तेरो आगमनले ल्याएको
हाम्रो दूरुत्वलाई चियात्न खोज्ने
हाम्रो जीवनलाई निःशब्द स्थिति बनाउने
सन्त्रासभित्र डुबाउने
तेरो आगमनलाई
हाम्रो मौनताको आगोले सल्काउँदैछौ
हाम्रो भीडभाडलाई च्यातेर
हाम्रो समयलाई खोसेर
तँ नरमाउदा हुन्छ अब
हामी लुकेर ढुकेर तेरो हत्याको खाडल खन्दैछौ
तेरो अदृश्य शरीरलाई
हाम्रो एकता र संकल्पले ढडाउँछौ
मानवजातिको हात बाँधे भनेर खुसी नहुँदा हुन्छ
हाम्रो कुट्टे कोदालोलाई
खोसे भनेर नरमाए हुन्छ ।
तेरो आगमनले
हाम्रो आस्था र विश्वासमा आगो लगाइस्
हाम्रो दैनिक जीवनको सार्थक दिनहरू खोसेर
हामीलाई मृत्युको घण्टी झुण्डाउने तेरो आगमनलाई
हामी लकडाउनको बुट्टी बाँधेर
क्वारेन्टिनको मोज मारेर
तेरो मृत्युको आगो तापिरहेका छौ
अनुहार लुकाई
अदृश्य रुपमा आक्रमण गर्ने
तेरो दानव रुपलाई
मान्छे बस्तीमा दूरी राखेर
निर्मम हत्या गर्दैछौँ
तेरो आक्रमणलाई
मान्छेको बस्तीले चूपचाप रही
घरभित्रै लुकेर एउटा लडाई जित्दैछौ
मानवबस्तीले संकल्प गरिसक्यो
हाम्रो संसारबाट तेरो उठीबास हुनेछ
तँ भिसाबिना आएको छस्
तँ भिसा बिनानै जानुपर्छ
तेरो आक्रमण,तेरो संक्रमण
मानवजाति निम्ति कालो इतिहास बनेको छ ।