरू विजयी बन्छन् । |
बाँच्ने कुरा
तिमीले थाहा पाउनुपर्छ विरोध परिवर्तनका लागि हुन्छ (विरोध आफ्नो अस्तित्व रक्षाका लागि हुन्छ ) परिवर्तन समयका लागि हुन्छ समय इतिहास आफ्नो बनाउनका लागि हुन्छ ।
|
कविताले पाठकको मनमा आरम्भदेखि मध्य हुँदै अन्त्यसम्म एउटै भावनाको उद्दिपन गराएमा पाठकले चरम् आनन्द प्राप्त गर्दछ । तर यो सङ्ग्रहका केही कविताहरू तिनको अभावमा आनन्ददायी हुन सकेका छैनन् । ‘खै के लेखूँ -के नलेखूँ’ कवितामा निम्न सुन्दर पदावलीहरूबाट आरम्भ हुन्छ कविता । तर कविताले अन्त्यमा भने पाठकलाई सुखानुभूतिको चरमतातिर नगलेर निम्नानुसार अलपत्र पार्छ।
आदि
विशाल आकाशभरि छरिएर |
अन्त्य
केही नलेखेर
|
‘बगिरहने नदी हो जीवन’ भन्ने कविताको अन्त्य निम्न अनुपम वाक्यपुञ्जबाट गरिएको छ तर उक्त कविताको मध्यमा निम्नानुसारको सामान्य व्याख्या राखिएको छ :
अन्त्य
अचेल |
मध्य
हरेक जन्मनेहरूले
|
प्रस्तुत सङ्ग्रहका कविताहरूमा विषयहरूमा विविधता ल्याउन नसक्दा रूपमा नवीनता पाइन्न । फलतः प्रचलित विषयहरू भएको कारणले र उपदेशात्मक शैलीले गर्दा प्रकट गरिएको रूपले पनि मनलाई उद्वेलित गर्दैनन् ।
सङ्ग्रहका प्रत्येक कविताहरूमा प्रत्येक गद्यांशपछि एक अत्यन्त लघु वर्ग राखिएको छ । यो प्रकाशनको त्रुटि हो वा कविको रोजाइ हो प्रष्ट छैन तर यसले कविताको पठन र आस्वादनमा व्यवधान ल्याएका छन्।
सङ्ग्रहका पठनीय पाँच कविताहरू
अन्तर्वस्तु राजनीति नरहेका, उपदेशात्मक र शिक्षा-प्रधान पदावलीहरू नरहेका, व्याख्या गर्ने वाक्यावलीहरू नरहेका र गेयात्मकता रहेका सङ्ग्रहका निम्न पाँच कविताहरू भने तुलनात्मक रूपमा पठनीय छन् – ‘सम्झनामा’, ‘कहाँ होला’, ‘प्रेममा’, ‘माया’, ‘चुपचाप चुपचाप’। यी कविताहरूको बारे तल संक्षिप्त चर्चा गरिएको छ :
सम्झनामा : यो कविताको आरम्भ, मध्य र अन्त्य सबै राम्रा छन् र एउटै भावलाई आदिदेखि अन्त्यसम्म राखिएको छ। ‘सम्झना छारे रोग जस्तो’, ‘मन एम्बुसमा परेको सुरक्षा जस्तो’, ‘सम्झना श्राप जस्तो’ जस्ता अतियथार्तवादी उपमाहरू यो कविताको विशेषता हो।
कहाँ होला : गह्रुङ्गा शब्द, अलंकार र बिम्बहरू प्रयोग नगरिकन लेखिएको यो कवितामा विचार कम छ, भावना धेरै छ । प्रत्येक व्यक्तिले आफ्नो झमेला, अव्यवस्था, अस्तव्यस्तता, विसंगतिहरूलाई आफ्ना जीवनमा मौलिक किसिमले भोगेका हुन्छन् र प्रत्येक व्यक्ति यी सबैबाट मुक्त भएर आफ्नो सपनाको गाउँमा समय व्यतीत गर्न चाहन्छन् । सबैले आफ्नो सपनाको गाउँ खोजी गर्ने भएकाले यो कविताले सबैको मनलाई छुन्छ । आफ्नो अभिलाषा प्रकट गरिएको यो कविताको वाक्यावलीहरूमा अन्त्यानुप्रास कायम गराएर यो कविता गेयात्मक र श्रुतिमधुर पनि छ।
प्रेममा : सरल भाषामा सपनालाई होइन कि विपना र यथार्तलाई स्वीकार्नु पर्छ भन्ने अन्तर्वस्तु रहेको यो कविता सुन्दर छ । कविले यसमा आफ्नो व्यक्तिगत भावनाको कुरा मात्र गरेकोले कविता सुन्दर भएको छ ।
माया: माया अन्तर्वस्तु रहेको यो कविता जोसुकैले पनि बुझ्न सक्छ र अनुभूति गर्न सक्छ । सरल शब्दहरू हुनु यो कविताको अर्को विशेषता हो । यो कवितामा नयाँ केही नभए पनि पढ्दा भने आनन्द आउँछ ।
चुपचाप चुपचाप: सरल भाषामा लेखिएको यो कविता पढ्दा आनन्द आउँछ ।
एउटा व्यक्तिले आफ्नो निजी अनुभूति व्यक्त गर्दा कविता धेरै आधिकारिक र प्रामाणिक हुन्छ। तर जब ऊ सामाजिक बन्न खोज्दै धेरै जनाको मनको कुरा गर्न थाल्छ त्यो अभिव्यक्तिमा आधिकारिकता र प्रामाणिकता दुवै गुम्ने जोखिम ह्वात्तै बढ्छ। यो सङ्ग्रहका राजनीतिक लगायत अन्य विषयका कविताहरूमा कवि धेरै जनाको स्वार्थको बारेमा बोल्दा त्यस्ता कविताहरूमा कलापक्ष कमजोर भएको छ । जबकि एकालाप गरेर आफ्नो मनको कुरा मात्र गर्दा वा आफ्नो प्रियजनसित कुरा गर्दा ती कविताहरू तुलनात्मक रूपमा राम्रा भएका छन् ।
यस सङ्ग्रहका ४६ वटा कविताहरूमध्ये ४५ वटा कविताहरूको पठन गरेर यो आलेख तयार गरिएको हो । १५ वटा कविताहरू राजनीति विषयक (क्रान्ति, विद्रोह, राष्ट्रियता, देशभक्ति, इत्यादि), दुईवटा कविताहरू पर्यावरण विषयक, दुईवटा कविताहरू स्तुतिगान छन् भने बाँकी कविताहरू प्रेम, सम्झना प्रभृति छन्। यसरी हेर्दा सङ्ग्रहका एक तिहाई कविताहरू राजनीतिक विषयक रहेका छन्। संख्यात्मक रूपमा यो धेरै हो। यस सङ्ग्रहका कविताहरूमा स्पष्ट नवीनता सिर्जना नगरिकन राजनितिक अनुभूतिको कुरा धेरै गरिएको छ । दुई तीनवटा राजनीतिक कविताहरू राखे पुग्ने थियो । बाँकी कविताहरूमा व्याख्या वर्णन, उपदेश, शिक्षाको आधिक्यताले गर्दा तिनीहरू पनि कमजोर हुन पुगेका छन् । वि. सं. २०४६ पछिका नेपाली कविताहरूमा पूर्ववर्ति कविताहरू झैँ क्लिष्टता र प्रयोगधर्मिता नरही सामान्य मानिसहरूले बुझ्ने गरी सामान्य मानिसहरूका जीवनानुभूतिहरूको प्रचुरता हुनुलाई नेपाली कविता क्षेत्रमा समकालीन धार भन्ने गरिन्छ। यो दृष्टिकोणले यो सङ्ग्रहका कविताहरू समकालीन हुन् । तर समकालीन हुने कविताहरू कलात्मक हुनु नपर्ने भन्ने हुँदैन। यस सङ्ग्रहका कविताहरूका कलात्मक पक्ष भने कमजोर छ। रूपवादी सिद्धान्तलाई टेकेर भन्नुपर्दा यस संग्रहका कविताहरूमा सामान्य बोलीचालीको भाषामाथि पर्याप्त काव्यिक हिंसा गरिएको छैन । फलतः कविताहरूमा साहित्यिकताको (Literariness) अभाव देखिएको छ।
