बर्षातमा रुझेपछि बतासमा
बादलले बोकी ल्याएका गीतहरू पोखिन्छन्
सरिदिन्छन्
हतारोमा खुट्टाबाट छुट्नै नमानेको चप्पलजस्तै
अल्झिएर अलि वरसम्म
पानीका अवयवहरू
बीच बाटोमै अल्मल्लिएका बादलहरू
बलशाली हुरीको वेगसँगै ठोक्किएर
रुमानी धुन निकाल्दै
बज्रिरहन्छन् मान्छेका मानसपटलमा
युद्ध थामिएपछि पनि
एकतमास घचेटिरहन्छन्
बादलका फोक्टाहरूलाई
आमाको साडीको फेरलाई
नानीहरूको ढिपीले घचेटिरहेझैँ
सुदूर गन्तव्यतिर
यताउता दगुरिरहेका बादलहरू
एकअर्कोमा जुधेपछि
कोही चिच्याएर रुन्छन्
कोही आमा / बा पुकार्छन् र रुन्छन्
कोही सुँक्कसुँक्क सुक्सुकाउँछन्
त कोही खस्नै नसकेर आँखाबाट
टिल्पिलाइरहन्छन् आँशु
ओभाना रहँदैनन् बर्षातमा सबै
झ्यालबाहिर पर्नेहरू
बर्षातमा रुझेका बतासका पत्रहरू
असामञ्जस्यताबाट गुज्रेका हुन्छन् ।
मोरङ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला