झलक मगर

युगौँदेखि
आकास चिथोरेर, धर्ती फोरेर
मैले उब्जाइरहेँ श्रमको मह
मेरो श्रमको मह काढेर लगिरहे धर्मावतारहरुले
मैले स्वस्ती गरिरहेँ

युगौँदेखि
आफैँलाई नङ्ग्याएर
शीला देशको झण्डा भन्ने आदेश आइरह्यो विष्णुवतारको
मैले हस् भन्दै स्वस्ती गरिरहेँ

युगौँदेखि
आफैँलाई खलाँती बनाएर बनाइरहेँ न्यायदातालाई तरवार
तिनै तरवार बारम्बार तेर्सिरह्यो मेरै घाँटीमा
मैले भुलचुक माफी बक्सियोस् न्यायदाता भन्दै स्वस्ती गरिरहेँ

अलिक अस्तिताका
ताराहरु बोकेर आए एक हुल मानिसहरु
बिहानी ल्याउँछु भन्थे
होला त नि भनी पठाएँ आफ्नै एक जोसिलो समय
मिर्मिरे हुनै आँटेको थियो
बिलाए ताराहरुझैँ
मस्त निदाए दरबारको शयनकक्षमा कुम्भकर्णझैँ

अल्लिपछि
आए एक हुल राता मानिसहरु
लड्नु पर्छ भन्थे
ठोक्नु पर्छ भन्थे
भत्काउनु पर्छ भन्थे
लडे, ठोके र भत्किए आफैँ साना-साना चोइटामा
तिनै एक चोइटा
दौडिए जंगलभरि
शासकहरु जुका हो मार्नुपर्छ त्यसलाई भन्थे
शासकहरु सामन्ती हुन् लखेट्नु पर्छ त्यसलाई भन्थे
पहिलो पटक सुनेका त के-के थिए थिए
तपाईंको रगत मागेको छ भन्थे
होला त नि भनी
एक त्रिशूली रगत बगी पठाएँ
अहिले तिनीहरु नै टिनिक्क टन्केको देख्छु

पछि पनि कति आए आए
सेतै कपाल फुलेका आए
भर्खरै दुध भुलेका आए
भाङ्ग्राको इतिहास पढाउन आए
सालैजोको भाका तन्काउन आए
मेरै लागि आएका भन्थे होला त नि भनी ठानेँ
मेरै लागि गाएका भन्थे होला त नि भनी ठानेँ

तर,
आज पनि अभावका जुल ढुंगाले मेरो शीर किन थिचिरहेछ ?
आज पनि मेरो भविष्य कृष्णभीरले किन पुरिरहेछ ?
किन थचक्क बसिरहेछ गरिबी मेरो जीवनमा कुष्ठरोग बनेर ?
किन बगरको गिट्टी र अरबको रेमिट्यान्स पाकिरहन्छ मेरो भान्सामा ?

ओ मञ्चमा उभिएर
मेरो अधिकारको माग गरिरहेको मेरो मान्छे
तल आउ त,
एकचोटि दाँज्न मन छ
मेरो भोकले र तिम्रो बोझले च्यातिएका यी खल्ती

ओ कर्पोरेट दरबारका मालिक, ढोका खोल र कापी कलम लिएर आऊ
मेरो गरिबीको विवशता बेचेर आर्जन गरेको आयमा
आज मेरो हिस्साको हिसाब-किताब गर्नु छ

धेरै गरियो विश्वास र धेरै भोगियो विश्वासघात पनि
धेरै गरियो आश र धेरै पाइयो निराश पनि

हे परिवर्तनका नायक
हे समाचारका संवाहक
हे आवाजविहीनहरुको आवाज
आज मैले मेरालागि मैलाई सक्षम बनाएर आएको छु

अब,
म आफैँ बोल्नेछु मेरो आवाज
म आफैँ लड्ने छु मेरो लडाइँ
म आफैँ पोख्त हुनुछ कर्तव्यपथमा
म आफैँ व्यस्त हुनुछ अधिकारभोगमा

अब म आफैँ निकाल्छु शताब्दीऔँदेखिको थिचोमिचोको सुता-सुता हिसाब

अब मेरो व्यथाको बाँण बोकेर
म आफैँ कोर्नेछु
कर्मको मैदानमा मेरो भाग्य

मान्यवर अब आराम गर्नुस् ।

#खरमटारे

अलिक अस्तिताका
ताराहरु बोकेर आए एक हुल मानिसहरु
बिहानी ल्याउँछु भन्थे
होला त नि भनी पठाएँ आफ्नै एक जोसिलो समय
मिर्मिरे हुनै आँटेको थियो
बिलाए ताराहरुझैँ
मस्त निदाए दरबारको शयनकक्षमा कुम्भकर्णझैँ