
१.
एउटा कुरूप रूखको अस्थिपञ्जर
नियतिको चिसो हिउँ बोकेर
लामो शितनिद्रामा निष्प्राणतुल्य भई
तिम्रो निवासको आँगनमा
तिम्रो पुनरागमनको पालुवा-पहिरनसँगै
प्राण सञ्चालन हुने दृढविश्वासमा
ठिङ्ग उभिएका छौँ—
प्रिय वसन्त !
२.
तिम्रा चक्षुहरूमा हेरेपछि मलाई ज्ञात भएको हो—
निख्खर सेतो
निख्खर कालो
बस् यी दुई रङमा पनि हुने रहेछ
सुन्दरताको पूर्णता
तिम्रा चक्षुहरूमा पढेपछि मलाई सक्छु लागेको हो—
बिना सर्त
बिना स्वार्थ
सरितासरि सातत्य
सित्तर सीत्कार सुखानुभूतिको
सूतककालदेखि सेखान्तरसम्मको सैरमा
सोल्लासमय सौगातले संस्पर्श गरी सःकिन
सुलक्षणले सुसोभित ओ सुषमा सुकन्या–
जन्मदिनको सुदीर्घ शुभकामना
३.
यो ‘हामी’ भन्ने भावको अधिकांश अंश तिमी हौ
म त केवल पूरक हुँ
यदि हामी रातको आकाश हुन्थ्यौँ भने तिमी आकाश हौ, म चन्द्रमा हुँ
थोरै दाग भएको ठूलो चन्द्रमा हैन कि दागै दागमा थोरै चन्द्रमा हुँ
र मेरो उज्यालो पनि तिमी छौ — र मात्र भएको हो
अनि त्यहीँ उज्यालो छर्न पनि लगभग तीस रातमा एक रात मात्रै पूर्णे आउँछ
तिमी कहिलेकाहीँ ताराहरूको कुरा गर्छौ —
कति सुन्दरताका साथ चम्किरहेका छन् ती
अनि म ?
म त अल्से हुँ, भुँडे हु, मोट्टे हुँ, अट्टेरी पनि हुँ, गोज्याङ्ग्रे पनि हुँ
अरू अरू पनि हुँ जे जे तिमी भन्छौ —
कहिले प्रेमले
कहिले आक्रोशले
कहिले वैरागले
तर म जे जे हुँ, तिम्रै त हुँ—
मेरो जो जति छ तिमी नै त हौ—
तिम्रै मोट्टे हुँ, तिम्रै भुँडे हुँ, तिम्रै गोज्याङ्ग्रे हुँ
तिमीले अरूहरू छोडेर मलाई रोजेकी हौ
तिमीले ताराहरू छोडेर मलाई रोजेकी हौ
म तारा जस्तै टाढा छैन
सधैँ तिम्रै वरपर छु
र सधैँ रहिरहने छु—
यही प्रेम, यही विनम्रता र यही कृतज्ञताको साथ
अध्याँरोमा छायाँले पनि साथ छोड्छ भन्छन् — म सहमत छैन
नदेखिनुको अर्थ नहुनु हुँदैन
म नहुँदा पनि छु
म नदेखिँदा पनि छु
म छु, तिम्रै वरिपरि ।
हलेसी, खोटाङ
हालः बेलायत



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

