केही वर्षदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा रही राजनीतिमा सक्रिय युवानेता गणेश कार्की बालेन निकट मानिनुहुन्छ । लामो समयदेखि साहित्य र कन्टेन्ट क्रिएसनमा सक्रिय कार्कीको लेखनमा चलचित्र ‘झरीपछिको इन्द्रेणी’ तयारी भएको छ । पुस ४ गतेबाट प्रदर्शन हुने यस चलचित्रका गीतमा कार्कीका शब्द समेत रहेका छन् । साथै, चलचित्रमा बालेनका र्‍याप पनि रहेको छ । प्रस्तुत छ, चलचित्र ‘झरीपछिको इन्द्रेणी’, जेनजी विद्रोह तथा साहित्यका विषयमा पटकथाकार गणेश कार्कीसँग साहित्यपोस्टका लागि कृष्ण ढुङ्गेलले गर्नुभएकाे संवादको सम्पादित अंश:

===

चलचित्र ‘झरीपछिको इन्द्रेणी’मार्फत गीतकार तथा पटकथाकारका रूपमा डेब्यु गर्दै हुनुहुन्छ । प्रथमतः यस चलचित्रका बारेमा बताइदिनुहोस् न ।

लेख्न मन पराउने मान्छे नै हुँ । गीतहरू कसैलाई गाउनका लागि नदिएको भए पनि पहिलेदेखि नै लेखिरहेकै थिएँ । यसैले मेरो गीत लेख्ने बानीले अब चैँ मूर्तता पायो भन्ने लागेको छ । पटकथाकारका रूपमा भने एकदमै फरक अनुभव गर्न पाएँ । कथा लेख्थेँ, त्यसमा आफ्नै मर्जी चल्थ्यो । फिल्म लेखनमा चैँ प्राविधिक पक्ष लगायतका धेरै कुराहरू याद गर्नु पर्ने रहेछ ।  फरक र विशेष लाग्यो ।  यो अनुभव गजब छ ।

चलचित्रकारबारेमा भन्नु पर्दा यो चलचित्रमा समय, परिवार, सम्बन्ध र जिम्मेवारीलाई हेर्ने दृष्टिकोणमा हुने अन्तर र त्यसले ल्याउने द्वन्द्वका बारेमा छ । हामीले केही प्रश्न पनि सोधेका छौँ, जस्तै कि चङ्गालाई धागोले बाँध्छ कि उड्न सहयोग गर्छ ? धागो चैँ चङ्गाको शत्रु हो कि साथी ? यही प्रश्नमा बाबु छोराको सम्बन्धलाई खोज्ने प्रयास गरेका छौँ ।

तपाईं विगत केही वर्षदेखि राजनीतिमा रमाइरहेको मान्छे, चलचित्र लेखन तथा निर्माणमा कसरी जोडिइनुभयो ?

सङ्गत र रुचिले यता जोडिन पुगेँ  । फिल्म क्षेत्रका साथीहरू बन्न थाले । फिल्म निर्माण तथा प्रमोसनमा सहयोग गर्ने काम बढ्न थाल्यो । कुमार बेन, अर्जुन घिमिरे पाँडे लगायत साथीहरूलाई फिल्म बनाउन मन थियो । मलाई पनि यो रचनात्मक काममा रुचि हुने भइहाल्यो । त्यसपछि आफ्नो आफ्नो क्षमता अनुसार काम गर्न थालियो । लेख्ने मेरो रुचिको विषय भएकाले पनि मेरो काम यो हो भन्ने टुङ्गो गर्न पनि गाह्रो भएन ।

चलचित्रको टेलर तथा केही गीतहरू सार्वजनिक भइसकेका छन् । चलचित्रले जेनजी आन्दोलनको स्प्रीटलाई समाउन खोजेको जस्तो देखिन्छ । यति छोटो समयमा यो कसरी सम्भव भयो ? कि जेनजी विद्रोह अघिबाटैको तयारी हो ?

यो संयोग जस्तो लाग्नु स्वाभाविक हो । तर नेपाली समाजको चरित्र र विगतका आन्दोलनहरू हेर्ने हो भने सधैँ सङ्घर्ष लगभग यही उमेर समूहले गरेका छन् । राणा शासनमा मृत्युदण्ड पाउने गङ्गालाल श्रेष्ठ जम्मा २२ वर्षका त थिए । ३६ सालमा सङ्घर्ष गर्ने हुन् कि ४६ सालमा वा ६२/६३ मा नै होस्, सङ्घर्ष गर्नेहरू त्यही उमेर समूहका थिए जसलाई हामी अहिले जेनजी भन्दै छौँ । यसैले यो संयोग भन्दा पनि नेपाली समाजको गोलचक्करका कुरा गर्दा उस्तै कुरा देखिएको हो भन्ने मान्दा राम्रो होला । बाँकी त, भदौ २३ गते हाम्रो फिल्मको सुटिङ सकिएर गीतको चैँ सुटिङ गर्दै थियौँ । जेनजी आन्दोलनले अन्तिमतिर हाम्रो सुटिङमा प्रभाव पार्‍यो । त्यसले हाम्रो मनस्थिति र कथामा फरक पार्‍यो भने पनि त्यो तयारी भन्दा पनि प्रतिक्रिया हो भन्ने मान्न पर्ला ।

त्यसो त, तपाईँहरूमाथि जेनजी विद्रोहमा घुसपैठको आरोप पनि लाग्दै आएको छ । तपाईँहरूलाई जेनजी विद्रोहको पूर्वानुमान भएरै चलचित्र निर्माणमा होमिनुभएको हो ?

