युवा साहित्यकार कृष्ण कुसुमको कथासङ्ग्रह ‘पार्श्वधुन’ बजारमा नयाँ छ । हाल अमेरिकामा बसोबास गर्दै आएका कुसुमको यो पहिलो कथासङ्ग्रह हो । यस कथासङ्ग्रहमा कुसुमले नेपाल र अमेरिकी परिवेशका तेह्र कथाहरू समेटेका छन् । यसअघि उनले गजलसङ्ग्रह ‘अमृतको प्याला’, संयुक्त कवितासङ्ग्रह ‘अञ्जुलीमा अभियन्ता’ तथा संयुक्त गजलसङ्ग्रह ‘अञ्जुलीमा अभियन्ता २’ प्रकाशनमा ल्याइसकेका छन् ।
प्रस्तुत छ, उनै कुसुमसँग कथासङ्ग्रह ‘पार्श्वधुन’को सेराेफेरोमा रही साहित्यपोस्टका लागि कृष्ण ढुङ्गेलले गरेकाे संवादकाे सम्पादित अंशः
===
तपाईँको कथासङ्ग्रह ‘पार्श्वधुन’ प्रकाशनमा आएको छ । सुरुमा, तपाईँको कथा यात्राकै बारेमा थोरै बताइदिनुहोस् न !
– ०६२–०६३ तिर मेरो गजलसङ्ग्रह प्रकाशनमा आयो । नुवाकोटका मधुसुदन पाठक दाइले एक दिन भन्नुभयो, ‘कृष्ण धरावासी दाइ मदन पुरस्कार पाएपछि काठमाडौँ नै हुनुहुन्छ, तिमी उहाँलाई भेट । टेक्निक सिक । तिमीले आख्यान लेख्नुपर्छ ।’
आख्यान (कथा) त लेख्ने, तर के लेख्ने ? मेरो लागि गाह्रो विषय नै यही हो । सबै विषयमा अर्कोले लेखिसकेको हुन्छ, मैले नयाँ के लेख्ने ? पुरानै किन लेख्ने ? – मेरो गजलसङ्ग्रह हेर्नुहुन्छ भने पनि माया–प्रेमका भन्दा राजनीतिक चेत भएका गजलहरू मैले बढी लेखेको छु । गजलसमेत प्रेम नलेखेको भएपछि कथामा प्रेम लेख्ने कुरो भएन । अब के लेख्ने ?
धरावासी दाइसँगको सङ्गत भएपछि एक दिन उहाँसामु मैले मेरो द्विविधा पोखेँ । उहाँले भन्नुभयो, ‘भाइ, टाढाबाट हेर्दा सबै विषयवस्तु उस्तै देखिन्छ । जब विषयवस्तुको नजिक पुगिन्छ तब आफ्नो नवीन दृष्टिकोण बन्छ । कुनै पनि विषयभित्र तिमीले भेटेको घटना र देखेको दृष्टिकोण अरु कसैले नदेख्न सक्छ । तिमीले त्यही लेख्ने हो ।’
त्यसपछि मधुसूदन दाइले मलाई एउटा विषयवस्तु दिनुभयो, लेखेर सुनाऊ भनेर । लेखेर सुनाएँ । उहाँले भन्नुभो, ‘गज्जब’ । त्यसपछि मैले त्यो कथा मिरमिरेमा पठाएँ । गजल छाप्दा ३ सय रुपियाँ पाउँथेँ, कथाको ६ सय पाएँ । त्यसपछि अन्य कथाहरु पनि लेखेँ, विभिन्न पत्रिकाहरुमा छापिँदै गयो । र, मेरो कथा लेखन अघि बढ्यो ।
तर कथालाई सङ्ग्रहका रुपमा ल्याउनचाहिँ किन यति लामो समय लाग्यो ?
०६९ सालतिर एकपटक कथासङ्ग्रह प्रकाशनमा ल्याउनेबारे नसोचेको होइन । कथासङ्ग्रह निकाल्ने भनेर प्रकाशकसँग एक चरणमा कुरा भएको पनि हो । तर त्यो प्रक्रिया बिचैमा रोकियो । मलाई लाग्छ, म एक दुर्घटनाबाट बचेँ । त्यहीबिचमा म अमेरिकातिर लागेँ । र, आफूलाई आफ्नै कथाहरुमाथि विश्वास भएर कथासङ्ग्रहका रुपमा प्रकाशनमा ल्याउँदा ०८० साल लाग्यो ।
‘पार्श्वधुन’मा के कस्ता कथाहरु समेटिएका छन् ?
