कवि तथा लेखक रिमा केसी विशेष गरी महिलामाथि हुने हिंसा, दमन, उत्पीडन, शोषण र अत्याचारविरुद्ध सशक्त कलम चलाउँछिन् । उनी कविताका माध्यमबाट विविध विषयवस्तुसहित भुइँमान्छेका पक्षमा प्रतिरोधात्मक आवाज उठाउँदै आएकी छिन् । समसामयिक तथा सामाजिक विषयमा उनका वैचारिक रचनाहरू विभिन्न छापा एवम् अनलाइन पत्रपत्रिकामा प्रकाशित छन् ।
दशकअघिदेखि नै कविता लेखनमा प्रवेश गरेकी केसीका ‘यात्रामा अक्षर’ कवितासङ्ग्रह (२०७५ ) र चर्चित भारतीय कवि अमृता प्रीतमका छानिएका कविताको अनुवाद सङ्ग्रह (२०७९) प्रकाशित छन् । हाल उनी नेपाल टेलिभिजनमा कार्यक्रम निर्माता तथा प्रस्तोताका रूपमा समेत कार्यरत छिन् । हालसालै प्रकाशनमा आएको उनको नवीनतम कृति ‘बगावतनामा’ कवितासङ्ग्रहसँग सम्बन्धित भएर जनक कार्कीले गरेको कुराकानी यहाँ प्रस्तुत छ:
’बगावतनामा’ कवितासङ्ग्रह लिएर नेपाली काव्यिक जगतमा पदार्पण गर्नुभएकोमा बधाई तथा शुभकामना छ । यस कवितासङ्ग्रहमा के-कस्ता कविताहरूले स्थान पाएका छन् ?
सर्वप्रथम यहाँलाई हार्दिक आभार । कवितासङ्ग्रहका बारेमा भन्नुपर्दा, यसमा अहिलेको समयसापेक्ष सबै आयामका कविताहरू छन् । अहिलेको समाज, समय, राजनीति, देशको अवस्था, विभेद, हिंसा, बलात्कार, पहिचान, सङ्घर्ष, बेरोजगारी र विदेसिने लहरले निम्त्याएको गाउँघरको अवस्था समेटिएका छन् । साथै सामाजिक, राजनीतिक तथा आर्थिक उथलपुथल, प्रेम, जीवन र मानवता लगायतका यावत पक्षहरूलाई मैले समेट्न खोजेकी छु ।
लेख्नका लागि परम्परावादी विचार खाली हुन पनि जरुरी छ र त्यसमा नयाँ दृष्टिकोण भरिन पनि । एउटा लेखकले नवीन विचार, दृष्टिकोण र चेतना जागृत राख्न के-कस्तो अभ्यास गर्नुपर्ने हुन्छ ?
परम्परावादी विचार खाली गर्दै गर्दा हाम्रो पहिचान र अस्तित्वसँग जोडिएका कुराहरू भने याद गर्नुपर्ने हुन्छ । जहाँसम्म नयाँ दृष्टिकोणको कुरा छ, नयाँ दृष्टिकोण र विचारविनाको लेखकले कस्तो साहित्य लेख्न सक्छ र ? एउटा लेखक या कविले नयाँ विचार र चेतनाविना त कलम चलाउनै सक्दैन ! यदि त्यस्तो साहित्य लेखियो भने पनि त्यसले समाजलाई के दिन सक्छ ? त्यसैले नवीन विचार र चेतना जागृत गर्न सचेत रूपमा अध्ययन गर्न जरुरी छ ।
समाजमा के भइरहेको छ, के सही हो र के गलत हो भन्ने कुरा सबैभन्दा पहिला छुट्याउन सक्नुपर्छ । त्यसपछि आफ्नो लेखनबाट समाजलाई सचेत र जागरूक बनाउनुपर्छ ।
यहाँको कविता लेख्ने प्रक्रिया के-कस्तो हुन्छ ?
म पनि त यही समाजकै उत्पादन हुँ । तसर्थ मेरो लेखन पनि यही समाज, देश र भूगोलभित्र रहेर यहाँका मानिसले भोग्दै आएका भोगाइ, बाँच्दै आएको जीवन र यहाँभित्रका विकृति, विभेद, हिंसा, बलात्कार एवं असमानता विरुद्धका आवाजहरूको वरिपरि नै केन्द्रित छ ।
यहाँको जीवनमा कविताले कसरी प्रवेश गर्यो ?
म सानैदेखि आफूलाई शब्दमा पोख्ने गर्थें । थाहा छैन, त्यतिबेला ती कविता बनेका थिए कि थिएनन् । मैले कविताका सिद्धान्त जानेर, बुझेर वा कुनै कवि र कविताको प्रभावमा परेर कविता लेख्न थालेकी होइन । कवितामा प्रयोग हुने बिम्ब, प्रतीक र अलङ्कार के हुन् भन्ने थाहा नहुँदै मैले लेख्न थालेकी हुँ । त्यही लेखनको निरन्तरता आजसम्म जारी छ ।
यहाँलाई ‘कविता के हो’ भनेर सोधियो भने के जवाफ दिनुहुन्छ ?
मेरो लागि कविता मनमा रुमल्लिरहेका भावनाहरूको शाब्दिक, वैचारिक र कलात्मक प्रस्फुटन हो, जसले आनन्द दिन्छ । जब मलाई कुनै कुराले छुन्छ तब मनमा उकुसमुकुस हुन्छ र म कविता लेख्छु । कविता लेखेपछि धेरै आनन्द आउँछ, म एकदमै सन्तुष्ट हुन्छु ।
यहाँलाई एकदमै प्रभाव पारेको कुनै पुस्तक, जसले यहाँको सोच्ने तरिका नै परिवर्तन गरिदियो ?
