ओ! खुशी देखिएका सारा ओठहरू
तिमीले हाम्रा भव्य उदासीहरू गुमाएका छौ

तिमीलाई हाँस्न थकाई लागेपछि
हाँसोका केही थिग्र्यानहरू
हाम्रो कटेरामा ल्याएर छाडिदिनू
र लिएर जानु एक अंश
हाम्रा सर्वकालीक उदासीहरू

हेर्नु, को बढी बाँचिरहेको रहेछ जीवन?
को बढी छोइने भएको रहेछ आत्मैबाट?

म आकाशमा उकालो बाटो बनाएर हिँडेँ
समुद्रमा ओरालै ओरालो झरेँ
तिमी सूर्यलाई पछ्याएर समथर हिँडिरह्यौ र गुमायौ
हाम्रा जस्ता जून, जुनेली, जूनकिरी र ताराहरू
गहिराई, उचाई र हावाका धारिला आराहरू

हुनसक्छ अझै सुन्दर, आफूले नबाँचेको जीवन पनि
फोक्सोलाई धड्कन दिएर हेरौँ
हेरौँ मुटुलाई हावा छान्न दिएर

तमाम उल्टा प्रतिबिम्बलाई सुल्टा आँखाहरूले हेर त
देख्नेछौ जोगी बनेर शहर छाडिरहेको सम्राटलाई
देख्नेछौ देवताहरू मान्छेका गर्भबाट जन्मिरहेका

यही माटोले जन्माएको हो- सारा हाँसो र दु:ख
यही घामले जन्माएको हो- प्रेम र क्रोध
यही पानीले जन्माएको हो- काम र लज्जा
यही हावाले जन्माएको हो- लोभ र नशा
यही आकाशले जन्माएको हो- अहं र माफी
हेरौँ
यी के के भाग लगाई दिए, जीवन र मृत्युले हाम्रो भागमा
शायद एउटा बिजुली सल्काउन सकिन्छ
तिमीले र मैंले बाँचेका समयहरूलाई रगडेर

मान्छेहरू माछा हुन्
जो समुन्द्रको किनार भेट्न सक्दैनन्
मान्छेहरू कमिला हुन्
जो धर्तीको दुरी छिचोल्न सक्दैनन्
तर जो स्वर्ग र नर्कको खोजीमा मरिरहेछन्
आऊ सुनाऔँ हामी मान्छेका ती पैतालाका अनुभुतिहरू

हामी महमा औँला चोपे झैँ
शायद चाटिरहेछौँ विष र अमृतको कक्टेल रेसिपी
तिमीले गुमाएका छौ मेरो जिब्रोको स्वाद

आऊ मेरा केही कविताहरू चाख
गुमाएका छौ तिमीले
मेरा कथाका केही आँशुका स्वादहरूलाई पनि
र मेरो कचौरामा छाडिदिनू
तिम्रा महाकाव्यका आस्वादहरू

के साँच्चै पानी पत्थरभन्दा हल्का छ?

आऊ साटफेर गरौँ
हामाले टेकिरहेका तराजुका फरक पल्लाहरू

आऊ साटफेर गरौँ
सुदामा र जराथुस्त्रका आँखाहरू ।

शंखादेवी