– ‘पार्श्वधुन’मा तेह्रवटा कथाहरु सङ्ग्रहित छन् । जसमा सबैभन्दा पुरानो, ०६४ सालमा लेखिएको कथा छ । जुन पहिले ‘उहाँ आउनु भो’ भन्ने शीर्षकमा प्रकाशनमा आइसकेकाे थियो । अहिले पुस्तकमा चाहिँ यो ‘गथासो’ शीर्षकमा सङ्ग्रहित छ । मलाई त्यो भयंकर कथा लाग्दैन, आफू हिँडेको बाटोको स्मरण गर्न र त्यस समयमा मैले लेखेका कथाहरुको प्रतिनिधिको स्वरुप यो कथालाई सङ्ग्रहमा अटाएको हुँ । शैलीगत हिसाबमा फरक भएकाले पनि यो कथालाई मैले समेटेको हुँ । अरुचाहिँ सन् २०१८ पछि लेखिएका छन् । त्यसमा बाह्रखरी पहिलो प्रतियोगितामा भाग लिएको कथा लडाकु छ । अर्को चाहिँ, मलाई कसैले पहिलोपटक विषय दिएर लेखेको कथा पनि छ, तर त्यसलाई चाहिँ विषयमात्र उही लिएर ‘अपुरो’ शीर्षकमा पुनःसिर्जना गरेको हुँ ।
१३ वटा कथामा ८ वटा कथा अमेरिकाको परिवेशमा नेपालीहरुको कथा लेखिएका छन् । त्यहाँ नेपाली तथा भुटानी शरणार्थीहरुले भोग्ने पर्ने कानुनी, पारिवारिकदेखि लिएर मानसिकसम्मका कथा–व्यथाहरुलाई कथामा समेटेको छु ।
हरेक सर्जकको शक्ति र सीमितता हुन्छन् । कथाकारका रूपमा तपाईँले आफ्नो शक्ति र सीमितता के के पाउनु भयो ?
शक्तिचाहिँ, साथीभाइहरूले पनि भन्नु हुन्छ, मैले आफैँ पनि महसुस गरेको कुरा – म लेख्नका लागि लेख्दिनँ । मलाई विषय चाहिन्छ । फेरि म जुनसुकै विषयमा पनि लेख्दिनँ । म कथाका लागि विषय खोज्छु । मेरा सिर्जनाको विषयहरु सूक्ष्म हुन्छन् । आवश्यक अध्ययन–अनुसन्धान गर्छु । मलाई लाग्छ, ममा नयाँ विषयवस्तु खोज्ने चेत र त्यसलाई न्याय गर्नसक्ने क्षमता छ । म अलि बढी समीक्षात्मक पनि छु – आफूले खोजेको विषय र त्यसलाई न्याय गर्न सक्ने–नसक्ने कुराको समीक्षा पनि गर्छु म । र, सबैभन्दा महत्त्वपूर्णचाहिँ – जुन विषय मैले लेख्न छुटाउँछु त्यो अरुले पनि छुटाउँछन् जस्तो लाग्छ – म त्यो विषयमा लेख्छु । अहिले मैले तारिफ पाइरहेका विषयहरु पनि यिनै हुन् ।
सीमितताको कुरा गर्दा चाहिँ – खिचडी बनाउँदै छु भने मलाई नून, तेल, मरमसलाभन्दा बढी चामलको चासो हुन्छ । अर्थात्, मेरा लागि विषयवस्तु प्रधान हो, शैलीलगायत कुराहरु गौण हुन् । त्यसो भएको हुनाले कहिलेकहीँ लेखन शैलीचाहिँ मेरो सीमितताभित्र रहन सक्छ ।
तपाईँका मुक्तक, गजल खुब पढियो, तर कविता याद छैन । कविता लेख्नु नभएको हो कि मैले नपढेको हो ?
– मैले कविता पनि लेख्थेँ । २०१९ मा लेलिन बन्जाडेलाई कविता लेख्न साँच्चै गाह्रो रहेछ भन्ने आशयको लेख छाप्न पठाएँ । एक हिसाबले, त्यसबेला लेख नै लेखेर कविताबाट भागेकाे हुँ ।
त्यसो भए कविता लेख्न नसकेर कथा लेख्नुभएको हो ?
