चम्के नि है नेपाली नभमा
भानुभक्त ता भानुसरी भएर
गरे भाषाको प्राण–प्रतिष्ठा
रामायण महाकाव्य लेखेर ।
नत्र ता यस देशलाई पंगु
बनाउनेकै त हुन्थ्यो नर्तन
हेरी नै बस्नुपर्ने हुन्थ्यो कि
स्वराष्ट्रभाषाको मान–मर्दन ?
बाहिय–भाषाका भक्तहरू ता
देख्दैनन् नि भाषिक–प्रिवर्तन
तर विज्ञहरू त बुझ्छन् अवश्य
निजभाषाका सम्पूर्ण रोदन ।
दिनानुदिन भाषा र संस्कृतिमा
कुठाराघात भई नै रहेछ
कहिले विराम होला त यसमा
दिनदिन जटिलता बढी नै रहेछ ।
आज पनि कत्ति तपस्वी साधक
अक्षय पथमा छन् हिँडिरहेका
अनवरत अविराम एक लगनमा
बढाउँदैछन् भाषामा गुरुता ।

 

 

कवि टोल, विराटनगर–१४