‘समकालीन नेपाली साहित्यलाई कसैले गम्भीरतापूर्वक अघि बढाउन सक्छ र विश्वलाई नेपाली साहित्यका बारेमा केही दिन सक्छ भने मलाई लाग्छ, उनी बुद्धिसागर हुन् ।’
नेपाली भाषामा विद्यावारिधि गरेका अंग्रेज विद्वान माइकल हटले एक वर्षअघि एउटा टेलिभिजन अन्तरवार्तामा यसो भनिदिँदा धेरैको कान चनाखा भएका थिए । बेलायतको अक्सफोर्ड कलेजका प्राध्यापकले ‘सामान्य नेपाली लेखक’का बारेमा यसो भन्नु सानो कुरा होइन । हटको अन्तरवार्ता लगतै बुद्धिसागर अमेरिकाको एउटा प्रशिद्ध साहित्य विश्वविद्यालयमा फेलोसिममा पढ्ने अवसर पाए ।

बुद्धिसागर यस्ता लेखक हुन्, जसले चिट चोरेर बल्ल बल्ल दोस्रो श्रेणीमा एसएलसी पास गरेको कुरा आफै गौरवसाथ बताउँछन् । उनी २०५४ सालमा कालीकोटबाट क्याम्पस पढ्न आएका थिए । जसलाई आए ए पास गर्न चार वर्ष लाग्यो र आज पर्यन्त उनले विए पास गर्न सकेका छैनन् । तै पनि उनी माइकल हर्टको मनमा किन बसे भन्ने कुरा बुझ्न उनको सफलतालाई एकपल्ट केलाउनु पर्ने हुन्छ ।

बुद्धिसागरले अहिलेसम्म कुनै त्यस्तो पुरस्कार प्राप्त गरेका छैनन्, जसको बलमा उनलाई विशिष्ट लेखक मान्न सकियोस् । तै पनि उनको पहिलो उपन्यास ‘कनार्ली ब्लुज’ ले यसैबर्ष ५० हजार प्रति विक्री भएको अनौपचारिक रेकर्ड राखेको छ । हरिबंश आचार्यको पुस्तक ‘चिना हराएको मान्छे’लाई हटाइ दिने हो भने बुद्धिसागर सम्भवतः एउटै पुस्तकबाट धेरै रोयल्टी लिने लेखक हुन् ।

बुद्धिसागरको पहिलो उपन्यास ‘कनार्ली ब्लुज’ ले यसैबर्ष ५० हजार प्रति विक्री भएको अनौपचारिक रेकर्ड राखेको छ । हरिबंश आचार्यको पुस्तक ‘चिना हराएको मान्छे’लाई हटाइ दिने हो भने बुद्धिसागर सम्भवतः एउटै पुस्तकबाट धेरै रोयल्टी लिने लेखक हुन् ।

त्यति मात्र होइन, झण्डै ५ सय पृष्ठको उनको दोस्रो उपन्यास ‘फिरफिरे’ लाई प्रकाशक फाइनप्रिन्टले एकैपठक २५ हजार प्रति छाप्ने हिम्मत गर्यो । सामान्यतयाः नेपाली लेखक–पटकथाकारले चलचित्र उद्योगबाट एउटा फिल्म लेखे बापत किस्ताबन्दीमा दुई–तीन लाख रुपैंया लिने गर्छन् । तर बुद्धिसागरले यसै बर्ष एउटा चलचित्र लेखेको ११ लाख रुपैंया लिएर चलचित्र लेखकहरुको आँखा चौडा बनाइदिए । सायद यहि कारण हुनसक्छ, बजारमा नायक राजेश हमालको आफ्नो आत्मकथा लेखाउन बुद्धिसागरलाई २५ लाख रुपैंयाको अफर गरेको हल्ला चलेको छ ।

यो त ट्रेलर मात्र हो, बेलायती विद्वान माइकल हटले ‘कर्नाली ब्लुज’लाई अंग्रेजीमा रुपान्तरण गरेका छन् । यो पुस्तक अहिले भारतको प्रसिद्ध प्रकाशन गृह ‘स्पिकिङ् टाइगर’ले प्रकाशन गर्ने हतारो देखाएर सम्झौता गरेको छ । नेपाली पाठकबीच बुद्धिसागर यस्ता ब्राण्ड हुन्, जसका ट्टिरमा मात्र झण्डै ३ लाख फलोअर छन् । उनका फेसबुक स्टाटसलाई आफ्नो टाइमलाइनमा सजाउने पाठककै संख्या सयौँ छ ।

