कहाँ जान हिँडेको हो ? बाटो चिनेको छ ?
हेर्नु बाबा ! आकाशमा जून हिँडेको छ ।
अल्लि अस्ति सानो थियो, ठूलो भएको छ
बादलुको घेरोभित्र लुक्दै गएको छ ।
जून भेट्ने रहर छ, उडाइदेऊ हावा,
कुन बाटो जाने होला ? भन्दिनुस् न बाबा !
खाजाखर्च दिनु आमा ! नाना किनेको छ,
हेर्नु बाबा ! आकाशमा जून हिँडेको छ।
हजुरकै हात समाई घुमेँ गाउँ–सहर,
कहिले पूरा होला मेरो जून भेट्ने रहर ?
माथि–माथि, धेरै माथि बादलभित्र पसी
कुरा गर्ने धोको थियो जूनसँगै बसी ।
फुत्त पुग्ने छोटो बाटो बताइदिने को छ ?
हेर्नु बाबा ! आकाशमा जून हिँडेको छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ माघ २०८२, बिहीबार 










