आकाशभन्दा अग्लो उचाइ छुन कहिल्यै सकिन्न,
आफ्ना छोडी पराईको प्यारो हुन कहिल्यै सकिन्न।
बाबुको लास सेलाउन सागर जाने छोरो जति,
पछि लाग्ने मलामीले त्यति रुन कहिल्यै सकिन्न।
छोराको भविष्य, श्रीमतीको भाग्य गुमेको छ आज,
तिनले झैँ आँसुले सिरानी धुन कहिल्यै सकिन्न।
बाले नै दुई छाक खुवाउँथे वस्तुभाउ पालेर,
बाको एकहाते भैँसी अब दुहुन कहिल्यै सकिन्न।
छरछिमेकमा गाह्रो-साह्रो पर्दा दौडिँदै पुग्थे बा,
उनले झैँ सबैलाई गुन लाउन कहिल्यै सकिन्न।
फलानो भए पीडितले गाउँमा न्याय पाउँछन् भन्थे,
उनले झैँ विश्वास अरूको पाउन कहिल्यै सकिन्न।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२६ कार्तिक २०८२, बुधबार 