कुनै बेला काठमाडौंमा भोकै सुतेका बुद्धिसागरले सबैभन्दा कम सम्भावना भएको साहित्यिक क्षेत्रलाई कसरी यति ग्लामर बनाए । केही महिना अघि लेखक एवं पत्रकार अश्विनी कोइरालाले उनीसँग लामो कुराकानी गरेका थिए ।

नढाँटी भन्नुस् त कर्नाली ब्लुज कति प्रति बिक्री भयो ?

कुरा यहीँ नेर अफ्ठ्यारो पर्छ । किनभने मैले जति भन्छु, त्यसको कर तिरेको छैन । नभन्दा आफ्नो कुरा लुकाए जस्तो, भनौं केही नीतिगत समस्या पर्छन् ।

एकजना पुराना प्रकाशकले एउटा अन्तरवार्तामा भनेका छन्, नयाँ लेखकहरु यति धेरै पुस्तक विक्री भयो भनेर फुर्ति झार्छन् । खासमा नेपालमा ५ हजार भन्दा बढि पुस्तक विक्री हुने अवस्था नै छैन । सत्य हो ?

झुटो हो । किनभने बिगत ५ वर्षदेखि आम मानिसको नजरमा म बेरोजगार छु । मैले कुनै पनि किसिमका जागिर वा व्यवसाय गरेको छैन । यहि बीचमा बिवाह गरेँ । छोरी भइन् । घर बनाएँ । मेरो आम्दानी भनेको जम्मा जम्मी दुई वटा पुस्तकको रोयल्टी हो । अहिले बीचमा एउटा फिल्म लेखेँ । त्यति हो । अब भन्नुहोस्, ५ हजार विक्री भएर लेखक यसरी यो स्तरको रेष्टुराँ (हामी ठमेलको एउटा विदेशी रेस्टुराँमा छौ) बसेर कुराकानी गर्ने हिम्मत गर्न सक्छ ? म जस्ता धेरै लेखक छन् ।

खासमा तपाईंको जुन किसिमको फ्यान फलोइङ् छ । जसरी पुस्तकहरुको चर्चा हुन्छ । अन्य लेखकका लागि सपना झैँ लाग्छ । यो कसरी सम्भव भयो ?

तपाईं जुन कामलाई प्रेम गर्नुहुन्छ, त्यो काममा मेहेनत पनि गर्नु भयो भने सफलता सम्भव छ । तर त्यसका केही सर्त छन् । त्यो सर्त मेरो हकमा एउटा र अर्कोको हकमा फरक पनि हुनसक्छ । तर आफ्नो ब्राण्ड कसरी बन्दैछ । त्यसलाई तपाईंले कसरी पहिचान गर्नुहुन्छ, फैलाउनु हुन्छ र त्यसलाई कसरी निखार्नु हुन्छ भन्ने कुराले ठूलो अर्थ राख्छ । मेरो हकमा चाहिँ के भइदियो भने पागल जस्तै लेखिरहन सक्छु । र, आफूले लेखेका कुरामा शंका लाग्ने वित्तिकै त्यसलाई डम्प गर्ने हिम्मत गर्छु । सम्झौता त गर्दै गर्दिन । अर्को कुरा म लेखनमा लक्की पनि छु । सधैं असल मानिसहरुको संगत गर्ने अवसर पाएँ । फाइन प्रिन्ट जस्तो राम्रो प्रकाशकको साथ पाएँ ।

सबैभन्दा पहिले पागल जस्तै लगातार लेख्न सक्छु भन्ने तपाईंको भनाइतिर जाऔं । त्यो भनेको के हो ?