– होइन । त्योभन्दा अगाडि पनि म कथा लेख्थेँ । कविता लेखिरहँदा पनि कथा लेखिरहेको थिएँ । कविता लेख्नै नसक्ने त होइन, तर मलाई लाग्छ – म जेलाई कविताको रुपमा पढ्छु र बुझ्छु – त्योचाहिँ म लेख्न सक्दिनँ ।
यसो भनौँ – तपाईँका लागि कविता लेख्नुभन्दा कथा लेख्नु सजिलो कर्म हो ?
– हो । कथा लेख्नुचाहिँ मेरो लागि कविता लेख्नुभन्दा सजिलो हो ।
किन ?
– किन भन्दा, साँच्चै कविता लेख्नचाहिँ जुनसुकै विधा लेख्नुभन्दा पनि गाह्रो हो । मेरो हिसाबमा भयङ्कर लेखभन्दा पनि सानो तर मलाई प्रभाव पार्ने कविता लेख्ने सर्जक विशेष लाग्छ ।
तपाईँलाई म एउटा घटना सुनाउँछु । ०६६–०६७ मा जब विप्लव ढकालले एउटा कृति प्रकाशनमा ल्याउनु भयो – प्रोफेसर शर्माको डायरी । त्यो कृति पढेर मैले राति सपनामा पनि उहाँको कुरा गरेको छु । मलाई लाग्छ – ‘प्रोफेसर शर्माको डायरी’ जतिको कविता कृति लेख्न सके किन चाहियो उपन्यास ? किन चाहियो कथासङ्ग्रह ?
अन्त्यमा पुस्तकमै पर्खौँ – शीर्षकले ‘पार्श्वधुन’ कवितासङ्ग्रह हो कि जस्तो लाग्छ तर हो कथासङ्ग्रह । प्रश्नचाहिँ, यही शीर्षक किन राख्नुभयो ? सङ्ग्रहकै कुनै कथाबाट नामाकरण गर्नुभएको हो ?
पुस्तकभित्र यो शीर्षकको कथा छैन । किताबको शीर्षक ‘पार्श्वधुन’ राख्नुभन्दा पहिलेबाटै मलाई किताबको नाम किताबबाहिरैबाट राख्छु भन्ने थियो । मेरो सङ्ग्रहमा सबै कथाहरु फरक फरक विषयवस्तुमा लेखिएका छन्, जसकारण एउटै कथाको शीर्षकले पूरै सङ्ग्रहलाई न्याय गर्छ जस्तो लागेन । अर्कोचाहिँ, कहिलेकहीँ आफूलाई भयंकर राम्रो लागेको कथाबाट पुस्तकको नामाकरण गरिन्छ । तर लेखकलाई भयंकर लागेको कथा कुनै पाठकलाई राम्रो नलाग्न सक्छ । त्यसो भो भने सिङ्गो किताब नै दुर्घटित हुन सक्छ । त्यसो हुँदा पनि मैले किताबको शीर्षक बाहिरबाटै खोजेँ ।
अगाडि पनि भने, सङ्ग्रहका आठ कथाहरु अमेरिकी परिवेशमा लेखिएका छन् । बुझ्नुपर्ने कुरा के छ भने, अमेरिकामा एक नेपाली जतिसुकै उपल्लो तहमा उक्लिए पनि ऊ एक सिमान्तकृत हो । यसर्थ, यो कथासङ्ग्रह अमेरिकामा रहेका सिमान्तकृत नेपालीहरुको कथा पनि हो । अर्थात्, आफ्नो अग्लै आइडेन्टिटी नभएकाहरुको कथाहरु । मैले यसैलाई आधार बनाएर विभिन्न नामहरु सोेचेँ – कहिले सिमान्त स्वर र कहिले अर्कै के । र, यही क्रममा एक मध्यरातमा ‘पार्श्वधुन’ सोचेँ । सुरेश सुवेदीलाई पठाएँ । उहाँले मन पराउनुभयो । अन्य केही साथीहरुलाई पनि पठाएँ । उहाँहरुबाट पनि सकरात्मक प्रतिक्रिया दिनुभयो । केही साथीहरुले गीतसङ्ग्रह जस्तो सुनियो पनि भन्नुभयो । तर, अन्ततः यसै शीर्षकमा पुस्तक प्रकाशन गर्ने निष्कर्षमा पुगेँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० कार्तिक २०८२, आईतवार 










