सिलौटो हुँ लोहोराको
साथ चाहिन्छ
बसी-बसी मिठो-मिठो
खान पाइन्छ

म पनि त बस्छु आखिर
भान्छा आडमा
लोहोरो चाहिँ बस्दछ
मेरो ढाडमा

पिन्ने काम लोहोरालाई
जिम्मा लगाउँछिन्
बज्यै मलाई अदुवा र
लसुन चखाउँछिन्

लसलस मैमाथि
गर्छ लोहोरो
कैले अघि कैले पछि
हिँड्छ दोहोरो

थर्कटीमा बसेर
भान्छे बज्यैले
जिरा अनि धनिया
पिन्छिन् मजैले

लोहोरो कहाँ दौडन्थ्यो ?
गुड्थ्यो केमाथि ?
सिलौटो म नभए
हुन्थ्यो को साथी ?

मध्यनेपाल नगरपालिका-६
भोर्लेटार, लमजुङ