जुन बेला मैले लेख्न थालेँ, त्यो बेला रचना प्रशारण गर्ने एउटा मात्रै माध्यम रेडियो थियो । तर मेरो हिम्मत हेर्नुस्, रेडियो नेपालको केन्द्रीय प्रशारण मात्रै होइन, म पाँचवटै प्रशारण केन्द्रमा आफ्ना गीत, गजल र कविता पठाउँथे । सुर्खेत केन्द्रमा बज्ने ८० प्रतिशत कविता मेरै हुन्थे । एकपल्ट कविता लिएर कार्यक्रम सञ्चालक हरि गिरीलाई भेट्न सुर्खेत प्रशारण केन्द्रमा जाँदा उहाँले नै भन्नुभयो, ‘तिमीले यति धेरै रचना पठाउँछौ कि हामीले तिम्रो रचना राख्न छुट्टै बक्सा बनाएका छौं । उहाँले त्यो बक्सा देखाउँदा मलाई गौरब लागेको थियो । रेडियोले एउटा अन्जान तर लेखिरहने पाठकका लागि छुट्टै बक्साको ब्यवस्था गरेको थियो । अहिले हिसाव गर्दा अनुभव हुन्छ, ७ वर्षको दौरानमा रेडियोबाट १२ सय वटा कविता प्रशारण भएछ ।

जब काठमाडौं आएँ, सुरुका दिनमा राजनीतिक समाचार छाप्ने साप्ताहिक अखवारहरुमा कविता दिन थालेँ । ‘जनआस्था’ बाहेक कुनै यस्ता अखवार रहेन, जसमा मेरा कविता नछापिएका हुन् । रेडियोमा दिनैपिच्छे अथवा यसो भनौं क्षेत्रीय प्रशारणहरुमा दैनिक दुई–चारवटा कविता प्रशारण हुने केटाका लागि साप्ताहिक अखवारहरुमा छापिने कविता पनि अलि ढिलो लाग्न थाल्यो । यहि कारण त्यो बेला छापिने सन्ध्याकालीन पत्रिकामा दैनिक कविता छाप्न थालेँ । कुनै बेला त म कलेजका साथीहरुसँग अखवार नपढिकन यसमा मेरो कविता छापिएको छ भनेर बाजी मार्थे र जितेको पैसाले मम खान्थेँ ।

आज पनि त्यसै गरि लेखिरहन सक्नुहुन्छ ?

तपाईं जुन कामलाई प्रेम गर्नुहुन्छ, त्यो काम हुँदैन खेल बन्छ । लेख्ने समय फरक भयो होला, स्तर फरक भयो होला तर लेखिरहन सक्छु । अथवा यसो भनौं, अक्षरसँग खेलिनै रहन्छु । लेख्नु नै मेरो धर्म, कर्म र जीवन बनेको छ ।

तपाईंले सुरुमै जसरी पाठकको मन जित्ने गरि लेख्नुभयो । त्यो अचुक सुत्र कसले सिकायो ?

हेर्नुस्, म पश्चिमको मान्छे । पढ्दै जागीर खानुपर्छ भन्ने पूर्वीय चलन मलाई थाहा थिएन । न त काठमाडौंमा यस्तो बुद्धि सिकाउने आफन्त नै कोही थिए । पढ्नु भनेको पढ्नु मात्रै हो भन्ने हामी पश्चिमेलीहरुले बुझेका छौं । तर म यस्तो विद्यार्थी परेँ, जसलाई पास गर्नसक्ने क्षमता सरस्वतीले दिएकी थिइनन् । यही कारण नयाँ सडकमा मैले पुराना कविहरुको संगत गर्न थालेँ । जसलाई पिपलबोटे कवि भन्ने गरिन्छ । पुराना बुढा कविहरु भन्थे, छाप्नु ठूलो कुरा होइन, रचना बाँच्ने गरि लेख्नु पर्छ । सानै उमेरमा मैले अनुभवले पाकेका मानिसहरुको संगत गरेँ । ती यस्ता मानिस थिए, जसले समकालीन लेखकलाई जस्तो इर्ष्या थिएन । म फुच्चे केटो उनीहरुको प्रतिस्पर्धी पनि थिईंन । सायद यहि कारण उनीहरुले आफूले जीवनभरि सिकेका ज्ञान सित्तैमा थिए ।

