आगो सल्काउने त्यो झिल्को सानो हुन्छ,
भगवान्! परेली कहिले ओभानो हुन्छ!

रेटिन्छु, छेडिन्छु जिब्रोका तरबारहरूले,
थाहा छैन यो मुटु कतिन्जेल अचानो हुन्छ।

हिजोसम्म जो अटाएको थियो छातीमा,
आज एकाएक ऊ कसरी फलानो हुन्छ?

उतै-उतै हिँडेँ जता-जता डोहोर्‍यायौ तिमीले,
अन्दाज थिएन, त्यही बाटो बिरानो हुन्छ।

फर्केर आऊ भन्नलाई आश्रय कहाँ छ र ?
डढेको घरमा न पिँडी हुन्छ न छानो हुन्छ।