म सानो हुँदाको
झन सानी तिमी
तिमी सानी हुँदाको
केही ठूलो म ।

त्यो अपरिपक्व समयको
परिपक्व आकर्षण
यो परिपक्व समयको
अपरिपक्व प्रेम ।

त्यो अपरिपक्व समयको
परिपक्व आकर्षणमा
ति अपरिभाषित सम्बन्धका
आत्मिय भावहरूमा
ति मीठा स्पर्षका संकोचहरूमा
ति ढल्दै गरेका बसन्तमा
तिनै बसन्त नियाल्दै तिमी
सोध्ने गथ्र्यौ, वसन्त कहिले आउँछ ?

म सम्झन्छु !
त्यो अपरिभाषित सम्बन्ध
त्यो अघोषित प्रेम
त्यो वाल्य मिलनका अतृप्त उन्मादहरू
तिनै मिलन सँगका विछोड
र,
ति विछोडमा अनायासै झरेका
केही थोपा आँसु
अनि आँसु सँगै बगेका
कयाँै भावनाहरू

मलाई भन्नु छ तिमीसँग
समय सँगै बदलिएका तिम्रा
स्वघोषित आधुनिक विचारहरूसँग
तिम्रो मुस्कानमा अडिएको
मेरो सन्तुष्टीसँग
समयका अन्तरालले जन्माएका
प्रेमका नयाँ परिभाषाहरू सँग
मलाई भन्नु छ, हो मलाई भन्नु छ
प्राकृतिक फन्को सँगै वर्षेनी फेरिने
नयाँ पालुवाहरू सँग आउँदैन मेरो बसन्त ।
तिमिलाई थाहा कहिले आउँछ मेरो बसन्त ?

त्यो ढल्दै गरेको बसन्त सँगसँगै
हुर्किदै गरेको गृष्ममा
प्रचण्ड तापसँगको निसास्सिने वायुमण्डलबाट
तिमीलाई स्पर्श गरेर निस्केको तातो वायु
तिम्रो स्निग्ध चेहरा हुँदै मसम्म आइपुग्दा
बसन्त आउछ ।

तिम्रा तिनै अबोध चेतनाका
अनुत्तरित चेतनशील प्रश्नहरूले
मेरा मौनतामा लुकेका
असिमित प्रेमहरू
तिम्रा चक्षुमा टल्किँदा बसन्त आउँछ ।