विष्णु पादुका

आमा
निम्ठो गरी चामल भर्थिन्
बेलुका झम्के साँझमा
पिँढीको छेउमा ।

निमेक थाप्ने पोल्टाहरु
पसरी र मुठी थपिने
अपेक्षा राख्थे,
कति खुसीमा थिए खेतालाहरु ।

आज ढकढकाएर जोखिन्छ
पसिनाको मोल,
र पनि
हिजोको भोको एउटा पेटको भन्दा
आज अघाएका दुई पेटको पीडा
ठूलो लाग्छ ।

थाकेर सुतेका सपनाहरू मिठा थिए
सुतेर थाकेका आजका जाँगरहरु

रुखका ऎँजेरु भएका छन् ।
शरीरमा घाउ भएका छन् ।
मन भरी दुख्ने पिला भएका छन् ।

“हावा नचली पात हल्लिन्न ”
सुनाइयो हिजो,
पात आफैँ झर्ने रहेछ ।
बेलापुगेपछि पहेँलिएर ।
गाँठो फुस्किएपछि
विश्वासको खोकिलो
खाली-खाली हुनेरहेछ ।

आफ्नो घाउजस्तो
अरुको दुखाई कहिले पो
थाहा पाइएला र !
त्यसैले त मान्छे
रुँदोरहेछ ।
आमा !!

कोहलपुर -४, बाँके