सिधा र सादा छ भनेर हेप्यौ
बिगार्न सक्तैन भनेर हेप्यौ
सत्ता छँदा मात निकै चढेको
घमण्ड तिम्रो अति नै बढेको
कुर्ची र कुर्चीनिर मात्र देख्यौ
हार्ने त अर्कातिर मात्र देख्यौ
अकासियौ उड्नु उड्यौ मजाले
यथार्थ धेरै तल पर्न थाले
‘आफू अघाए जगतै अघायो’
मदान्धताले मुहुनी लगायो
कुन् द्वारमा सुट्ट पसेर आयौ
सुत्यौ धुलामा अनि बर्बरायौ
‘हुँदैन’ भन्ने जतिलाई डाँट्यौ
द्यूँसै ‘पर्यो रात’ भनेर ढाँट्यौ
बोल्यौ नबोल्ने पनि बार बार
निकै रँगायौ झुटको बजार
पानी खरानीसित फुस्रिँदैछन्
दुर्भाग्यका रात नजिक्किँदैछन्
झर्ने कहाँ हो नगरी विचारै
उम्ल्यौ नि साथी किन यत्तिसारै ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३ चैत्र २०८२, मंगलवार 









