पञ्च भेलाजस्तै
प्रधान पञ्चका जस्तै
अन्चलाधीशको निवासको भतेरजस्तै
तिम्रा पार्टीका अधिवेशनहरू
मुख्यमन्त्रीका भाषणहरू
तिम्रा डिनर पार्टीहरू
खोज्दछु फरक
तर भेट्दिनँ
हेर्दछु कोण फेरेर
दृष्य उस्तै छ
सुन्दछु ठाउँ फेरेर
स्वर उस्तै सुन्छु
अधिराजकुमार
र शाहज्यादा
बनेका नेताका हितकारी
राजकुमार बनेका
नातेदार
अनि
युवराज बनेका
पुत्ररत्नहरू
ठ्याक्कै उस्तै
जस्तो हिजो महाराजाका थिए
विचार त्यस्तै
जस्तो गद्दीमा बसेका
महाराजाहरूको थियो
युवराजहरूको थियो
अधिराज र शाहज्यादाको थियो
व्यवहार उस्तै
ठ्याक्कै
महाराजा, अधिराज र शाहज्यादाहरूको
नमिता र सुमिताजस्तै
निर्मला हत्याकाण्ड
गलैंचा काण्डजस्तै
रक्त चन्दन काण्ड
पिस्कर र छिन्ताङजस्तै
रुकुम जाजरकोट काण्ड
पदम ठकुराठीको गोलीको दाग
भूपतीन्द्र मल्लको शालिक
देशमा भित्रिएको स्म्याक
सर्पको छालाको कथा
एक अरबको कथा
अनि भरत गुरुङको
बाथरुमका सुनका कथाहरू
डेट एक्सपायर्ड भैसक्यो
सुनाउनका लागि
किनकि
अरु फ्रेश
कथाहरू
बनिरहेका छ्न्
आजभोलि दिनदिनै
प्रत्यक्ष देखेको
भोगेको पुस्ता त
अलमलमा छ
आज
इतिहासको पानामा
फरक छुट्याउन
नसकेर
तिम्रा कुकृत्यहरू मात्र
देखेको नयाँ पुस्ता
कसरी विश्वास गरोस्
तिमीहरूलाई ?
यसरी नै
तिमीहरू महाराजा
तिम्रा हितकारी अधिराज र शाहज्यादा
तिम्रा पुत्ररत्नहरू युवराज
अनि अर्धाङ्गिनीहरू
बडामहारानी बनिरहने हो
भने अब
भूत जगाउने
धामीको राज चल्छ यहाँ
मसान उठाउने
मसानेको हैकम चल्छ यहाँ ।
पोखरा ७ मासबार,
कास्की ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










