
विष्णु पादुका
आमा
निम्ठो गरी चामल भर्थिन्
बेलुका झम्के साँझमा
पिँढीको छेउमा ।
निमेक थाप्ने पोल्टाहरु
पसरी र मुठी थपिने
अपेक्षा राख्थे,
कति खुसीमा थिए खेतालाहरु ।
आज ढकढकाएर जोखिन्छ
पसिनाको मोल,
र पनि
हिजोको भोको एउटा पेटको भन्दा
आज अघाएका दुई पेटको पीडा
ठूलो लाग्छ ।
थाकेर सुतेका सपनाहरू मिठा थिए
सुतेर थाकेका आजका जाँगरहरु
रुखका ऎँजेरु भएका छन् ।
शरीरमा घाउ भएका छन् ।
मन भरी दुख्ने पिला भएका छन् ।
“हावा नचली पात हल्लिन्न ”
सुनाइयो हिजो,
पात आफैँ झर्ने रहेछ ।
बेलापुगेपछि पहेँलिएर ।
गाँठो फुस्किएपछि
विश्वासको खोकिलो
खाली-खाली हुनेरहेछ ।
आफ्नो घाउजस्तो
अरुको दुखाई कहिले पो
थाहा पाइएला र !
त्यसैले त मान्छे
रुँदोरहेछ ।
आमा !!
कोहलपुर -४, बाँके



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१४ असार २०८३, आईतवार 










