साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कतिपय पुरस्कारका निर्णायकहरू नै लेखकहरूका प्रतिस्पर्धी हुन्छन् – महेश पौड्याल

आफूले ‘पोटेन्सियल थ्रेट’ को रूपमा लिएका लेखकका अब्बल र शक्तिशाली किताबलाई पहिलो, दोस्रो वा तेस्रो सूचीबाटै नियोजित रूपमा फाल्दै जाँदा, अन्त्यमा अपेक्षाकृत कमजोर कृतिलाई पुरस्कृत गर्नुपर्ने ‘बाध्यता’ मा कुनै छनोट समिति वा गुठी पुग्यो भने पुरस्कार दाताको शाख रहला ? निर्णायकको नि ? अनि पुरस्कार आफैँको ? ग्लानि हुँदैन ? समग्र साहित्यिक समाजलाई भ्रममा पारेको ठहरिँदैन ?

Chovar Blues Mobile Size

परिचिय गराराख्नु पर्ने नाम होइन महेश पौड्याल । उनले विभिन्न माध्यमबाट आफ्नो परिचय दिइरहेका हुन्छन् । कहिले छोटा आयतनका कवितामार्फत् । कहिले ‘राधा’ र ‘याङ्सिला’जस्ता उपन्यासका अङ्ग्रेजी अनुवादमार्फत् । कहिले चर्का आलोचकका आलोचनामार्फत् । कहिले आफ्नै छुच्चा र तीखा समालोचनामार्फत् । र, कहिले ‘त्यसपछि फुलेन गोदावरी’ र ‘अपरिचित अनुहार’ जस्ता कथाहरुमार्फत् । परिचय धेरै लामो छ, तर मलाई विश्वास छ – तपाईंले चिनिसक्नु भयो । अझै चिन्न सक्नुभएन भने उनीमाथि लाग्ने केही “सङ्गीन” साहित्यिक आरोपहरु छन् । ती आरोप र आरोपमा उनको स्पष्टीकरण हेर्नुहोस् –

आरोप एक: केटाकेटीको हूल बाँधेर हिँड्नुहुन्छ । किन ?

मलाई के लाग्छ भने, मेरा समकालीन तथा अग्रजहरुलाई मेरो साथको आवश्यकतै छैन । मलगायत मेरा समकालीनहरु आफ्नै बलबुतामा उभिइसक्यौं । मैले जति कुरा बुझेको छु, उनीहरुले पनि बुझेका छन् । मैले जति नेटवर्क बनाएको छु, उनीहरुले पनि बनाएका छन् । अग्रज त अग्रजै भइहाल्नुभयो । मेरो साथ सबैभन्दा बढी कसैलाई चाहिएको छ भने, मभन्दा पछिको मेरो कनिष्ट पुस्तालाई हो, यो एउटा कुरा भयो ।

अर्को कुरा, म एउटा समालोचना क्षेत्रको मान्छे । भोलिका दिनमा नेपाली साहित्य अन्तर्राष्ट्रिय स्तरमा पढिनुपर्छ भन्ने चिन्तन हो मेरो । यो कुरा विभिन्न ठाउँमा भन्दै पनि आएको छु । हालसम्म गर्ने तथा लेख्नेले लेखिसक्नुभयो । उहाँहरुबाट योभन्दा बढी हुने वा लेखिने सम्भावना पनि उति देखेको छैन । अब मैले सम्भावना पनि जुनियरमा देखेको छु । मेरो आवश्यकता पनि जुनियरलाई छ । मेरा कुरा पनि जुनियरले नै बढी सुन्छन् । मैले चाहेजस्तो आकार दिन पनि म जुनियरलाई नै सक्छु, र मलाई खोज्दै पनि जुनियर नै आउँछन् । यस्तो अवस्थामा म जुनियरसँग निकट छु वा मसँग जुनियरहरु निकट छन् भने त मलाई धन्यवाद पो दिनुपर्छ । कम्तीमा कोही त छ जसले नयाँ पुस्तालाई समेटेर अगाडि ल्याउन खोजिरहेको छ । यो आरोपको विषय हो र ? यसमा त मैले दाबी गरेरै “धन्यवाद” लिनुपर्छ ।

आरोप दुई : बजारमा महेश पौड्याल ज्यादै छुच्चो (घमण्डी) छ भन्छन् नि !

sagarmani mobile size

अँ, अस्ति चाबहिलमा एक जना मित्रले यस्तै कुरा सुनाउनुभयो । भन्नुभयो — ‘एरोगेन्ट छ’ भन्छन् ।

कृष्णजी, म भजन पनि गाउँछु । तर मलाई स्टेजमा भजन गाउन बोलाइँदैन । समीक्षा वा समालोचना गर्न बोलाइन्छ । त्यहाँ, जे देख्यो त्यही भन्ने हुँ । समीक्षा गर्न बोलाउने, अनि घमण्डी भन्ने ? नबोलाए भइगयो नि । कुनै पनि कार्यक्रममा जाँदा ‘मेरो किताबको समीक्षा लेखिदिनुपर्‍यो’ भन्ने पाँच सात जना भेट्छु । छुच्छो छ भन्ने थाहै रहेछ, तर किन फेरि त्यसो भन्छन् त ? नाकाबन्दी लाउन सकिँदैन घमण्डीलाई ?