यो कवितासङ्ग्रहका कविताहरूको स्वतन्त्र रूपले पठन र व्याख्या गरिसकेपछि यो लेखकले वि. सं. २०४६ यताका नेपाली कविताहरूको प्रवृतिहरू के कस्तो रहेको छ त भनेर अध्ययन गर्ने क्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित ‘प्रज्ञा समकालीन प्रतिनिधि नेपाली कविता (भाग १)’ अध्ययन गर्ने अवसर पायो। नेपाल प्रज्ञा प्रतिष्ठानले वि. सं. २०७० मा उक्त संकलन प्रकाशित गरेको थियो । वि. सं. २०२० देखि २०४५ सम्म लेखिएका आधुनिक नेपाली कविताहरूलाई प्रयोगवादी कविताहरू मानेको नेपाल प्रज्ञा प्रतिष्ठानले वि. सं. २०४५ देखि २०७० सम्म लेखिएका नेपाली कविताहरूलाई समकालीन भनिएको उक्त संकलनको सम्पादन समूहमा कवि घिमिरे पनि थिए । नेपाल प्रज्ञा-प्रतिष्ठानको उक्त संकलनमा कवि घिमिरेका पूर्व प्रकाशित तीन कविताहरू ‘सगरमाथा’, ‘मलाई अहिले, ‘यात्रा अनन्त’ पनि छन् । कवि स्वयम् सहितको सम्पादक समूहले ‘समकालीनता र समकालीन नपाली प्रतिनिधि कविता’ भन्ने आफ्नो सम्पादकीय आलेखको निष्कर्षमा समकालीन नेपाली कविताहरूको प्रवृति बारे यसो लेखेको छ : ‘भाषिक सरलता भए पनि सरलताका नाममा सपाट वर्णन मात्र देखिनु, विचारको आधिक्यले कलापक्ष शिथिल हुँदै जानु, प्रयोगको आग्रहस्वरूप मानकलाई भत्काउने प्रयास गर्नु, राजनीतिक आग्रह बढी देखिनु आदि समकालीन नेपाली कविताका सीमा हुन् ।’ यी प्रवृत्तिमध्ये ‘भाषिक सरलता भए पनि सरलताका नाममा सपाट वर्णन मात्र देखिनु, विचारको आधिक्यले कलापक्ष शिथिल हुँदै जानु, राजनीतिक आग्रह बढी देखिनु’ चाहिं नेपाली कविताका लागि सुखद पक्षहरू होइनन् । रूपवादी सिद्धान्त अनुसार यो भनेको ‘कविहरूले सामान्य बोलीचालीको भाषामा हिंस्रक आक्रमण गरेर साहित्यिक कलात्मक भाषा सिर्जना गर्न सकिरहेका छैनन्’ भन्ने हो । यो भनेको कवितामा साहित्यिकता (Literariness ) को अभाव छ भन्ने हो ।
यी कविताहरूको स्वतन्त्र पठन गर्दा प्राप्त प्रवृतिहरू र प्रज्ञा-प्रतिष्ठानको उपरोक्त ग्रन्थको सम्पादकीय निष्कर्षहरूको मेल देखेर यो लेखक झसङ्ग हुन पुग्यो । उपरोक्त ग्रन्थका सम्पादकहरूमध्येका एक कवि आफैँले उक्त नकारात्मक प्रवृतिहरू समकालीन नेपाली कविताहरूमा छन् भन्दै गर्दा आफ्नै कविताहरूलाई किन ती प्रवृतिहरूबाट मुक्त राख्न सकेनन त भन्ने उत्सुकता उब्जिएको बेलामा यो लेखक केमा चाहिं ढुक्क भयो भने यो समालोचनात्मक पठन विश्वसनीय र वस्तुनिष्ठ नै रहेछ । दुईवटा स्वतन्त्र अध्ययनहरूले एउटै कुराको पुष्टि गरे।
उपरोक्त सम्पादकीय आलेखको सत्यको आलोकमा कविले आफ्ना कविताहरूको निर्मम आत्म-परीक्षण गर्नु पर्ने थियो । कवि स्वयम्ले समकालीन नेपाली कविताका नकारात्मक प्रवृतिहरू भनेर स्वीकारेको सन्दर्भमा पाठकले उनका नयाँ सङ्ग्रहमा परिष्कृत कविताहरू पढ्न पाउनु पर्ने थियो । यहाँ परिष्कृत नलेख्नु भनेको त नेपाली पाठकलाई परिष्कृत बनाउनु हुँदैन भने जस्तो भयो । वि. सं. २०४९ मा आफ्नो कार्यपत्रमा सुवेदीले ‘नेपाली कविताको एउटा संरचनात्मक संस्कृति बनेको छ। यसलाई ज्यादै सजिलो र सस्तो साधनको रूपमा प्रयोग गर्दा कविता टाक्सिने धेरै सम्भावना हुन सक्छ‘ भनेर जुन खतरातर्फ इंगित गरेका थिए त्यसको पुष्टि वि. सं. २०७० को ‘ प्रज्ञा समकालीन नेपाली प्रतिनिधि कविता’मा परेको सम्पादक समूहको निष्कर्षले गरेको छ । त्यही संरचनात्मक संस्कृतिको अनुशरण गर्दाको अप्रिय परिणामको रूपमा ‘हुरीको इन्द्रेणी उक्लेर’ कवितासङ्ग्रह वि. सं. २०८१ मा आएको छ।
(७) निष्कर्श
‘हुरीको इन्द्रेणी उक्लेर’को पाठक-प्रतिक्रियात्मक पठनपछि निष्कर्ष निस्कन्छः कविले आफैँले समकालीन नेपाली कविताका नकारात्मक प्रवृतिहरू भनेर स्वीकारेको सन्दर्भमा पाठकले उनका नयाँ सङ्ग्रहमा परिष्कृत कविताहरू पढ्न पाउनु पर्ने थियो । यहाँ परिष्कृत नलेख्नु भनेको त नेपाली पाठकलाई परिष्कृत बनाउनु हुँदैन भने जस्तो भयो ।
अनुसूची – १ः
कविताको शीर्षक र प्रतिक्रिया |
|
हामीसँग त ! |
|
