प्रगतिवादी धाराका प्रखर कवि मित्रलाल पंज्ञानीको जन्म वि.सं २०१७ सालमा स्याङ्जाको काफलडाँडा गाउँमा भएको हो । बाबु शिवलाल र आमा खिनादेवीको गर्भबाट जन्मिनु भएका पंज्ञानीको साहित्यिक व्यक्तित्व काव्य र निबन्ध विधामा लहराएको छ । उनका हालसम्म पन्ध्र ‌ओटा काव्यकृति र एउटा निबन्ध सङ्ग्रह प्रकाशित छ । यसै गरी गद्य विधातर्फ बलेको आगो  (निबन्ध सङ्ग्रह)  र प्रशान्त (बाल उपन्यास)  रहेका छन् ।

कवि पंज्ञानी एक युग सचेत काव्य मनीषी हुन्; जसले वर्तमान राजनीति र समाज व्यवस्थाको तमाम विकृति, विसङ्गति, अनाचार, दुराचार, पापाचार, शोषण, दमन, उत्पीडन र विभेदलाई प्रहार गर्दै भित्री बाहिरी समत्वमा आधारित समतामूलक समाजको परिकल्पना गरेका छन् प्रत्येक काव्य र निबन्धहरूमा । शास्त्रीय छन्दलाई उत्तिकै कुशल र मर्मस्पर्शी ढङ्गले खेलाउन सक्नु उनको वैशिष्ट्य हो भने कला र विचारको, भाव र शिल्पको सुन्दर समन्वित र सन्तुलन उहाँको काव्य साधनाको ‌ओजपूर्ण पाटो हो ।

यस आलेखमा उहाँको पछिल्लो काव्यकृति ‘त्यो नायक’ खण्डकाव्यमा विचरण गरी मेरो भावक हृदयमा छोएका सन्दर्भहरूको आरेख  गर्नु  रहेको छ । वि.स. २०७० सालमा छापिएको यस खण्डकाव्यले वर्तमान इतिहासको एक विद्रुप  यथार्थलाई मिहिन ढङ्गले केलाउँदै  एक अभिनव  नायक जो भित्री क्रान्ति र बाहिरी  क्रान्तिको अग्नि चक्रबाट उद्भव  हुनसक्छ र त्यसले मात्र असली समत्व, न्याय, शान्ति र सत्यको व्यवस्थालाई सृजन, स्थापना र चिर व्यवस्थापन गर्न सक्ने ज्ञान आलोकित गरेको छ ।

नायकको मुखुण्डो भिरेर आएका खलनायकबाट दंशित छ देश । पटकपटकका जाग्रत् आन्दोलन र क्रान्तिहरू दोबाटोमा सेलाएर आफ्नै भोगविलास, सत्तालिप्सा र स्वार्थमा केन्द्रित नेतृत्वगणले बिस्तारै देश डुबाउँदै गएको विद्रुप  यथार्थलाई मार्मिक ढङ्गले उठाएको मात्र छैन काव्यले; अब बोधिसत्त्व र बोधिचेतना बिनाको नायकले नेतृत्व नसमाली देशमा साँचो परिवर्तन सम्भव छैन भन्ने कुरालाई पनि स्पष्ट गरेको छ । युद्ध र बुद्धहरू युगीन आवश्यकताले जन्मिने गर्छन् । त्यसैले देश हाँक्ने नायक वैयक्तिक स्वार्थ, रागद्वेष र लोभबाट माथि उठेको एक आत्मज्ञानाले आलोकित मनुष्य हुनुपर्दछ भन्ने विचारलाई कविले गहन अनि बोधपूर्ण रूपमा ठम्याएका छन् ।

उनन्चालिस परिच्छेदमा विभक्त यस काव्यमा गौतमबुद्धलाई नायक बनाई आजभन्दा छब्बीस सय वर्ष अघिको शाक्यमुनि शुद्धोदन शासित कपिलवस्तु गणराज्यको इतिहासलाई पृष्ठ भागमा राखेर  बुद्धको विद्रोह, खोज र दिव्य शान्तिको समतामूलक समाजको सिर्जनालाई अहिले युगीन आवश्यकताको आलोकमा राखी हेर्ने, केलाउने, विवेचना गर्ने र ब्युँझिने प्रशस्त बाटा र सङ्कल्पहरू काव्यले पस्किएको छ । इतिहास निबद्ध आख्यानमा आधारित यो काव्य एक नयाँ चेतनाले व्यवस्थित ऐतिहासिक काव्य हो भन्दा फरक पर्दैन ।

