…..
शासकले
कोरा कागजमा चुच्चे नक्सा थपेर
सत्ताको लामो सपना देख्नुभन्दा हजारौँ वर्षअघि
उनीहरूले नलीहाड घोटेर
सभ्यताको पहिलो गोरेटो खनेका थिए यहाँ
आइपुगेको हुँ यहाँ म
त्यही गोरेटोमा टुकुटुकु हिँडेर
बाँचेको हुँ यहाँ म
उनीहरूले नै पहिलोपटक उमारेको गेडो चपाएर
उनीहरूले रूखको पूजा गरेकैले
एक मुठी सास फेर्न पाएको छु
उनीहरूले मुहानको पूजा गरेकैले
मृगतृष्णा मेटाउन पाएको छु
उनीहरूले आगोको पूजा गरेकैले
न्यानोमा निदाउन पाएको छु
– चरालाई
– जीवजन्तुलाई
– बतासलाई
– धरतीलाई
– आकाशलाई
उनीहरूले देवता मानेकैले
आज मुस्कुराउन पाएको छु
उनीहरू ऋतुसँग बोले
उनीहरू पतझडसँग बोले
उनीहरू जङ्गली फूलसँग बोले
उनीहरू अँध्यारो अनि उज्यालोसँग बोले
उनीहरू –
बोले आफूजस्तै मानिससँग
र, म छु आज मेरो आफ्नै वर्णमाला र भाषासँग
उनीहरूको घडी हो,
विज्ञानले फगत निर्जीव मानिरहेको तीन तारा
उनीहरूको विश्वास र आस्था हो,
विज्ञानले फगत ग्रह–उपग्रह मानिरहेको घाम र जून सारा
उनीहरूको निशानी हो,
डोजरले फगत ढुङ्गो मानिरहेको चिहान, चौतारा
त्यहाँ उनीहरूको पसिना छ,
आज तिमीले दाबी गरिरहेको जुन घर छ
त्यहाँ उनीहरू साधना र कला छ,
आज तिमीले दाबी गरिरहेको जुन सहर छ
त्यहाँ उनीहरूको सोझोपन छ
आज तिमीले बोकिरहेको जुन अभिमान छ
त्यहाँ उनीहरूको रगत छ
आज तिमी बसिरहेको जुन सिंहसान छ
तिमीले घोकाइरहने राष्ट्रवाद
तिमीले उद्घाटन गरिरहने मूर्ति
र, कुकुरको पिसाबले समेत नाघ्न सक्ने पिल्लरभन्दा
हजारौं वर्षअघि उनीहरूले चेतना रोपेको भूगोल हो यो
मुतको न्यानोजस्तो तिम्रा पर्चा र घोषणापत्रभन्दा
हजारौँ वर्षअघि उनीहरूले सपना देखेको भूगोल हो यो
तिम्रो दुष्ट पाइतालाले टेक्नुभन्दा
हजारौँ वर्षअघि उनीहरूले करोडौं माइल हिँडेको भूगोल हो यो
र, उनीहरूकै काँधमा टेकेर
मेरै मृत्युको कबुलियतनामा गराइरहेछौ आज
मेरो मातृभाषाको छाला छेलेर सोधिरहेछौ –
‘आरक्षण किन चाहियो ?’
साढे तीन हजार वर्षदेखि
पाठशालाको ढोका थुनेर भनिरहेछौ –
‘योग्यता भएकाहरू अगाडि जान्छन् ।’
साढे तीन हजार वर्षदेखि
मन्दिरको ढोका थुनेर बकिरहेछौ –
‘हाम्रै धर्म सर्वश्रेष्ठ हो ।’
साढे तीन हजार वर्षदेखि
आवाज थुनिदिएर सोधिरहेछौ –
‘तिम्रो परिचय के हो ?’
तर, तिम्रो जस्तो सीधा जाँदैन उनीहरूको समय
घुमेर त्यहीँ आइपुग्छ
मुसा वर्ष, चरा वर्ष, घोडा वर्ष हुँदै…
र, आज क्यालेण्डर
त्यहीँ आइपुगेको छ घुमेर
आज तिम्रो कारण बगेको आँसुको खोलो
त्यहीँ आइपुगेको छ समुद्र पुगेर
र, उनीहरूको करङ चिहानबाट बौरिरहेको छ
तिम्रो गर्धन फनफन खोजिरहेको छ,
र, तिमीले नै भड्काइदिएको उनीहरूको आत्माले
तिमीलाई नै सोधिरहेको छ –
‘चुच्चे नक्साको भरमा कतिन्जेल शासन गरिरहन सक्छौ ?
आज हामी तिम्रो चिना हेर्न चाहन्छौँ ।’
०००



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 