क | यो कविता भयो र ? यसमा त जनावर र किटपतंगहरूले नेताहरूले झैँ भाषण गरेका छन् । कवितामा श्रमिक र मालिक, स्त्री र पुरुषको विचको झल्को दिने गरि झगडा भइरहेको छ। केही कुराहरू अति भावुक भएर लेखिएको छ, जस्तो कि ‘हामीसँग त प्रकृतिलाई माया गर्ने मुटु मात्र छ ‘। जनावरहरूलाई प्रकृति भनेको ज्ञान हुन्छ र ? |
ट | मानिसले गरिरहेको प्रकृति विनाशप्रति सचेत गराउने कविता। सन्देश राम्रो छ। |
प | सन्देश राम्रो छ। विचार छ, सौन्दर्य कम भयो । मानव जातिले बातावरण नष्ट गर्यो भन्ने विचार व्यक्त भयो। |
निकुञ्ज |
|
क | कविताले उपदेश दिने हो र ? उपदेश त कक्षाकोठामा पढ्ने पाठ्यपुस्तकले दिन्छन् । कवि भन्छन् ‘ मानिस मानिससंग मात्र बाँचेर मानिस हुँदैन , कल्पनाको आकाश छुन चराहरूसँग बाँच्नुपर्छ ‘। कविताको विचार-पक्षसित सहमत छु तर यो त उपदेश भयो । उपदेश सुन्नलाई कविता पढ्ने हो र ? |
ट | कविता राम्रो छ। यसले पर्यावरण चेतना फैलाउँछ। |
प | यो कवितामा नयाँ चाहिं के छ ? सबै कुरा त बिद्यालयमा पढाइन्छ। छोटो भएको भए राम्रो हुन्थ्यो। |
इन्द्रलीला |
|
क | यो आधुनिक कविता कम स्तुतिगान धेरै भयो। निबन्ध वा स्मरण लेखेको भए उत्तम हुन्थ्यो । तेस्रो आयामको झझल्को हुनेगरी कविता लेखेको भए बरु सुन्दर हुन्थ्यो र इन्द्र बहादुर राई प्रति एक निष्ठावान श्रद्धान्जली पनि । कवितामा एक ठाउँमा ‘ कति विनयशील तिमी बुद्धजस्तै , गान्धीजस्तै ‘ भनेर राईलाई बुद्धसित तुलना गरिएको छ । राईको योगदान नेपाली साहित्यमा अतुलनीय छ। तर बुद्धजस्तो भन्ने उपमा अतिशयोक्तिपूर्ण भयो । यसमा राईको प्रशंसा र गुनगान धेरै गरिएको छ। एक ठाउँमा ‘ लेख्दा लेख्दै तिमी सबैको श्रद्धेय इन्द्र बहादुर राई भयौ ‘ । यसले गर्दा यो आलेख कविता कम स्तुति धेरै भयो। नयाँ कविहरूले यसबाट के सिक्ने ? |
ट | राईको योगदानलाई जसरी सम्झनु पर्ने हो र सम्मान गर्नु पर्ने हो यो कवितामा त्यही परेको छ। |
प | राईलाई गरेको प्रसंशा ठिकै छ। तर यो कविता जस्तो लागेन। |
विश्वेश्वर |
|
क | विश्वेश्वर प्रसाद कोइरालाको स्तुतिगान गरिएको यो कविता यो सङ्ग्रहमा नराखेको भए हुन्थ्यो। यो कवितामा विचार छ सौन्दर्य पक्षको अभाव छ। कोइरालाले नेपाली साहित्य र राजनीतिमा ठुलै योगदान दिएका छन्। तर त्यसकै भरमा उनको स्तुतिगान गाउन थाल्नु सुहाउँछ कि सुहाउँदैन एक पटक सोचिनु पर्थ्यो । एक ठाउँमा लेखिएको यो पंक्ति ‘ चारैतिर हतकडी र जेलहरूले घोरिएको उसको बिपना थियो तर सपना सम्पूर्ण मानव जातिको स्वतन्त्रता थियो ‘ मा सत्यता छ , यसमा विमति रहेन । यसमा कला , सौन्दर्य खोइ ? एउटा तथ्यपूर्ण पाठ लेख्दैमा कविता हुँदैन भन्ने हेक्का राखिएन । बरु कोइरालाको जीवनी लेखेको भए हुन्थ्यो। |
ट | कविको लोकतन्त्रप्रतिको प्रतिबद्धता यसै कविताबाट व्यक्त हुन्छ। कोइराला प्रातः स्मरणीय व्यक्तित्व हुन्। उनलाई कविताको विषय बनाउनु नयाँ पुस्तालाई नेपाली लोकतन्त्रप्रति जागरुक बनाउनु हो र यो प्रत्येक लेखक , कविको कर्तब्य पनि हो । |
प | इन्द्रलीला , विश्वेश्वर जस्तो कविता नराखेको भए हुन्थ्यो यो सङ्ग्रहमा । यो कविता कुनै राजनीतिक दल विशेषको बिज्ञापन जस्तो भयो । यसमा न कुनै नवीनता छ , न त कुनै लालित्य छ । यसलाई पनि कविता मान्ने हो भने नेपाली राजनीतिज्ञहरूको बारेमा जसले जे लेखे पनि कविता भन्नु पर्ने दिन आउँछ । |
उठ्ने बेला भइसक्यो |
|
क | वि. सं. २०६२ मा लेखिएको यो कविता निरङ्कुश राजतन्त्र बिरुद्ध लक्षित छ र पाठकलाई निरङ्कुशता बिरुद्ध लड्न आह्वान गर्दछ। कवितामा व्यक्त राजनैतिक विचारसित असहमत हुनु पर्ने कारण छैन। तर कविता हुन त्यतिकै पर्याप्त हुन्छ र ? कवितामा यसरी राजनीतिक शिक्षा पनि दिइएको छ: ‘उठ सुत्नेहरू उठ , उठ्ने बेला भइसक्यो ; जुट फ़ुट्नेहरू जुट , जुट्ने बेला भइसक्यो ‘। जनतालाई शिक्षा दिन खोजेको यो आलेख त्यसबेला कविता थियो होला तर अहिले यसमा कविता जस्तो केही छैन । यो कविताले आफ्नो शक्ति गुमाइसक्यो। |
ट | देशको मुहार फेर्न आह्वान गरेको सुन्दर राजनीतिक कविता। कविले विद्रोहको आह्वान नगरे कसले गर्ने ? |
प | निरङ्कुशता बिरुद्ध जनतालाई सचेत पार्ने समसामयिक कविता । कविता राम्रो छ। |
हतियार |
|
क | कविताको सार अन्तिम कवितांशमा छ र यसले नै कवितालाई सुन्दर बनाएको छ । बीचका पदावलीहरू धेरै भए। कलात्मक तरिकाले भन्नुको साटो व्याख्या गर्न थालिन्छ। यसले गर्दा कविता धेरै सुन्दर हुन पाएको छैन। कवितामा उपदेश दिन पनि ढिलाइ गरिंदैन। । जस्तो कि ‘,जति प्यारो गरे पनि आगोले पोल्छ पोल्छ ‘, ‘हतियार पनि आफ्नो हातमा रहुन्जेल मात्र हो’। उपदेशात्मक पदावलीहरू कम गर्ने र व्याख्या कम गर्नेतिर ध्यान पुर्याउन सकेको भए यो कविता सुन्दर हुन्थ्यो। |