काव्यको कथावस्तु  ‘प्रकृतिको काखमा’  भावशुद्धिको लागि गरिएको आत्मवन्दनाबाट सुरु हुन्छ । यसमा बोधीचेतनाको उत्तुङ्ग हिमचुली छुने आव्हान छ; जसले अशान्त मनका धैलोमैलो पखाली मनलाई निर्मल पार्न काव्यिक मन्त्रदान गरेको छ; तरल भावका कविले पाठकलाई यसरी तरङ्गित गर्छन्-

पानी निर्मित पोखरी गहकिलो पाँचै महासागर

भन्दा यो बहको समुद्र गहिरो बोक्तो छ नारी नर

गाढा ध्यान गरौँ र मौन मनले त्यो पीँध छोई फिरौँ

गाँठा जीवन जेलिँदा जति परे सम्पूर्ण फोई फिरौँ  

काव्यको कथावस्तु अत्यन्त वेगमा अगाडि बढ्छ । जतिसुकै विलासी सुखको राजसी दरबारमा सिद्धार्थ गौतमलाई जकडबन्दीमा राखे पनि अनित्य संसारको वृद्धावस्था, रोगी अवस्था र मृत्युको दृश्यले त्यसको विमुक्तिको लागि उनी छटपटाउँछन् । राज्य थाम्ने एउटै छोरो पनि यस्तो भएको  देख्दा शुद्धोदन चिन्तित हुन्छन् । सत्यको खोजमा निस्कन दरबारी बन्धनबाट उन्मुक्तिको लागि अन्फनाउँछन् । तर पिताजीले उनलाई सुखसयल आमोदप्रमोदमा भुलाउन विलासका अनेकन साधनहरू अपनाउँछन् । तर शुद्धोदनका यी प्रायोजित उपक्रमलाई तोडेर एकदिन राती दरबार, सुखसयल, पिता पत्नी, पुत्र त्यागेर जङ्गलतिर लाग्छन् । एक सारथिलाई साथ लिएर निस्केका सिद्धार्थ आखिरमा सारथिलाई दरबार फिर्ता गर्छन् र पस्छन् साधनाको आटब्य जङ्गलमा ।

उनलाई फिर्ता गर्न छन्दक त असफल बन्छ नै; राजाले पुनः मान्छेहरू पठाउँछन् । तर उनी सत्यको खोजमा सबै चिज दाउमा राखेर निस्किसकेका थिए । उनी सत्य प्राप्ति नहुँदासम्म दरबार नफर्किने सङ्कल्प गर्छन् । उनी पदार्थको संसार र पदार्थको वैभवलाई ।

सिद्धार्थ गौतम ज्ञानप्राप्ति र सत्यप्राप्तिको यात्रामा कठोर साधना गर्छन् । अन्नजल समेत त्यागी तप गर्छन् । त्यस्तो तपबाट सत्यको ढोका नउघ्रिएपछि शरीरलाई सास्ती दिएर गरिने साधनाको परित्याग गर्छन् । शरीरलाई नचाहिँदो सास्ती दिँदा शरीरमा मासु रहँदैन, हाडछाला मात्र बाँकी रहेको कृशकाय गौतमलाई पथभ्रष्ट बन्यो भनी उनका पाँच जना साथीहरूले छोडेर हिँड्छन् । धेरै दिनदेखि भोको गौतमलाई सुजाता नामकी कन्याले खिर खुवाउँछिन् । त्यसपछि अचानक वोधगयाको पीपलमुनि साक्षी भएर बसिरहेको बेला बोधिसत्त्व घटित हुन्छ । बोधी चेत खुलेको दृश्यलाई नायक आफ्ना वाणीमा यसरी अभिव्यक्त गर्दछन्-. . .

