
एउटा साँगुरो गल्लीमा
सिङ्गो आकाश ओढेर
रापिलो हाँडीभित्र
मकै भुटिरहेकी छ
ठूलीकान्छी
मकैसँगै हाँडीभित्र
व्यथाहरू भुटिरहेकी छ
छटपटी रहेका छन्
मकैका फूलहरू
ठूली कान्छीका
पीडाहरू जस्तै
चिरा परेका भाग्यका कप्टेराहरूले
सहलाउँदै सपनाहरू भुट्छे
उछिट्टिएका मकैका फुल जस्तै
रहरलाग्दा बैँसहरू टिपेर
हाँडीभित्र सेकाउँछे
कलेँटी परेको ओंठमा
मन्द मुस्कान छर्दै
सडकहरूमा सपनाहरू बुन्छे
मैलो मजेत्रोले
निधारमा टलक्क टल्केका
पसिनाका आभाहरू पुस्छे
मकैका फुल जस्तै गुम्सिएका
आफ्ना जम्मै रहरहरूलाई
नाङ्लोमा फिँजाएर
नुन छर्कन्छे ।
°°
हेटौंडा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