खास कुरा के भने नि, कुनै घमण्डी, छुच्चो वा एरोगेन्ट होइन म । प्रशंसामात्रै खोज्ने समाजमा जो प्रस्ट छ, यसले छुच्चोको उपाधि पाउँछ । मलाई यो निकै सुहाएको हुनुपर्छ ।

मिजासिलो हुन नेपाली साहित्यमा जे जे लेखिन्छ त्यो सबैलाई ‘उत्कृष्ट’ भन्नु पर्यो । सबैलाई उत्कृष्ट मान्ने हो भने विश्व साहित्यको अग्रस्थानमा हामी हुनुपर्ने हो । तर विश्व साहित्यको त कुरै छोडौं, एसियाली साहित्यमा पनि हाम्रो उपस्थिति बलियो छैन । त्यसो भए कमजोरी त धेरै छ नि त ! यो अवस्थामा, कसै न कसैले सत्य त भन्नै पर्यो । कसै न कसैले त छुच्चै तरिकाले पनि भन्नुपर्यो । नराम्रोलाई नराम्रो भन्दा छुच्याइँ मान्नेलाई छुच्याइँ हो । तटस्थ मान्दा तटस्थ हो । र, निर्भीक मान्दा निर्भीक पनि हो । यो सापेक्षित कुरा हो ।

महेश पौड्याल

मिल्टनले एक ठाउँ लेखेका छन् – चाकडी गरेर स्वर्गमा बस्नुभन्दा शासन गरेर नर्कमा बस्नु ठिक हो । अत: नराम्रोलाई राम्रो भनेर कसैद्वारा अँगालो मारिनुभन्दा, अथवा पुरस्कृत होइनुभन्दा सत्य बोलेर छुच्चो हुनु नै ठिक छ मेरा लागि । “छुच्चो” त समालोचकीय कर्मबाट मैले पाएको पदवी हो । र, पदवी भएको हुनाले मलाई मज्जा लाग्छ ।

तर एउटा आश्चर्यको कुरा छ । यस्तो छुच्छो मान्छे किन यति धेरै मञ्चहरूमा छ ? किन सभा, समारोह र सम्मेलनहरूको अग्रभागमा छ ? पत्रिकामा छ, टिभीमा । भजन मण्डली ल्याएर राख्न मिल्दैन यहाँ ?

साहित्यिक मर्यादाका लागि पनि प्रस्ट वक्ता चाहिन्छ । त्यो कुरा मेरो समयले बुझेको छ । त्यसैले, यहाँ एउटा छुच्चो मान्छे बेफुर्सदिलो भएको ठिक साँचो हो ।

ओरोप तीन: तपाईं समालोचक, तर आफैं चाहिँ आलोचना पचाउनु हुन्न भन्छन् । किन ?

यो आरोपचाहिँ लेखकीय स्पेससँग जोडिएको छ । आलोचना गरिनुपर्छ । जति पनि गरे हुन्छ । आलोचना त के, कालकुट पनि पचाइदिन्छु । तर नि, लेखकीय स्पेसभन्दा बाहिर गएर व्यक्तिगत टिप्पणी गरिनु हुँदैन । आलोचना मेरो लेखनको गुणस्तरमा गरिनुपर्छ । मेरा लेखकीय वा समालोचकीय विचार तथा सैद्धान्तिक ज्ञानको आलोचना गरिनुपर्छ । मैले गर्ने गरेका साहित्यिक काम, अनुवाद तथा सम्पादनको गुणवत्तामा टेकेर आलोचना गरिनुपर्छ । यस किसिमको आलोचना म जति गरे पनि सहन्छु ।

तर महेश पौड्यालका बुबाका दाँत झरेका छन् भन्ने जस्तो धरातलमा टेकेर आलोचना गरिनु हुँदैन । मैले कहाँ पढेँ, कुन सालमा जागिरमा नाम निकालेँ, मैले नाम निकालेको साल कोको अनुत्तीर्ण भए भनेर मेरो साहित्य निकृष्ट भन्न मिल्छ ? मेरो छाला अलि कालोकालो छ, त्यो वर्णमा टेकेर आलोचना गरिनु हुँदैन । मेरो घरमा के पाक्छ, घरमा को पाहुना आउँछन्, कुन विद्यालयमा कुन विषय पढाउँछु, कस्तो चिया खान्छुजस्ता कुराहरु जब मेरो आलोचना गर्ने आधार बनाइन्छ नि, म वास्तवमै रुष्ट हुन्छ । यस किसिमका आलोचना पचाउनु पनि हुँदैन । किनकि, यस किसिमको आलोचनाको स्पेस होइन साहित्य । र यी आलोचना नै होइनन् । ईर्ष्या हुन्, पूर्वाग्रह हुन्, आक्रोश हुन् ।

तपाईंलाई एउटा प्रसङ्ग सुनाउँछु । एक जना समीक्षकले मैले सम्पादन गरेको एउटा अङ्ग्रेजी पुस्तकमाथि समीक्षा लेख्नुभयो । त्यसमा एक अनुच्छेदमा त्यस किताबमा मैले लेखेको भूमिकामाथि पनि समीक्षा गर्नुभएको थियो । त्यहाँ “एउटै पेजमा २२ ठाउँ त्रुटि छन्” भनेर लेखिएको थियो । मैले त्यो २२ त्रुटि गनेँ, तर ४ वटा भेटेँ । अर्थात्, समीक्षकले त्रुटि लेख्नुभयो ठिक छ, तर २२ वटा भनेर किटानै गरेपछि त ४ हुनु भएन नि त ! अब मैले त्यसको विरोध गर्ने कि नगर्ने ? मैले समीक्षक, समीक्षा छापिएको पत्रिका र सम्पादकको आलोचना गरेँ । अनि हल्ला चल्यो – महेश पौड्यालले आलोचना पचाउँदैन ।

आरोप चार: गीत, कविता, कथा, निबन्धदेखि समीक्षसम्म आफैं लेख्नु हुन्छ । अझ अनुवादक पनि । किन ?