छेकेथ्यो जसले सदैव, भवको पर्दा तुरुन्तै हट्यो

के देखेँ छिनमै यसै नजरमा संसार जम्मै अट्यो

खोजेका चिज भेटिए, नहुनुका पीडा हराई गए

बोधी चेत खुल्यो धपक्क यसरी मै बुद्धमा फेरिएँ ।

बोधी ज्ञान मिलेपछि मानवको समूल दुःख निवारणको सङ्कल्प गर्छन् । आफ्नो ज्ञानरश्मिले जगतको तमघटा नास्ने र धर्तीमा प्रेम र शान्तिको, समता र न्यायको थिति बसाउने कुरा गर्छन् ।

ईश्वरलाई सनातन कालले आशा र त्रासको साधन बनाई मनुष्यलाई आफ्नो आत्मबलमा उठ्न नदिने पाखण्डी धर्म परम्परामाथि नायकले पहिलो प्रहार गर्दछ । छुवाछुत विभेदका साङ्लाहरू ईश्वर र धर्मको नाममा जो रचित छन्; तिनलाई खोल्न बुद्ध कम्मर कस्छन् । मनुष्यभित्रको आत्मशक्तिको अदम्य चमत्कारतिर मानिसलाई डोर्याउँछन् । थोत्रो ईश्वरका किल्लाहरूमा भूकम्प मच्चाइ दिन्छन् । बोधीज्ञान बाँड्दै बस्तीबस्ती देशदेशावर परिभ्रमण गर्छन् र एकदिन कपिलवस्तु फर्किन्छन्; पत्नी यशोधरा उनीप्रति नाराज बनेकी हुन्छिन् । आफू समूल धराका दु:खमुक्तिको बाटो पत्ता लगाउन हिँडेको तथ्य खुलाउँदै यशोधरालाई सम्झाउँछन् ।

बुद्धमा एक अखण्ड गुरुत्व बल पैदा हुन्छ । त्यो गुरुत्व शक्तिको वरिपरि संसारभरिको जनगण सं-केन्द्रित बन्दछ । उनको ज्ञान, ध्यानको आलोकमा राजामहाराजका वैभवहरू तुच्छ तुच्छ बन्छन् । निहत्था एक व्यक्तिको हृदयमा आत्मशक्ति जाग्यो भने समाजमा कस्तो रूपान्तरण ल्याउन सक्तो रहेछ, त्यो देखाइदिन्छन् । मान्छेका दुःख निवारणका अनेकौँ सूत्र र आप्त वचन समाजमा प्रयोग गर्छन् । पुत्रवियोगले छट्पटाएकी कृषा गौतमीको मनको शूल मात्र झिकेर फ्याँक्तैनन् । उनलाई ज्ञानको यथार्थ धरातलमा उभ्याउन, रागबाट मुक्त गर्न मान्छे नमरेको घरको तिल ल्याउन निर्देश गर्छन् । तर कृषाले घरघर चाहर्दा यो सत्य आफैँ बोध गर्छिन् कि मृत्यु सर्वव्यापी सत्य रहेछ । अनाहकमा अज्ञानी बनी शोक विलापमा फस्नु बेकार रहेछ भन्ने कुरा बुझ्छिन् ।

कथावस्तु यहाँनेर आइपुग्दा बुद्ध दर्शनको अन्धविश्वास र रूढिवादी प्रथा विरोधी भावलाई कविले काव्य पङ्क्तिहरूमा यसरी प्रकाश पारेका छन् –

