जागौँ न हे अब प्यारा,
त्यागेर द्वेष सारा।
मनका मैलो फाली,
चम्कोस् हाम्रो सितारा।

वृथा हुन्छ बढी सोच्नु,
समय उदेकलाग्दो छ।
निर्विवाद वर्तमान,
दुर्भाग्यपूर्ण नै छ।

रोइरहेछ इतिहास,
जहिल्यै अश्रुपूर्ण छ।
विकास निर्माण सबै,
सधैँ परिहासयुक्त छ।

मनोमालिन्यता नै
बढ्दै छ नि हा ! दिनदिन,
विकासकै मर्ममाथि
भइरहन्छ चोट सब दिन?

विरोध र विद्रोहले
विप्लव नै जन्माउँदछ।
अराजक हिंस्रक स्थिति
प्रलय नै निम्त्याउँदछ।

धमिलो छ क्षितिज सधैँ,
तुवाँलो ढाकिरहेछ।
मनमा परिवर्तनकै
सबैले आश लिएको।

बदलौँ न आफ्ना सोच,
मनका समस्त संशय।
समाप्त होऊन् सङ्कट,
बाँचौँ हामी निर्भय।

सबैसित मैत्रीभाव
आजको यही विकल्प छ।
मेटिएर जान्छ वैरभाव
मनमा यदि सङ्कल्प छ।

दिनानुदिन विदेशमा
युवाहरू मर्दै छन्।
कस्तो हाम्रो उन्नति?
जन विरक्त र विह्वल छन्।

यो बोध पूर्ण सत्य छ,
चेतनाकै महत्त्व छ।
रक्षा गरौँ देशको,
नभए त कहाँ भविष्य छ?