ट | शक्ति र हतियारको भरमा सत्तामा टिक्न खोजेका राजा ज्ञानेन्द्र र हतियारको दम्भ पालेको तात्कालीन माओवादी दुवैको स्वतन्त्र चित्रण यो कविताले गरेको छ । |
प | कविता सुन्दर छ। कवितामा तात्कालीन नेपालमा हतियार र निरङ्कुश शक्तिको भरमा आफूलाई सर्बशक्तिमान ठानेका माओवादी र राजतन्त्र दुवैको स्थिति व्यक्त छ । |
हामी बुझ्ने छौँ |
|
क | ‘चेतनाको हतियारमा जब पाइन चढ्दै जान्छ ‘ को पाइन भन्ने उपमा सुन्दर छ। राष्ट्रियताको कुरा नगरी राजनीति र चेतनाको कुरा गर्न सकिन्न र ? कविताको पहिलो गद्यांश सुन्दर छ। तर अचानक ‘छातीमा राष्ट्रियता रित्तिएपछि एउटा देश नक्साबाट हराउन पनि सक्छ ‘ जस्ता राष्ट्रबादी उक्ती पछि चाहिं यो कविले बोलेका हुन् कि नेपाली नेताले बोलेको हो बुझ्न कठिन हुन्छ। केही शब्दहरूको विभिन्न कारणले गर्दा अर्थ क्षयिकरण हुन्छ। राष्ट्रियता त्यस्तै शब्द हो । यस्ता विषयमा सचेत भएको भए हुन्थ्यो। तसर्थ यो कविता सुन्दर हुने क्षमता राख्दा राख्दै पनि सुन्दर हुन् सकेको छैन। हामी र हाम्रो कुरा गर्न थाल्दा कविता नेताको भाषण हुन पुगेको छ र कविताको आधिकारिकता घटेको छ। |
ट | कविताले राष्ट्रियताको कुरा उठाएकोले कविको देशभक्ति प्रकट भएको छ। |
प | राष्ट्र र राष्ट्रियता जोगाउनका लागि आह्वान गर्ने यो कविता सुन्दर छ। |
अहिले-यतिबेला |
|
क | वि. सं. २०६३ मा लेखिएको यो कविताले गणतन्त्र घोषणा भएको नेपालको तात्कालीन तनावपूर्ण सामाजिक राजनीतिक स्थिति व्यक्त गर्दछ र कविले आफ्नो चिन्ता व्यक्त गरेका छन्। कविताले तात्कालीन नेपालको राजनितीलाई व्यक्त गरेकोले ‘आगो’ शब्दको प्रयोग प्रसस्त भएको छ। कविता मलाई औसत लाग्यो। |
ट | अतिवाद , अराजकतावाद बिरुद्ध सचेत हुनुपर्छ भन्ने संदेश दिएको सुन्दर कविता। |
प | तात्कालीन नेपाली मनस्थितिको सत्यपूर्ण अभिव्यक्ति, अराजकतावाद बिरुद्ध सचेत हुनुपर्छ भन्ने संदेश दिएको सुन्दर कविता। |
तिमीलाई मेरो सलाम |
|
क | नेपालमा गणतन्त्र आएपछि लेखिएको यो कवितामा क्रान्ति, बिद्रोहको समर्थन गरिएको छ। डढेलो, आँधी, बाढिपहिरो, सुनामी, भुकम्प, प्रलय, उथलपुथल जस्ता शब्दहरूको अत्यधिक प्रयोग भएको यो कविताको विषयसित असहमति हुने ठाउँ छैन । राजनितिक रूपमा कविता ठीक छ। तर यो कविता तात्कालिन समय प्रतिको एउटा प्रतिक्रिया हुन पुगेको छ। कवितामा राजनीति कति राख्ने र कला कति राख्ने प्रति सचेतता पाइन्न । कविता न्यून शब्दहरूमा लेख्दा सुन्दर हुन जान्छ र प्रस्तुत कवितामा योतिर ध्यान पुर्याइएको छैन । कविले राजनीतिज्ञ झैँ बोल्न थाले भने कसरी छुट्याउने को कवि हो , नेता को हो ? |
ट | प्रगतिशील कविता। नेपाली जनतालाई राजतन्त्रको निरङ्कुशता अन्त्य गरेर गणतान्त्रिक दिशामा प्रवेश गर्न उत्साहित गर्ने कविता । युगको भावना बोकेको कविता। |
प | कविले युगको भाषा बोल्नु पर्छ। कविले त्यहि गरेका छन्। |
सङ्केत |
|
क | वि. सं. २०६४ मा लेखिएको यो कविताले तात्कालीन गणतान्त्रिक नेपालमा चुलिएको आशा, सपनाले गर्दा परिव्याप्त राजनीतिक अराजकता, अनुशासनहिनता, सामाजिक विद्वेषलाई अभिव्यक्त गरिएको छ। कुनै पनि समाजको तात्कालीन स्थिति र मनोदशा बुझ्न कथा पढ्ने कि कविता ? वा कुनै राजनीतिक आलेख पढ्ने ? यो कवितामा अभिव्यक्त विचारप्रति सहमत हुने नहुने भन्ने कुरा पाठकको राजनीतिक आस्थामा भर पर्छ। कसैलाई यो मन पर्ला कसैलाई मन नपर्ला ? कविले यस्ता कविताहरू नलेखेको भए हुन्थ्यो । |
ट | तात्कालीन नेपाली समाजप्रति सन्तुलित दृष्टिकोण। |
प | तात्कालीन नेपालको राजनैतिक स्थितिमा एक सामान्य नेपालीको भावना व्यक्त गरिएको छ। कविता मन पर्यो । |
कसले सम्झाउन सक्छ र |
|
क | राजनैतिक कविता हो यो। वि. सं. २०६० मा तात्कालीन निरङ्कुश राजा ज्ञानेन्द्र प्रति लक्षित यो कविता आज पढ्दा , राजनैतिक दलहरूलाई जनताहरूले निरङ्कुश भनिरहेको सन्दर्भमा , यो कविताले ग्रहण गरेको विचार आज पनि सान्दर्भिक छ । तर कंश, कशिपु, रावण, हिटलर, पोलपोत जस्ता परम्परागत उपमाहरू प्रयोग गर्दा कविताको कला पक्ष भने कमजोर भएको छ। कवितामा नवीनता चाहिं के छ भनेर खोज्दा केही पाइन्न ? सबैथोक बदलिरहने संसारमा निरङ्कुशता अमर वस्तु होइन भन्ने सबैलाई जाहेर भएकै कुरा हो। |
ट | निरङ्कुशता विरोधी अमर कविता । |
प | निरङ्कुशता बिरुद्धको यो सशक्त कवितामा विचार हावी भयो । कलात्मकताको अभाव छ यसमा। |
उही छन् – उस्तै छन् |
|
क | सामान्य राजनीतिक कविता हो यो। कसरी निरङ्कुश राजतन्त्र बिरुद्ध संघर्ष गरेका नेपाली राजनीतिक दलहरू आज स्वयम् निरङ्कुश र असान्दर्भिक भएका छन् भन्ने अभिप्राय व्यक्त भएको यो कविता आजका सबै नेपालीको विचार हो र कवितामा व्यक्त विचार पक्षसित असहमत हुनु पर्ने कुनै कारण छैन। त्यो अर्थमा यो कविता सरल र सम्प्रेषणीय छ। तर कला र मौलिकता भने यो कवितामा अभाव छ। |