छोरा हो सुन एकपल्ट गहिरो सन्देश त्यो आँतको

खाँचो हुन्न मरी गएपछि कतै रोटी पुवा भातको

पानी पिण्ड नद्यौ मरेपछि रुँदै, ज्युँदो छँदै खान द्यौ

मीठो बोल सँगै बसेर, गहिरो माया र सम्मान द्दौ

एक आमाले पति मरेपछि छोराहरूलाई दिएको सन्देश छ यहाँ । बाँचुन्जेल पितृहरूलाई हेला र अपमान गर्ने मरेपछि खिरका डल्ला चढाउने पाखण्डी रीति र प्रथालाई कटाक्ष गरिएको छ । साथै यस काव्यमा ऐतिहासिक तथ्य र घटनामा मात्र सीमित नभै कविले अहिलेको युगीन सन्दर्भका आवाज र ध्वनि;  सन्दर्भ र घटनाहरूलाई सम्मिश्रण गरेका छन् । यसै सन्दर्भमा न्यायको युद्धमा होमिन जाने युवाको सङ्कल्प कवि निबद्ध कल्पनाको रूपमा काव्यभित्र समाहित छ; आमासित बिदा मागिरहेको त्यो छोरो यसरी बोल्छ, जहाँ वर्तमान युगका मर्महरू अभिव्यक्त छन् ।

यस क्रममा पौराणिक तथ्य भन्दा अघि बढेर धोखाको वृत्तान्त कहने मानिसका कथा छन् । परिवारका सबैजना मरेर बाँकी रहेको एकल वृद्धका कटु अनुभवहरु छन् । एक कविका सन्देहहरूको फेहरिस्त छ । र आखिरमा कृषा गौतमीले मृत्युबोधको गहन सत्य स्विकारिएको सन्दर्भ छ । सबै मानिसको मृत्यु अवश्यम्भावी छ । चाहे त सेठ धनी महाजन होस्, या डाक्टर वैद्य हुन्, या राजामहाराजा हुन्, सबैले एकदिन मर्नैपर्छ । कोही कसैको साथमा जान सक्तैन । एकदिन सवैसित छुट्नै पर्छ । मृत्युदेखि डराएर रोएर कराएर केही हुनेवाला छैन । धर्तीमा जन्मेका कति मरे मरे त्यसको हिसाबकिताब छैन । अनित्य संसारमा मृत्युलाई सरल रूपमा, स्वाभाविक तथा प्राकृतिक रूपमा बुझ्नुपर्ने मार्मिकता प्रकट गरिएको छ ।

सोही समयमा सेनाले समेत छुन नसक्ने अङ्गुलिमाल नामको दुष्ट मानिसले ठूलो आतङ्क सिर्जना गर्छ । उसले एक हजार मानिसको वध गरी तिनका औँला काटेर औँलाको माला उनी लाउने कसम खाएको हुन्छ । भकाभक मान्छे मार्ने काम गरेको हुन्छ । तर त्यस दुष्ट मानिसको सामु बुद्ध पुग्छन् र उसलाई रूपान्तरण गरिदिन्छन् । बुद्धको आप्त वचनबाट अङ्गुलिमाल हत्याहिंसा छाडेर सुकर्मतिर पाइला चाल्छ । मुर्छामा बाँचेको मान्छेभित्र उनी होस र जागरणको नयाँ दियो सल्काइदिन्छन् ।

काव्यको एकतीसौँ परिच्छेददेखि काव्यकारले बुद्धकालीन घटना सन्दर्भ र पात्रलाई विराम दिएर वर्तमानको यथार्थलाई काव्यका पङ्क्ति पङ्क्तिमा गाँसिदिएका छन् । पहिलो यक्षप्रश्न  नेताहरूमाथि उठाइएको छ । सिद्धान्त र व्यवहारको असन्तुलन विरोधाभास अनि विसंगत व्यवहारउपर कविले गहिरो कटाक्ष गरेका छन् । निष्ठा, त्याग र इमानलाई पोली खाने नेताहरूको घुम्टो उतारिदिएका छन् । बुद्धजस्तो नेता नभएकोमा यसरी रोष पोखेका छन्-

एउटा बोल्छ कुरो यहाँ, पर पुगी अर्कै कुरा बोल्दछ

भित्री मानिस भेटिँदा हृदयको तेस्रो कुरा खोल्दछ

मै भन्ने अगुवा स्वयं छ भगुवा, टिक्दैन निष्ठा कुरी

फिक्का बन्छ यसै, रहन्न उसमा सौजन्यको माधुरी

प्राकृतिक सुन्दरता र सम्पदामा नेपाल विश्वमान चित्रको अग्रस्थानमा रहे पनि कुशल नेतृत्व र व्यवस्थापनको अभावमा देश दुर्गतिमा फसेको, जनताले नारकीय कष्ट व्यहोर्नु परेको कटुयथार्थ अक्षरअक्षरमा उनिएको छ ।