म त गएकै हो आन्दोलनमा । यो देश जेनजीको मात्रै होइन, देशमा राम्रो गर्ने जिम्मेवारी जेनजीको मात्रै होइन, जेनजीको नेतृत्व मान्दै सहभागी हुन म जान्छु भन्ने घोषणा गरेरै गएको हुँ । शुरुमा चैँ जेनजीको आन्दोलनमा म जान्नँ भन्ने सोचेको थिएँ तर जेनजी भाइबहिनीहरूले नै आउनै पर्छ भनेपछि गएको हुँ । अझ एकजना भाइले त मेरै लागि भनेर जेनजी हुइनँ तर जेनजीको समर्थक हुँ भन्ने पर्चा नै बनाइदिएका थिए । माइतीघर छेउमा उनले मलाई त्यो दिएका थिए । यसैले घुसपैठ भन्ने त कुरै भएन । पूर्वानुमान भन्ने पनि अस्वाभाविक भएन ।

नेपाली नागरिक धेरैलाई सरकारबाट आजित भए पछि ठुलै आन्दोलन हुन्छ भन्ने भान थियो तर यो यही रूपमा वा यही समयमा हुन्छ भन्ने कसैलाई थाहा थिएन । जेनजी आन्दोलनमा पनि २३ गते ओलीको सरकारले त्यसरी मान्छेहरू नमारिदिएको भए त्यसपछि जे भयो, त्यो हुने थिएन । यस्तो होला भन्ने कसैलाई अनुमान र तयारी थिएन । सरकारको नरसंहारले त्यो अवस्थामा पुर्‍याइदियो ।

अझ फिल्मसँग त ती दिनहरू हुनुमा कुनै सम्बन्ध नै हुन सक्ने कुरा भएन ।

उसो त तपाईं धेरै पुरानो गीतकार हो । तपाईंका केही गीतहरू तपाईँकै युट्युब च्यानलमा पनि छन् । तपाईंले गीत लेखनको शुरुवात कहिलेबाट गर्नुभएको हो ?

म साह्रै सानो देखि लेख्थेँ । म ४ कक्षामा पढ्दा रेडियो नेपालमा बाल कार्यक्रम आउँथ्यो, को भन्दा को कम भन्ने । स्वर्गीय वासुदेव मुनालले चलाउनु हुन्थ्यो । त्यसमा मेरा कविता र गीतहरू वाचन हुन्थे । पछि मुना, सुनकेस्रा भन्ने मासिक पत्रिकाहरूमा पनि मेरा गीत र कविता प्रकाशित हुन्थे । त्यो भनेको त्यो बेला एकदमै विशेष कुरा हुन्थ्यो । रेडियोमा नाम धेरैमा दुई पल्ट भन्थे होलान् तर गाउँघरकाले त्यो सुनेका हुन्थे । यो ५० सालतिरको कुरा होला । गीत र कविताको सानो कपि त मेरो गोजीमा सधैँ हुन्थ्यो । गुच्चा, काँध कि गोबर, डन्डीबियो, फुटबलहरू पनि खेल्दा खेल्दै गर्दा नयाँ मान्छे भेटेँ भने कसो कसो कुरा बनाएर एउटा कविता त सुनाउन भ्याइदिइहाल्थेँ ।

राजनीति र गीत–सङ्गीत मध्ये एक रोज्नु परे कुन रोज्नु हुन्छ ? किन ?

चुनावको तयारीमा छ देश । नेता बन्ने चटारो छ । यस्तो बेलामा म मैले लेखेको फिल्म आइराछ भनेर गौरव र सन्तुष्टिले फिल्म प्रदर्शनका लागि हिँडिरहेछु, भने पछि म कुन रोज्छु होला भनिराख्नै नपर्ला ।

