अराजकताको जङ्गलमा रहेर पनि आनन्दको खोजी हुनु अप्रासङ्गिक मानिन सक्छ । केही छैन । यस्तो लाग्छ अराजक हुन पाउनु पनि एउटा आनन्द हो । म आनन्दको पार्सल गरेर कसैलाई भेटी चढाउन त सक्दिनँ । एउटा वृत्त जहाँ आनन्द नभेटियोस्, यो असम्भव छ । मरुभूमिको बालुवामा पनि आनन्द लिन सकिन्छ । हिमालको चुचुरामा आनन्द लिन सकिन्छ । धुवाँ धुलाको प्रदूषणमा आनन्द लिन सकिन्छ । मसानघाट ,एकान्त जङ्गल , बन्द कोठा, जेल, विपदा, बाढी पहिरो यत्रतत्र भेटिन्छ आनन्द । रुवाबासी भएर मृत्यु उत्सव मनाइएको घरमा पनि आनन्द खोज्न सकिन्छ । यसरी भनी रहँदा सुन्ने या पढ्नेहरूलाई लाग्न सक्छ यो खुस्किसक्यो, बौलाइसक्यो तर त्यसो होइन । हो के त ?

आउनुहोस् आनन्दका आयामबारे एकछिन आन्दोलित होऔँ ।

विचार गरौँ, आनन्द के हो ? यो कुनै दर्शन होइन, अलौकिक पनि होइन । जति हामी सोच्छौँ नि त्यति गहन पनि होइन । हामी जहाँ र जस्तो वातावरणमा हुन्छौँ त्यही घुलिन्छौँ, त्यहीँको बाढीमा बग्छौँ । मानौँ त्यही नै अन्तिम सागर हो जहाँ हामी हेलिन्छौँ । कुनै चलचित्र हेरेर कोही रोएजस्तो । कसैको कलाकारिताको उच्च सम्मान हो त्यो आँसु अरू केही हो र ? तटस्थ भएर सोचौँ त । हो यही तटस्थतालाई हामीले आत्मसात् गर्‍यौँ भने हामी जताततै आनन्द देख्छौँ । जब म सबै रोएर मृत्युउत्सव चलेको घरमा पुग्छु, बितेर जाने मृतात्माप्रति अलिकति सहानुभूति लाग्छ कि उसका केही रहर पूरा हुन सकेनन् । अपेक्षा धेरै थिए केही अधुरा रहे । सबै रोएको देखेर म आफू बग्न सक्दिनँ । बरु सकिन्छ भने उसका अन्तश्चाहना के थिए ती बुझेर पूरा गरिदिऔँ सम्भव भएदेखि । ऊ अघि हिँड्यो हामी पछि लाग्नु नै छ त लाइनमा उभिएर किन रुनु । देखावटी सहानुभूति र श्रद्धाञ्जलि त बाँचेका बाँकी रहेका महानुभावको मन बहलाउनसम्म होइन र ? एउटा लाइन हो कहिल्यै नटुङ्गिने हामी पालो कुर्दै छौँ; ऊ गयो, बिस्तारै हाम्रो पालो आउँछ खुसी होऔँ, आनन्द लिऔँ, मृत्युउत्सव मनाऔँ । यो क्रम चलिरहेको छैन र ??

विष्णु पादुका

मैले कतिपटक भोकसँग आनन्द लिएको छु । ऊसँग खुसी खुसी पौँठेजोरी नखेल्दो हुँ त म खानाको प्राप्तिस्थलसम्म कसरी पुग्दो हुँ ? स्थानविशेष समयविशेष आनन्दका प्रकार भिन्न हुँदा हुन् तर आनन्दको अनुभूति एउटै होइन र ?

मरुभूमिमा एक्लै तातो बालुवामा खाली खुट्टा मध्यान्हको चर्को घाम । यो म भन्दिनँ कि कल्पना गर्नुहोस् । आनन्द कल्पना होइन, आनन्द कला हो; जीवन जीउने कला । पुग्न सकिन्छ यसरी नै यस्तै अवस्थामा जहाँ पनि हामी आनन्दित हुन सक्छौँ । हाम्रो उपस्तिथि जहाँ छ , किन छ ? कसरी छ ? त्यो प्रमुख कुरा हो ।

आजको समाज अभावमा भन्दा पर्याप्तिमा बेखुसी छ । नभएको कुराको अपेक्षा राख्छ, भएको कुरालाई चटक्क भुल्छ अनि आनन्दको खोजीमा मन्दिर, मस्जिद, गुम्बा, तान्त्रिक र मातासम्म पुग्छ । भोलि के हुन्छ उसलाई आजै जान्ने रहर हुन्छ । अनि झन् आनन्दको सट्टा आशा, अपेक्षा आदिको तनाव बोकेर फर्कन्छ । एउटा जीवन जुन अवस्थामा छ त्यसैमा आनन्द लिनु ठूलो आनन्द हो । अस्पतालको शय्यामा दुखाइसँग रहँदा पनि कम्तीमा म बाँचेको छु भनेर आनन्द लिनुभयो रे भरत आचार्य दाजुले । कति आनन्द लिनु भएछ दुखाइसँग । सलाम गर्छु उहाँलाई ।

हामी एक्लो हुँदा पिरिन्छौँ । एक्लै हो जीवन, मेरो भनिएको शरीरलाई म वशमा राख्न सक्दिनँ भन्ने सत्य बिर्सेर हामी एक्लोपनमा  दुःखित हुन्छौँ । एक्लोपनको स्वतन्त्रता, मनोमानी मनोराज्य सञ्चालन भएका यावत् कुरा बिर्सन्छौँ । एकमा युगल होस् त कति कुराको तिलाञ्जलि दिनुपर्छ । अझ तीनचार होस् त कति कुराको तनाव होला अनि किन हामी एक्लोपनमा आनन्दित नहुने ? छैन त एक्लो हुनुमा आनन्द ?

