हावाको औंली समातेर
जब भत्काउँछ
एउटा विशाल सपनाले
कुनै एक शासन प्रणालीले खडा गरेको भव्य सिमाना
अथवा समातेर बग्दै गरेको खोलाको फेरो
उभ्भिदिन्छ खुट्टाहरू निसंकोच
मानिसहरूले सीमाङ्कन गरेको अर्कै/अर्को भूगोलभरि
यस्तो बेला
ढुलमुल ढुलमुल भएर उभिएको हुन्छ
व्यग्र प्रतीक्षाको बाटोभरि
सपना ओछ्याएर बसेका एकजोड आँखा
हिमपात हुन खोज्छ
विश्वासको फक्ताङ्लुङभरि
यो बेला
हावाले छुँदा मात्र पनि/सम्झना दुख्छ
पानीले छुँदा मात्र पनि/सम्झना दुख्छ
जसरी चुहिन्छ
हत्केलाबाट छिरेर जूनको उज्यालो
जसरी हुँदैन
हावाको आफ्नै देश
जसरी घामले गर्दैन विभेद
र छरिदिन्छ समानताको न्यानो
जसरी हुँदैन सम्झनाको आयतन
र जतिबेला पनि लागि दिन सक्छ बाडुली
देश अथवा सिमाना भन्नु
फगत शासकहरूले निर्माण गरेको
कानुनी पर्खाल न हो
जसलाई प्रेमको फराकिलो आँखाले हेर्यो भने
सामान्य एउटा इँट्टाको थुप्रोबाहेक अरु देख्दैन
जस्तो
एउटै चौतारोको सिरानी लगाएर
थकान मेटिदिन सक्छ दुईवटा बाटो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।