अर्को शुत्र दिए, नयाँपत्रिकाका सम्पादक कृष्णज्वाला देवकोटाले । उनले भने, संसारका राम्रा लेखक कुनै न कुनै बेला पत्रकार भएका छन् । तपाईंले ५ वर्ष न्युज रुपमा बिताएर समाज र संसार बुझ्नुपर्छ । उनले जीवनमा पहिलो पटक जागीरको अफर दिएर भने, ‘लेखकका लागि यो राम्रो प्लेटफर्म हो ।’ नभन्दै त्यस्तै भयो । मैले लिने स–साना लेखहरुले मलाई निखार्दै लग्यो र सँगै समाज पनि बुझाउँदै लग्यो ।

अर्को ज्ञान दिए नारायण वाग्लेले । जुन बेला म नयाँ पत्रिकाका लागि छोटा छोटा लेख लेखेर पाठकको मन जित्दै थिएँ, ठिक त्यही बेला नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ आयो र त्यसले पाठकको मन पनि जित्यो । त्यसअघि वाग्लेको ‘कफिगफ’ निकै लोकप्रिय थियो । कफिगफका पाठक नै उनका उपन्यासका पाठक बने । म उनीजस्तो लोकप्रिय नभए पनि संकेत राम्रो देखिँदै थियो । अफिसभित्रै मैले लेखेका लेखहरु हराउँन थालेका थिए ।

र, अन्तिम साहारा दिए फाइनप्रिन्टका प्रकाशक अजीत बरालले । उनले तपाईंले लेख्दै गरेको उपन्यास म छाप्छु भनेर हिम्मत दिए । सायद फाइन प्रिन्ट नभएको भए कवि बुद्धिसागर त हुन्थ्यो तर आख्यानकार बुद्धिसागरको अस्तित्व हुन्नथ्यो ।

नढाँटी भन्नुस् त कर्नाली ब्लुज कति प्रति बिक्री भयो ?

कुरा यहीँ नेर अफ्ठ्यारो पर्छ । किनभने मैले जति भन्छु, त्यसको कर तिरेको छैन । नभन्दा आफ्नो कुरा लुकाए जस्तो, भनौं केही नीतिगत समस्या पर्छन् ।

तपाईंले कुरै कुरामा समकालीन लेखकहरुमा हुने प्रतिस्पर्धा र इर्ष्या कुरा गर्नुभयो । यसको कुनै अनुभव छ ?

जब तपाईं सफल हुन थाल्नु हुन्छ, सँगैका साथीहरु दुश्मन हुन थाल्छन् । किनभने हिजोसम्म ऊ सामान्य थियो, हामी जस्तै थियो, आज अचानक उसको चर्चा छ, आफ्नो छैन । यो धेरैका लागि विझाउने कुरा हो । मलाई याद छ, २०६० सालमा भएको राष्ट्रिय कविता प्रतियोगितामा म प्रथम भएँ । करिब ३ सय कविले त्यसमा भाग लिएका थिए र ती मध्ये धेरै स्थापित थिए । यस्तो बेलामा २२ वर्षको फुच्चेको कविता प्रथम हुँदा एकै पटक धेरै दुश्मनहरु कमाएँ । पत्रिकाहरुमा बालकवितालाई पुरस्कृत गरेको टिप्पणी छापिए । त्यसअघि पनि २०५७ सालमा राष्ट्रिय गजल महोत्सबमा म प्रथम हुँदा अचानक केही साथीहरु टाढिएको अनुभव गरेको थिएँ । २०५७ सालमा मनमैजु सांस्कृतिक समाजल गरेको कविता प्रतियोगितामा पनि प्रथम हुँदा पनि यस्तै अनुभव भएको थियो । तर राष्ट्रिय कविता प्रतियोगितामा मैले मज्जाले नै अनुभव गरेँ ।

यस्ता कुराले आजभोली कत्तिको पिरोल्छ ?

तिनताका कार्टुनिस्ट योगेश खपाङ्गी मेरा मिल्ने साथी थिए । उनी बागबजारको एउटा प्रेसमा बसेर कार्टुन बनाउँथे । जुन बेला मलाई बालकविका रुपमा चित्रण गर्दै पत्रिकामा लेख लेखियो, म दुःखी भएर उनलाई भेट्न गएँ । उनी त्यो बेला गिरिजाप्रसाद कोइरालाको कार्टुन बनाउँदै थिए । उनले भने, ‘यी व्यक्ति को हुन् ?’ मैले भने ‘नेपालका प्रधानमन्त्री ।’ ‘यहि कारण अहिले म यिनको कार्टुन बनाउँदैछु ।’ यो एकै वाक्यले मेरो तेस्रो नेत्र खुलेजस्तो भयो र त्यही कुराले सारा तनाब बगाएर लग्यो ।