ट | नेपालको वर्तमान राजनीतिक सामाजिक स्थितिको यथार्तावादी चित्रण। राजनितिक नेताहरू र दलहरूलाई निरङ्कुश भन्न सक्नु इमानदारी हो । |
प | यसमा वर्तमान राजनीतिक नेताहरू र दलहरूको प्रवृति चित्रण गरिएको छ। कविता यथार्तवादी र राम्रो छ। |
महानिर्वाचनमा |
|
क | यो कविता निर्वाचन आयोगको मतदाता शिक्षा जस्तो भयो। कुनै एक दल विशेषका लागि मत मागे जस्तो भयो। यसरी दिइएको छ मतदाता शिक्षा: ‘ यो महानिर्वाचनको महाभारतमा छुट्याउनु , छान्नु र चिन्नु बडो अप्ठेरो छ ,…… लाग्न सक्छन् साँप र नाग उस्तै उस्तै , ‘। वि. सं. २०५१ को तात्कालीन परिवेशमा यो सुन्दर थियो होला तर आज यो सुन्दर छैन । जसरी भानुभक्तको रामायणले आज मलाई मानसिक आनन्द दिंदैन यो कविताले पनि दिन सकेन। यो कविता सङ्ग्रहमा नराखेकै भए हुन्थ्यो। यो कवितामा त्यस्तो केही छैन जसले गर्दा यसलाई कविता भन्नु परोस । |
ट | कविले लोकतन्त्रको रक्षाका लागि, देश बिकासका लागि योग्य उम्मेदवार छनौट गर्नु पर्ने संदेश दिएका छन्। देशको आवश्यकता यहि हो। यहि लोकतन्त्र हो। कविको लोकतान्त्रिक पद्धतिप्रतिको निष्ठा प्रकट भएको छ। |
प | निर्वाचन आयोगका लागि लेखे जस्तो भयो यो कविता। कविताको विचार पक्षमा असहमति छैन तर यसलाई कविता भन्न सकिन्न। यस्तो कविता लेखेर नेपाली कविता कसरी उभो लाग्छ। नयाँ के छ यो कवितामा ? |
|
बाँच्ने कुरा |
क | राजनीति विषयक कविताहरू धेरै भएनन् र एउटा सङ्ग्रहमा ? वि. सं. २०६३ मा लेखिएको यो कविता तात्कालीन परिस्थितिमा आवश्यक भएपनि आज यसले छोएन। कविताको विचार पक्षमा विवाद भएन तर जिन्दगीमा राजनीतिभन्दा महत्त्वपूर्ण अन्य विषयहरू पनि छन्। |
ट | लोकतन्त्र र गणतन्त्रप्रति समर्पित सुन्दर कविता। |
प | राजनितिक कविताहरू धेरै भयो। यस्तो कविताहरू लेख्ने धेरै कविहरू छन् नेपालमा। यसमा नयाँ चाहिं के छ ? |
आफ्नै हुन्छ |
|
क | यो कविता हालसालै लेखिएको प्रतित हुन्छ। बिद्रोह, असन्तुष्टिको कुरा गर्दा राष्ट्रियता र माटोको कुरा गर्ने पर्छ र ? राजनीतिज्ञहरूकै भाषा प्रयोग गर्दा बिद्रोह र असन्तोषको कुरा राजनीतिज्ञहरूले सुन्लान र वा असन्तुष्टहरूले बुझ्लान र ? असन्तुष्टहरूको , बिद्रोहीहरूको आफ्नै भाषा हुनु पर्छ भन्ने मान्ने हो भने खोइ त्यो भाषा ? |
ट | राष्ट्रबिरोधी , जनविरोधीहरूलाई सशक्त चेतावनी छ यो कवितामा। आजको असन्तुष्ट जनताको जनभावना अभिव्यक्त भएको छ यो कवितामा। |
प | अन्तिम दुई गद्यांशहरू राम्रै छन्। अघिल्ला दुई गद्यांशहरू चाहिं नारा जस्तो भयो। |
मन र संवेदना |
|
क | वि. सं. २०६४ तिरको गणतान्त्रिक नेपालमा संघियता, पहिचान , संबिधान, राष्ट्रियता जस्ता विषयहरूमा प्रतिक्रियात्मक अभिव्यक्ति हो यो कविता। कविता राम्रो छ तर राष्ट्र , राष्ट्रियता जस्ता शब्दहरूले गर्दा राजनीतिक गन्ध धेरै आउँछ। केही अंशहरू उपदेश जस्तो पनि भयो जस्तो कि : ‘शरीरको उमेरभित्र किन मनको उमेर जोडछन् मानिसहरू, संवेदनाको सीमालाई किन राष्ट्रभित्रै खुम्च्याउँछन् मानिसहरू ‘। |
ट | सुन्दर कविता। |
प | सुन्दर कविता। |
|
अहिलेसम्म |
क | पदावलीहरूमा आवृति, समानान्तरता छ यो कवितामा। वर्तमान नेपालको सामाजिक , आर्थिक, राजनीतिक स्थिति व्यक्त गरिएको यो कविता राजनीतिक हुँदाहुँदै पनि पठनीय छ। ‘बन्द छ ‘ र ‘खुल्ला छ’ जस्ता विपरीतार्थक र ब्यतिरेकले गर्दा यो कविता राम्रो भएको छ। |
ट | गैरजिम्मेवार राजनीतिले निम्त्याएको सामाजिक यथार्थलाई यो कवितामा व्यक्त गरिएको छ। कविता राम्रो छ। |
प | सुन्दर कविता। |
दुख्न बाँकी रित्तिएजस्तो ! |
|
क | कविताले मन छुन्छ। तर यो पदावली पहिले पढिसके जस्तो छ -‘दुख्यो यति दुख्यो दुख्ता दुख्ता अहिले दुःख दुख्ने छाड्यो , पीडा यति पीडित भो पीडा चिच्याउने छाड्यो। ‘ कवितामा समान्तारता , गेयात्मकता छ। यो राजनीतिक कविता भए पनि उत्तेजनात्मक शब्दहरू प्रयोग नगरेकोले पठनीय छ। |
ट | कवितामा राष्ट्रिय दुःख व्यक्त भएको छ। मन पर्यो। |
प | सुन्दर कविता। निम्न पंक्तिहरू सुन्दर छन् : ‘अब दुख्न बाँकी ठाउँहरू छैनन् , दुख्न बाँकी समयहरू छैनन् , दुख्न बाँकी दुखाइहरू छैनन् ‘ |
|
एकदिन |
क | ‘हाहाकार, चित्कार, बलात्कार ‘ जस्ता शब्दहरू प्रयोग गरेर ध्वनिहरूको आवृति गराएर गेयात्मकता भर्न खोजे पनि यो कवितामा नयाँ भने केही पाइन। कंश र कृष्ण, कशिपु र प्रल्हाद, राम र रावणहरूका कथाहरू धेरै पटक धेरै ठाउँहरूमा यस अघि सुनिसकेकै कथाहरू हुन्। मिथकहरूको प्रयोगले चमत्कार सिर्जना गर्न सकेका छैनन्। यो सामान्य राजनीतिक कविता भयो। |
