साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

कविता: भो ठूलो हुन्न म !

रमेश भट्टराई

हो, मलाई कुर्सीमा बुकुर्सी मार्नु छैन
तरङ्गित मथिङ्गलहरू हरसाँझ थकित छन्
काला धब्बा ओढेर धमिला सिरकमा सुत्छन्
विचारभरि प्वाल, दिमागभरि धमिरा लागेर
छ्यान्द्रो गिदी र खप्पर बोकेर
शरीरभरि त्यान्द्रो झुन्डिएकाहरू
कठपुतलीझैँ प्राडो र पजेरोमा
रटान, बखान र मकानको धक्कुबाज भिरेर
लक्कु र बख्खुलाई चक्कुले भक्कु चिरेर
छेउको, अलिक परतिरको, अझै परको स्तरमा
दामासायी न्याय र–
नवीन अघोषित अब्बल नीतिमा
अनि,
के जिब्रो पड्केला खै,
भो, ठूलो हुन्न म !

माथापच्ची र सिँगौरी खेलेर
लाङ्गलात्ती, गट्टा र लुकामारीमा–
रामे, बिर्खे, हर्केलाई पेलेर
पुरिँदो, बग्दो, काटिँदो मुर्दा हेरेर
चलचित्रको मानौँ– “प्रत्यक्ष प्रसारण हो”
मिठ्याउँदै मुख तब लाग्छ –
राहत र आहत कुन ठूलो ?
देववाणी सुनाएर पाखा, पखेरा अनि भित्ताहरूमा
पौडने तमाम गिदी, रेसा र रगतहरू जाग्छ,
सिंहासन गर्जिन्छ, कुर्लिन्छ अनि सुक्छ,
शाखा–प्रतिशाखाको भाग्य भिरेर
बन्धु पुस्ताका र आफन्तभित्र छिरेर
भित्तामा झुन्डिनेछ फोटो पुर्खाको
अनि सन्तति खिस्स हाँस्छ–
सुगर, प्रेसर र बडप्पनको घुलनमा
नाति पुस्ता गर्जिन्छ उसरी
पाखो लत्याएर,
निरीह वेदना गिज्याएर
सुकिलो नाङ्गो मान्छे निर्लज्ज ठडिन्छ
भो, ठूलो हुन्न म !

जिब्रो र मस्तिष्क सदा विपक्षी बनाएर
युगौँको हस्तान्तरित संस्कार
चेप्टो, बाङ्गो, गोलो आकारमा झुल्किन्छ आखिर
अनि उही–
भोटको भिख, कोटको इख
सम्मानको भिख, अपमानको इख
भिख र इखका लालची
चाकडी, चाप्लुसी, प्रशंसाका अगस्तिहरू
बेस्सरी डकारेपछि पनि–
अभावै अभावमा घिस्रिने जिन्दगी
प्रभावै प्रभावमा पिल्सिने जिन्दगी
नीति, निर्देशन र नियमका घेराभित्र
गुलामीचक्रमा वक्र बुद्धिले मर्छन्,
संवेदना चुस्दै, क्रन्दन कुल्चँदै डुक्रनुपर्ने
रातोदिन केवल आत्मप्रशंसामा उफ्रनुपर्ने
भो, ठूलो हुन्न म !

फुङ्गलिङ–२, ताप्लेजुङ

प्रतिक्रिया
Loading...