एउटा मान्छे शहर पसेको थियो
सुकिला भीडहरूबीच
एउटा भिन्न मान्छे
निधारमा उसको स्पष्ट बगेको थियो
कल कल मेची कोशी महाकालीहरू
चिम्सो आँखाभरि जमेको थियो
रारा फेवा शे फोकसुन्डोहरू
थेप्चो नाकले देशको गहिराई र
शिरको टोपीले देशको उचाई
मापन गरिरहेको एउटा आदिम मान्छे
अल्मलिरहेको थियो शहरको भीडहरूमा।।

एउटा मान्छे शहर पसेको थियो
गोरा छालाका भीडहरूबीच
एउटा भिन्न मान्छे
छालामा उसको स्पष्ट खेलेको थियो
मध्याह्नको घामले उज्यालो खेल
हातहरूमा उसको रमाएका थिए
तराई‑मधेश, चुरे, पहाड, र हिमालहरू
चरचरी फुटेका उसको कुर्कुचाले टेकेर
हिँडेको थियो देशले बाटो विकासको
शरीरबाट आइरहेको थियो सुगन्ध माटोको
जुन माटोमा टेकेर उभेको थियो
सिङ्गै देश
उसको रङले दर्शाउँदै थियो
देशको इतिहास
उसको रुपले झल्काउँदै थियो
देशको भूगोल
एउटा आदिम मान्छे
कहिल्यै पसेको थिएन शहर
बरु शहर पसेको थियो
आदिम मान्छेको गाउँ
अनि भत्काएको थियो
फुसको उसको घर
बनाएको थियो उसलाई बेघर
आज अल्मलिरहेछ एउटा आदिम मान्छे
आफ्नै अपरिचित गाउँमा।

(अन्तर्राष्ट्रिय आदिवासी दिवस विशेष कविता)

 

पशुपतिनगर, इलाम