मान्छेहरु एउटै विधामा लागे, र एउटा मानक स्थान प्राप्त गरे । त्यो उहाँहरुको साधनाको उपज हो । त्यसप्रति ईर्ष्या र आदर दुवै छ मभित्र । तर सबैको व्यक्तित्व उस्तै हुँदैन । मन तथा मस्तिष्कको बुनोटले फरक पार्ने हो । सायद, मभित्रको बुनोट नै हल्लिरहने छ, स्थिर नहुने । विश्वविद्यालयमा अङ्ग्रेजी साहित्य पढाउने हुनाले स्वभाविक रुपमा म समालोचनाको विद्यार्थी बनेँ । अङ्ग्रेजी साहित्य पढाउने तथा नेपाली साहित्य थोर बहुत बुझेको र लेखेको हुनाले अनुवादक भएँ । गीतको निकट रहेको परिवारबाट आएको हुनाले विरासतमा गीत आयो, त्यसलाई थुन्न पनि सकिएन । बालकहरुसँग स्कुलमा धेरै वर्ष बिताएँ, उनीहरुको संवेदनाले छोयो, र बालसाहित्यतिर तानिएँ । त्यसैगरी कथा र कविता पनि आए । जीवन कसरी बाँचेर आइयो भन्ने कुराले पनि लेखनको विधाहरुलाई निर्धारण गर्दो रहेछ ।

यो मामिलामा चाहिँ अझै पनि म सुध्रिने सम्भावना छैन ।

०००

अब त चिन्नुभो होला नि महेश पौड्याल !

खैर छोड्नुहोस् ! चिन्नु वा नचिन्नु उति महत्त्वपूर्ण कुरो होइन, जति महत्त्वपूर्ण पुरस्कार पाउनु हो । राम्रो प्रकाशक भेट्नु हो । अँ, नेपाली साहित्यमा यो मौसम पुरस्कारको हो । अझ भनौं, पद्मश्री र मदन पुरस्कारको चर्चा शिखरमै छ । मदन पुरस्कारका लागि अग्निलाई बधाई । पद्मश्रीका लागि अर्को भोरलाई पनि बधाई । लामो तथा छोटो सूचीमा अटाएका सम्पूर्ण पुस्तक र पुस्तककारलाई आंशिक बधाई । सूचीमै नअटाएका पुस्तक र पुस्तककारलाई उधारो बधाई ।

कुरो महेश पौड्यालको हुँदै थियो । यहाँ उनले उधारो बधाई लिनुपर्ने हुन्छ । कारण, ०७८ सालमा प्रकाशनमा आएको उनको कथासङ्ग्रह “अपरिचित अनुहार” देशका दुवै ठूला पुरस्कारको प्रारम्भिक सूचीमै अटाएन । उसो त, वर्षभरिमा सयौँ पुस्तकहरु प्रकाशनमा आए – पुरस्कारको सूचीमा नअटाउनुभन्दा अटाउनु दुर्लभ कुरो हो । खैर जेहोस्, अब महेश पौड्यालबाटै सुनौँ, मेरो प्रश्न उनको उत्तरमा, “पुरस्कार” र “प्रकाशक”का केही तीता–मिठा कुराहरु –

===

देशका ठूला दुवै पुरस्कारमा तपाईंको कृति “अपरिचित अनुहार” अटाएन । यसलाई कसरी लिनुभएको छ ?

हो, दुईतिरै अटाएन । र, करिब करिब अटाउँदैन भने मलाई थाहा थियो । त्यसका केही कारण छन् ।

पहिलो, मेरो किताबमा करोडौँ कमजोरीहरु छन् । तीमध्ये कतिपय कमजोरीलाई विमोचनका वक्ताहरूले औँल्याइदिनुभयो । अन्य कमजोरी पछि समीक्षक–समालोचकले भनिदिनुभयो । थपचाहिँ पाठकहरूले भनिदिनुभयो । सूचीमा समावेश गरिनुपर्ने कृति भनेको अब्बल हुनुपर्छ । साँच्चिकै अब्बल । अझ, पुरस्कृत नै हुने कृति त अनुपम नै हुनुपर्छ । कमसल कृति सूचीमा नपर्नु भनेको हामीजस्ता लेखकको मिहेनत पुगेको छैन, हामीले अझै काम गर्नुपर्छ भन्ने हो । अहिले म, दुवैतिरका प्रारम्भिक र अन्तिम सूचीमा परेका किताब खोजी खोजी पढ्दैछु । नेपाली साहित्यको स्तर यो पो रहेछ भनेर बढो रोमाञ्चित पनि भइरहेको छु । मैले सिक्न अझैँ कति बाँकी ! जान्न कति बाँकी ! छक्कै परेको छु । भनौँ न — जिल खाइरहेको छु ।

