सुखमा मात्र सँगै दु:खमा सबै फरार हुन्छन्
एक्लै जिए पनि मर्दा मलामी हजार हुन्छन्

को सुन्छ यो बद्ध बोली कहाँ पो बिक्छ र
जवानी बेच्ने पो दुनियाँमा कैयौं बजार हुन्छन्

कृतघ्न यो संसारमा गुन कसले सम्झिन्छ र
आड दिने छातीमै यहाँ लाख प्रहार हुन्छन्

ऐन-कानून, कार्यान्वयन के चैं फितलो हो देशमा
हुन त सुधारका यहाँ अनगिन्ती करार हुन्छन्

जिन्दगीले कतिसम्म यहाँ मलाई झुक्याइरहेछ
जहाँ टेक्छु सम्म ठानी त्यहीं गहिरा दरार हुन्छन् ।

 

दावाँ, भोजपुर