एपेक नेपाल स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा एपेक राष्ट्रिय काव्यमहोत्सवको आयोजना गर्दै छ । साउन १२ गते, शनिवार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा आयोजना हुने उक्त कार्यक्रममा सातै प्रदेशका १४ कविले आफ्ना कविता प्रस्तुत गर्दैछन् । त्यसमध्ये एक हुनुहुन्छ –अस्मिता बादी ।

प्रस्तुत छ, कवि प्रज्वल अधिकारीले अस्मिता बादी सँग गरेको कुराकानी :

बादी समुदायमा कविताको स्थिति कस्तो छ ?

– यो अवसरको लागि धेरै धन्यवाद !

बादी समुदायमा कविताको स्थिति कस्तो छ भन्ने विषयले मलाई फेरि आफ्नो समुदायको साहित्यको अवस्थाको बारेमा सोच्न बाध्य  बनायो । खोजें, नियालें र कोसिस गरें थाहा पाउन औ- कसले लेख्नु हुन्छ भनेर, तर कोही भेटिनँ । मेरो ज्ञानको दायरा सीमित भएर हो या  अहिले सम्म कोही लेख्ने मान्छे नै नभएर हो मैले भेट्न सकिनँ । यसलाई  हेर्दा मेरो समुदायमा कविता मात्र नभई समग्र साहित्यको अवस्था बुझ्न सकिन्छ ।

तपाईंको कविताको मूल विषय के हो ? के कविताले समाज र सामाजिक अवस्थालाई असर पार्न सक्छ ? 

– मेरो कविताको मूल विषय के ?  अहिले सम्म त मेरो कविताको मुख्य विषय उत्पीडन, विद्रोह र आत्मसम्मान नै हो भन्ने लाग्छ । साहित्यको दुनियाँमा हामी कहाँ एउटा भाष्य छ । “साहित्य समाजको ऐना”  भनेर तर अब मलाई लाग्छ अब यो ऐना मात्र भएर पुग्दैन यसले समाज बदल्ने ताकत राख्नु पर्छ भन्ने लाग्छ । त्यसो हुँदा कविताले समाजलाई असर पार्छ र पार्नु पर्छ भन्ने नै हो ।

तपाईं कविता किन र के का लागि लेखिरहनुभएको छ ?

– मूलतः मेरो कविताको विषयले नै आधी भन्दा धेर भनिसक्यो होला म किन लेख्छु भनेर । म आफ्नो समुदायमाथि भएको उत्पीडन र शोषण, अभाव  र राज्यले गरेको  वञ्चितिकरण  र यसको भरपाई हुन सक्ला कि ? यस्तै लागेर लेख्ने गर्छु । आफ्नो कुरा व्यक्त गर्नलाई लेख्न सुरु गरेको….

एपेक नेपालले तपाईंको प्रदेशबाट प्रतिनिधि कविको रूपमा यहाँलाई सम्झेको छ कस्तो लाग्दैछ ?

– एपेक नेपालले मलाई प्रतिनिधि कविताको रूपमा छान्नु भएकोमा आभारी छु । धेरै धन्यवाद पनि । एकदम खुशी लागेको छ ।

अभार !