आदर्शहरूमा स्किन डिजिज्

इमानको इजलासमा
बेइमानको
बकपत्र जात्री छ
ईश्वर वकिल
मानिस झगडीया
र समय अदालत
हाम्रा सामु खडा छन्,

ज्वाने झारले
धान खर्लप्प बनाएझैँ
मानिसका
आदर्शहरूमा
यतिखरेर ‘स्किन डिजिज’
भएको छ
व्यवहार
पानी हालिएको
पन्यालो दूध
सान्त्वना
बेट्री सकिएर रोकिएको क्वार्ज घडी
पथ
आत्मादेखि
परमात्मा सम्मको
नालाझैँ प्रदूषित छ,

खै ! मनका राजमार्गहरूमा
ट्राफिक जाम छ
तनावको
बोलीको आकासमा
झगडाको चट्याङ् परेको छ
एकथरी
ईश्वरको सर्व व्यापकताको
सप्रसङ्ग व्याख्या गरिरहेछन्
अर्काथरी
ईश्वर मृत्युको फेरि
घोषणा गरिरहेछन्
मैले रूखलाई सोधेँ
पहाडलाई झक्झक्याएँ
नदीलाई प्रश्न राखेँ
चरालाई
फूललाई
र अबोध
बालकलाई पनि
सृष्टिको प्राथमिक अहम् के हो ?
सबैले
सबै सबैले
समवेत स्वरमा भने
प्रकृति ।

मैले रूखलाई सोधेँ
पहाडलाई झक्झक्याएँ
नदीलाई प्रश्न राखेँ
चरालाई
फूललाई
र अबोध
बालकलाई पनि
सृष्टिको प्राथमिक अहम् के हो ?

२. पाश्र्वमा कुर्सी

उहाँ गएपछि
सँगसँगै उहाँ बस्ने कुर्सी पनि भाँचियो,
मेरो देशमा
कुुर्सीका लागि
झुत्ती खेल्छन् बुझेका मानिसहरू
विराजमान रहँदा कुर्सीमा
कसैको अदपका साथ
मान मनितो हुन्छ
व्याख्या
विश्लेषण
प्रशंसा
र तीर्यक महिमा
सबै कुर्सीका
तिजोरीबाट झिकिएका
नक्कली आभुषणहरू हुन्,

देश जति सुन्दर छ
त्यति नै कुरूप छन् यहाँका कुर्सीवाजहरू
एउटा कुर्सीको खेलाडी
कुर्सी हत्याउन
अर्को कुर्सीवाजसँग
निर्लज्ज मल्लयुद्ध गर्छ
गाउँमा
गोरु जुधेको
कति राम्रोसँग हेर्छन्
हाम्रा केटाकेटीहरू !

सहरमा
कुर्सीसँग कुर्सी जुधेको
धेरै सुनियो
धेरै देखियो
यसपटक
उहाँ गएपछि
सँगसँगै उहाँ बस्ने कुर्सी पनि भाँचियो ।

देश जति सुन्दर छ
त्यति नै कुरूप छन् यहाँका कुर्सीवाजहरू
एउटा कुर्सीको खेलाडी
कुर्सी हत्याउन
अर्को कुर्सीवाजसँग
निर्लज्ज मल्लयुद्ध गर्छ