दुःख छन्, दुःख यी झेल्ने धीरता गाँस ए प्रिया
झिल्का छन्, क्रान्ति भै जाग्लान्, आसले हाँस ए प्रिया
पार पाइन्न भागेर सामना गर्नु नै छ यो
दुःख यो कति हो भोग्ने ! अब ता अति नै भयो

छैनन् मन्दिरमा द्यौता, छैनन् ती मूर्तिमा पनि
यो अत्याचार के हुन्थ्यो देवता त्यैँ थियो भने
चर्च मस्जिद गुम्बामा भगवान् भेटिने भए
निर्धाको दिन फिर्दो हो, निर्धा झन् दलिँदै गए

आफ्नै पौरखले मान्छे सके बाँच नभा मर
देख्तैनन् दैवले, आफ्नो बन्दोबस्त स्वयम् गर

निभ्न आँट्यो नठोस्नाले अगुल्ठो नै बरा भयो
घातकी पातकीले नै जरा गाड्ने धरा भयो
निर्धामाथि नियाँ हुन्न धनीका तजबीजले
न्यायनिम्ति सधैँ जागी आँटले युक्तिले चले

बाटो छैन चुली चुम्ने ? बन्छ बाटो खनेपछि
प्रेमका गीत जन्मन्छन् मायाले हो भनेपछि
खुल्ला हून् आँतका दैला मनमैदानमा झरौँ
के के हुन् कामना हाम्रा सिद्धिका साधना गरौँ ।