शोषण दमन र अन्याय-अत्याचारले सीमा नाघेपछि लाटा सुधा गरिखाने गरिबहरूमा एक रोष र विद्रोहको भाव संरक्षण हुन थाल्यो । अत्याचारलाई हाक्काहाक्की चुनौती दिन थाले । निर्धाको हड्डीमा पनि दधीचिको बल पस्यो । सहेर रोएर मर्ने होइन, शानले विद्रोहका गीत सुसेलेर मर्ने हो । सत्ता, शक्ति, सम्पत्ति र स्वार्थको दलदलमा फस्यो नेता; त्यसलाई कवि यसरी बिम्बित गर्छन्-

हामीले जितियो लडाइँ उनको सत्ता पर्यो हातमा

तिन्को आदत बिग्रँदै तल झर्यो क्यै दिन् र क्यै रातमा

निर्धालाई गिज्याउँदै टलटली टल्केर निस्के उनी

सादा जीवनको वकालत गरी झल्केर निस्के उनी

आँधीको आवेगलाई औलादमा साटेर विलासको जिन्दगी सुरु गरे नेताहरूले । सहिद र घाइतेका सपनालाई रछ्यानमा मिल्काएर भोगवादको लिसोमा लपक्कै टाँसिए । मानिसका सपनाहरू, कामनाहरू र अभिलाषाहरूमा एकैचोटी तुसारो खसाइदिए । यो परिदृश्यले कवि मर्माहत बनेका छन् । देशको विद्रुप  वर्तमान यथार्थलाई देखेर कवि जरुर खिन्न छन्, तर उनी निराश छैनन् । धोकाको धुलो टकटकाएर अर्को भीषण तथा निर्णायक लडाइँको आवश्यकता बोध गर्छन् । सबै विभेद र विसङ्गतिलाई उडाई लाने एउटा हुरीको आमन्त्रण गर्छन् ।

त्यसको नेतृत्व बुद्ध चेतनाले आलोकित क्रान्तिदुतले गर्नुपर्ने ठहर छ कविको । जसले आफैभित्रको लोभलाई जितेको छ; आफैँभित्रको स्वार्थलाई गलाएको छ, आफूभित्रका तमाम फोहरमैला पखालेर शुद्ध बुद्ध बनेको छ; त्यसले मात्र जनतालाई परिवर्तनको घाम ताप्न दिन्छ । अहिले सम्मका नेता अलिकति प्राप्त उज्यालोमा न्यानोमा आफ्नै साँप्रो सेक्न अलमस्त रहे । त्यसैले अबको नेता यस्तो संबोधी तपसी हुनुपर्छ जो हर प्रकारको दुर्गुण र कलुषमुक्त रहोस् । त्यस्तो गुण बोकेको अर्को बुद्धको कामना गर्दै कवि भन्छन् –

त्यागी राग र द्वेष दम्भ बग ए आस्था नभै डगमग

भित्री निर्मलता ठूलो छ सतले माझ्दै पखाल्दै लग

माटो, घाम र जुन यै गगन यै पानी र हावा नि यै

अर्को बुद्ध नजन्मने किन यहाँ?  देखिन्न क्यै कारणै

काव्यको अन्तिम परिच्छेदमा कविले निष्कर्ष दिएका छन् कि अब आउने बुद्धले उहिल्यैका बुद्धले समेत गर्न नसकेका कामहरू सम्पन्न गर्नेछ । त्यसको लागि सतत सङ्घर्षको बाटो, सतत न्यायको बाटो कदापि भुल्नु नहुने सन्देश छ । आशावादको दियो प्रज्वलित गरिरहनुपर्ने, सिर्जनको सिञ्चन गरिरहनुपर्ने आव्हान छ ।

