जब तपाई सरकार हुनुभयो

तब, सङ्गत गर्न नसक्ने भएँ म

तपाईलाई देख्दा आफूजस्तै ठान्थेँ
आफ्ना व्यथाहरू बोकेको मान्थेँ

पीडाको पेटारो बोकेर बस्ती बस्ती चाहर्दा तपाईले

आफैँ पुगेको जस्तो लाग्दथ्यो मलाई

तर, जब तपाई सरकार हुनुभयो

पीडाको पेटारो बोकेर

तपाईलाई भेट्न नसक्ने भएँ म

हिजोसम्म जुन पीडाले बिझ्दथ्यो

आज, त्यो देख्दा भाग्ने भइसक्नुभएछ तपाई

जब तपाई सरकार हुनुभयो

तब, तपाईको सङ्गत बदलियो

सहकर्मी बदलिए, शुभेच्छुकहरू बदलिए

उठबस बदलियो, अर्थात समग्रमा सोंच बदलियो

म चाहन्थेँ सरकार सबैको होस्

कसैका लागि अघाउञ्जेल

र कसैका लागि अभाव नहोस्

न्याय नपाएकाहरूले

तपाईको दैलो अघिल्तिर

झुक्दै बिन्ती गर्न नपरोस्

समस्या सुनाउँदा डराउन नपरोस्

बरु समस्या सुनाउँदा समाधान दिन सक्नुहोस्

जब तपाई सरकार हुनुभयो

तपाई खादा र मालामा लुक्न थाल्नुभयो

दलालका अघिल्तिर झुक्न थाल्नुभयो

सरकार बनेपछि किन तपाईको सरोकार बदलियो ?

संस्कार बदलियो ?

पदले बढेको तपाईको कद देखेर

कोही डराओस् भन्ने चाहना छ भने त्यो छोडिदिनुस्

डरले कोही आफ्नो बन्दैन

स्वार्थ लिनेले आफन्त पराइ भन्दैन

तपाई मेरो सरकार बन्न नसक्नुहोस् फरक पर्दैन

तर कृपा गरेर जनताको बन्नुस्

श्रम गर्नेहरूको बन्नुस्

झुपडीको बन्नुस्

देखिने र सुनिने सरकार बन्नुस्

बोल्न नसक्नेहरूको बन्नुस्, हिँड्न नसक्नेहरूको बन्नुस्
देख्न नसक्नेहरूको बन्नुस्
तपाई भेट्न नसकिने, सुनाउन नसकिने सरकार नबन्नुस् ।