जङ्गल मौन छ
र पनि बोल्दछ
हावाको बहावमा
पातको स्फुरणमा
चराको चिरबिरहाटमा।
प्रकृति नाच्छ
र म हराउँछु ऊभित्र
जस्तो कि आत्मा देहभित्र हराउँछ।
पहाड उभिएको छ
स्थिर तर सजीव।
त्यहाँ फैलिएको छ
आत्मा र शरीरको
सीमाहीन रेखाहरू।
म पहाड चढ्दै जान्छु
प्रत्येक पाइलाले भन्छ
तिमी प्रकृतिको अंश हौ।
तर प्रकृति तिम्रो मात्र अंश होइन।
मैदानबाट
जति हिमाल टाढा छ
जति फराकिलो छ
अनि अग्लो छ
तिमीबाट चैतन्य
त्यति नै नजिक र
उति नै सम्पृक्त छ
अटल छ,
अडिग छ यसकारण
कि दुःख र सुखका पल्ला सन्तुलनमा छन्।
जहाँ पुगेर खुल्दछन्
बोधका ढोका
जस्तो शिखरमा पुग्नु भनेको
समस्तको त्याग होइन।
मूलधारप्रतिको सम्मान हो।
साङ्ख्य भन्छ
प्रकृतिबिना पुरुष नदेखिने,
पुरुषबिना प्रकृति नचिनिने।
हिमाल, पहाड र जङ्गल
तीनै स्वरूप हुन्
एकै तत्त्वका जहाँ
आत्मा दर्शक छ
र प्रकृति उसका नयन हुन्।
त्यसैले म हिँड्छु
जङ्गल हुँदै पहाड
पहाड हुँदै हिमालतिर,
आफ्नै भित्रको सन्तुलन खोज्दै।
जहाँ आत्मा र प्रकृति फरक छैनन्,
केवल एकै अस्तित्वको बोध बाँकी छ।
यही चिन्तनचर्यामा
म सूर्योदय र सूर्यास्तका साक्षी बनेँ
जसरी देह र आत्मा एकअर्काको साक्षी हुन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 