क्रान्तिको बाटो जोखिमपूर्ण छ । अति दायाँ हिँडे दहमा डुबिन्छ अति बायाँ हिँडे आगोमा परिन्छ । पाइला पाइलामा सन्तुलन साधेर हिँड्नु छ । हामी शिखर चढ्ने कर्मशील यात्री हरबखत चनाखो हुनु छ, होसियार बन्नु छ । भित्र होस र जागरणको दियो सल्काएर शिखर चढ्नु छ, जँघार तर्नु छ । सिर्जन र स्ङ्घर्षकाे यात्रा सतत् गतिमा अघि बढिरहन्छ, तर यसको लागि नयाँ बुद्ध जन्मनुपर्छ र उसले अभियानको नेतृत्व लिनुपर्छ भन्ने ठहर छ-

भित्रैबाट खुली मनुष्य मनमा द्रष्टा र स्रष्टा बग्यो

मान्छे ढुक्क र दीप्त भो , बिरसिलो कुण्ठा बगाई लग्यो

मै खाऊँ सकियो, हुँदैन झगडा, सन्तुष्ट छन् शुद्ध छन्

कल्ले शासन गर्नुपर्छ र जहाँ धेरै त उद्बुद्ध छन्

****

कविले बोधीचेतनाले आलोकित नवनायकको किन आव्हान गरे, त्यसको पछाडि दर्बिला वस्तुगत कारणहरू छन् । यो देश स्खलित नायकहरूका अटुट शृङ्खलाले बारम्बार डसिँदै आएको छ । पटक पटक दंशित हुँदै आएको छ । सात सालका, छत्तीस सालका, छयालिस र बैसट्ठी-त्रिसट्ठीका क्रान्तिका नायकहरूले अनि दश वर्षे जनयुद्धका नायकहरूले जनतालाई जुन समृद्धि, समता र न्याय दिनु पर्थ्यो त्यो दिन सकेनन् । परिवर्तनको रापताप देश र जनताको चिसो र अँध्यारो हटाउन खर्च गर्नुपर्नेमा आफ्नै स्वार्थको दुनो सोझ्याउने र भोगविलासमा आकण्ठ डुब्ने काम गरे । आन्दोलनबाट प्राप्त थोरै उज्यालो पनि आफ्नै महल र मुहार रङ्गाउन खर्च गरे । कन्चो, काञ्चन, कामिनीप्रति लम्पट बने ।

नायकहरूका त्यागी, सुन्दर र सौम्य अनुहार हेर्दाहेर्दै विरूप, कुरूप र भ्रष्ट देखिए । जनताको चिर सपना सपनामा नै सीमित रह्यो । यथार्थमा बिपना भई खुलेन त्यो सपना । सहिदहरूका रगतको घोर अपमान गरियो । नेता र पार्टीहरू त्याग र बलिदानको व्याज खाने सुद्खोरमा रूपान्तरण भए । यस्तो किन भयो भन्दा उनीहरूभित्र सामन्ती स्वार्थकै काँचो वायु जीवित थियो । असलमा उनीहरूको आन्तरिक जगत् पदपैसा र भोगलिप्सा प्रति नै व्याकुल थियो । सेवा र त्याग त उनीहरूका देखाउने दाँत मात्र थिए । समता र न्याय त उनीहरूको बोल्ने कुरा मात्र थियो, गर्ने कुरा थिएन ।

नेतृत्व गण भित्री मन, विचार, भाव संवेग र आत्माको तहमा शुद्धिकृत थिएन । जिब्रोका टुप्पामा साम्यवाद थियो, प्रजातन्त्र थियो तर हृदयकाे गुदीमा सामन्तवाद र न्यस्त स्वार्थको पहाड थियो । रूपमा समता र सम्यकत्व देखिए पनि सारमा अभिजात्य भोगवादमा उक्लिने हुटहुटी र औडाह थियो । बाहिर निरहङ्कारको कुरा कथुरे पनि भित्र अहङ्कारको ज्वाला दन्किरहेको थियो । रागद्वेषको पहाड अविचल खडा थियो । त्यसैले सात सुत निलिदियो परिवर्तनका सपनाहरूलाई ।

