हिजो नै त हो
तिमीले हडपेको, मेरो भूगोलमा
मैले छरिदिएको आगोको केही बीऊहरू

मेरो छातीभित्र
वर्षौंदेखि हुर्किएको अग्निवृक्षलाई
इन्कार गरे, जब तिम्रो मोतिबिन्दुले ग्रसित
आँखाहश्रले हेर्न
मेरो घामजत्तिकै छर्लङ्ग
पहिचानलाई, इन्कार गर्यो
जब तिम्रो
मक्किएको मस्तिष्कले स्वीकार्न
त्यसै क्षण हो
मैले खुलेआम
तिम्रो फोहरी सोचमा
बारुदका केही छर्रा
छर्किदिने निर्णय गरेको

तिमीलाई सम्झना छ कि बिर्सियौ?
कोलेस्ट्रोलले साँघुऱ्याएको
धमनीभन्दा साँघुरो सोचले ग्रसित भएर
खोसेर मेरो शिरको सेतो फेटा
मेरो पहिचानको सगरमाथा
थोपरेको तिमीले मेरो शिरमा
तिम्रो ढाका टोपी
मेरो संस्कृतिलाई
फोहरजत्तिकै घृणा गरेर
मेरो हाक्पारे र पालामलाई उजाडेर
तिम्रो देउसी मौलाएको

तीतो स्मृतिको तिक्तता बोकेर
आफ्नै ठाउँको बिरानो परदेशी भएर
आज म
मेरो पुर्खाको चिहानमा ठडिएको
तिम्रो महललाई
घेराबन्दीमा पार्दैछु
होस गर है!
पीडामा चेत हराएको म,
मेरो पहिचानको बञ्चरोले
तिम्रो घरको मूलखाँबो ताक्दैछु

तिमीलाई थाहा छ, सदियौँदेखि
तिम्रो दम्भको माटोमुनि पुरिएको
मेरो अस्तित्व
घना वृक्ष भएर
तिम्रो कानूनका बुटालाई
सेप दिन खडा हुँदैछ !
त्यसैले त हिजोआज
काठ पसिसकेको
कठोर ह्रदय लिएर तिमी
मेरो चिहान खन्दैछौ
मेरो पहिचानको आगोमा
तिम्रो दमनको पानी खन्याउँदै छौ
क्रान्तिले रनक्क रन्किएको
मेरो छातीमा
तिम्रो चिसो बन्दूक
तेर्स्याउँदै छौ ।

(विश्व आदिवासी दिवस प्रत्येक वर्ष अगस्त महिनाको ९ तारिखमा मनाइन्छ । संयुक्त राष्ट्र सङ्घले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रूपमा घोषित गरेपछि,सोही वर्षदेखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो ।)