हजार सपनाहरूका
लाइन लगाइदिने
मेरो जिन्दगीकै
‘ड्रिमलाइनर’ थियौ तिमी !

सपनाको उडान भर्न
तिमीले रफ्तार लिँदा
उत्साहित थिएँ म

छोडौँ भुइँ भन्यौ तिमीले
छोडेँ मैले पनि तिम्रै बहकाउमा
कत्ति हो कत्ति उत्साह लिएर
अचानक, किन भयौ हतोत्साही
हिम्मतको सात सय फीट पुग्नै नपाई
घटायौ किन उचाइ
झार्‍यौ किन जमिनमै
सपनाको बोइङ् !

तिम्रो हतोत्साहले
बजारियो भरोसाको यान
मेरा आकाङ्क्षाहरू खाजा खाइरहेका
मनको उज्यालो होस्टेलको क्यान्टिनमा
विष्फोट भयो त्यो, अनि…
लप्कामा लपेटिए सपनाहरू
धूवाँमा समेटिए चाहनाहरू
खरानी भए भविष्यका योजनाहरू

धन्न उम्किएँ म
धन्न जोगिएँ म
धन्न आत्मबल बसेको रहेछ
सिट नम्बर ११ ‘ए’ मा !