तपाईंलाई याद हुनुपर्छ, पछिल्लो समय ‘फिरफिरे’ निस्कदा अचानक मेरो आलोचना भयो । ‘फिरफिरे’ ‘कर्नााली ब्लुज’ भन्दा कमजोर भएको, अझ कसैले त झुरै भएको र पढ्नै नहुने टिप्पणी पनि गरे । कतिपयले कर्नाली ब्लुज मा लेख्न बाँकी रहेको कुरा लेख्यो भनेर पैसा फिर्ता पाउनु पर्ने माग पनि गरे । त्यसको अन्तर्य के थियो, थाहा छ ?

कसरी थाहा हुन्छ र ?

यो आलोचना हुनुमा त्यस्तै घटनाले काम गरेको थियो । भैदियो के भने ‘फिरफिरे’ माघ ९ गते बिमोचन भयो । माघ १४ गते पोखरामा लिट्रचर फेस्टिबल थियो । सारा लेखक–कवि त्यहाँ उपस्थित थिए तर चर्चा केवल फिरफिरेको मात्र थियो । २५ हजार छापिएका कारण त्यसको भरमार पब्लिसिटी गर्नु प्रकाशकको बाध्यता थियो । मोटो पुस्तक भएकाले कम मूल्यमा बेच्न धेरै छाप्नु पर्ने र त्यसलाई बेच्न चर्को प्रचार गर्नु पर्ने बाध्यताका कारण सारा लेखक–कवि ओझेलमा परे । किनभने नयाँ पुस्तक अरु थिएनन् ।

पहिलो साता १४ हजार विक्री भएको पुस्तक लिटरेचर फेस्टिबलपछि अचानक आलोचना सुरु भयो । जबकी कुनै पनि राम्रो पुस्तकको प्रतिक्रिया आउन एक वर्ष लाग्छ । यो आम मनोविज्ञान हो । अहिले त्यो बेलाको कुरा सबैले विर्सिए । यसले मलाई भने फाइदा गर्यो । किनभने अब ‘फिरफिरे’ पढ्दा ठूलो अपेक्षा नराखि पढियो र हिजो किनेर थन्काएका पुस्तक बिस्तारै पढ्दा अनौठो गरि तान्यो । आज हेर्नुस्, फिरफिरेको पतिक्रिया ‘कर्नाली ब्लुज’ भन्दा राम्रो छ ।

भनेपछि तपाईंलाई पनि कर्नाली ब्लुज भन्दा ‘फिरफिरे’ राम्रो पुस्तक हो भन्ने लाग्छ ?

हो नै । अन्तर्राष्ट्रिय रुपमा नेपाली साहित्य चिनाउने पुस्तक हो भन्ने ठान्छु । मान्छेहरु भन्छन्, अब मैले ‘कनार्ली ब्लुज’ जस्तो लेख्न सक्तिन । तर म भन्छु, लेखिसकेको छु – फिरफिरे ।

मैले सुने अनुसार अब तपाईं कुनै पनि पुरस्कार लिनुहुन्न रे हो ? कसैले दिए बहिष्कार गर्ने मनस्थितिमा हुनुहुन्छ रे । सत्य हो ?

हो । मेरो पुस्तकमै यो कुरा लेख्नेछु । जहाँनेर कपिराइटका कुरा लेखिएको हुन्छ, त्यहीँ स्पष्टरुपमा यो कुरा उल्लेख हुनेछ ।

दुई वटा पुस्तकले मदन वा त्यस्तै पुरस्कार नपाएका कारण हो ?

हेर्नुस्, अपेक्षा त हुन्छ नै । तर पुरस्कार नलिने घोषण गर्नुका पछाडि त्यो मात्रै कारण छैन । पहिलो कारण हो, पुरस्कार स्थापितलाई होइन, नयाँ लेखकलाई दिनुपर्छ, जसलाई त्यसको आवश्यकता छ । अर्को कुरा पुरस्कार नलिने घोषणा गर्नुको पछाडि धन्यवादको भाव पनि छ ।

कस्तो धन्यवादको भाव ?