‘अपरिचित अनुहार’ का कमजोरीका बारेमा केही मोखिक चर्चाहरु पनि चलेछन् । कतिपय कुरा त मैले पनि सुनेँ । आधिकारिक ठाउँबाट त त्यस्तो केही आएन, तर बजारको गाइँगुइँ बुझ्दा जस्ता खालका तर्कहरु गरिएको सुनियो, ती तर्कहरु प्राज्ञिक थिएनन् । कसैले कतै भारी सभामा “यी कथा होइनन्, लघुकथा हुन्, लघुकथालाई तन्काएर कथा बनाएका हुन्,” भनेर भनेको खबर मेरो कानसम्म ठोकिन पुग्यो । यो त साह्रै फितलो तर्क भएन र ? यदि मलाई नै सोधेको भए पनि म मेरो किताबका कमजोरीका बारेमा दश–पन्ध्रवटा प्राज्ञिक तर्कहरु दिन सक्थेँ, र ती मेरा परम मित्रले मैले नै टिपाइदिएका तर्क गरेको भए उनको शाख जोगिन्थ्यो । अहिलेलाई चैँ जोगिएन । हुन त मेरै पनि कहाँ जोगियो र ? हेहे ।

अँ, लघुकथा तन्काएर कथा बनाउने सामथ्र्यचाहिँ मसँग रहेछ । त्यो जानेर खुशी लाग्यो । तर, मैले कुन कापी वा डायरीमा पहिले लघुकथा लेखेछु, र कहिले, कुन दिन वा रात, कसरी तन्काएछु, र ती मित्रले त्यो कहिले, कहाँ र कसरी देखे, जान्ने मन छ । आलोचक हुन् कि ज्योतिषी, सोध्ने मन छ ।

अलि गतिला तर्क गरौँ न प्राज्ञिक ठाउँमा बसेपछि यार ।

लघुकथा, कथा वा उपन्यास, यी सबै आख्यान हुन्, र सबै आख्यानको पुटचाहिँ एउटै हो । त्यही कुरालाई तन्काउन सक्दा, कल्पनाशीलता भरेर त्यसलाई विस्तारित गर्न सक्दा एउटै बिजले लघुकथा, कथा र उपन्यासको रुप धारण गर्ने हो । म नाटकको क्षेत्रमा पनि काम गरेको मान्छे । कविता, कथा तथा उपन्यासका प्रशस्तै नाट्यरुपान्तरण भएका छन् । त्यसमा म स्वयं पनि संलग्न भएर काम गरेको छु । एउटा विधाको सिर्जनाले अर्को विधाको आकार लिँदैन भन्ने हुँदैन । एउटै विषयमा कथा, कविता, लघुकथा, गजल र उपन्यास बन्न सक्छन् । यसर्थ लघुकथा तन्काएर कथा बनायो भन्ने तर्क चाहिँ कुतर्क हो ।

तर नि, मैले कथा नै लेखेको हो । लघुकथा लेखेको होइन । कथाको बान्की मिलेन भन्दा हुन्छ । समालोचकको कलेबरमा ज्योतिषीचाहिँ चाहिँदैन । ‘मेषालि भौमै बृषतौली शुक्रे’ भन्न त म आफैँ जान्दछु ।

अर्को कुरा, “यो किताबको धेरै चर्चा भयो” भन्ने तर्कले पनि ठाउँ पाएको मैले थाहा पाएँ । यसमा मेरो प्रश्न के रह्यो भने – साथीभाइहरुले सद्भाव राखेर मेरो कवितामाथि समीक्षा लेखे भने, कसैले आफ्नो वालमा मेरो किताबको फोटो नै राखे भने, त्यो मैले प्रेमपूर्वक आफ्नो फेसबुक वालमा राख्न पाउने कि नपाउने ? एउटा सुदूरपूर्व वा सुदूरपश्चिमको भाइ वा बहिनीले कुनै पुस्तक आफ्नो फेसबुक वालमा राखेपछि लेखकको अटेन्सन खोज्छन्, त्यहाँ मैले प्रेम देखाउने कि नदेखाउने ? – म त्यतिको ठूलो लेखक पनि हुइनँ जसले पाठकलाई नजरअन्दाज गर्ने ल्याकत राखूँ । यसर्थ, कसैले समीक्षा लेखिदिन्छन्, कसैले कथा वाचन गरेर पठाइदिन्छन्, कसैले फेसबुकमा कभर राखेर सेयर गर्छन्, र मलाई साझा गर्छन् । यस्तोमा सद्भाव देखाउँदै मैले सम्पूर्ण सामग्रीहरुलाई आफ्नो वालमा सेयर गर्ने गरेको छु । यसै कुरालाई अधिक प्रचारको नाममा कमजोरको टोकरीमा राख्नु सैद्धान्तिक तर्क होइन । यो केवल र केवल पूर्वाग्रह हो ।