समय मिलेसम्म म धेरै पुस्तकहरू अध्ययन गरिरहेकी हुन्छु । यसै क्रममा मैले स्वामी योगानन्दको ‘अटोबायोग्राफी अफ अ योगी’ (एक योगीको आत्मजीवनी ) पढेँ । त्यस पुस्तकले मेरो सोच्ने तरिका र हेर्ने दृष्टिकोणलाई नै परिवर्तन गरिदियो । मलाई अध्यात्ममा पहिलेदेखि नै रुचि थियो तर यो जीवनी पढेपछि ‘सबैभन्दा पहिले मानिसले आत्मानुभूति गर्न जरुरी रहेछ’ भन्ने लाग्यो ।
कहिलेकाहीँ आफैँसँग प्रश्न गर्नुहुन्छ ‘म किन लेख्छु ?’ भनेर ? उत्तर के पाउनुभएको छ ?
बेलाबेलामा म आफैँलाई धेरै प्रश्नहरू गर्ने गर्छु । उत्तर पाउँछु— म आफ्नै खुसीका लागि लेख्छु, जसले समाजलाई सकारात्मक सन्देश दिओस् । म अरूको पनि आवाज बन्न सकूँ । मेरा शब्दमा पाठकले आफ्ना अनुभूति भेटुन् र आफैँलाई त्यहाँभित्र कतै पाउन सकून् भन्ने मलाई लाग्छ ।
आजको युग अक्षरको युद्धमा होमिएको छ । अक्षरकै प्रयोगले मानिस-मानिसमा विभेद र युद्ध छ । कविता समूह वा वादभन्दा माथि उठेर विशुद्ध मानवकल्याणकारी बन्न के गर्नुपर्छ ?
तपाईंले भनेको कुरा केही हदसम्म सही छ तर यही अक्षर नै हो जसले समाजलाई साक्षर र सचेत बनाउँछ । हामीले स्वतन्त्र भएर कलम चलाउन जरुरी छ । समाजका कुरीति, कुसंस्कार र अन्धविश्वास हटाएर मानवताका पक्षमा लेख्नुपर्छ । कविताको कुनै भूगोल र सीमा हुँदैन । अफ्रिकी मुलुककी कवि माया एन्जेलो होस् वा भारतीय कवि पाश र अमृता प्रीतम— उनीहरूका कवितामा हामीले आफूलाई पाउन सक्छौँ । यसको अर्थ हामी जहाँ रहे पनि हाम्रा अनुभव, पीडा र समानताका आवाज एउटै हुँदा रहेछन् । त्यसैले कविता कुनै समूह वा वादभन्दा पनि मानवीय संवेदनाका पक्षमा लेखिनुपर्छ ।
कविता लेख्नु, प्रकाशन गर्नु र पाठकको हातसम्म पुर्याउनु प्राविधिक रूपमा झन्झटिलो छ । यहाँले कस्तो अनुभव गर्नुभयो ?
कविता लेख्नु र सम्पादन गर्नु पक्कै पनि गाह्रो काम हो । धेरै साथीहरूका कुरा सुन्दा प्रकाशन पनि कठिन छ भन्ने बुझेकी छु तर मेरो हकमा भने प्रकाशकहरूले मेरा कवितालाई विश्वास गरिदिएकाले पहिलो सङ्ग्रहदेखि नै अहिलेसम्म त्यति धेरै आर्थिक वा प्राविधिक झन्झट बेहोर्नु परेन ।
विचार र कलाको तालमेललाई नै कविता भनिन्छ । यहाँको नजरमा कुन बढी महत्त्वपूर्ण छ ?
कवितामा कला हुनुपर्छ । कलाविनाको कविता, कविता हुँदैन तर मुख्य कुरा त विचार नै हो । विचारविहीन कवितामा कला मात्र भएर पुग्दैन । मेरो विचारमा कवितामा मुख्य कुरा विचार हो र त्यसलाई काव्यिक कलाले शृङ्गार गरियो भने मात्र त्यो सुन्दर कविता बन्छ । तसर्थ कविता विचार र कलाको संयुक्त संयोजन हो ।
लामो समयदेखि कविता लेखिरहेको भए पनि कवितासङ्ग्रह आउन किन ढिलो भयो ?
मेरो पहिलो कवितासङ्ग्रह ‘यात्रामा अक्षर’ २०७५ मा आयो । दोस्रो कृति (अनुवाद) २०७९ मा आयो र अहिले तेस्रो कृतिका रूपमा ‘बगावतनामा’ आएको छ । मेरो विचारमा यो समय ठिकै हो किनकि यस बीचमा हामीले धेरै प्राकृतिक र सामाजिक सङ्कटहरूको पनि सामना गर्नुपर्यो ।
अन्त्यमा, पाठकलाई के भन्न चाहनुहुन्छ ?
यहाँको अन्तर्वार्तामा आफ्ना कुरा राख्न पाएँ, त्यसका लागि हार्दिक आभार । अन्तिममा पाठकलाई मेरो नयाँ कृति ‘बगावतनामा’ पढिदिनुहोला र प्रतिक्रिया दिनुहोला भन्न चाहन्छु । यो पुस्तक बजारमा उपलब्ध छ, नपाएमा ‘इन्डिगो इन्क’ प्रकाशनमा सम्पर्क गर्न सक्नुहुनेछ । धन्यवाद ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ माघ २०८२, शुक्रबार 










