आमा हामी सानै छँदा विदेश गयौ तिमी
एउटा कुरा भनेकी थ्यौ मिली बसौँ हामी

भन्ने गर्थ्यौ घरीघरी मलाई माया गरी
सब् जनाले हेर्ने गर्छन् अहिले आँखा तरी

भोकाएको हुन्छु आमा दिने कोही छैन
घरमा भ’का बाउको पनि अत्तोपत्तो छैन

तिम्ले जस्तो माया अब कसले मलाई गर्छ
एउटा भ’को दाइले पनि सधैँ गाली गर्छ

पानी पर्या बेलामा नि च्यापेर नै सुत्थ्यौ
म बिरामी भ’को बेला रातभरि कुर्थ्यौ

घर पनि राम्रो हुन्थ्यो फूलै फूले सरि
बगैँचा नै ढकमक्क पानी हाल्दा खेरि

आफूले नि नखाई नखाई खानेकुरा दिन्थ्यौ
भोको छैन भन्दा पनि कर गरेर खुवाउँथ्यौ

बाबाले नि चर्को डाँको गर्नुहुन्थ्यो पहिले
धेरै माया गर्नुहुन्छ उहाँले नि अहिले

छोराछोरी दुःख पाए भन्दै रुनुहुन्छ
घरमा बस्न सक्नु हुन्न गाउँ डुल्नुहुन्छ

उहाँलाई नै तिमी तिमी याद आ’को होला
सधैँ हेर्न जानुहुन्छ बगिर’को खोला

नबस न विदेशमा फर्की आऊ तिमी
तिम्रै यादमा सधैँभरि पर्खी बस्छौँ हामी

बाबाले नि तिमीलाई नै हेरेजस्तै लाग्छ
आमाबिना यो संसार औँसीजस्तै लाग्छ ।

पोखरा-८, सिमलचौर