तेस्रो, हामी एकातिर प्रतिभाको मूल्याङ्कन र कदरको कुरा गर्छौं । तर अर्कातिरचाहिँ के पनि देखियो–सुनियो भने – जाति, लिङ्ग, वर्ग, क्षेत्र समेट्नुपर्ने बाध्यतामा एकातिरको छनोट समिति थियो रे । यो उहाँहरुको बाध्यता हो, र बाध्यता भएपछि कुनै न कुनै पुस्तकलाई त फाल्नै पर्यो । र, फाल्न सबैभन्दा सजिलो भयो अपरिचित अनुहार । किनकि लैङ्गिक, क्षेत्रीय, वर्गीय, जातीय कुनै पनि हिसाबले समेट्नै पर्ने, सदासायता राखिनु नै पर्ने व्यक्ति महेश पौड्याल होइन । ऊ मतलब पनि राख्दैन, टेर्दैन पनि । हुन त, उसको लेखन पनि त्यति गतिलो होइन । तर कतिपय गतिला किताबलाई पनि यस्तै कुतर्क गरेर हटाइदिए, र कमजोर पुस्तकलाई कोटा प्रणालीबाट अगाडि ल्याए भने के हुन्छ ? म आफैं समालोचक पनि हुँ । कुन कृति कति गतिलो, र त्यसप्रति आम पाठकको धारणा के छ, त्यो त म पनि बुझ्छु होला नि ?

मेरो किताब फाल्नै पर्ने बाध्यतालाई मजत्तिको मान्छेले प्रेमपूर्ण तरिकाले बुझ्नुपर्छ । मलाई दु:ख वा गुनासो केही पनि छैन । कारण, मलाई आश भए पनि विश्वास पटक्कै थिएन ।

अर्को महत्वपूर्ण कुरा – म नियालिरहेको हुन्छु बजारमा, कतिपय लेखकहरु एकदमै वाचाल प्रकृतिका छन् । सभासमारोहमा निर्भीक कुरा राखिरहने । पत्रपत्रिकामा सङ्गीन लेखहरु लेखिरहने । तर जब किताब आउँछ, उनीहरु त्यो वर्षभरि मौनव्रतमा बस्छन् । आफ्नो किताबका बारेमा बोल्नुपर्ने बोल्छन्, बाँकी कुरामा कुनै धारणा राख्दैनन् । तर म त्यस किसिमको परिनँ । एकातिर किताब चलिरहेको छ, अर्कातिर आफूलाई लागेको कुरा भन्न, मान्छेका चित्त दुखाउन, समालोचना गर्न, लेख लेख्न, केही गर्न पनि छोडिनँ । तपाईंहरुकै साहित्यपोस्टमा ३० अङ्कसम्म धारावाहिक ‘लेखनका कुरा’ लेखेँ । अब, यही समयमा आएको मजस्तै, जोकोहीको चित्त दुखाउँदै हिँड्ने मान्छेको किताब कतै सर्टलिस्टमा पर्छ ? पर्दैन नि ! यसर्थ मैले कुनै सानोतिनो पुरस्कार पाउँदा पनि छुच्चो हुँदाहुँदै पाउने हुँ, यो बुझेको छु । तर म जहाँबाट पुरस्कृत हुनुपथ्र्यो, भइसकेँ । मैले जहिल्यै भन्ने गरेको छु – साहित्यको सर्वोच्च अदालत भनेको पाठक हो । पाठक मसँग छन् । बस् ।

अतः “अपरिचित अनुहार” चाहिँ विययवस्तु तथा लेखकीय कमजोरीका कारण तथा मेरो छुच्चे स्वभावका कारण पुरस्कारको सूचीमा नअटाएको हो । तर जुन किसिमले बनिबनाउ तर्कहरु चर्चामा आए वा ल्याइयो नि, तीचाहिँ अप्राज्ञिक हुन् ।

एउटा कुरा चाहिँ भन्छु । अपरिचित अनुहार को मारो गोली । तर, आफूले ‘पोटेन्सियल थ्रेट’ को रूपमा लिएका लेखकका अब्बल र शक्तिशाली किताबलाई पहिलो, दोस्रो वा तेस्रो सूचीबाटै नियोजित रूपमा फाल्दै जाँदा, अन्त्यमा अपेक्षाकृत कमजोर कृतिलाई पुरस्कृत गर्नुपर्ने ‘बाध्यता’ मा कुनै छनोट समिति वा गुठी पुग्यो भने पुरस्कार दाताको शाख रहला ? निर्णायकको नि ? अनि पुरस्कार आफैँको ? ग्लानि हुँदैन ? समग्र साहित्यिक समाजलाई भ्रममा पारेको ठहरिँदैन ?

भो, त्यता नलागौँ ।

तैपनि, “अपरिचित अनुहार” पाठकबाट अनुमोदित भएको दाबी गरिरहँदा देशका दुई ठूला पुरस्कारको प्रारम्भिक सूचीमै नपर्नुको दु:खबोध त होला नि !