हामी घरपरिवार छरछिमेक सबैबाट आफू पीडित भएको देख्छौँ, साथ सहयोग सबै भुलेर । एक्लो हुँदाका पीडा र आफ्नो वृत्तबाट आफूलाई लागेको पीडा तुलना गरौँ । तटस्थ भएर हेरौँ, आफूलाई भित्रदेखि हेरौँ आफ्नो स्थान अनि आफैँ मुस्कुराउनुहुनेछ आनन्दित भएर । आनन्द हामीसँग नै छ, यो वस्तु त होइन ।

मान्छे जति नै प्रगतिशील देखियोस्, आर्थिक उन्नतिको चरम चुलीमा पुगोस् उसको अन्तिम लक्ष्य आनन्द हुन्छ । हो मान्छे यहीँनेर चुकेको हुन्छ । उसले लक्ष्य त राख्यो, गन्तव्य त तोक्यो, सपना त देख्यो तर कति सपनाहरू ब्युँझनुपूर्व नै मेटिइसकेका हुन्छन् । लक्ष्य र गन्तव्य त देख्यो तर आफैँ आएको बाटो साँघुरिएर मिटर र सेन्टिमिटरको वृत्तमा आएर साँघुरियो । एक पाइला चाल्दा नै हामी खुसीसाथ चालौँ र यात्रामा आउने उकालीओरालीमा पर्याप्त आनन्द लिँदै हिडौँ । जीवनगोरेटो अवश्य सहज हुन्छ ।

आनन्दको यो विज्ञान हामीले सिक्न पाएनौँ, जानेनौँ, केही छैन । आउँदा पिँढीलाई त कम्तीमा हामी दिशानिर्देश गर्न सक्छौँ । “स्मार्ट रिडिङ्ग” को अवधारणा उसै आएको होइन । आफूमा भएको रुचि र क्षमतालाई पहिचान गर्दै आवश्यक वातावरण सिर्जना गरी आनन्दसँग सिक्ने अवस्था सिर्जना गर्न कुनै ठूलो लगानी गर्नै पर्दैन ।

हिजाको कुण्ठा र आजको चिन्ताले भोलिसमेत बरबाद पार्दै छौँ हामी । भोलि कसैले देखेको छैन । हरेकले आफ्नो युग र याम बाँच्ने हो भन्ने सत्यानन्दको चेत बेलैमा घैँटामा पस्यो भने कुनै विद्यार्थीले कम नम्बर आएकामा मेटासी खाने छैन । यसै प्रकारले उमेरअनुसार अनुशासन र यौनका बारेमा सुसूचित गराइदिन सके न त उत्ताउलो उमेरमा प्रेमविवाहको जोस आउँछ न त त्यसपछि हुने पश्चात्ताप नै । न त समाजमा हत्या हिंसा नै हुनेछन्  ।

आजका मानिस मायाँ प्रेमकै कारण दुःखी छन् जति अन्य गरिबी, बेरोजगारी जस्ता कारणले छैनन् । हरेक कुरालाई मानसिक छापले निर्देशन गर्छ । बोक्सी छैनन् भन्नेजस्तो सरल कुरा बुझाउन कत्ति कठिन भएको छ अझै । लेखपढ गरेका दिदीबहिनी र दाजुभाइ पनि अझै धामीझाँक्रीको शरणमा गएको देखिन्छ । यस्तो लाग्छ कि पढ्नुमात्रै पनि जीवनको सफलता होइन रहेछ । सम्पन्नता मात्रै पनि जीवनको हुनुपर्ने प्राप्ति रहेनछ । आफूलाई ढाल्नु र युगसापेक्ष ” अपडेट” हुनुमात्रै पनि ठूलो कुरा होइन रहेछ । सब कुराको अन्तिम लक्ष्य आनन्द होइन र ? जीवनभरिको सुखानुभूति भन्नु आनन्दबाहेक अरू के होला ?

कुनै सजायको भागी हुँदासमेत आफूले जाने नजानेर गरिएको गल्तीको प्रायश्चित्तको रूपमा लिन सके त्यहाँ पनि आनन्द लिन सकिन्छ । त्यसैले आनन्दका लागि आनन्दित होऔँ जहाँ जस्तो स्थान या परिस्थितिमा छौँ । यसले हाम्रो जीवनमा अझै अघि बढ्न थप ऊर्जा र हौसला मिल्नेछ त्यो पनि आफैँभित्रबाट ।

अस्तु !