ट | राम्रो कविता। देशको आजको स्थिति दर्शाएर आशाको ज्योति छरिएको छ किनकी कंशलाई बध गर्न कृष्ण आउने भनिएको छ । |
प | सुन्दर कविता। वर्तमानमा कंश बनेका राजनीतिक खलपात्रहरूको अन्त्य हुन्छ भन्ने संदेश दिएर आशा देखाएका छन्। एक दिन सक्षम राजनीतिज्ञ जन्मन्छ भन्नेमा कवि आशावादी छन्। |
|
यस्तो कोरोना आइदिए हुन्थ्यो |
क | कोरोना कालमा लेखिएको यो कवितामा कोरोनालाई विरोधासपूर्ण प्रतीकको रूपमा प्रयोग गरिएको छ। एकातिर भनिएको कि सबै जना कोरोनाले ग्रस्त छन् र यहाँ कोरोनालाई ‘मानविय-मूल्य विरोधी संक्रमणकारी रोग’ को प्रतीकको रूपमा उपयोग गरिएको छ। यहाँ सम्म ठिकै छ। यसरी मानवसभ्यता कोरोनाको संकटले आक्रान्त छ भने त्यस बिरुद्ध लड्नु पर्ने होइन र ? तर कविताको अन्तिम कवितांशमा भनिएको छ कि ‘ अब यस्तो कोरोना आइदिए हुन्थ्यो तिनीहरूको हात होइन मन धोइरहने , विचार पुछिरहने , मास्क होइन , प्रत्येक राष्ट्रघातीहरूको मुखुण्डो उतारेर साँचो अनुहार देखाउन सक्ने ‘ । कोरोनालाई अघिल्ला वाक्यपुञ्जहरूमा एउटा प्रतीकको रूपमा प्रयोग गरिसकेपछि त्यसैलाई पछि उपचारको प्रतीकको रूपमा प्रयोग गर्दा कविताको अन्त्यमा पाठक अलमलिन्छ। |
ट | यो कवितामा वर्तमान सभ्यताप्रति व्यंग छ। कविता राम्रो छ। |
प | सुन्दर प्रतीकात्मक कविता हो । मानविय मूल्य स्खलनप्रतिको एक व्यंग हो। |
खै के लेखूँ – के नलेखूँ |
|
क | कविताका पहिला पाँच गद्यांशहरूमा प्रेम, करुणा र शान्तीको भाव छ त्यो अचानक छैठौँ गद्यांशमा नष्ट हुन्छ। त्यहाँ बीर रस र रौद्र रस निस्पत्ति हुन्छ। रस आस्वादनका लागि कविताभरि एउटै भाव र रस कायम गर्न सकेको भए यो झनै सुन्दर हुन्थ्यो। छैठौँ गद्यांश पढेपछि पहिला पाँच गद्यांशहरूका रस नष्ट हुन्छन्। अन्तिम दुई गद्यांश नराखेकै भए कविता सुन्दर हुन्थ्यो । |
ट | सुन्दर प्रेम कविता । |
प | सुन्दर कविता । तर अन्तिमको गद्यांश नलेखेको भए झन सुन्दर हुन्थ्यो। सबैभन्दा सुन्दर प्रथम गद्यांश छ। |
सम्झनामा |
|
क | सुन्दर कविता। सम्झनालाई व्यक्त गर्दा मैनबत्ती, छारे रोग , मूर्च्छा , श्राप जस्ता बिम्बहरूको प्रयोगले यो कविता सुन्दर भएको छ। उपदेश नदिएकोले, शिक्षा प्रदान गर्ने चेष्टा नगरेकोले पनि यो कविता सुन्दर भएको छ। |
ट | राम्रो कविता। |
प | यो कविता मन पर्यो। बिना कुनै आग्रहले लेखिएकोले पनि यो कविता सुन्दर भएको छ। |
|
कहाँ होला |
क | सरल कविता । गह्रुङ्गा शब्द, अलंकार र बिम्बहरू प्रयोग नगरिकन लेखिएको यो कवितामा बिचार कम छ , भावना धेरै छ। प्रत्येक व्यक्तिले झमेला, अव्यवस्था , अस्तव्यस्तता , विसंगतिहरूलाई आफ्ना जीवनमा मौलिक किसिमले भोगेका हुन्छन् र प्रत्येक व्यक्ति आफ्नो सपनाको गाउँमा समय ब्यतित गर्न चाहन्छन्। सबैले आफ्नो सपनाको गाउँ खोजी गर्ने भएकाले यो कविताले सबैको मनलाई छुन्छ। |
ट | अशान्तिमा बाँच्न बाध्य एक सामान्य मानिसको आकान्क्षा व्यक्त भएको छ यो कवितामा। |
प | सरल कविता । द्वन्द र अशान्ति व्याप्त यो संसारमा सबै त्यस्तो ठाउँमा पुग्न चाहन्छन् जहा प्रम होस् र शान्ति होस्। पाठकले सजिलैसित कविता सित आत्मियता अनुभूति गर्छ। |
बेकार छ |
|
क | कविता राम्रो छ। ‘फोक्सो मात्र भएर के गर्नु ‘ भन्ने कवितांशले जीववैज्ञानिक व्याख्या जस्तो लाग्यो। कविताको अन्तिम पदावलीमा कविले उपदेश दिन खोजेका छन् । यो कवितामा समानान्तरता रहेकोले गेयात्मक बनेको छ। तर कवितामा नवीनता र मौलिकता चाहिं छैन। |
ट | सुन्दर कविता |
प | कोमल अभिव्यक्ति। तर अन्तिमको अंशले अलिकति मिठास हरायो। |
बगिरहने नदी हो जीवन |
|
क | यो कवितामा व्याख्या धेरै भयो, भावना कम भयो । कविताको अन्तिम वाक्यावलीहरू जति सुन्दर छन् अघिल्ला वाक्यवलीहरू त्यति सुन्दर र प्रभावशाली छैनन्। अन्त्यको भावलाई कविताको आरम्भदेखि कायम राखेको भए कविता सुन्दर हुन्थ्यो। |
ट | मृत्युको सत्यलाई प्रकट गरिएको छ। |
प | कवि यो कवितामा दार्शनिक भएका छन्। |
सोचे जस्तो |
|
क | कविताको विषय नयाँ होइन । व्यक्तिगत अनुभवसहितको सबैले बुझ्नसक्ने मानवको नियति दर्शाइएको दार्शनिक कविता। अन्त्यानुप्राश र समानान्तरताले कविता सुन्दर भएको छ। |
ट | मानव जातिको नियति दर्शाइएको यो कविता मन पर्यो। |
प | विषय नयाँ भएन तर पुरानै विषयमा पनि कविता राम्रो छ। सामान्य शब्दहरू प्रयोग गरेर सबैको मनको कुरा गरेका छन् कविले। |
याद |
|
क | विषय नयाँ होइन । तर सरल शब्दहरूमा कहिएको यो कविता सम्प्रेष्य छ। |
ट | प्रत्येक मानवको मनको कविता। |
प | सरल भाषामा लेखिएको सुन्दर कविता। |
|
आत्मविश्वास |