मलाई चाहिँ छैन । आशै थिएन । विश्वासै पनि थिएन । यस्तो अहिले मात्र भएको होइन, पहिलेबाटै हुँदै आएको हो । मलाई आश भएको भए दुखी हुन्थेँ पनि होला । तर म सुरुकै दिनदेखि नै यी ठूला पुरस्कारको व्यवस्थाभित्र मेरो किताब नअटाउने कुरामा तयारै थिएँ । म सुरुदेखि नै साहित्य सिर्जनाका साथसाथै समालोचनाको क्षेत्रमा कलम चलाइरहेको मान्छे, कतिपय निर्णायकहरुले नै प्रतिस्पर्धीका रुपमा हेर्छन् । निर्णायकहरु नै प्रतिस्पर्धी भएको ठाउँबाट मेरो कृति अनुमोदित हुने कुरै रहँदैन ।

तर एउटा सत्य कुरा चाहिँ यो हो कि, पुरस्कार गुठी वा समितिको बुझाइ र पाठकहरुको बुझाइबीच यो देशमा कहिल्यै पनि तालमेल छैन । विगत १०–१५ वर्षको इतिहासलाई हेर्दा पाठकका बीचमा लोकप्रिय किताब कहिल्यै पुरस्कृत भएका छैनन् । पुरस्कृतै भइसकेपछि पनि केही किताबले पाठकको हृदयमा बास पाएकै छैनन् । कतिपय पाठकको स्मरणमै छैनन् । यसर्थ, यी पुरस्कार संस्थानहरु पुस्तक तथा लेखकको स्तरीयता निरुपण गर्ने अन्तिम कडी होइनन् । अझ प्रस्टसँग भन्दा, पुरस्कारहरु केही न केही आग्रहका साथमै स्थापना भएका हुन्छन्, र निर्णायकको पनि आफ्नै आग्रह–पूर्वाग्रह वा सनक हुन्छ । कुनै पनि लेखक वा कृति निर्णायक तथा संस्थाको आग्रहमा पर्दा छनोट हुनु र नपर्दा नहुनु सामान्य पक्रिया हो ।

एउटा प्रसङ्ग उठाउँछु । अहिले डा. नवराज लम्सालको ‘अग्नि’ महाकाव्यले मदन पुरस्कार पायो । म ज्यादै खुसी छु । तर नि, डा. नवराज लम्साल अहिलेमात्रै फुत्त समुद्रबाट निस्केर अब्बल काव्यकार बनेका होइनन् । उनको कर्ण आयो, सबैतिरबाट फाले । धरा आयो, सूचीमै परेन । म पाठक पनि, समालोचक पनि । कर्ण पनि र धरा पनि — कुनै पनि कोणबाट अग्निभन्दा कमजोर पुस्तक होइनन् । हुँदै होइनन् । अझ दर्शनको ओज र काव्यको बुनोटको कुरा गर्ने हो भने अग्निको ठूल्दाजु हो धरा । आफ्नै प्रतिगमन सञ्च्याउन बाध्य भए निर्णायकहरू, गुठीहरू । गल्ती त गर्दा रहेछन् नि । धरा निस्केका साल, सूचीमै पर्न नसक्ने कृति थियो त धरा ? मलाई बुझाओस् न सकैले ? सुनौँ न तर्क ! उठाऔँ न धरा, र मानवीय समवेदनाका साथ पढौँ न एकचोटि फेरि । केवल कुतर्क गरेर नवराज लम्लासमाथि आजसम्म अन्याय भएको थियो । कमसेकम सूचीमा पार्दै ल्याएको भए हुन्थ्यो नि । योग्य थिए ती दुवै किताब ।

अहिले आएर गुठीहरूले आत्मआलोचना गरेको ठानेको छु । यो राम्रो कुरा पनि हो भन्ने मलाई लाग्छ । तर के हुन्छ पुस्तक पठन र छनोटको आधार ? त्योचाहिँ बुझिँदैन यो देशमा ।

धेरै ठाउँमा तपाईं स्वयंम पनि निर्णायकको भूमिकामा रहिसक्नुभएको छ । पुरस्कारभित्रको राजनीति बुझ्नुभएकै होला । निर्णायकलाई पनि बाहिरबाट देखेझैं सजिलो त नहोला नि !

हो । कतिपय अवस्थामा निर्णय गर्नमा बडो कठिन हुने गर्छ, जुन कुराको अनुभव मलाई पनि छ । चित्रगुप्तले गरेको निर्णयजस्तो पूर्ण तटस्थ हुन्छ भनेर ठान्नु सबैभन्दा ठूलो मिथ्या हो । अझ चिनिएका निर्णायक भए भने त त्यहाँ दबाव कति आउँछ आउँछ, जुन म स्वयंले पनि भोगेको छु । र, म आफैं निर्णायक समितिको सदस्य भएको ठाउँमा विभिन्न दबाव र तानातानका बिचमा गलत निर्णयहरु भएका छन् । ग्लानि छ । यस्तै ग्लानि हुने काम अहिलेका प्रबुद्ध निर्णायकबाट भएको नहोस् । कुनै कृति वा लेखकलाई पुरस्कृत गर्दैगर्दा पुरस्कार दाताका आग्रह, वैचारिक समूहका आग्रह, क्षेत्रगत आग्रह आदि–इत्यादिले धेरै हस्तक्षेप गर्छन् । तर त्यसलाई चिर्ने सामर्थ्य अहिलेका निर्णायकहरूलाई भगावन्ले दिएको होस् ।

कृति वा कृतिकारको मानकीकरण गर्ने क्षमता राख्ने ठूला पुरस्कारका निर्णायक र गुठियारले साना साना गृहस्थी पर्खालमा आफ्ना नाम टाँस्नु हुँदैन ।

कथाकार, उपन्यासकार वा कवि मात्र हुनु र सँगै समालोचक पनि हुनुले पुरस्कारको क्षेत्रमा विशेष अर्थ राख्छ ?