मुख्य कुरा हरेक मान्छेले राजनीति बुझ्न अनिवार्य छ तर हरेक मान्छे नेता नै बन्न पर्छ भन्ने छैन । यहाँ त अलिकति मान्छेले चिनेकी अब नेता बन्ने र नेता मात्र होइन कि सांसद र मन्त्री नै बन्न पर्ने भनेर त्यसकै लागि आफ्नो खुबी, रहर र जिम्मेवारी छोडिराछन् । यस्तो लाग्छ कि देश बनाउने नेता बाहेक अरूले सक्दैनन् भन्ने सबैले माने जस्तो । यहाँ लेखक, पत्रकार, कर्मचारी र किसानले देश बनाउन नेताभन्दा कम योगदान दिन्छन् र ? त्यस्तो त होइन । यसैले समय अनुसारको भूमिका पनि हुन्छ । मलाई चैँ कुनै मध्ये एक भन्यो भने म नेताका भाषण सुन्नभन्दा लेखकका किताब पढ्न र भाषण गर्न स्टेजमा चढ्नभन्दा आम मान्छेका कथा भन्न, फिल्म बनाउन रुचि राख्छु ।

चलचित्रमा बालेनका र्‍याप पनि रहेछन् । बालेनसँगको निकटता र उनको लोकप्रियतालाई चलचित्र चलाउने निन्जा ‘टेक्निक’ का रूपमा प्रयोग गर्नुभएको हो ?

एउटा गजबको कुरा भनौँ ? झरीपछिको इन्द्रेणीको कथा नै त्यही र्‍यापबाट इन्स्पायर भएको हो । बालेनको र्‍याप पहिले आएको हो र त्यसको धेरै वर्षपछि फिल्म आउन लागेको हो । फिल्मको कथाको मूल नै त्यही र्‍याप हो । जुन र्‍यापमा भएको शब्द र कथाबाट फिल्म बन्यो, त्यो त फिल्ममा हुनै पर्‍यो नि ।

तपाईं आफैं लेखक तथा बुकाहोलिक्समार्फत पठन संस्कृतिका लागि काम गरिरहेको व्यक्ति पनि हो । भनिन्छ – राजनीतिले जब जब बाटो बिराउँछ तब साहित्यले सही दिशातर्फ डोर्‍याउनुपर्छ । तर नेपालको राजनीति बरालिँदो छ, साहित्यको निद्रा अझै नपुगे जस्तो देखिन्छ । यस्तो किन भइरहेको छ ?

राजनीतिले जब जब बाटो बिराउँछ तब साहित्यले सही दिशातर्फ डोर्‍याउनुपर्छ भनेर संसारभर भनिन्छ तर यो वैश्य युगमा साहित्य नै बजारले डोर्‍याइरहेको छ । नेपाल पनि त्यसबाट अछुतो रहेको छैन । तर हाम्रोमा भने आफ्नै खालका समस्या पनि छन् । साहित्यकै मर्म अनुसारका साहित्य नभएका होइनन् तर त्यसलाई पढ्ने समूह असाध्यै सानो छ । हाम्रो बुकाहोलिक्सले २०११ देखि नियमित पठन संस्कृतिमा काम गरिरहेको छ तर नेपालमा पढ्ने मान्छेहरूको संख्या के कस्तो छ भन्ने त सबैलाई थाहै छ । त्यस्तोमा साहित्यबाट पनि असाध्यै धेरै अपेक्षा नगरौँ । साहित्यकारले पनि धन्न लेख्दिरहेका छन् भने सहानुभूति पो प्रकट गर्न पर्ला ।

वास्तवमा, साहित्यले राजनीतिलाई दिशानिर्देश गर्न सक्छ कि सक्दैन ? सक्छ भने यसको भूमिका कस्तो हुनुपर्छ ?

गर्न सक्छ र गरेकै पनि हुन्छ तर मान्छेले पढिदिन पर्‍यो नि । साहित्यका कुरा समाजमा बहसमा आउन पर्‍यो नि । त्यो त भइराखेकै छैनन् । भएका पनि बुद्धि विलासभन्दा माथि उठ्न सकिरहेका छैनन् । यसैले यो पक्षमा असाध्यै धेरै काम गरौँ तर अपेक्षा भने कम गरौँ । अपेक्षा गर्ने गरी समय आउन अझै समय लाग्छ ।

तपाईं पुस्तक प्रकाशनमा ल्याउने तयारीमा हुनुहुन्छ भन्ने गाइँगुइँ सुनिएको पनि केही समय भयो । कहिले आउँछ ? पुस्तकका बारेमा छोटोमा केही बताइदिनुस् ।

खासमा २ वटा उपन्यास र २ वटा कथा सङ्ग्रहको ड्राफ्ट तयार पारेको पनि वर्षौँ भइसक्यो । तर के के के के मा अलमल भइराछ । अब निकालिहाल्ने भने कथासङ्ग्रहको काम अगाडि बढाएको थिएँ तर बिचमा फिल्मतिर लागियो र अब चुनाव पनि आइसक्यो ।

अन्त्यमा, ‘झरीपछिको इन्द्रेणी’लाई लिएर श्रोता–दर्शक–पाठकलाई के भन्न चाहनुहुन्छ ?

हेरिदिनुहोला । परिवारसँग बसेर हाँस्दै, रमाउँदै हेर्न सक्ने फिल्म छ । रमाइलै होला ।