क | यो कविताको विषय नयाँ होइन। यो भनाइ पनि नयाँ होइन – ‘साँच्चै भन्नु पर्छ मैले अभाव, दुःख र संघर्षले मेरो जीवन बनाएका हुन् । यो कथन त पृथ्वीका छ अरब मध्ये प्रत्येक मानिसले भनेकै कुरा हो। यो भनाइ त फेसबुकमा जति पनि पढ्न पाइन्छ । पुरानै कुरा पनि नयाँ ढंगले भनिएको छैन। |
ट | यो कविताले प्रत्येकलाई भित्रबाट बलियो बनाउन सघाउँछ। |
प | यो कविता पढे पछि सकारात्मक उर्जा संचार हुन्छ। |
प्रेममा |
|
क | सपना होइन यथार्थलाई मन पराउनु पर्छ भन्ने सन्देशको यो प्रतीकवादी कविता यो सङ्ग्रहको सबैभन्दा सुन्दर कविता हो । धेरै व्यक्तिहरूलाई प्रतिनिधित्व नगरी आफ्नो मनको मात्र कुरा राख्दा यो कविता सुन्दर हुन पुगेको छ। |
ट | यथार्थलाई स्विकार्न सक्नु पनि महानता हो। |
प | आख्यानात्मक रूपमा नकहेको यो कविता आख्यानात्मक कविताभन्दा सुन्दर छ। |
अहिले जहाँ म पुगेको छु |
|
क | व्यक्तिगत अनुभूतिजन्य सुन्दर कविता हुन सक्थ्यो यो। तर कवितामा चुनौती र उपदेश दिँदै यस्तो लेखिएको छ -‘ किनभने , अहिले म जहाँ पुगेको छु त्यहाँसम्म पुग्न त तिम्रो आफ्नै आकाश खुल्नु पर्छ , तिम्रो आफ्नै मन खुल्नुपर्छ ‘। कवि जहाँ पुगेका छन् त्यहाँ अरुहरू पनि पुग्नु पर्छ र ? कवि मौका पाउना साथ उपदेश दिन्छन् । पाठकलाई अर्ति, उपदेश चाहिएको भए यो सङ्ग्रह किनेर पढ्थ्यो र ? ऊ त हजार रुपैया खर्च गरेर बरु कुनै बाबाको आश्रममा जान्थ्यो । |
ट | सुन्दर कविता। |
प | कविले अराजनीतिक कविताहरू पनि सशक्त ढंगले लेख्न सक्छन् भन्ने उदाहरण हो यो कविता। |
सुन्दर सधैं दुखिरहन्छ |
|
क | राजनीति बाहेक अन्य विषयमा लेखिएका कविताहरू बरु राम्रा छन्। एकजनाको मनको कुरा गर्दा कविता सुन्दर भएको छ। तर यो कविताका केही पंक्तिहरू पढ्दा भने असहज हुन्छ । जस्तो कि ‘तर के गर्नु ? एउटा सुन्दर फूल जस्ती तिमी एउटैले सुँघेर सक्तैन , एउटा लटरम्म फलेको फल जस्ती तिमी एउटैले खाएर सक्तैन। ‘ निरङ्कुशता प्रति असहमत कवि भने यहाँ स्त्रीप्रति निरङ्कुश भएका छन्। |
ट | राजनीति बाहेकका कविताहरू पनि सुन्दर छन् । यो कविता सुन्दर छ। |
प | कविताका केही वाक्यवलीहरू स्त्रीप्रति असहिष्णु रहे पनि कविता सुन्दर छ। |
युद्ध र प्रेम |
|
क | कविता सुन्दर छ तर केही शिक्षा पनि दिन खोजेकोले आनन्द आएन । यो शिक्षा -‘युद्ध अहङ्कार हो ‘ – नदिएको भए कविता झन् मन पर्थ्यो । आमा बुवा, आफन्त, शिक्षक, हाकिम, नेताहरूबाट शिक्षा लिँदालिँदा सामान्य मानिस दिक्क भएको छ । यस्तो बेलामा कविताले पनि शिक्षा दिन थाल्ने हो भने म जस्तो सामान्य मान्छे कसको शरणमा जाने ? |
ट | कविले सत्यवाचन कहेका छन् । कविता मन पर्यो । |
प | समसामयिक कविता । |
स्वतन्त्रता |
|
क | यो कवितामा व्यक्त विचारमा मेरो बिमति छैन तर यो कवितामा नयाँपन छैन। स्वतन्त्रतासित सम्झौता गरिन्न भन्ने आशयको कविता धेरै पढिएको छ। यस्तो कविता त अचेल फेसबुकतिर पनि पढ्न पाइन्छ। इन्टरनेट र फेसबुकमा पढ्न पाइने टुक्राटुक्री विचारहरूले गर्दा ती पाठकहरूका निम्ति आफ्ना कविताहरूमा मौलिकता कायम राख्नु चुनौतीपूर्ण भइसकेको छ। यो कविता आजभन्दा तीस वर्षअघि पढ्न पाइएको भए सुन्दर नै लाग्थ्यो तर संचारजगतमा भएको प्रगति र तानाशाहहरू बारे पढेका समाचारहरूले गर्दा यो कवितामा व्यक्त विचारमा नयाँपन केही छैन। कुनै नविन शैलीमा भनिएको पनि छैन । |
ट | यो कविताले तानाशाहहरूलाई हल्लाउँछ। |
प | सुन्दर कविता। स्वतन्त्रताको पक्षमा उभिनु पर्छ भन्ने संदेश दिएको कालजयी कविता। |
|
नसोधी गर्नु |
क | उपदेशात्मक भए पनि कविता पढ्दा मन छुन्छ। ‘ बाँचुन्जेल सदभाव सबैमा यस्तो राख्नु मन नलागे प्रेम गर्दै नगर्नू’ जस्ता उपदेश नदिएको भए यो कविता अझै मनमोहक हुन्थ्यो। |
ट | कविको समतापूलक समाजप्रतिको प्रतिबद्धता प्रकट भएको छ। |
प | कवि समतामूलक समाज निर्माण प्रति सचेत छन्। |
ढोका |
|
क | बुद्धले दिएको उपदेश पालना नगर्ने नेपालीहरू प्रति कवितामा के दृढ विश्वास व्यक्त गरिएको छ भने कवितामा दिइएको प्रवचन नेपालीहरूले पालना गर्छन् । यसरी प्रवचन दिइएको छ – ‘ एउटा ढोका खोल्यौ निरन्तर तिमी सिर्जनमा रहिरहन सक्छौ , अर्को ढोका खोल्यौ निरन्तर तिमी विध्वंशमा जमिरहन सक्छौ ‘। प्रवचन दिने जिद्दीले गर्दा यो सङ्ग्रहका धेरै कविताहरू औसत भएका छन् । |
ट | कविता समाजका लागि लेखिनु पर्छ र यो कविताले आफ्नो जिम्मेवारी पुरा गरेको छ। |
प | कविता राम्रो छ किनकी यसले मानिसलाई सिर्जनशील हुन आह्वान गरेको छ। |
|
माया |
क | सरल भाषामा लेखिएको प्रेम विषयक यो कविताको विषय नयाँ नभए पनि पढ्दा आनन्द आउँछ । समानान्तरता, अन्त्यानुप्राशहरूले यो कवितालाई गेयात्मक बनाएको छ। राजनीति ईतर विषयक कविताहरू राम्रा हुन पुगेका छन्। |