पक्का राख्छ । तर समालोचक हुनुको सौन्दर्य र वैशिष्टता पनि त्यही नै हो । कुनै व्यक्तिले कुनै विचार वा अवधारणामा टेकेर पुस्तक प्रकाशनमा ल्याउँछ, र समालोचकका हैसियतमा बोलिदिनु पर्ने हुन्छ । समालोचनाको मर्ममाथि टेक्दै पुस्तकका कमीकमजोरी केलायो, सम्बन्धित वैचारिक वा अवधारणा समूहले नै बहिष्कार गर्छ । यस्तो बहिष्करणमा म पनि धेरैपटक परेको छु – कहिले विचार समूहले, कहिले पत्रिकाले, कहिले राजनीतिक विचार समूहले । तर करिब १५ वर्षदेखि म समालोचना गरिरहेको छु । यी १५ वर्षमा बहिष्कार गरेर मलाई कहाँ रोके त भन्दा, कहीँ पनि छैन । मेरो लखकीय अस्तित्वमा कुनै असर देखिएको छैन । त्यसैले मलाई कुनै चिन्ता छैन । टेर्दिनँ पनि ।

बुझ्नु पर्ने कुरा यो छ कि, लोकप्रियताको लोभ भएको मान्छेले समालोचनाको क्षेत्रमा हातै हाल्नु हुँदैन । समालोचनमा हात हाल्नु भनेको त्यी तमाम जोखिम लिएर उभिनु हो, र आशा–अनुग्रहमा दिइने पुरस्कार, चिनजानका भरमा दिइने सम्मान अथवा अनुकूलतामा बनाइएका सीमाहरुमा रहेर दिइने पुरस्कारमा मजस्ता छुच्चा समालोचकको कहिल्यै पनि छनोट हुँदैनन् । यो अहिलेको मात्र कुरो होइन, आजको बीस वर्षपछि पनि तपाईँले यो प्रश्न मलाई सोध्नुभयो भने मेरो उत्तर यही हुन्छ । तर यति हुँदाहुँदै पनि कसैले पहिचान गर्यो भने त्यो गौरवको कुरा हो ।

तपाईंका प्रत्येकजसो नयाँ पुस्तक नयाँ प्रकाशन गृहबाट प्रकाशित हुँदै आएका छन्, कारण प्रकाशन गृहको अव्यावसायिकता नै होला । प्रकाशन गृहहरुको अव्यावसायिकताको मारमा लेखकहरु कसरी पर्दा रहेछन् ?

सबै प्रकाशकहरु व्यावसायिक छैनन् भनेर म भन्न त सक्दिनँ । कतिपय प्रकाशनहरु बडो व्यावसायिक तवरले आएको मैले सुनेको छु । तर लेखकका रुपमा आफ्नै संलग्नता भएको ठाउँमा चाहिँ प्रकाशकमा हुनुपर्ने व्यावसायिकता पटक्कै देखेको छैन । अहिलेसम्म म जहाँ जहाँ जोडिएँ त्यहाँ व्यावसायिकता नपाउनुको असन्तुष्टि, गुनासो वा भनौं कुण्ठा ममा बिल्कुलै छ ।

ऐश्वर्य प्रकाशन हामी साथीहरु नै मिलेर सुरु गरेका थियौं, जहाँबाट ‘त्यसपछि फुलेन गोदावरी’ प्रकाशनमा आयो । पछि आफ्नै कारणले त्यसलाई अगाडि बढाउन सकेनौं । त्योभन्दा अगाडि बुक आर्ट नेपालमा मैले केही समय काम गरेको थिएँ, जहाँबाट मेरै आफ्नै तथा सम्पादन गरेका किताबहरु प्रकाशनमा आए । तर त्यहाँबाट न पुस्तकहरु मजाले वितरणमा गए न त लेखकहरुलाई बोलाएर लेखस्वका कुराहरु नै गरिए । त्यो पनि मेरा लागि एक असफल प्रयासजस्तो भएर गयो, जसको मार मेरो दिनदैनिकीमा आएकै हो । हुन त मेरो आफ्नै स्वभावमा पनि अफ्ठेरोपन होला र मेरा कुराहरु तीखा होलान् । त्यो मन नपरेको पनि हुनसक्छ ।

पछिल्ला केही वर्षदेखि जुन प्रकाशनका लागि मैले बढी काम गरिरहेको छु, त्यहाँ पनि मैले कुनै किसिमको व्यावसायिकता पाएको छैन । सत्य कुरा भन्दैनन् । पाउनु पर्ने दिँदैनन् । बोलाएर सुख–दु:ख पनि सोध्दैनन् । दुईचारपटक त भन्छु पनि आफ्नो दुखहरु । भरे–भोलि भरे–भोलि भन्छन् । टार्छन् । यसरी आजका दिनसम्म कुनै आर्थिक हिसाबले अथवा लेखस्वका हिसाबले अथवा सम्पादन वा अनुवाद कार्यको पारिश्रमिकका हिसाबले पनि मेरा प्रकाशकले मलाई सम्झेका छैनन् । मैले सबैभन्दा बढी आफैंलाई बुझेको हुनाले योचाहिँ मेरो अनुभव भयो । मेरो जस्तै अनुभव हुनेहरु एक ठाउँ आएर आवाज उठाए भने भोलिका दिनमा केसम्म हुनसक्छ भन्ने कुरको हेक्काचाहिँ प्रकाशन गृहहरुले राख्नुपर्छ ।

