के म नेपाली हैन र ?
नेपाली सुवास छैन र ?
नशा नशामा बगेको
सुरो रगत यो हैन र ?

नेपाली माटो मुटु हो
अमृत यहाँको पानी हो
पोषिलो पानी पिएको
इस्पाती यो ज्यान छैन र?

पुर्ख्यौली प्यारो स्वाभिमान
जतनले राख्छु छातीमा
पौरखी हातले आर्जेको
खुराक मेरो हैन र?

गुनीका लागि गुनी छु
गर्दनै दिन मन्जुर छु
खुनीको लागि खुनी हुँ
छिनाल्ने बुता के छैन र ?

संस्कृति नानी आँखाको
मुटु नेपाली माटाको
नियाल रगत दर्पणमा
नेपाली छाप छैन र?

पैताला घोच्ने काँडो छ
तैपनि शिर ठाडो छ
झुक्ला पहाड म झुक्दिनँ
वैरीलाई थाहा छैन र ?

सन्धिखर्क