मानौं, ‘कनार्ली ब्लुज’ले पुरस्कार पाएको भए मलाई जीवनभरी मेरा पुस्तक विक्री हुनुमा मदन पुरस्कारको योगदान छ भन्ने लागिरहन्थ्यो । आज जुन रुमपा म छाती फुकाएर आफू माथि गौरव गर्छु, सायद त्यो हुँदैनथ्यो । एउटा लेखक त्यस्तो भ्रमबाट मुक्त हुनु कम ठूलो कुरा होइन ।

थप अर्को कुरा, पुरस्कार नलिने घोषणा गर्ने वित्तिकै त्यो ठूलो सञ्जाल र जन्जालबाट म सरक्कै मुक्त हुन्छु र केवल पाठकसँग मात्रै भर पर्छु । नत्र सानो लोभले पनि म कतै न कतै अल्झन सक्छु र मेरो साधना कमजोर हुनसक्छ ।

केही समय यता प्रकाशकसँग तपाईंको सम्बन्ध विग्रीएको हल्ला बजारमा चलेको छ । विशेषगरि फाइनप्रिन्टले गर्ने साहित्य उत्सवमा तपाईंको सहभागिता नभएपछि । के भन्नुहुन्छ ?

यो बेला मसँग पाठकलाई दिने कुनै नयाँ कुरा छैन । जसरी तपाईंसँग तर्किदा तपाईंले अर्को अर्थ लगाउनु भयो, त्यस्तै हो यो कुरा पनि । यति महत्वपूर्ण समयलाई म धेरै कुरामा प्रयोग गर्न सक्छु । आफूसँग प्रोडक्ट नभइ के भनेर पाठकसँग जानु ? यहि कुरा मैले फाइनप्रिन्टलाई भनेँ र उहाँहरुलाई मेरो तर्क ठिक लागेर समावेश नगर्नु भएको हो । हेर्नुस्, काम गरेपछि जसले पनि पाउँछ । तर तपाईंले त्यो कसरी पाउनु हुन्छ भन्ने कुरा महत्वपूर्ण छ । म फाइनप्रिन्टसँग जोडिन पाएकोमा किन गौरव गर्छु भने जुन इज्जत र जुन भावमा त्यो संस्थाले मलाई ग्रहण गर्छ, एउटा लेखकका लागि त्यो भन्दा ठूलो गौरब गर्ने अर्को कुरा छैन ।

तपाईंले एउटा चलचित्र लेखे बापत ११ लाख लिनुभयो । यसको चर्चा ठूलो छ । यसलाई कसरी लिनु भएको छ ?

चलचित्रको हिरोले ४०–५० रुपैंया पारिश्रमिक बुझेको कुरा सत्य हो भने लेखकले कम्तिमा पनि २०–२२ लाख पाउनु पर्छ । तपाईं आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ, कस्तो मेहेनत गर्नुहुन्छ, त्यसमा भर पर्छ । ६ महिनादेखि यसमा लागिरहेको छु । नलेखे पनि यसमा दिमाग लगाइ रहेको छु । यो सानो समय होइन ।

तर यति धेरै पारिश्रमिक पाउँदा पनि अर्को चलचित्र नलेख्ने घोषणा गर्नुभयो, केही कारण छ ?

एउटा लेखेर हेरेँ र अनुभव गरेँ, यो मेरो क्षेत्र होइन । मेरो लेखनमा डायलग कमजोर हुन्छ । त्यसलाई सुधार्न र नयाँ अनुभव गर्न एउटा चलचित्र लेखेको हुँ । एउटा फिल्ममा अभिनय गरेर पनि हेरेँ । एउटा टेलिफोन उठाएको दृष्य लिन १२ पल्ट टेक गरेपछि मलाई लाग्यो, यी दुबै क्षेत्र मेरो होइन । म किताबकै लागि जन्मिएको हुँ र यसैमा हराउन चाहन्छु ।

नयाँ केही भन्नु छ ?

प्रत्येक दिन भेटघाटलाई छोट्याउँदैछु । आफ्नो संसार साँगुरो बनाउँदैछु । ताकि लेख्न–पढ्न समय मिलोस् । खासमा अरु कुराका लागि म जन्मिएको पनि होइन ।