एपेक नेपाल स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा एपेक राष्ट्रिय काव्यमहोत्सवको आयोजना गर्दै छ । साउन १२ गते, शनिवार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा आयोजना हुने उक्त कार्यक्रममा सातै प्रदेशका १४ कविले आफ्ना कविता प्रस्तुत गर्दैछन् । त्यसमध्ये एक हुनुहुन्छ – यश लामा ।

प्रस्तुत छ, कवि प्रज्वल अधिकारीले यश लामासँग गरेको कुराकानी :

 

नेपाली कवितामा काम गरिरहनुभएको छ, खुशी हुनुहुन्छ ? 

– कविता मेरा लागि सर्वाधिक रुचिको विधा हो । यसका अतिरिक्त साहित्यका अन्य  विधा पनि उत्तिकै प्रिय छन् । विशेषतः मलाई कविताबाट उत्पीडित समुदायको आवाज बोल्न सजिलो लाग्छ । विभेदकारी सत्तालाई `खबरदार´ भन्ने माध्यम पनि कविता नै भएको छ । अबका  कविताहरूले हराउँदै गइरहेको भाषा,कला र संस्कृतिको महत्त्वपूर्ण  उत्खनन  गर्नुपर्छ । असलमा कविताले  मार्गनिर्देश पनि गरिरहेको हुन्छ ।  यसरी हामीले नभनी नहुने र सम्बन्धित पक्षले सुन्नैपर्ने विषयहरू कवितामार्फत भन्न पाउँदा अत्यधिक खुसी हुन्छु । जति खुसी छु; त्योभन्दा बढी सन्तुष्ट पनि छु ।

कविताले दिने सन्तुष्टि कस्तो हो ?

– कविका लागि कविताबाट मिल्ने सन्तुष्टिको तह भनेको आमाहरूका लागि सन्तान प्राप्तिको जे सन्तुष्टि हो; त्यही हो । त्यसपछि चाहिँ सिक्ने (सचेत हुनुपर्ने) र सिकाउने (जिम्मेवारी बहन गर्नुपर्ने) दिनहरू चुनौतीका रुपमा उभिन्छन् जन्मदाताहरूका लागि । स्वाभाविक रुपमा यो परिस्थिति थेग्न आफूलाई  भिडबाट जोगाउन सक्नुपर्छ । पिँधमा रहेका मानिसहरूको आवाज भिडमा जन्मिएको कविताले मुखरित गर्न सक्दैन भन्ने चेतना मात्र निर्माण गरेर अगाडि बढिरहने हो भने सन्तुष्ट हुने ठाउँहरू प्रशस्त भेटिन्छन् ।

के भयो भने कविता हुने रहेछ र के हुँदा कविता हुँदैन ? कविता लेख्दा एउटा कविले ध्यान दिनुपर्ने विषय के होला ?

– मिहिनेत र साधनामा लेखिएका कविताहरूमा भने कवित्वपन चाहिँ अनिवार्य भेट्टिनुपर्छ । यसका लागि गहिरो अध्ययन जरुरी हो । थोरैमा धेरै भन्ने गुण कविताको हो । कविता बन्न सरल भाषाका साथै विचार र शब्दशक्तिको उचित विन्यास आवश्यक हुन्छ ।

घटना, इतिहास, विगतका वर्णन र गुनासाहरूलाई मात्र म कविता भन्न सक्दिनँ । तुकबन्दी मात्र मिलाइयो भने कविता बनिहाल्छ भन्ने भ्रमबाट मुक्त छु । शब्दहरूको भण्डार थुपारेर कवि बन्ने रहर प्राण नभएको बुख्याचा जस्तै हो । यसको आफ्नो गति, यति र लय छ ।

यसर्थ कविले कविता लेख्दा मसिना कुराहरूमा पनि ध्यान दिनुपर्छ । हाम्रा कवितामा प्रयोग भएका बिम्बहरूले कसैको आत्मसम्मानमाथि ठेस पुर्‍याउनु हुँदैन ।  सत्ताको स्तुति गाउने काम कविको होइन । प्रतिपक्षी आवाज बोलेर शासकहरूलाई सचेत गराइरहने हो । यसका निम्ति कविताको विचार पक्ष पनि उत्तिकै बलियो हुनुपर्छ । कवितालाई विरोधाभास हुनबाट जोगाउनु पर्‍यो । कतै एपेन्टिक्सहरू छन् कि भनेर ख्याल गर्नुप‍र्‍यो । अझ बढी त कविताहरू क्लिनिकली सरसफाइ गर्नुपर्‍यो । ताकि हाम्रा कविताहरू रोगमुक्त होउन् । म एउटा कविताको विद्यार्थी भएको नाताले कविता पढिरहन्छु । निम्तो आएका ठाउँहरूमा सकेसम्म पुग्छु नै ।

कविता भन्न एपेक नेपालको निमन्त्रणामा काठमाडौं आउँदै हुनुहुन्छ कस्तो अनुभूत गरिरहनु भएको छ ? 

एपेक नेपालको निमन्त्रणामा अग्रज कविहरूलाई साक्षी राखेर काठमाडौँलाई कविता सुनाउन पाउने खबरले असाध्यै उत्साहित छु ।