कालेबुङमा जन्मिएर हाल काठमाडौँलाई कर्मथलो बनाइरहेका विशाल नाल्बो नेपाली साहित्य र सञ्चार क्षेत्रका एक प्रभावशाली व्यक्तित्व हुन् । पेशाले मिडियाकर्मी नाल्बो आफ्ना सिर्जनामार्फत समसामयिक सामाजिक परिवेश र मानवीय संवेदनालाई सशक्त ढंगले प्रस्तुत गर्ने कविका रूपमा चिनिन्छन् । साहित्यप्रतिको उनको निरन्तर सक्रियता र कवित्व क्षमताको कदरस्वरूप उनलाई धरानस्थित विमल गुरुङ स्मृति पुस्तकालयले सन् २०२३ को “विमल गुरुङ युवा प्रतिभा पुरस्कार” बाट सम्मानित गरेको छ।

उनले नेपाली साहित्य जगतमा नव कविताकृति “थोक्ला” लिएर पाठकमाझ आउँदै छन् । उनीसँग कवितासङ्ग्रह र कविताका विविध विषयमा जनक कार्कीले गरेको कुराकानी प्रस्तुत छ ।

यहाँको प्रकाशन हुँदै गरेको  कविताकृति “थोक्ला”द्वारा यो समयलाई कसरी सम्बोधन गर्न खोजिएको छ ? 

सिर्जना भनेका समयको वास्तविक साक्षी हुन् । मैले “थोक्ला” मार्फत आफू बाँची उभेको समयलाई कविताको पर्दामा जरुर देखाएको छु । यसकारण मैले यो समयलाई यसरी सम्बोधन गरेको छु ।

कवितासँगको सङ्गत कसरी शुरु भयो ?

-म कालेबुङको दुर्गम गाउँमा जन्मिएको मान्छे हुँ । जहाँ पक्की सडक पुगेको थिएन । गाउँमा अपर्झट कोही सिकिस्त बिरामी भयो भने स्टेचर अथवा डोकोमा बोकेर गाडी आइपुग्ने सडकमा पुर्याउनुपर्ने हुन्थ्यो । असङ्ख्य मानिसको बाटोमै मृत्यु भएको देखिन्थ्यो । यी आँखा तिनै घटनाका प्रत्यक्षदर्शी हुन् । सम्भवत: म ४ क्लासको विद्यार्थी हुँदो हुँ । म सपना देख्थेँ गाउँमा सडक भएको, स्कुल भवन भएको, स्वास्थ्य चौकी गाउँमै भएको । तिनै सपनालाई म कागज मार्फत अक्षरहरुमा लेख्ने गर्थें, गर्छु । अहिले सम्झिन्छु, मेरो कविता सँगको संगत त्यसरी भएछ ।

कविको मस्तिष्कभित्र आम मान्छेभन्दा कस्तो फरक विचार चलिरहेको हुन्छ जस्तो लाग्छ ?

मलाई लाग्छ,  हर कोही मानिसभित्र कवि हृदय हुन्छ । कसैले अक्षरसँग खेल्छ र उसलाई विशिष्ट कवि नाउँको पदवी दिएर राखिन्छ । वास्तवमा सम्पूर्ण मानिस आम नै हुन्छन् । थोरै उसको प्रतिभाको कारणले घटीबढी मात्र होला भन्छु ।

तपाईंको कविहृदयलाई हामीले बाँचेको समयमा केके कुराले बढी पिरोलिरहेको छ ?

लोकले स्वीकारे पनि नस्वीकारे पनि हामी नेपाली कविताको उर्वर समयमा छौँ । तर कविले ढुक्कसँगले कविता कर्मै गरेर जीविकोपार्जन गर्ने समय कहिले आउला ? भन्ने कुराले पिरोलिन्छु कहिलेकाहीँ ।

यस संसारमा यति धेरै दुःख छन् । यति धेरै समस्या छन् । खुसीको खोजमा मान्छे दुःखको दलदलमा झन् फस्दै गइरहेका छन् । यस्तो अवस्थामा कविताले खुसी बाँड्न सक्षम होला त ? 

तपाईंले सुन्दर कविताको लाइन लेख्नु भो, सुन्दर कविताको इन्डिङ गर्नु भो अथवा सुन्दर कविता पढ्नु भो । त्यो बेलाको खुशी शब्दहरूको व्याख्या इतर हुन्छ । यस अर्थमा कविता भनेको मानिसहरूको निम्ति खुशी प्रवाह गर्ने मुहान पनि हो ।

कवितालाई गर्न नसकिने भनेको व्याख्या हो, त्यहीँ गर्न नसक्ने काम तपाईंलाई दिए भने कसरी भन्नुहुन्छ, के हो कविता ?

जीवन सिङ्गो कविता हो, जीवनले अर्जेको आरोह-अवरोह कविताका बिम्ब हुन् ।

तपाईं पछिल्लो समय कुन कुन किताब पढ्नुभयो र मनपरेका केही पुस्तक ?

अनाम प्रेमिका, राकेश क्रान्तिकारी, उरमाल छुदेन, काविमो हाङयुगका कविताहरू, हाङयुग अज्ञात, जेसिंता केरकेट्टा, ईश्वर अर बजार, ल्यान्डस्केपमा झुन्डिएको मौनता, खुपेन सुनुवार र पेनिवा सुरेश यक्सो, यिनै पुस्तक र लेखक कविले लेखेको कृति भर्खरै पढेर सिध्याएँ । समग्रमा सुन्दर लागे ।

मानिसको जीवन निकै अस्तव्यस्त बन्दै गएको छ । प्रतिस्पर्धा, सपना, प्राप्ति, खुसी जस्ता कुरामा मान्छे यति व्यस्त छ कि उसले कलालाई जोगाउने कला नै बिर्सिसक्न थाल्यो । यस्तो अवस्थामा कवितालाई जोगाइरहन, कवितालाई फैलाइरहन के गर्नपर्छ जस्तो लाग्छ ?

पहिलो कुरा त हामी कविता लेख्छौँ भने कवितालाई एकदमै गहिरो अध्ययन गरेर हेर्ने । लेखनमा अनुशासित हुने, लेख्ने समय छुट्याउने र धैर्यवान् बन्ने ।

दुनियाँ डिजिटल बन्दै गयो । आजभोलि किताबलाई उपेक्षा गर्न पनि थालियो । यस्तो अवस्थामा पठन संस्कृति जोगाउन र बढाउन के कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ ?

कवि लेखक आफैँतिर फर्किने निहाल्ने कि पाठकले चाहेको जस्तो समय अनुरुप लेखिरहेको छैनौँ कि भनेर गम्भीर हुने, नेपाली साहित्यको पाठकै छैन भनेर गलत भाष्यको विचार पालेर ढुक्कसँग नबस्ने ।

अन्त्यमा एउटा स्वतन्त्र प्रश्न ; मन लागेको उत्तर दिनुहोस् ।

यौटा कवि अर्का कविको सधैँ आफन्त हुन्छन् । तपाईं पनि कवि, यसकारण तपाईं मेरो आफ्नो मानिस हो । सम्झिनुभयो धन्यवाद ।