त्यसकारण अबको नायक भित्री क्रान्ति सम्पन्न भएको नायक हुनुपर्छ । लोभ, स्वार्थ र प्रपञ्चलाई भित्रबाट समूल नष्ट गरिसकेको नायक हुनुपर्छ, अनि मात्र क्रान्तिको सपना फलिभुत हुनसक्छ । यही स्वरलाई काव्यले प्रमुख रूपमा मुखरित गरेको छ । भित्र घटित हुने आत्मिक तलको क्रान्ति र बाहिरी क्रान्तिको वीच तालमेल हुनुपर्छ । भित्र कल्मष स्वार्थको कालो दाग बोक्ने नेताले जनतालाई न शान्ति दिन सके न, समृद्धि दिन सके । उल्टो जनताले बगाएको रगत पसिना सत्ताको सौदाबाजी गर्ने साधन बन्यो; यस कुरूप यथार्थलाई  कठोरताका साथ चित्रण गरेको छ काव्यले।

बुद्धको अथक मिहेनत पछिको खोज र साधनाले उनीभित्र सम्यकत्व घटित भएको थियो । उनको आत्माको तलमा साम्यवाद घटित भएको थियो । हर प्रकारका होची अर्गेली, भेदभाव, र रागद्वेषका रङहरूले बिदा लिएका थिए । र उनले मनुष्य जातिलाई सुख शान्ति र आनन्दमा लैजान प्रत्येकभित्र अखण्ड चेतनाको दियो बाल्नुपर्ने; आत्मिक क्रान्ति हुनुपर्ने कुरालाई जोड दिए । मान्छेलाई असली रूपमा साम्यवादी बनाउने साधनासूत्र र विधिहरू दिए । त्यो बुद्धचित्त धारण गर्नलाई काव्यको अन्तर्यमा कवि बोलिरहेका छन् ।आजको दुनियाँमा संसारले स्वीकार गरेको तथ्य हो; विना बुध्दचित्त, विना बुद्ध विचार समाजमा शान्ति, आनन्द र सम्यकत्व सम्भव छैन ।  व्यक्तिका मन भित्रका तमाम रुग्णतालाई, विक्षिप्ततालाई, विद्रुपता र विग्रहलाई, विभेद र विध्वंसलाई साम्यतामा ल्याउने, उपाय भनेको प्रत्येक मनुष्यभित्रको चेतन दियो सल्किनुपर्छ, त्यो बोधीज्ञानयुक्त चेतनादियोबाट मात्र संसारको अँध्यारो हटाउन सकिने सत्यलाई काव्यले उम्दासित गरेको छ।

बुद्धलाई नायक बनाएर कविले प्रगतिवादी शिविरभित्र ठूलो जोखिम मोलेका छन् । जडबेलामा रमेका यथास्थितिवादी कम्युनिस्टले कविले ठम्याएको बाटोलाई के भन्छन् ? त्यो एक गम्भीर प्रश्न हो । करुणावान् कम्युनिस्टले सजिलै स्वीकार गर्लान् तर हर व्यक्ति वस्तु र विचारलाई पूर्वाग्रह र पदार्थको आँखाले मात्र हेर्नेहरूले कविमाथि अनावश्यक आक्षेप नलगाउलान् भन्न सकिन्न । तर पनि आत्मिक क्रान्ति सहितको परिवर्तन मात्र चिरस्थायी र सुखदायी हुनसक्छ भन्ने तथ्यलाई काव्यले मुटुमा बोकेको छ।

इतिहास प्रसिद्ध आख्यानलाई समातेर आफ्नो प्रचुर कल्पना तत्त्वलाई पनि ठाउँठाउँ प्रविष्टि गराउँदै यति शक्तिशाली काव्य दिन सक्नु चानचुने कुरा होइन । छन्दोभङ्ग नगरीकन शास्त्रीय छन्दमा सुललित विचारभाव र कलाले परिवर्तनको स्वरलाई ध्वनित गर्नु कवि पंज्ञानीको आफ्नै वैशिष्ट्य हो । कविबाट आम पाठकले यस खालका अरू खण्डकाव्य महाकाव्यको याचना गर्नु मनासिब छ ।

काव्यमा डुब्ने, लहरिने र तरङ्गित हुने कविको काव्य चेतनालाई थोरै भए पनि बोधिज्ञान र बोधिचेतनाले स्पर्श गरिरहोस् शुभकामना ।