यसर्थ, प्रकाशक र प्रकाशन गृहसँग मेरा थुप्रै असन्तुष्टि र गुनासाहरु छन् । हामी लेखकहरुसँग उनीहरुको पनि गुनासो छ भने उनीहरुले भन्नुपर्छ । लेखन चित्त नबुझेमा १० पटक पुनर्लेखन गन लगाउनुपर्छ । अथवा कुनै किताब बिक्री भएन भने रिप्रिन्ट गर्दिनँ भन्ने ल्याकत राख्नुपर्छ । दोस्रो संस्करण पनि निकाल्ने, सिफारिस र सम्पादन गरेका किताबहरु फ्रीमा छापिरहने, तर आर्थिक सम्बोधनचाहिँ कही पनि नगर्ने । यस्तो पाखण्डले प्रकाशन गृह व्यावसायिक हुन्छ र लेखकहरु लखेरै बाँच्न सक्ने अवस्था बन्छ जस्तो मलाई लाग्दैन ।

तपाईं बोली बिक्ने लेखकले समेत प्रकाशकबाट यस किसिमको व्यवहार झेलिरहनुभएको छ भने नयाँ पुस्ता वा भनौं साहित्यमै भविष्य बनाउने सपना बोकेका नवप्रवेशीहरुलाई कति गाह्रो छ भन्ने कुराका अनुमान गर्नसम्म गाह्रो छ । तपाईं त समालोचक पनि, लेखकहरुलाई प्रकाशन गृहहरुको अव्यावसायिकताको पञ्जाबाट बाहिर निकाल्ने उपाय पनि होलान् नि !

लेखकहरु अलि बढी नै सहिष्णु भएर पनि प्रकाशकहरु अव्यावसायिक हुन प्रेरित भइरहका हुन् कि भन्ने पनि लाग्छ मलाई । हाम्रो बाैद्धिकता, सिर्जनशीलता, समय र मिहेनतमाथि व्यापार गर्छन् र उनीहरूलाई दुई पैसा फाइदा हुन्छ । तर उक्त फाइदामा हामीलाई कतै पनि अंशियार बनाउँदैनन् भने त्यो हाम्रो बाैद्धिक सम्पत्तिमाथिको अन्याय हो । हामी लेखकहरुको कमजोरी यो पनि छ कि, हामी कागज (एग्रिमेन्ट) गराउँदैनौं । मैले पनि कतै गरिनँ । हामीलाई कुनै प्रकाशकले पुस्तक निकाल्दिन्छ भने त्यही सर्वैसर्वा हुन्छ । पुस्तक प्रकाशित हुनुलाई नै हामी ठूलो प्राप्ति मान्छौं । र, सबै त नभनूँ ज्यादातर प्रकाशकहरु हाम्रो यही कमजोरीमाथि खेलिरहेका छन् ।

त्यसैले, अबका दिनहरुमा लेखकहरु पुस्तक छापिनु नै ठूलो प्राप्ति हो भन्ने भ्रमबाट बाहिर निस्किनु पर्छ । नयाँ पुस्ताले धैर्य गरेर व्यावसायिक तथा आर्थिक रुपले पारदर्शी प्रकाशन गृहहरुको पहिचान गरी तिनीहरुबाट मात्र पुस्तक निकाल्नु पर्छ । हो, केही बढी मिहेनत र धैर्य धारण गर्नुपर्छ तर यसो गर्न सके भोलिलाई सजह हुन्छ । बरू लेखकलाई मारेर, बौद्धिक सम्पत्ति चोरेर खान पल्किएका प्रकाशकहरुबाट छाप्नुभन्दा आफ्नै हिसाबले (सेल्फ पब्लिसिङ) छाप्नु राम्रो हुन्छ । अहिले त हरेक मानिस आफैं मिडिया हो, त्यसैले यदि आफ्नो कृतिमा क्षमता छ भने पाठकसम्म पुग्न प्रकाशन नै आवश्यक पर्छ भन्ने पनि हुँदैन । अब पनि लेखनलाई व्यावसायिक नबनाउने हो भने कहिले बनाउने ? कमसेकम किताब आउने भएपछि अलिकति साइनिङ अमाउन्ट पाइयोस् । त्यो पैसा घरमा देखाउन पाइयोस्, अनि घरले पनि सर्पोट गर्छ ।

अँ, तपाईंले महेश पौड्याललाई अझै चिन्न सक्नुभएन भने गुगल सर्च गर्न सक्नुहुन्छ । अझ, तपाईँ नयाँ पुस्तामा पर्नुहुन्छ भने पौड्याललाई फेसबुकमा सर्च गर्न सक्नुहुन्छ । पहिलो आरोप बिर्सनुभयो ? पौड्याल केटाकेटीको हूल बाँधेर हिँड्छन् नि त !

लेखक परिचय

साहित्य लेखन र पत्रकारितामा विशेष रूचि राख्ने कृष्ण ढुङ्गेल साहित्यपोस्टका केन्द्रीय संयोजक हुन् । आधा दर्जन बढी पुस्तकहरूको सम्पादन गरिसकेका ढुङ्गेलको मौलिक कृति “मिराज” उपन्यास प्रकाशित छ । गैरआख्यान विधाको उनको दोस्रो कृति प्रकाशनको तयारीमा छ ।

प्रतिक्रिया
Loading...