वैरागी जेठ

पूर्व मेची देखिन आउँदापनि
सुदूर पश्चिमबाट पनि आइपुग्दा
मध्य केन्द्रविन्दु
मादीकै किनारसँग जोडिएको भोर्लेटार नै
मध्य नेपाल हो ।
दुईसय धुरी कुमालहरू
आजकल माटाका भाँडाहरू बनाउँदैनन्
चक्काहरू घुमाउँदैनन् ।
किनकी युग परिवर्तन भएको छ
त्यसैले घ्याम्पाहरू, हाँडीहरू र गाग्रीहरू पाइँदैनन्
यस्ता कुराहरू गरिरहँदा , दन्त्य कथा सुनाइरहेको हुन सक्छ
आजका युवायुवतीहरूलाई ।
प्रजापतिबाट कुमाल भएकाहरू
लाजमान्छन् , कठै मनहरू ।
भद्रीका बुबाले धेरैलाई
अनेकौँ तालिमहरू दिए
शहरमा लिन पठाए
आखिर युबाहरूले स्विकार गरेनन्
उनी चित्त दुःखाउँदै
जीवनका कथाहरू सुनाइरहे
यात्री मौन रह्यो ।
माटोको कला यसरी हराउँदै गएको छ
नयाँ पुस्ताले प्रश्न गर्दा
कथाका पात्रहरू झैँ लाग्न सक्छ ?
किन ? प्रहार हुँदैछ गोल्फू बनाउँने कलामा
कुनै जवाफ छैन ।
पुर्खाहरूले निर्माण गरेका इतिहास
मेटीँदै गएको देखेर
यात्री मौन हुन्छ ।
घैँटा ,हाँडी ,भिउँट ,आरी
घ्याम्पा ,घ्याम्पीहरूको सङ्ग्राहालयको खोजीमा छ
एउटा यात्री ।
बिस्तारै हराउँदैछन् गाउँबाट
उवा ,जुनेलो र फाफरहरू
बगरमा फुलेका काँसहरू
हरेक प्रश्नमा बोलेनन् ।
रिस्तीलेपनि कुनै बात मारिनन्
भद्री हाँसिरहिन् , आफ्नै तालमा
स्याम्घाका वनबाट उठेका श्यामहरू
आकाश भेट्न खोज्दै थिए ।