जन्म र मृत्यु त आखिरमा, दुनियाँको रीत रैछ,
आफैँसँगको हार, अनि शत्रुहरूको जित रैछ।

मलम लगाई–लगाई घाउमा, बल्ल खाटो बसेथ्यो,
त्यही घाउ कोट्याई–कोट्याई, दुखाउने पतित रैछ।

पीडा सबै भूलिसकेर, चैनको श्वास फेर्दै म थिएँ,
क्षणक्षणमा झस्काउने त, डरलाग्दो अतीत रैछ।

परिवार, इष्टमित्र सबै, प्रगति गर्दाका मित्र हुन्,
अन्त्यमा सबै छोडी जीवन, आफैँसँगको प्रीत रैछ।

मति भ्रष्ट भएपछि सबैको, कसको पो के लाग्छ र?
म माथिको बज्रपातमा पनि, दुनियाँको जित रैछ।

मलाई एक्लो बनाई, सबैबाट विमुख गरे पनि,
बुझ्दै ल्याएँ जीवन, सबैको, चितासँगको मित रैछ।