ट | सबै मानिसहरूको भावना व्यक्त भएको सुन्दर प्रेम कविता। |
प | सरल भाषामा लेखिएको यो कविता राम्रो छ। तर यसमा नयाँ के छ भनेर खोज्ने हो भने नयाँपन पाइन्न। माया र सम्झनामा प्रसस्त कविताहरू पढिसकेका छौँ। |
सोचाइको आयतन |
|
क | कविता मन पर्यो। ‘ आकाशको नाङ्लोमा निफनेपछी कसरहरू’ जस्तो ताजापन अनुभव गराउने वाक्यांशबाट आरम्भ भएको यो कविताको अन्त्य भने उपदेश दिँदै गरिएको छ- ‘ धर्ती-धर्तीमा मात्र खुल्दैन अस्तित्वमा खुल्छ , सायद त्यही दिन मानिसले आफ्नो उद्येश्यको आकाश छुन सक्छ ‘। उपदेश नदिएको भए यो कविता अझै सुन्दर हुन्थ्यो। |
ट | सबैले अनुभूति गर्न सक्ने सुन्दर कविता। |
प | सरल बिम्बहरू प्रयोग गरिएको यो कविता सुन्दर छ। |
कठै मेरो मन |
|
क | यो कवितामा पनि सल्लाह दिइएको छ । कविताले यसरी सल्लाह दिन्छ – ‘ व्यक्तित्व बलियो बनाउन मन बलियो पार्नुपर्छ टुहुरो मनले जीवनभर सताउँछ ‘। कवितामा समानान्तरता छ, गेयात्मकता छ तर अर्तीले बेस्वादिलो बनायो। |
ट | मानव मनको सुन्दर चित्रण। |
प | मानव मनको चित्रण गरिएको सुन्दर कविता। |
सम्झना पर्खनु बेकार छ |
|
क | विषय नयाँ होइन। व्याख्या धेरै भयो। |
ट | सुन्दर अनुभूति |
प | आरम्भ सुन्दर तर मध्ये कमजोर। |
हामी बिर्सिन्छौँ |
|
क | हामी आज जे गर्छौं भविष्यमा त्यसकै परिणाम भोग्छौँ भन्ने आशयको यो कवितामा नयाँपन छैन। कविताको अन्त्यमा यसरी उपदेश भने दिइएको छ – ‘ बनाउनु अगाडि करोडौँको भविष्य आऊ हाम्रा सन्ततिहरूमा एकमुठ्ठी मानवता आजै रोपौँ ‘। उपदेशले संदेश ग्रहणमा बिघ्नता ल्याउँछ र पाठक भडकिन्छ भन्ने कुरा बिर्सिएको छ । |
ट | भविष्य आज हाम्रो हातमा छ भन्ने आशयको सुन्दर कविता। |
प | हाम्रो वर्तमान बिगतको कार्यको परिणाम हो भन्ने विचार सुन्दर छ। |
आश्लेष |
|
क | इन्द्रेणी बिम्बको प्रयोग राम्रो लाग्यो । तर कविता घटनाको वर्णन जस्तो भयो । |
ट | प्रेम कविता राम्रो लाग्यो । |
प | कविले आफ्नो बारेमा कुरा गर्दा कविता सुन्दर भएको छ। |
प्रेम भनेको |
|
क | यो कविताको विषय प्रेम हो। नयाँ विषय होइन। तर वि. सं. २०८१ बैसाखमा लेखेको यो कविताको आरम्भले पाठकलाई तान्छ। कवितामा भावलाई उत्कर्षतातिर लाग्न ध्यान दिइएको छैन। व्याख्या गर्न समय खेर फ्यालिएको छ जसले गर्दा कविता सुन्दर हुनबाट बन्चित भएको छ। यो औसत कविता हो। |
ट | सुन्दर प्रेम कविता। |
प | सुन्दर कविता |
चुपचाप चुपचाप |
|
क | आफ्नो निजी भावना व्यक्त गर्दा सङ्ग्रहका कविता सुन्दर भएका छन्। यो कविता मन पर्यो। सामुहिक रूपमा सबैको भावना व्यक्त गरिएका कविताहरू सुन्दर छैनन्। |
ट | सुन्दर कविता |
प | बिम्बहरू प्रयोग नगरेर पनि कविता सुन्दर हुन सक्छन भन्ने राम्रो उदाहरण हो यो कविता। |
मलाई मन पर्छ |
|
क | राम्रो कविता । तर उपदेश दिन छोडिएको छैन । कविलाई के मन पर्छ र पर्दैन त्यो पाठकको सरोकारको विषय होइन। एक ठाउँमा नैतिक शिक्षा यसरी प्रदान गरिएको छ : ‘ अवसरपरस्त झोले विद्वानहरूभन्दा मलाई निरक्षर मानिस मनपर्छ ‘। आफू श्रेष्ठ देखिने गरि दिएको अभिव्यक्ति पाठकलाई मन पर्दैन । |
ट | सुन्दर कविता |
प | राम्रो कविता |
….
सन्दर्भ सामाग्री
इन्द्रविलास अधिकारी, (वि. सं. २०६१ , प्रथम संस्करण) : पश्चिमी साहित्यसिद्धान्त
कृष्ण गौतम , (वि. सं. २०५०, प्रथम संस्करण): आधुनिक आलोचना: अनेक रूप अनेक पठन
बाबुराम आचार्य (वि. सं. २०७७ एघारौँ ): पुराना कवि र कविता
मोहन कोइराला (वि. सं. २०३५ प्रथम संस्करण) : कविताबारे केही चर्चा
कृष्णप्रकाश श्रेष्ठ (वि. सं. २०६४ दोस्रो संस्करण ): नेपाली समालोचक र समालोचना
नेपाल प्रज्ञा प्रतिष्ठान ( वि. सं. २०४९) : काव्य-विचारगोष्ठी
प्रा. गोविन्द प्रसाद भट्टराई ( वि. सं. २०७७, दोस्रो संस्करण ) : पूर्वीय काव्य सिद्धान्त
मोहनहिमांशु थापा (वि. सं. २०८०, सातौँ संस्करण) : साहित्य परिचय
नेपाल प्रज्ञा-प्रतिष्ठान : प्रज्ञा समकालीन प्रतिनिधि नेपाली कविता (वि. सं. २०७०, सम्पादक: पुरुषोतम सुवेदी, डा. लक्ष्मण प्रसाद गौतम, डा. विष्णुविभु घिमिरे)
नेपाल प्रज्ञा-प्रतिष्ठान : समकालीन नेपाली कविताको शिल्प (वि. सं. २०७९,सम्पादक: प्रा डा. हेमनाथ पौडेल, डा. अमर गिरी)
नेपाल प्रज्ञा-प्रतिष्ठान : प्रज्ञा समकालीन नेपाली कविताविमर्श (वि. सं. २०७२ , सम्पादक: डा. अमर गिरी,: सह प्रा हेमनाथ पौडेल, डा. लक्ष्मणप्रसाद गौतम)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

नेपाली नारी कविहरू कम्युनिष्ट फ्रिडाभन्दा धेरै कम्युनिष्ट किन भएका हुन् ?

‘आमाको सपना’ कविताको स्त्रीवादी पठन : नेपाली आमा-छोराको जिम्मेवारी नलिने लीला कहिलेसम्म चल्ने हो ?
