सागरभन्दा गहिरो, सगरभन्दा अग्लो
आकाशभर तरङ्गित हुने
के होला त्यो जहाँ पनि पलभरमा पुग्न सक्ने

कहिले सानो हुने, कहिले ठुलो हुने
कहिले खुम्चिने, कहिले तन्किने
कहिले नौनी जस्तै कोमल हुने
कहिले पत्थर जस्तो कठोर हुने
कहिले हिउँजस्तै चिसो हुने वा
आगोजस्तै तातो हुने र भत्भती पोल्ने

खिन्न हुन्छ, चस्कन्छ त्यो कुनै बेला काँडा बिझेजस्तो
जब कसैले खिसी टिउरी गरी व्यङ्ग्यबाँण हान्छ
कुनै बेला त्यो कैद हुन्छ बन्द तालाजस्तो
जब त्यो बन्धनमुक्त हुन्छ, स्वच्छन्द कावा खान्छ
किन बहकिन्छ त्यो आकाशमा कावा खाँदै तल माथि
किन निराश हुन्छ त्यो असम्भव प्राप्तिको निम्ति
मन न हो, त्यो जसो पनि हुन सक्छ ।